नेपाल चीनको नाका रसुवागढीलाई लक्षित गरी सडक स्तरोन्नति
रसुवागढी । नेपाल र चीनको सीमा नाका रसुवागढीलाई लक्षित गरी सडकको स्तरोन्नति कार्य अघि बढाइएको छ । नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेँशीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । २०७२ वैशाखबाट ट्रयाक खोल्ने काम शुरु गरेको सेनाले उक्त सडकखण्डको भौगोलिक अवस्थाअनुसार नौदेखि ११ मिटरसम्म विस्तार गरेको छ । गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँशी रसुवागढी सडक योजनाका सव इञ्जिनियर तुलाकान्त चौधरीका अनुसार गल्छी–रसुवागढीको कूल ८६ किलोमिटरमध्ये योजनाअन्तर्गत हाल ४६ किमीको काम भइरहेको छ । सडक स्तरोन्नति योजना सम्पन्न गर्नका लागि ३ अर्ब ६३ करोड ९१ लाख रुपैयाँमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भई २०७४ असारबाट काम शुरु गरिएको हो । योजनाअन्तर्गत बजार क्षेत्रमा नालासहित चार लेन र अन्य बस्ती नभएका ठाउँमा दुई लेनको सडक निर्माणकार्य भइरहेको छ । कतिपय ठाउँमा मुआब्जालगायतका समस्याका कारण ठाउँठाउँमा निर्माण कार्य प्रभावित भएको बताउँदै उनले हालसम्म १६ प्रतिशत मात्र काम भएको जानकारी दिए । सडकको स्तरोन्नतिका क्रममा यस मार्गमा पर्ने १४ वटा पुल निर्माणका लागि छुट्टै योजना सम्झौता गरिएको छ । चौधरीका अनुसार पुल निर्माणका लागि ५७ करोड ९५ लाख रुपैयाँ लागत सम्झौता भएको छ । पुल निर्माणको काम पनि अघि बढेको, कोल्पुटार, ठूलो खोला र गेर्खुमा निर्माण भइरहेको उनले बताए । नेपाल र चीनलाई जोड्ने सबैभन्दा छोटो नाका भएका कारण यस सडकले चीनबाट गल्छी हुँदै काठमाडौँका साथै पोखरालाई जोड्न निकै सहज हुने टिमुरेका पर्यटन व्यवसायी दोर्जे तामाङले जानकारी दिए । “गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी जोडिने यो सडक यस क्षेत्रको समृद्धिका साथै समग्र नेपालकै समृद्धि र विकासका लागि महत्वपूर्ण बन्नेछ,” उनले भने, “भूकम्पपश्चात् सबैभन्दा पहिले खोलिएको चीनसँगको यो नाकाका कारण यतिखेर यही मार्ग हुँदै मानसरोबर जाने पर्यटकका साथै चीनबाट स्थलमार्ग भई नेपाल आउने पर्यटक निकै लाभान्वित बनेका छन् ।” सडक स्तरोन्नतिका क्रममा रहेका कारण यहाँका व्यवसायीलाई थप उत्साहित बनाएको छ । अहिले सञ्चालनमा रहेको पासाङ ल्हामु मार्गको काठमाडौं बेत्रावती– धुन्चे हँदै रसुवागढी जोड्ने सडक सेनाले निर्माण गरेको सडक करीब २५ किमी छोटो पर्छ । काठमाडौँबाट बेत्रावती–धुन्चे हँदै रसुवागढी जोड्ने सडकको दूरी १४५ किमी छ भने बेत्रावती–मैलुङ–स्याफ्रुबेँशी हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२० किमी मात्र हुन्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँशी सडकमा उकालो र ओरालो हुँदै विभिन्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट कुनै घुम्ती नभएको उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका सहदेव श्रेष्ठले बताए । उनका अनुसार रसुवागढी नाका सञ्चालनसँगै चीनको केरुङबाट दैनिक विभिन्न सामानका ५०÷६० वटा कन्टेनर नेपाल भित्रिने गरेका छन् । चालू योजना सम्पन्न भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८४ किमीको हुनेछ भने गल्छीबाट काठमाडौँसम्मको दूरी ५० किमीको छ । काठमाडौँबाट केरुङ जम्मा चार घण्टामा पुग्न सकिन्छ । रसुवागढी नाकाबाट नेपालतर्फको १८ किमी सडक चीन सरकारले अनुदानमा बनाइदिने सम्झौताअनुरुप काम अघि बढाएको सब इञ्जिनियर चौधरीले जानकारी दिए । रसुवागढी नाका सञ्चालनसँगै पछिल्ला दिन नाका हुँदै मानसरोबर जाने पर्यटक र चीनबाट स्थालमार्ग हुँदै आउने पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायी बुद्धिलक्ष्मी तामाङले बताइन् । रासस
असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने हो ? तुरुन्तै आवेदन दिनुस्
काठमाडौं । राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक बर्षको कार्याक्रम अन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको छ । परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरेको बताए । उनले प्रमाणपत्र धितो राखेर प्रत्येक प्रदेशका पाँच-पाँच जना युवा उद्यमीलाई अधिकतम २ लाख रुपैंयाँसम्म ऋण दिन लागेको बताए । अर्थमन्त्रालयले आइतबार युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण सहयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ पारित गरेसँगै सहकारी संस्थाहरु मार्फत ऋण उपलब्ध प्रक्रिया अघि बढेको हो । स्नातक उतिर्ण वा प्राविधिक शिक्षमा डिप्लोमा गरेका विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना पेश गरेर ऋण माग्न सक्नेछन् । १५ दिन भित्र आफ्ना जिल्ला कार्यालयहरुबाट आवेदन दिन सकिने परिषदले जनाएको छ । परिषदको अगुवाई तथा युवा स्वरोजगार कोष र श्रम मन्त्रालयको सहभागीतमा प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने कार्यक्रम अघि बढ्न लागेको हो । सो कार्यक्रमका लागि परिषदले चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको थियो । आगामी अािर्थक वर्षको बजेटमा अघि सार्न लागिएको ७ लाख ऋण कार्यान्वयन सम्बन्धी कार्यक्रम पनि परिषदले नै गर्ने पनि ढुंगेलले जानकारी दिए ।
असार १४ गते २६७ सिट क्षमताको एयरबस काठमाडौं आइपुग्ने
काठमाडौं । नेपाल वायु सेवा निगमको २६७ सिट क्षमताकोे एयरबस असार १४ गते काठमाडौं आइपुग्ने भएको छ । निगमले ल्याउने २ वटा मध्ये १ वटा एयरबस मात्र काठमाडौं आइपुग्ने भएको हो । एउटा एयरबस १४ गते र अर्को एक महिनापछि ल्याउने तयारी भएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । विमान आएको ३ हप्ता आन्तरिक काममा व्यस्त हुन्छौं, ४ हप्तापछि विमानलाई दुबैको दोहामा उडान गर्ने तयारी गरेका छौं प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने । उनका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । श्रेष्ठका अनुसार नयाँ जहाजका लागि क्याप्टेन पाइलटको व्यवस्था एएआर कर्पोरेशनले नै गर्नेछ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ । निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् । हाल ६ वटा साना र ३ वटा ठुला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ । दैनिक उडान भर्न निगमसगँ भएका जहाजहरु ४० वर्ष भन्दा पुराना र आवश्यक संख्यामा पाइलटको संख्या नहुँदा उडानको संख्या बढाउन नसकेको श्रेष्ठले बताए ।
प्रभु बैंकका संस्थापकले हकप्रद सेयर लिएनन्, २२ लाख ३१ हजार कित्ता लिलामीमा
काठमाडौं । प्रभु बैंकको संस्थापक र सर्वसाधारण हकप्रद सेयर लिलामी हुने भएको छ । निष्कासन गरिएको मध्ये आवेदन नपरेको २२ लाख ३२ हजार २६५ कित्ता लिलामी हुन लागेको हो । शिलवन्दी बोलपत्र असार ११ गतेदेखि खुला भई १८ गते बन्द हुने बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । बैंकको संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ र सर्वसाधारणको ६ लाख ७१ हजार ०६२ कित्तालाई आवेदन नपरेपछि लिलामी गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन गत माघ १० देखि फागुन २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । बोलपत्र आवेदन फारम प्रभु बैंकका शाखा र प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिने छ । प्रतिकित्ता १०० रुपैयाँ बढी कबोल गर्नेले सेयर खरिद गर्न पाउने छन् । न्युनतम १ हजार कित्ता र अधिकतम जति पनि लिन सकिने छ ।
भारतभन्दा नेपालमा पेट्रोल साढे २२ र डिजेल २५ रुपैयाँ सस्तो, चोरी पैठारी रोक्न निगमलाई हम्मे-हम्मे
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतको भन्दा नेपालमा सस्तो रहेको नेपाल आयल निगम लिमिटेडले बताएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ६५ र डिजेलमा २४ रुपैयाँ ७४ पैसा सस्तो रहेको आइतबार पत्रकार सम्मेलन गरी निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराइले जानकारी दिए । उनका अनुसार नेपालमा उपभोक्ताहरुलाई सस्तो र सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारको नीति अनुरुप स्वतः संचालित मूल्य संरचनाअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । उपभोक्ताहरुलाई अन्तर्राष्ट्रिय मूल्य घटबढ भए बमोजिम पेट्रोलियम पदार्थ उपलब्ध गराउने तथा आपूर्ति सहज बनाउन मद्दत पुर्याउने उद्देश्यले उक्त विधि प्रयोगमा निगमले २०७१ साल असोजदेखि लागू गर्दै आएको उनको भनाइ छ । चोरी पैठारी रोेक्न चुनौती भारतभन्दा नेपालमा पेट्रोल र डिजेलको मूल्य सस्तो भएपछि निगमलाई भारततर्फ पेट्रोलियम चोरी पैठारी हुनबाट रोक्न चुनौती भएको छ । ‘गएका महिनहरुमा पनि भारतको सिमाभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो थियो,’ निगमका प्रवक्ता वीरेन्द्र गोईतले भने ‘आइतबार निगमले घटाएको मूल्यपछि पनि पेट्रोल र डिजेलको मूल्य सस्तिएको छ ।’ आइतबार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । राजधानीमा प्रतिलिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटेको छ । घटेर ११३ रुपैयाँ रहेको पेट्रोल ११०, ९५ रुपैयाँ रहेको डिजेल र मट्टितेल ९३ रुपैयाँ प्रतिलिटरमा झरेको छ । काठमाडौं बाहिर पेट्रोलियम पदार्थ झनै सस्तो भएको छ । काठमाडौंबाहिर निगमको डिपो विक्री विन्दुदेखि १५ किमिभित्र लागु हुने स्थान झापाको चारली, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा डेढ रुपैयाँ सस्तो भएको प्रवक्ता गोईतले जानकारी दिए । ‘ती स्थानहरुमा काठमाडौंकाभन्दा पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा सस्तो पर्नेछ,’ उनले थपे ‘त्यहाँ प्रतिलिटर पेट्रोलको मूल्य १०८ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य ९१ रुपैयाँ ५० पैसा तोकेका छौं ।’ पोखरा र दाङ्मा पनि काठमाडौंको तुलनामा पेट्रोल, डिजेल र मट्टितेलमा ५० पैसाको दरले कम पर्ने निगमको भनाइ छ । निगमको अनुसार उक्त स्थानमा पेट्रोल १०९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल ९२ रुपैयाँ ५० पैसा पर्ने भएको छ । पेट्रोलियम पदार्थमा मूल्य घटाइ समायोजन गरेपछि निगमलाई आगामी पाक्षिक ७ करोड ८४ लाख रुपैयाँ घाटा हुने भएको छ । यद्यपि मूल्य नघटाएको भए ११ करोड ८१ लाख रुपैयाँ नाफा हुने निगमको भनाइ छ ।
मौद्रिक नीतिको प्रतिक्षाः के हुन्छ रियल स्टेट र घर जग्गा व्यवसाय ?
काठमाडौं । नेपालको रियल स्टेटमा क्षेत्र राष्ट्र बैंकले ऋण लगानीमा व्यापक कटौती गर्दै आएको छ । कृषि, भूमि व्यवस्था तथा शहकारी मन्त्रालयले कृषि योग्य जमिनमा प्लटिङ गर्न रोक लगाएको छ । त्यति मात्रै नभएर जग्गा कित्ता काटमै पनि यतिबेला निकै झमेला खेप्नुपर्छ । रियल स्टेट क्षेत्र अहिले ऋण र प्लटिङमा गरिएको कडाईलाई छिचोल्ने संघर्ष गरिरहेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले रियल स्टेट र आवास कर्जाको सिम बढाउनुनर्पे बताए । ‘आवास कर्जाको सिमा २ करोड बनाईयोस, त्यो भन्दा कम मूल्यमा घर बन्न छाडिसक्यो ।’, नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले भने । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि उपत्यका भित्रको ४० र बाहिरको ५० प्रतिशतको सिमामा रहेको कर्जा सिमालाई ६० प्रतिशत बनाउनुपर्ने बताए । उनले व्यक्तिगत आवास कर्जाको सिमा पनि १ करोड ५० लाखबाट वृद्धि गरेर २ करोड बनाउनुपर्ने बताए । नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले व्यक्तिगत तर्फको आवास कर्जाको सिमा ७० प्रतिशत र रियल स्टेट तर्फको ६० प्रतिशत बनाउनुपर्ने धारणा राखे । उनले २०७४ फागुन २ गतेदेखि कित्ता काटमा नरोक्ने परिपत्र आएपनि लागु नभएको बताए । बैशाख मसान्त अवधीमा रियल स्टेट र आवास कर्जामा गरि कुल २ खर्ब ३८ अर्ब रुपैंयाँ कजौ प्रवाह भएको देखिन्छ । आवास कर्जामा एक खर्ब ९६ अर्ब ८८ करोड पाँच लाख रुपैंयाँ कर्जा प्रवाह भएको छ भने रियलस्टेटमा १७ अर्ब ७० करोड कर्जा प्रवाह भएको छ । जबकी पुस मसान्तमा यस्तो कर्जा ३ खर्ब २१ अर्ब ६० करोड रुपैंयाँ थियो । मौद्रिक नीतिको मध्यावधि समिक्षाले काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जा ४० प्रतिशतमा झारिदिएको थियो । त्यस अघिसम्म रियलस्टेट कर्जा ५० प्रतिशतसम्म पाउने सुबिधा थियो । उपत्यका बाहिरका हकमा भने ५० प्रतिशत नै कर्जा पाउने सुबिधा प्राप्त थियो । मध्यावधिक समिक्षा अवधिसम्म कुल कर्जामा रियल स्टेट कर्जाको हिस्सा १४.६ प्रतिशत थियो । यसमै व्यक्तिगत आवासिय कर्जालाई समेत समावेश गरिएको थियो । तर बैशाख महिनामा आईपुग्दा भने कुल कर्जामा रियल स्टेट कर्जाको हिस्सा २ खर्ब १३ अर्ब ८८ करोड ७० लाखमा झरेको छ । जबकी चैत मसान्तमा त्यस्तो कर्जाको हिस्सा ३ खर्ब ३२ अर्ब थियो जुन कुल कर्जाको १४.४ प्रतिशत हुन्थ्यो । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षाबाट व्यक्तिगत आवासिय कर्जाको सिमालाई एक करोडबाट बढाएर एक करोड ५० लाख बनाएको थियो । अहिले भने बैंक तथा वित्तिय संस्था र रियल स्टेट व्यवसायीले रियल स्टेट कर्जालाई ६० प्रतिशत बनाउनुपर्ने माग गरिरहेका छन् । यद्यपी राष्ट्र बैंकले भने उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्ने परिस्थिती आएको बताउँदै आएको छ ।
पेट्रोलमा लिटरको ३ र डिजेलमा २ रुपैयाँ भाउ घट्यो
काठमाडौं– नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो। निगमले पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल, मट्टीतेलमा २/२ रुपैयाँ मूल्य घटाएको निगमका प्रवत्ता वीरेन्द्र गोइतले जानकारी दिए । समायोजन गरिएको नयाँ मूल्य आजा राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ। समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३/९३ रुपैयाँ कायम गरिएको प्रवत्ता गोइतले बताए। यसअघि निगमले पेट्रोल प्रति लिटर एक सय १३ र डिजेल, मट्टीतेल लिटरको ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो। निगमले आइतबारसम्ममा स्वतः संचालित मूल्य संरचना अनुरुप १९ पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको छ भने १२ पटक मूल्य समायोजन गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए । उनको अनुसार २०७१ असोजदेखि उक्त विधि लागू गरिएको हो । काठमाडौंबाहिर पेट्रोल र डिजेल डेढ रुपैयाँसम्म सस्तो निगमका प्रवक्ता गोईतले काठमाडौंबाहिर निगमको डिपो विक्री विन्दुदेखि १५ किमिभित्र लागु हुने स्थान झापाको चारली, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा काठमाडौंभन्दा सस्तो मूल्यमा पेट्रोल, डिजेल र मट्टितले पाइने बताए । ‘ती स्थानमा काठमाडौंकाभन्दा पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा सस्तो पर्नेछ,’ उनले भने ‘त्यहाँ प्रतिलिटर पेट्रोलको मूल्य १०८ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य ९१ रुपैयाँ ५० पैसा तोकेका छौं ।’ ढुवानीभाडामा कम लागत पर्ने भएकोले मूल्यमा समेत कमि आएको हो । त्यस्तै पोखरा र दाङ्मा पनि काठमाडौंको तुलनामा पेट्रोल, डिजेल र मट्टितेलमा ५० पैसाको दरले कमि पर्ने निगमको भनाइ छ । निगमको अनुसार ती पेट्रोलियम पदार्थमा क्रमशः १०९ रुपैयाँ ५० पैसा र ९२ रुपैयाँ ५० पैसा पर्ने भएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा परिवर्तन गरिएको छैन् । पछिल्लो मूल्य अनुसार निगमलाई पाक्षिक रुपमा ७ करोड ८४ लाख रुपैयाँ घाटा हुने गोइतको भनाइ छ।
३ बर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गरिने, २ करोड बजेट विनियोजन
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी ३ वर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गर्ने अभियानलाई लक्ष्यबिन्दुमा पु¥याउने नीति लिएको छ । साक्षरताको हिसाबले ५८.२५ प्रतिशत रहेको विद्यमान अवस्थाबाट पूर्ण साक्षर कर्णाली प्रदेश बनाउन सरकारले यो नीति लिएको हो । देशकै औसत साक्षरता दर ६५.९५ प्रतिशत भइरहेका बेला कर्णालीको साक्षरता दर ८ प्रतिशतभन्दा तल छ । सरकारले यही कुरालाई गम्भीरताका साथ लिएर नीतिगत लक्ष्यलाई सफल तुल्याउन अनौपचारिक शिक्षा एवं साक्षरता अभियानसम्बन्धी कार्यक्रमका लागि स्थानीय तहसँगको समन्वयमा कार्य मोडालिटी तथा कार्यपद्धति निर्माणगरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको छ । यसका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ बजेटको विनियोजन गरेको छ । विद्यालय नजाने तथा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि गर्न, बालबालिकालाई ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ भन्ने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन सरकारले स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्ने नीति तय गरेको छ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई नियमित पठनपाठनको व्यवस्थापन गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने भन्दै सरकारले यसका लागि १ करोड ७० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यसैगरी, सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच वृद्धि गर्न ‘छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति’ कार्यक्रम लागूगर्ने नीति लिएको छ । दलित, विपन्न, द्वन्द्वपीडित, दुर्गम क्षेत्रका विद्यार्थीका लागि समेत प्राविधिक शिक्षामा पहँुच वृद्धि गर्न थप छात्रवृत्ति कार्यक्रमको व्यवस्था गरेर प्रदेश सरकारले १ करोड ५० लाख रुपैया बजेट विनियोजन गरेको छ । सरकारले आव २०७५÷०७६ मा छ हजार युवालाई छोटो अवधिको सीप विकास तालीम कार्यक्रम सञ्चालन गर्ने र सहभागी छनोट गर्दा महिला, एकल महिला, द्वन्द्व प्रभावित तथा दलित समुदायलाई प्राथमिकता दिने व्यवस्था गरेको छ । यसका लागि भनेर सशर्त अनुदानबाट सरकारले १० करोड ३० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यस्तै, प्रदेश सरकारले विद्यालय तहको शैक्षिक गुणस्तर र भौतिक विकासका लागि निर्वाचन क्षेत्रलाई आधार बनाएर विद्यालय पूर्वाधार सुधार कार्यक्रम सञ्चालन गर्न २१ करोड रुपैयाँ बजेट छुट्याएको छ । रासस