विकासन्युज

सामूहिक र सुविधा सम्पन्न आवासप्रति मानिसको आकर्षण बढेको छ- सुष्मा राई

सुष्मा राई, मार्केटिङ अफिसर, डाउनटाउन हाउजिङ कम्पनी प्रोपर्टी एक्स्पोमा यहाँको कम्पनीले के कस्ता योजना ल्याएको छ ? अहिले डाउनटाउन हाउजिङको ३ वटा आवासीय आयोजना रहेका छन् । सानेपामा सिटी भ्यु अपार्टमेन्ट, खुमलटारमा डाउनटाउन अपार्टमेन्ट र इमाडोलमा डाउनटाउन रेसिडेन्सी रहेका छन् । सिटि भ्युका सबै अपार्टमेन्ट बिक्री भइसकेका छन् । यस्तै, अहिले डाउनटाउन अपार्टमेन्ट र डाउनटाउन रेसिडेन्सीमा बिक्रीमा रहेका छन् । डाउनटाउन अपार्टमेन्टमा २७० अपार्टमेन्ट छन् । त्यसमा ५० प्रतिशत भन्दा बढी अपार्टमेन्ट बिक्री भईसकेका छन् । डाउनटाउन रेसिडेन्सीको निर्माण कार्य ६ महिनाअघि शुरु भएको छ । ६० वटा घरहरु छन् । यसको पनि ५० प्रतिशत बुकिङ भईसक्यो । डाउनटाउन रेसिडेन्सीमा ३ प्रतिशत छुट र फुल्ली फर्निसिङको व्यवस्था गरिएको छ । अपार्टमेन्टमा ५ प्रतिशत छुट र पुरै फर्निस छ । अपार्टमेन्टमा रेन्टल सुविधा पनि छ । ३ बेडमा ४० हजार, २ बेडमा ३० हजार र १ वेडमा २० हजार मासिक रेन्टल सुविधा छ । यस्तो सुविधा हामीले ३ वर्षको लागि दिएका छौं । भाडामा नगए पनि हामीले प्रतिवद्धता गरेअनुसार रकम भुक्तानी दिन्छौं । लगानीको दृष्टिकोणले अपार्टमेन्ट खरिद गर्नेहरुको लागि यो सुविधा निकै राम्रो छ । एउटा अपार्टमेन्टको मूल्य कति छ ? १ बेड रुम अपार्टमेन्टको मूल्य ५४ लाखदेखि सुरु भएर ६७ लाख ५० हजार रुपैयाँसम्म पर्छ । २ वेड रुम अपार्टमेन्टको करिब ९६ लाख रुपैयाँसम्म पर्छ । ३ वेड रुम अपार्टमेन्टको १ करोड २२ लाख रुपैयाँसम्म पर्छ । १ बेड रुम अपार्टमेन्टको स्पेश ५५० देखि ७०० स्क्वारफूट हुन्छ । २ बेड रुममा १०४८ स्क्वारफूट हुन्छ र ३ बेड रुममा भने स्पेस फरक फरक छ । घरको मूल्य कति छ ? डाउनटावउन रेसिडेन्सी सबैभन्दा कम जग्गामा बनेको घर भनेको ३ आना १ पैसा क्षेत्रफलमा हो । ३ आना १ पैसा क्षेत्रफलमा बनेको सबै घर बिक्री भईसकेका छन् । डाउनटाउन रेसिडेन्सीमा हाल न्युनतम ४ आनामा बनेका घरहरु छन् जसको क्षेत्रफल २३०० स्क्वारफिट छ । यो घरको मूल्य २ करोड ८२ लाख रुपैयाँ छ । यो मूल्यमा ३ प्रतिशत छुुट छ । घर पुरै फर्निसिङ भएको हुन्छ । १० आनामा बनेको घरको मूल्य ५ करोड ३५ लाख रुपैयाँसम्म पर्छ । त्यसमा सुविधाहरु के के छन् ? यसमा स्वीमिङ पुल छ, जीम हल छ । फार्मेसी छ, ग्रोसरी छ, एटीएम मेसिन छ । केटाकेटी खेल्ने ठाउँछ । मन्दिर छ । अन्य मनोरन्जनात्मक सुविधा छ । डाउनटाउन रेसिड्यान्सीमा सोलार प्यानल राखेका छौं । डाउनटाउन अपार्टमेन्टमा पाउनाको लागि भिन्नै गेष्ट वेड रुम पनि छ । गार्डेन छ, प्ले ग्राउण्ड, वार्किङ स्पेस छ । प्रत्येक टावरमा ३ वटा लिफ्ट छ । एउटा लिफ्ट सर्भिस डेलिभरीको लागि हो । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । कति महिनामा निर्माण कार्य सम्पन्न हुँदैछ ? डाउनटाउन अपार्टमेन्टको काम ६ महिनामा तयार भइसक्ने छ । डाउनटाउन रेसिडेन्सीको निर्माण कार्य आगामी १८ महिनामा सम्पन्न हुनेछ । पछिल्लो समयमा अपार्टमेन्ट र रेसिडेन्सीको बिक्री कस्तो छ ? अपार्टमेन्ट र रेसिडेन्सियल दुबै बिक्री राम्रो छ । हामीले रेसिडेन्सीको काम सुरु गरेको ६ महिना भयो । ५० प्रतिशत बिक्री भइसकेको छ । यो धेरै राम्रो संकेत हो । मानिसहरु व्यस्त छन् । बढी भन्दा बढी समय विजनेशन विस्तार गर्न वा आम्दानी वृद्धि गर्न मानिसहरु समय दिन्छन् । राम्रो कमाउने, राम्रो ठाउँमा घर तथा अपार्टमेन्ट किनेर बस्ने अभ्यास बढ्दो छ । अपार्टमेन्ट वा रेसिडेन्सी जे भए पनि त्यहाँ आधुनिक सुविधाहरु हुन्छ । नयाँ सोच भएको, स्मार्ट लाईफ विताउनेहरु हुन्छन् । त्यसैले व्यवस्थित तथा सामूहिक आवास क्षेत्रमा मानिसहरुको आकर्षण बढेको छ ।

कर छुटपछि विद्युतीय गाडी बिक्री बढ्याे, पूर्व राजा ज्ञानेन्द्र शाहले पनि किने २ वटा विद्युतीय कार

काठमाडौं । सरकारले विद्युतीय सवारी प्रयाेगलार्इ प्राेत्साहित गरे पछि यस्ताे सवारीकाे बिक्री बढेकाे छ । यस्ताे सवारीमा अाैषत मान्छेकाे भन्दा ठूलाबढाकाे अाकर्षण बढेकाे छ । गाडीमा साैखिन पूर्व राजा ज्ञानेन्द्र शाह पनि विद्युतीय कार  चढ्न थालेका छन् ।  शाहले विद्युतिय कार किया सोल इभी चढिरहेका छन् । किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सेल्स एक्जुकेटीभ अशोक पण्डितका अनुसार शाहले  प्रति कार ५८ लाख रुपैंयाँ तिरेर २ वटा विद्युतीय कार लगेका हुन् ।  ‘उहाँले ५८ लाख रुपैयाँ मूल्यको दुई वटा सोल इभी सीयूभी(कम्प्याक्ट यूटिलिटी भेहिकल) खरिद गर्नुभएको थियो,’ उनले भने ‘उक्त गाडी फुल अप्सनको सनरुफ सीयूभी हो’ उनले सुनाए । उनका अनुसार सोही मोडलको सीयूभी एक वर्षअघि पूर्व सचिव रामेश्वर खनालले पनि किनेका छन् । वल्र्ड वाइड फण्ड फर नेचर(डब्ल्युडब्ल्युएफ)ले समेत त्यस्तै २ वटा भेहिकल किनेको छ। उनले नेपालमा उच्च सरकारी अधिकारी, विभिन्न गैरसरसकारी, व्यवसायी तथा सर्वसाधारणहरुले विद्युतीय गाडी खरिद गर्ने थालेका छन् । अहिले कम्पनीले उक्त गाडीकाे स्टल घरजग्गा मेलामा समेत राखिएकाे छ । सवारी पारखिहरुकाे ध्यान उक्त स्टलतर्फ तानिएको देखिन्छ । ‘हामीले गएको ४ दिनभित्र करिब ८ वटा विद्युतीय गाडीको बुकिङ गरेका छौं,’सेल्स एक्जुकेटीभ पण्डित भने । मेला अवधिमा बुकिङ गर्ने ग्राहकको लागि २ लाखसम्म छुट अफर रहेको उनले सुनाए । उनले काठमाडौंमा मात्रै मासिक १० ओटा विद्युतीय कार बिक्री भइरहेको बताए । उनको अनुसार करिब ३ वर्षको दौरानमा मुलुकभर १२० को संख्यामा सोल इभी बिक्री भइसकेको छ । ‘प्रत्येक वर्ष दोब्बरको संख्यामा गाडीको बिक्री बढेको छ,’ उनले भने । त्यसमध्ये पनि करिब ८० प्रतिशत सन रुफ  गाडीलार्इ सवारी पारखीहरुले रोजेका छन् । विद्युतीय गाडीप्रति बढ्दो आकर्षण  सरकारले विद्युतीय गाडीको आयातमा विभिन्न सहुलियत प्रदान गरेको छ । भन्सार, अन्तशुल्क, वीमा लगायतमा त्यस्ता सहुलियतकाे  व्यवस्था गरेकाे हाे । कम्पनीका सेल्स एक्जुकेटीभ पण्डितले भने, ‘पेट्रोल/डिजेलको गाडी आयात गर्दा २४६ प्रतिशत भन्सार लाग्छ,’ उनी थप्छन्  ‘तर विद्युतीय गाडीको आयातमा २४ प्रतिशत मात्रै भन्सार तिर्नु पर्छ ।’ साथै वीमा शुल्क पनि पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीमा १५ प्रतिशत कम लाग्छ । त्यसबाहेक वार्षिक तिर्नु पर्ने सडक दस्तुर तिर्नु पर्दैन, प्रदुषण लगायत विभिन्न थप शुल्क बेहोर्नु पर्दैन । उनका अनुसार पेट्राेलियम गाडीमा सरह भन्सार, अन्तशुल्क, सडक दस्तुर लाग्ने हाे भने ५८ लाख रुपैयाँ मूल्य पर्ने सोल इभीको मूल्य करोड नाघ्थ्याे । त्यो बाहेक विद्युतीय गाडी वातावरणमैत्री हुन्छ । ध्वनी, वायू प्रदुषण गर्दैन । खर्च कम गर्छ । पेट्रोलबाट चल्ने गाडीमा १ किलोमिटर बराबर करिब १२ रुपैयाँ पेट्रोल खर्च लाग्छ भने विद्युतबाट चल्ने गाडीको लागि  प्रतिलिटर २ रुपैयाँ मात्रै चार्ज खर्च लग्ने सेल्स एक्जुकेटीभ पण्डितले बताए । ‘यी विभिन्न गाडीकाे सकरात्मक पक्षकाे  कारणले गर्दा पनि पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व सचिव रामेश्वर खनाल लगायतका उच्च व्यक्तीत्वहरुको रोजाईमा विद्युतीय गाडी पर्न गएको हो,’ उनले भने । सोल इभी सीयूभी बारे इन्टरकन्टिनेन्टलले तीन वर्षअघिदेखि विद्युतिय गाडी बिक्री गर्न शुरु गरेको हो । द न्यू किया सोल इभी (सीयूभी) त्यसै मध्येको कार हो । यसमा दुई अप्सन छ । एउटामा सन रुफ छैन भने अर्कोमा छ । सन रुफ नभएको कारको बजार मूल्य ५६ लाख रुपैयाँ छ भने सनरुफ भएको कारको मूल्य ५८ लाख रुपैयाँ पर्छ । गाडीमा अटोमेटिक गियर, ड्राइभ पावर स्ट्रेरिङ, क्रज कन्ट्रोल, भेन्टिलेशन सिट, इलेक्ट्रोनिक विण्डो, वुट स्पेस २५० लिटर, ग्राउण्ड क्लियरेन्स १६२ एमएम, ५ जना सहजै चढ्न सकिने लागयतको फिचर्सहरु राखिएको छ । त्यस्तै सेफ्टीमा ६ ओटा एयरब्याग, इलेक्ट्रीङ पार्किङ, एबीएस(एन्टीलक ब्रेक सिस्टम), इबीडी(इलेक्ट्रीक ब्रेक डिस्ट्रीब्युशन), ट्रयाक्शन कन्ट्रोल, हिल एसिस्ट, पार्किङ सेन्सर लगायत छन् । इन्टरटेन्मेन्टमा रियरभ्यू क्यामेरा, जेबीएल साउण्ड सिस्टम, यूएसबी भिडियो चलाउन सकिने व्यवस्था लगायत गरिएको छ । गाडीमा २७ किलोवाटअावरको ब्याट्री भने ८१.४ किलोवाट पावरको मोटर जडान गरिएको छ । सामान्यतया १६ एम्पीयर पावर भएको विद्युतबाट गाडीको ब्याट्री फुल चर्ज गर्न १० देखि १२ घन्टामा लाग्छ भने डिसी फास्ट चार्जबाट ३३ मिनेटभित्रे फुल चार्ज भइसक्छ । ब्याट्र फुल चार्ज गर्नको लागि २७ युनिट विद्युत खपत हुने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार गाडीमा फुल ब्याट्री चर्ज गर्न करिब २७० रुपैयाँ खर्च लाग्छ । त्यसबाट गाडी १८० किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यस हिसाबमा प्रतिकिलोमिटर करिब २ रुपैयाँ मात्रै विद्युत खर्च लाग्ने गरेको छ । सोल इभीको खरिदमा कम्पनीले ३ वर्ष अथवा १ लाख किलोमिटर र ब्याट्रीमा ७ वर्ष वारेन्टी दिने कम्पनीका सेल्स एक्जुकेटीभ पण्डितले बताए ।

संचय कोष र बीमा कम्पनीहरुले एनएमबी बैंकको एफपीओ किन्ने, खरिद सीमा हटाउन माग

काठमाडौं । संस्थागत लगानीकर्ताले एनएमबी बैंकको थप निष्कासन (एफपीओ) किन्नका लागि सीमा बढाउन माग गरेका छन् । कर्मचारी संचय कोष, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य निर्जीवन बीमा कम्पनीले अधिकतम ५७ हजार ७० कित्ताबाट बढाउन माग गरेका हुन् । एफपीओको खरिदको सीमा हटाउन एनएमबी बैंकले धितोपत्र बोर्डसंग छलफल थालेको छ । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । संचय कोष र बीमा कम्पनीहरुले बैंकको एफपीओ सीमा हटाउन माग गरेको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए । संचय कोष र बीमा कम्पनीले सीमा हटाउन माग गरेपछि बैंकले धितोपत्र बोर्डसंग छलफल थालेको उनले जानकारी दिए । सीमा बढाए कोष र बीमा कम्पनीले एफपीओ सबै किन्न तयार रहेको उनको भनाई छ । खुलेको पाँचौ दिन सोमबारसम्म १ अर्ब ९० करोड रुपैयाँको आवेदन परेको छ । ५७ लाख ५ हजार ७०५ कित्तालाई आवेदन परेको छ । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ । बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डर राइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।    

घर तथा अफिसमा इन्टेरियरको काम गर्न हामी अब्बल छौं- शाह

विगत २१ वर्षदेखि मुस्कान इन्टेरियरले घर तथा अफिसका लागि चाहिने सबै प्रकारका फर्निचरका सामाग्री निर्माण गर्दै आएको छ । हाम्रो अनुभवले अब नेपालमा बन्ने सबै प्रकारका घर, अफिस, हाउजिङ र हाइराइज बिल्डिङमा समेत काम गर्न सक्छौं । निर्माण स्थलमै गएर सेवा सुविधा दिने भएकोले हामीप्रति सेवाग्राहीले विस्वास बढाउँदै लगेका छन् । इन्जिनियर, ज्यामी, निर्माण सामाग्री सबै एकै ठाउँमा पाइन्छ र यसबाट हामीले अन्तर्राष्ट्रिय स्तरको सुविधा दिन्छौं । हाम्रो इन्टेरियरको सेवा सुविधा उपयोग गर्ने सेवाग्राहीले कुनै अन्य कम्पनीमा जानु पर्दैन । ग्रेड हेरी कुन स्तरको सामाग्री प्रयोग गर्ने हो सोहि अनुसारको हाम्रो डिजाइनरले कति खर्चसम्मको बनाउने हो सो को डिजाइन तयार गरी सेवाग्राहीलाई प्रदान गर्नेछौं । घर तथा अफिसका लागि आवश्यक पर्ने झ्याल ढोका, भर्याङ, रेलिङ, पार्केटिङ सबै सामाग्री एकै ठाउँमा पाइन्छ । हामीले प्रयोग गर्ने प्रायः सामाग्रीहरु नेपाली नै हुन् । हामीसँग ४ लाखदेखि ७ लाख रुपैयाँ सम्मका सोफासेटहरु रहेका छन् । नेपाल बाहिरबाट आउने फर्निचरका सामाग्रीहरु देख्दा राम्रो भएपनि लामो समयसम्म टिक्ने खालको हुँदैन । नेपालीहरुले विदेशीहरुले जस्तो प्रयोेग गरेर फाल्ने भन्ने हँुदैंन । त्यसैले नेपालीले टिकाउ सामाग्री किन्नुपर्छ । नयाँ घर मात्र नभएर पुराना घरहरुमा पनि हामीले नयाँ घरकै अनुभव हुनेगरी काम गर्छौ । हाम्रो कम्पनीले प्रायः प्रयोग गर्ने सिसौको काठ हो । यसको हामीले लाइफ ग्यारेन्टी दिन सक्छौं । निर्माण गर्ने किचेनको लागत २ लाख देखि १५ लाख रुपैयाँ सम्म हुनसक्छ । हाम्रो इन्टेरियरले ग्राण्डी अस्पताल लगायत ठूला हाउजिङमा समेत काम गरिसकेका छौं । त्यसैले अब हाम्रो अनुभव र सेवामा ग्राहकहरुमा सन्तुष्टि बढ्दै गएको छ । हामीले धनी घरपरिवारदेखि गरिब घरपरिवार समेतलाई आधार मानेर प्याकेज बनाउँछौं । विषेशगरी नयाँ घर निर्माण गर्ने सेवाग्राहीका लागि पहिले नमुना तयार गरी थ्रीडी भिडियो बनाउछौं । यो सेवाग्रहीको लागि पूर्ण रुपमा निःशुल्क हुनेछ । हामीले गर्ने सबै पीयू पोलिस नै हुन्छ । चोपडा पोलिस तुलनात्मक रुपमा सस्तो पर्न आउने भएपनि गुणस्तरको लागि हामीले पीयू पोलिस नै गर्ने गरेका छौं । (शाह मुस्कान इन्टेरियर प्रालिका प्रबन्ध निर्देशक हुन् ।)

सहकारीको जिम्मा स्थानीय तहलाई

डोल्पा । जिल्लाका सम्पूर्ण सहकारी संस्थाको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ । डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा सोमबार सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतका लागि अभिमुखीकरण एवं अभिलेख हस्तान्तरण कार्यक्रममार्फत जिल्लाका ५३ सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाइएको हो । जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटा तहमा मात्रै सहकारी संस्था रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकामा १९, ठूलीभेरी नगरपालिकामा २०, मुड्केचुला गाउँपालिकामा पाँच, जगदुल्ला गाउँपालिकामा चार, शेफोक्सुन्डो गाउँपालिकामा दुई, छार्काताङ्सोङ गाउँपालिकामा एक, काइके गाउँपालिकामा दुई सहकारी रहेका छन् भने डोल्पो बुद्ध गाउँपालिकामा एउटा पनि संस्था छैन । अभिमुखीकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा सहकारी भएका सातवटा स्थानीय तहमध्ये काइके गाउँपालिकाका प्रमुख आफैँ उपस्थित भएका थिए भने त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला, मुड्केचुलालगायतका स्थानीय तहबाट प्रमुख तथा उपप्रमुखको उपस्थिति नभई प्रतिनिधिमात्रै उपस्थित थिए । सहकारीसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम विशेषगरी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि उपलब्धिमूलक भए पनि उनीहरुकै न्यून उपस्थिति रहेको पाइएको छ । यसअघि सहकारी दर्ताका लागि हप्तौँदिन बिसौँ हजार रकम खर्च गरेर जुम्लामै पुग्नु पर्थ्यो भने अब सहकारी दर्ता, खारेजी, अभिलेख राख्ने लगायतका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ । कर्णालीका पाँचवटै जिल्लाका सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय जुम्लाका द्रोणराज आचार्यले बताए । रासस

अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर घटेर २.९९ प्रतिशतमा, केन्द्रीय बैंकले मंगलबार १० अर्ब उठाउदै

काठमाडौं । अधिक तरलताले अन्तर बैंक ब्याजदर घटेर ३ प्रतिशत तल झरेपछि नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ उठाउने भएको छ । अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतमा झरेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले दुइ साताका लागि मुद्धति निक्षेप उपकरणमार्फत बजारबाट पैसा उठाउन लागेको हो । बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले बढीमा ३ प्रतिशत ब्याज तिरेर रकम उठाउने भएको हो । यो रकम असार १९ गते परिपक्व हुने छ । ब्याजदर करिडोर नीतिअनुसार केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भए विभिन्न वित्तीय औजारमार्फत प्रशोचन र कम भएमा रिपोमार्फत बजारमा पठाउने गरेको छ । चालु आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको केन्द्रीय बैंकको भनाई छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत तल झरेपछि बजारबाट तरलता प्रशोचन गर्दै आएको छ । तरलता बढी भएमा केन्द्रीय बैंकले बैंकसंग ३ प्रतिशत र कम भएमा ५ प्रतिशत ब्याजमा बैंकलाई तरलता प्रवाह गर्छ । गत बैंशाखसम्म केन्द्रीय बैंकले खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रशोचन भएको छ ।

चीनबाट १ खर्ब ७ अर्बको लगानी प्रतिबद्धता, ६० हजारबढीले राेजगार पाउने

काठमाडौँ । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको हो । कृषि तथा वनजन्य उद्योग १००, निर्माण दश, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्रविधि १०, उत्पादनमूलक उद्योग २६५, खानीजन्य उद्योग ४७, सेवा क्षेत्र ४०३ र पर्यटन उद्योगसँग जोडिएका ४४६ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । ती उद्योगबाट करीब ६० हजारले रोजगारी पाउनेछन् । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो दिनमा चिनियाँ लगानी बढ्दै गएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा केही ठूला भौतिक पूर्वाधारका योजनामा चिनियाँ सहयोग उपलब्ध गराउन आग्रह गर्ने तयारी गरिएको छ । हिमालय सीमापार रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा जलस्रोत क्षेत्रमा साझेदारी र लगानीका विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सहमति गरिने बताइएको छ । आगामी आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्राथमिकता दिएको छ । यस्तो सन्दर्भमा पछिल्लो दिनमा चिनियाँ लगानीको प्रतिबद्धता गुणात्मक र मात्रात्मकरुपमा समेत बढेको प्रवक्ता भुसालको भनाइ छ । विभागका अनुसार चीनको हङ्कङबाट ४० उद्योग स्थापनाका लागि रु २७ अर्ब ३६ करोड ६६ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमा निर्माण दुई, ऊर्जा, दुई, सञ्चार प्रविधि एक, उत्पादनमूलक सात, सेवामूलक १४ र पर्यटनका १४ उद्योग स्थापनाका लागि प्रतिबद्धता प्राप्त भएको हो । ती उद्योगबाट करीब पाँच हजार जनाले रोजगारी पाउनेछन् । यस्तै चीनको ताइवानबाट १९ उद्योग स्थापनाका लागि रु ४० करोड ४६ लाख २० हजारबराबरको प्रतिबद्धता प्राप्त भएको छ । ती उद्योगले करीब एक हजारजनालाई रोजगारी प्रदान गर्नेछ । कृषि, सञ्चार प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योग र पर्यटनमूलक उद्योग स्थापना हुनेछन् । चीनबाट ठूला ३९, मझौला १०४ र साना एक हजार एक हजार १५६ उद्योग स्थापनाका लागि प्रस्ताव आएको विभागको भनाइ छ । यस्तै हङ्कङबाट ठूला ११, मझौला नौ र साना २० उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । विभागले दिएको जानकारीअनुसार चीनको ताइवानबाट एक ठूला उद्योग, चार मझौला र १४ साना उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । प्राप्त भएका प्रस्तावलाई आवश्यक प्रक्रिया पु¥याएर उद्योग स्थापनाका लागि स्वीकृति दिइसकिएको छ । पछिल्लो समयमा चिनियाँ लगानीकर्ता जलविद्युत्, सिमेन्ट, पर्यटन तथा सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् । रु ३६ अर्ब लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेको छ । यस्तै रु १५ अर्ब लगानीको अर्को सिमेन्ट उद्योग स्थापनाका लागि चिनियाँ कम्पनी हुवाजिनले लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । यस्तै पछिल्ला दिनमा निजी क्षेत्रको सहकार्यमा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् । सुपर साञ्जेन, रसुवा भोटेकोशी, खिम्ती दुई, त्रिशूली गल्छीजस्ता आयोजनामा चिनियाँ लगानी आकर्षित भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणपछि थप लगानी भित्रने निजी क्षेत्रको विश्वास छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारी र निजी क्षेत्रको साझा प्रयत्नमा विकास निर्माणका योजना अगाडि बढाउन भ्रमणबाट थप बल पुग्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्रीको भ्रमणपछि केही ठूला परियोजनामा चिनियाँ लगानी भित्रने बताउनुभयो । यस्तै बुटवल पावर कम्पनीको साझेदारीमा करीब एक हजार मेगावाट क्षमताको आयोजना निर्माणका लागि चिनियाँ लगानी भित्र्याउने तयारी समेत गरिएको छ । रासस

एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्, आर्थिक विकासमा मद्दत पुग्ने

काठमाडौं । अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासकालागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्याउँदै आएको छ । एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमाआधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत मद्दत पुर्याउँदै आएको छ । युवा उद्यमीहरुलाई प्रोत्साहन तथा प्रविधि विकासमा योगदान पुर्याउदै आएको एनसेलको सहयोग मायो कार्यक्रम नेपालमा संचालन हुन लागेको हो । नेपालका लागि श्रीलंकाली राजदुतस्वर्ण परेरा, अमेरीकन दुतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. भोला थापा, एमआईटीका इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को-डाइरेक्टर प्रोफेसर समन अमरासिंघे र एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रवार एक विशेष समारोह माझ कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । एमआईटी जिएसएल कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एमआईटी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शुरु गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाईबाट छानिएका ३५ जना विद्यार्थीहरुले मोबाइल प्रविधि र उद्यमशीलता सम्बन्धि एमआईटीको अद्वितिय पाठ्यक्रम अन्तर्गत प्रशिक्षण प्राप्त गर्नेछन् । कार्यक्रम गहनबुट क्याम्पको शैलीमा संचालन हुनेछ, जसमा एमआईटीका चार जना प्रशिक्षकहरुको नेतृत्वमा विशिष्ट ‘स्टुडेन्ट टु स्टुडेन्ट ल्याब’कार्यक्रम संचालन हुनेछ । कार्यक्रम असार १ गते देखि श्रावण १७, २०७५ सम्म संचालन हुनेछ । अन्तिम दिन अर्थात श्रावण १७ गते ‘डेमो डे’ आयोजना गरिने छ, जसमा सहभागी विद्यार्थीहरुले आफ्नो परियोजनाका प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।विद्यार्थीहरुलाई उद्यमशीलताका ज्ञान प्रदान गर्नु र स्टार्टअपको विकासमा मद्दत गर्नु यो कार्यक्रमको लक्ष्य रहेको छ । एमआईटी जिएसएल कार्यक्रम सात हप्ताको गहन इनोभेटिभ बुट क्याम्प हुनेछ । यस अवधिमा सहभागी विद्यार्थीहरुले आफ्ना नविन सोचलाई शुरुवात गर्ने कार्यदेखि त्यसलाई परिस्कृत गर्दै व्यावसायिक स्टार्टअप परियोजना विकास गरी त्यसको संचालन गर्ने सम्मको कौशल विकास गर्नेछन् । एमआईटी जिएसएलले विश्वव्यापी रुपमा विकासशील राष्ट्रका विश्वविद्यालय तथा कम्पनीहरुसँग सहकार्य गर्दछ र एमआईटीका प्रशिक्षकहरुद्धारा प्रशिक्षण दिईने एडभान्स कोर्स सहितको कार्यक्रम आयोजना गर्दछ । योे कार्यक्रम मोबाइल र इन्टरनेट प्रविधिमा केन्द्रित छ र विद्यार्थीहरुले आफ्ना नविन सोचमा आधारित परियोजनाहरुको के कस्तो व्यवसायिक संभावना रहन्छ भनेर जान्न सक्षम हुन्छन् । विद्यार्थीहरुलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन कोर्समा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास र आईडियाको प्रस्तुती, बिजिनेश मोडल कार्यान्वयन, गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रमहरु लगायतका विषयवस्तु समावेश गरिएका छन् । पहिलो वर्षमा एमआईटी जिएसएल कार्यक्रमले डिजिटल प्रविधिमा आधारित आफ्ना नविन सोचलाई उद्यमशीलतामा परिणत गर्दै परिवर्तन ल्याउन चाहने काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाई सदस्यहरुलाई लक्षित गरेको छ । कार्यक्रम दुई चरणमा संचालन हुनेछ जस अन्तर्गत ३५ जना छानिएका विद्यार्थीले पहिलो चरणमा आफ्नो डिजिटल आईडियालाई अझ निखार्न गहन सिकाईमा सहभागी हुनेछन् । दोस्रो चरणमा आफ्ना आईडियालाई कसरी व्यावहारिक उत्पादन र व्यवसायमा बदल्ने भनेर समुहगत रुपमा काम गर्नेछन् । विद्यार्थीहरुकालागि आवश्यक संसाधन, प्रशिक्षण, उत्प्रेरणा तथा सहकार्य संभावनाका लागि एमआईटी र काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई सहयोग गर्नेछ ।