विकासन्युज

२१ जना सहसचिव प्रदेश मन्त्रालय खटाइए, ट्रेड युनियनका नेताको काज पनि खोसियो

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना सह सचिवहरुलाई सात प्रदेशका बिभिन्न मन्त्रालयहरुमा खटाएको छ । केन्द्रमा कर्मचारीहरु अतिरिक्त समुहमा बस्ने तर प्रदेश सरकारमा कर्मचारी अभाव हुने समस्या देखिएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आइतबार २१ जना सह सचिवहरुलाई प्रदेशमा खटाएका हुन् । उनीहरुमध्ये केहि केन्द्रमा अतिरिक्त समुहमा हाजिर गरेर बसेका सह सचिवहरु समेत थिए । विभीन्न राजनितिक दल निकटका ट्रेड युनियन नेताहरुको काज पनि खारेजी गरेर बिभिन्न मन्त्रालयहरुमा खटाईएको छ । हालसम्म दल निकट कर्मचारी युनियनका ९ जना नेताहरु ट्रेड युनियन कार्यालयमा हाजिर गरेर जागिर खाईरहेका थिए । उनीहरुलाई संघिय सरकारकै मन्त्रालयहरुमा खटाइएको छ । दल निकट कर्मचारी युनियनका नेताहरुको काज अब स्वत खारेज भएको छ । सामान्य प्रशासनको अतिरिक्त समुहमा रहेका केबल भण्डारीलाई प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएको छ । यस्तै शंकर अर्याललाई प्रदेश ७ को आर्थिक मामिला तथा योजना मन्त्रालय, श्यामराज अधिकारीलाई सामाजिक सुरक्षा कोषको सचिवालय खटाइएको छ । तीमध्ये १६ जना प्रदेश सरकार र ५ जना केन्द्र सरकारकै विभिन्न मन्त्रालयमा खटाइएका हुन् । मन्त्रालयले यसअघि ८० जना अधिकृतलाई विभिन्न दुर्गम जिल्लाहरुमा पठाएको थियो । को कहाँ खटाइए हेर्नुहोस्

भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले नयाँ शाखा भकुण्डेबेंसीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले आइतबार एक समारोहका बीच गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस बैंकले नयाँ संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने बताएका छन् । बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट गाडी नेपाली बजारमा, मूल्य २८ लाख ९९ हजार

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बजारमा ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनद्वारा गरिएको थियो । यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहितएक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स् र यात्रु, पैदल यात्री एवम् बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, इबिडिसँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको कम्पनीले बताएको छ । सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहितसुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याएको हो । सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, “यस नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फोमेन्स्को लागि रुचाइएको छ । यस नयाँ संस्करणसँगै, यसका फिचरहरु एक नयाँ शिखरमा पुगेका छन् । मजबुति, उत्कृष्ट पर्फोमेन्स् तथा आधुनिक सुरक्षा प्रविधियुक्त यस नयाँ प्रस्तुती सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित छ । नयाँ फिचरहरुले भरिपूर्ण यस सवारीले उपभोक्तालाई निश्चित रुपमा उत्साहित गर्नेछ । ” उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युलइफिसेन्सीको प्रशंसा गर्नेछन् । यस मोडेलले पेट्रोलमा २२.० किमि/लिटर प्रदान गर्दछ । २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमिलामो व्हील बेस रहेको छ । यस मोडेलको विकासमा ७०० करोड रुपैयाँभन्दा धेरै लागत देखिएको छ । कम्पनीले यस सवारीको प्रारम्भिक अफर सहित मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

चिया उद्योग बन्द गर्ने चेतावनी

झापा । नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७५ साउन १ गतेदेखि लागू गर्ने घोषणाको विरोधमा चिया उद्योगी तथा व्यवसायीहरु आ-आफ्नो उद्योगमा तालाबन्दी गरी साँचो सरकारलाई बुझाउने तयारी गरिरहेको बताइएको छ । यसअघि नेपालमा २०५० सालमा चिया विकासका लागि चिया श्रम ऐनको व्यवस्था थियो तर त्यसलाई ट्रेड युनियनको दबाबमा खारेज गरेर चिया उद्योगीलाई धरासायी बनाउन श्रम ऐन, २०७४ लागू गरिएको भद्रपुरस्थित चिया उत्पादक संघ केन्द्रीय कार्यालयले अाइतबार(अाज) यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । झापा जिल्लामा ५०० भन्दा बढी चिया बगान रहेकामा ३०० भन्दा बढी ठूला तथा मझौला चिया बगान र २४ वटा चिया कारखाना छन् । त्यसमा करीब २० हजार मजदूर संलग्न छन् । आयात प्रतिस्थापन भई वार्षिक १२५ करोड विदेशी मुद्रा आर्जन गर्न सफल भएकामा श्रम ऐन, २०७४ खारेज नभए चिया उद्योग संंकटमा पर्ने संघको गुनासो छ । भारत, चीन, श्रीलंका र केन्यालगायतका राष्ट्रमा चिया उत्पादनका क्षेत्रमा छुट्टै चिया श्रम ऐन भएजस्तै नेपालमा पनि चिया श्रम ऐन, २०५० थियो । उक्त ऐनको आधारमा स्थायी श्रमिकलाई सञ्चयकोष, उपदान, बोनस र बिदाको सुविधा उपलब्ध थियो तर अहिले लागू भएको श्रम ऐन, २०७४ मा अस्थायी श्रमिकलाई समेत सञ्चयकोष १० प्रतिशत, उपदान, बोनस र बिदाको सुविधा दिने व्यवस्थाले उद्योग समस्यामा परेको संघका सञ्चार संयोजक कुमार गिरीले बताए । सरकारले चिया उद्योगीलाई ५० प्रतिशत दिँदै आएको मूल्य अभिबृद्धिकर फिर्ता पनि आगामी वर्षदेखि खारेज गरेकाले उद्योगीहरु थप समस्यामा परेको बताइएको छ । चिया उद्योगीले राज्यसँग उद्योग सञ्चालन गर्न न्यूनतम ब्याज सुविधा, ऋण, सहुलियतको मल र बीउ, औषधि तथा अनुदानको विद्युत् माग गर्दासमेत नपाएको गुनासो गर्दै संघले एक्कासि एकतर्फीरुपमा आएको श्रम ऐन, २०७४ ले उद्योगलाई जटिल समस्यामा पारेको जनाएको छ । संघद्वारा जारी प्रेस विज्ञप्तिमा उद्योगको भविष्यका लागि श्रम ऐन, २०७४ खारेज तथा परिमार्जन गर्न आगामी हप्तामा प्रधानमन्त्री, श्रम मन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारीसमेत भएको बताइएको छ । चिया उद्योग मौसमी उद्योग भएका कारण यस उद्योगमा स्थायी कामदारभन्दा झण्डै दोब्बर संख्यामा अल्पकालीन एवं अस्थायी कामदार रहने तर अन्य उद्योगमा त्यस्तो नहुने गरेकाले वर्तमान श्रम कानूनले एक दिनमात्र काम गरेकाका कामदारलाई पनि पूर्णरुपमा सुविधा प्रदान गर्न बाध्य पारिएकाले चिया उद्योगले सो धान्न नसक्ने त्यहाँ उपस्थित उद्योगीले समेत बताएका छन् । चियाको उत्पादन देशमा खपत हुनेभन्दा धरै नै बढी भएकाले उत्पादनका ६० प्रतिशत भारतमा निर्यात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले भारतीय चियाको उत्पादन लागतसँग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ तर अन्य उद्योगले भारतीय बजारसँग प्रतिष्पर्धा गर्नु पर्दैन त्यस कारण सरकारले चिया उद्योगको विकास, विस्तार गर्नुपर्नेतर्फ जोड दिनुपर्ने उद्योगी सुरेश मित्तलले बताए । रासस

नेपाल बैंकको सेयर मूल्य एफपीओको नजिक, एकै दिन १४ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । आइतबार बैंकको सेयर मूल्य १४ रुपैयाँ घटेर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार बैंकको १ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले धितोपत्र बोर्डबाट प्रतिकित्ता २८० रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने स्वीकृति पाएको छ । बैंकको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्कासन हुनेछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनको हल्ला चलेपछि बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । बजार मूल्य भन्दा एफपीओ २० रुपैयाँ कम छ । घटदो क्रम नरोकिए केही दिनभित्र सेयर मूल्य एफपीओको हारहारीमा आउने छ । साधारण सेयर भन्दा एफपीओ मूल्य बढी भएमा बिक्री नहुने जोखिम रहन्छ । यद्यपी १०० प्रतिशत एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) भएकाले बाँकी मर्चेन्ट बैंकरले सकार्ने छन् । पछिल्लो समयमा सेयर मूल्य घट्दै गएपछि पुरै एफपीओ खरिदका लागि आवेदन पर्न छाडेको छ । बजारले बैंकलाई कसरी हेर्छ त्यसमा निर्भर रहने नेपाल बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मी बताउछन् । विकास न्युजसंग कुरा गर्दै सार्वजनिक निष्कासन बजारले कस्तो रिस्पन्स दिन्छ हेर्न बाँकी रहेको बताए । इक्रा नेपालले बैंकलाई ३ प्लस रेटिङ दिएको उनले सुनाए । आईपीओको विवरणपत्रको काम सुरु भएको उनले जानकारी दिए । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुने छ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।  

बजार १४ अंकले घट्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबारको सेयर बजार निरन्तर ओरालो लागेको छ । सो दिनको बजार खुलेदेखि दिनभर ओरालो लागेर बजार बन्द हुँदा १२३३ अंकमा झरेको छ । सम्रगमा बजार १४ अंकले घटेको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशत बढी कमाएका छन् । त्यस्तै, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः ३१९ र १७८५ रुपैयाँ रहेको छ । समता माइक्रोफाइनान्सले हकप्रद सेयर जारी गर्दै छ, त्यसैले कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो । कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्नको लागि असार १२ गते बुक क्लोजको मिति घोषणा गरिसकेको छ । आइतबारको बजारमा १५८ कम्पनीको २४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ करोड रुपैया बराबरको सेयर कारोबार भएको छ । बजारमा होटल बाहेक सबैसमूहको सूचक ओरालो लागेको छ । सबैभन्दा बढी बीमा समूह ७२ अंकले झरेको छ ।

प्रभुले समुहले ल्यायो फ्रिक्वाेइन्सीबाट चल्ने टिभी, मूल्य ८००

काठमाडौं । प्रभु समुहले नपालमै पहिलो पटक मोबाल फ्रिकोइन्सीबाट चल्ने भिडियो प्रशारण (डीभीबी टी२) प्रविधी भित्र्याएको छ । तार र एनटीना बिना नै टीभी हेर्न सकिने गरी समुहले आइतबार टिभी सार्वजनिक गरिएको हो । यस प्रविधीबाट मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत टेलिभिजन हेर्न सकिने समुहका अध्यक्ष प्रकाश भट्टचनले बताए । प्रविधीको उद्घाटन गर्दै भट्टचनले भने -‘यो प्रविधी शुरुमा काठमाडौं, चितवन र पोखरामा सञ्चालन गरिएको छ, भावी दिनमा बुटवल भैरहवा, नेपालगञ्ज, कोहलपुर लगायतको स्थानहरुमा समेत लैजाने तयारी गरेका छौं ।’ उनका अनुसार मासिक ३ सयमा २७ एचडी च्यानल सहित ६० च्यानल हेर्न सकिनेछ । विस्तारै च्यानल बढाएर १२० वटा सम्म पुर्यायाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टिभी सजिलै ग्राहकले नै जडान गर्न सक्नेछन् । शुरुमा प्रयोग गर्ने सेवाग्राहीले सेट अप बक्सको एक हजार र ६ महिनाको शुल्क १८ सय रुपैया तिर्नु पर्नेछ । संस्थाहरुको लागि भने कम्पनीले सेटअप बक्स ८ सयमै पाउनेछन् भने मासिक शुल्क २ सय तिर्नु पर्नेछ । यस प्रविधीको प्रयोगबाट अब सेवाग्राहीले तार एनटिना भद्धा बक्सको झन्झटबाट मुक्त हुने कम्पनीले दाबी गरेको छ । प्रभु समुहले हाल देशभर बैकिङ बिमा, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर,व्यवस्थापन संचारसँग सम्बन्धित विभिन्न कम्पनीहरु आबद्ध रहेका छन् ।

वहुप्रतिक्षित भैरहवा सेजकाे निर्माण कार्य असार दोस्रो हप्तादेखि शुरु

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण कार्य आगामी दोस्रो हप्ताभित्र शुरु हुने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्डीकाप्रसाद भट्टले आगामी दुईहप्ताभित्र वहुप्रतिक्षित भैरवा सेज निर्माण शुरु हुने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुतिको अवसरमा उनले सेज निर्माण कार्यको सम्पूर्ण तयारी पूरा भइसकेकाे जानकारी दिए । उनका अनुसार दुई महिनाअघिसम्म १३ उद्योगले ३८ ओटा प्लटहरु लिइसकेको थियो । त्यसपछिको केही महिना पुनः १३ उद्योगले ३१ ओटा प्लट लिएको छ । अहिले भैरवा क्षेत्रमा रहेको कुल ६९ प्लट सबै उद्योगीहरुले लिइसकेको उनकाे भनाइ छ । अब कुनै पनि बाँकी छैन । ‘हामीले उक्त २६ उद्योगलाई अनुमति पनि दिइसकेका छौं,’ उनले भने ‘अहिले उद्योग दर्ताको प्रक्रियामा अघि बढेकाे छ । अबको दुई हप्ताभित्रै उद्योग निर्माण कार्य अघि बढ्नेछ ।’ प्राधिकरणको अनुसार अबको दुई हप्ताभित्र उद्योगहरुसँग सञ्चालनकाे लागि सम्झौता हुनेछ । सम्झौतपछि उद्योगहरुले भाडा बुझाउन शुरु गर्नेछन् । उद्योगहरुले स्वत निर्माण कार्य शुरु गर्ने उनले बताए । सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत उद्योगलाई अवश्यक पर्ने जति पनि विद्युत उपलब्ध गराउने बताए । ‘सेजमा विद्युतको समस्या होइन,’ उनले भने ‘सेजलाई आवश्यक पर्ने जति पनि विद्युत उपलब्ध गराउने छौं ।’ सो भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजको २०७१ सालमै उद्घाटन गरिएको हो । प्राधिकरणको अनुसार सेजमा उद्योग सञ्चालनको लागि विगतमै आईडीएस इलेक्ट्रिक प्रालि, सुगम नानो हर्बल इन्डष्ट्रिज, किरण सुज म्यानुफ्क्चर, जगदम्बा सिन्थेटीक्स प्रालि, ट्रान्स हिमालयन बेभरेज, सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ पेट प्लाष्ट (पीभीसी म्याट), एक्सन पोलिमोर, सरोज श्रेष्ठ गार्मेण्ट ले अनुमति पत्र लिइसकेका थिए । त्यस्तै पछिल्लो चरणमाा महेन्द्रकुमार गोयल, इन्टरटेक पाइप्स एण्ड फीटीङ, एशियन थाइ फुड्स, मिनरल वाटर इण्डष्ट्रिज लगायतले अनुमति पत्र लिएका हुन्। प्राधिकरणको अनुसार सेजभित्र सबै उद्योग सञ्चालनमा आउँदा ५ अर्ब रूपैयाँ लगानी हुनेछ । २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । सञ्चालनको लागि अनुमति पाएको १ वर्षभित्र उद्योगले व्यापारिक उत्पादन गर्नुपर्ने प्रावधान छ । त्यस्तै सेजमा सञ्चालन हुने उद्योगहरुले ७५ प्रतिशत उत्पादन निर्यात गर्नै पर्ने व्यवस्था छ ।