विकासन्युज

सेञ्चुरी बैंकले थप्यो चार वटा नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप चारवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको चतरा र झुम्कामा, मोरङ्गको रङ्गगेली र झापाको चन्द्रागढीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । बैंकले आफ्नो बैंकिङ्ग पहुच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बोनस पछि राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१.८२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको थियो ।

नेपाल हाइड्रो डेभलपर्सको असार १३ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको आगामी असार १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असार २९ गतेसम्म संस्थाको बुक क्लोज गर्न लागेको हो । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १६ दिन सेयर कारोबार बन्द गर्दै छ । यस संस्था आगामी असार २९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभामा जाँदै छ ।

एभरेष्ट फ्लोरिडा, न्यू समिट र यूनिभर्सल कलेज मर्ज हुँदै, कसकाे सेयर कति हुने ?

काठमाडौं । एभरेष्ट फ्लोरिडा, न्यू समिटि र यूनिभर्सल कलेज मर्ज हुने भएका छन् । तीन शैक्षिक संस्था मर्ज गर्न मर्जर समिटि गठन भई काम शुरु भएको छ । तीन शैक्षिक संस्थाको फरक फरक सामाथ्र्य मर्ज गरी राम्रो र बलियो शैक्षिक संस्था बनाउने उदेश्यले मर्जको तयारी भईरहेको स्रोतले बतायो । नयाँ बानेश्वरस्थित एभरेष्ट फ्लोरिडासँग सुविधा सम्पन भवन छ । न्यू समिट कलेजले त्रिभुवन विश्व विद्यालयबाट बीएससी/सीएचआईटी विषय अध्यापन गर्ने अनुमति पाएको छ । त्यस्तै, मैतिदेबीमा अवस्थित यूनिभर्सल कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीबीए विषय अध्ययन गर्न अनुमति पाएको छ । ‘हामी मध्ये कसैसँग खास विषय पठाउने अनुमति छ तर उचित पूर्वाधार छैन, कोहीसँग उचित पूर्वाधार छ तर लाईसेन्स भएन । मर्ज हुँदा उचित पूर्वाधार पनि हुने भयो, पढाउने विषय पनि भयो’ एक कलेजको कार्यकारी प्रमुखले मर्जपछिको कलेजले पाउने सिनर्जीबारे बताए । पछिल्लो ६ वर्षयता विश्वविद्यालयहरुले नयाँ विषय अध्यापनको लागि अनुमति नदिएका कारण धेरै कलेजहरु क्षमता विस्तार गर्ने अवसरबाट बञ्चित भएको जानकारहरु बताउँछन् । एभरेष्ट फोरिडाबाट शिशिर उप्रेति, न्यू समिटबाट रामेश्वर अर्याल, यूनिभर्सलबाट शिवदत्त ज्ञवाली रहनेगरी मर्जर समिति बनेको छ । मर्जर समितिले तीन वटा कलेजबीच बराबर सेयर हिस्सा रहनेगरी मर्जरको स्वाप रेसियो तयार गर्दैछ । शैक्षिक संस्थाहरु मर्ज गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नभएकोले प्रक्रिया केही लामो भएको स्रोतले बतायो ।

भीमदत्त नगरपालिकाको बजेट १ अर्ब, नमूना सहर बनाइने

काठमाडाै‌ं । भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५/०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार रु १ अर्ब १० करोड ६४ लाखको बजेट पारित गरिएको हो । चालू आर्थिक वर्षका लागि गतवर्ष रु १ अर्ब ६४ लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा केही पुरानालाई निरन्तरता दिएर नयाँ नीति तथा कार्यक्रम समावेश गरिएका छन् । आगामी आवका लागि आन्तरिक आम्दानी रु १२ करोड २७ लाख प्रस्ताव गरिएको छ । वित्तीय समानीकरणबाट रु २५ करोड ५६ लाख, सशर्त अनुदान रु ३१ करोड ९५ लाख, राजश्व बाँडफाँट रु १४ करोड ३३ लाख, सामाजिक सुरक्षातर्फ रु १८ करोड, लागत सहभागितातर्फ रु एक करोड, क्षेत्रीय शहरी विकास आयोजना रु चार करोड ३५ लाख, सडक बोर्ड रु ७२ लाख र सीमाक्षेत्र विकास कार्यक्रमबाट रु ४५ लाख आम्दानी अनुमान गरिएको छ । आन्तरिक आम्दानीको रु छ करोड ४९ लाख साधारणतर्फ रु १८ लाख पूँजीगत, म्याचिङ फण्ड रु ७५ लाख, आय फिर्ता रु एक करोड २५ लाख र रु ५८ लाख विभिन्न कोषका लागि विनियोजन गरिएको छ । वित्तीय समानीकरणको बजेट वडा कार्यालयका लागि रु एक करोड ४८ लाख, नगरपालिका कार्यालयका लागि रु नौ करोड र पूँजीगतमा रु १४ करोड ५६ लाख विनियोजन गरिएको छ । राजश्व बाँडफाँडको अनुमानित आम्दानीलाई पूँजीगत खर्चमा विनियोजन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सुशीलाचन्द सिंहले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । बजेटमा नगर सभासद्ले आफ्नो धारणा राखेपछि नगर सभाबाट पारित गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए। नगरपालिकाका प्रमुख विष्टले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा स्थानीय स्रोतसाधनको प्रयोग र जनशक्ति परिचालनबाट नगरपालिकालाई प्रदेश नं ७ को नमूना र व्यवस्थित शहर बनाउने नीतिसहित अल्पकालीन र दीर्घकालीन योजनासहित आगामी वर्षको नीति तथा कार्यक्रम बजेट ल्याइएको बताए । ‘सबै नगरवासीको सहयोगमा यो बजेट कार्यान्वयन गर्न चाहन्छाै‌ँ,’ नगर प्रमुख विष्टले भने  ‘यसमा सबैको साथ र सहयोग हुने आशा गरेका छाै‌ं ।’ रासस

भक्तपुरका सीडीओले टेरेनन् प्रधानमन्त्रीको आदेश, इञ्जिनियरिङ कलेजको अनियमितता छानविन भएन

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा भइराखेको आर्थिक अनियमिताको सम्वन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार काठमाडौंले गरेको पत्राचारलाई जिल्ला प्रशाशन कार्यालय भक्तपुरले अटेर गरेको छ । कलेजमा भइरहेको आर्थिक अपचलन लगायतका विषयमा छानविन गरी सत्यतथ्यका आधारमा आवश्यक कारबाही गर्न गरेको निर्देशको प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भटले अटेर गरेका हुन् । २०७५ जेठ ३० गते प्रधानमन्त्रीले गरेको पत्राचार अनुसार कुनै कारबाही अगाडि नवढाई जिल्ला प्रशाशन मौन बसेका हुन् । कलेजका संस्थापक अध्यक्ष प्राडा दीपक भटराईले नै कलेजमा व्यापक आर्थिक भ्रष्टाचार भइरहेको भन्दै दोषिमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए । निवेदन अनुसार प्रधानमन्त्री कार्यालयले कारबाही अगाडि वढाउन जिल्ला प्रशाशन कार्यालय भक्तपुरलाई पत्र लेखी निर्देशन दिएको थियो । वार्षिक ५० औं करोड आम्दानी भएको कलेजमा तत्कालिन कलेज सञ्चालक समितिका अध्यक्ष लम्वोदर न्यौपानको नेतृत्वमा आर्थिक अनियमितता भइरहेपछि संस्थापक अध्यक्ष भटराइले छानविन गरी दोषिमाथि कारबाही गर्न लिखित माग गरेका थिए । मागको सुनुवाई नभएपछि कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी संघर्ष समितिले सोमबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरसमक्ष ज्ञापनपत्र बुझाई कलेज जोगाई आर्थिक अनियमितताको छानविन गरी दोषिमाथि कारबाही गर्न आग्रह गरेका थिए । शिक्षककातर्फबाट सहप्राध्यापक दुर्गाप्रसाद भण्डारी र कर्मचारीकोतर्फबाट मनोहर खनालको हस्ताक्षर रहेको संयक्त ज्ञापनपत्रमा कलेजको अवस्था वन्द हुने क्रममा पुगे पनि जिल्ला प्रशाशन कार्यालय, स्थानीय निकायको रुपमा रहेको चाँगुनारायण नगरपालिकालगायतका अभिभाबकत्व गर्नेहरु चुप लागेर बसको आरोप लगाइएको छ । बुझाइएको ज्ञापनपत्रमा सीडीओ चुप लागेर वस्नुले मिलेमतो भएको शंका उत्पन्न भएको उल्लेख छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती हडप्न निजीकरण गर्ने पक्षमा रहेका सञ्चालकहरुको नेतृत्व गर्दै आएका पूर्व अध्यक्ष एवं सञ्चालक समितिका सदस्य लम्वोदर न्यौपानेको योजनामा सीडीओको मिलेमतो रहेको आरोप उनीहरुले लगाएका छन् । गएको वैशाख ३१ गते शिक्षक कर्मचारी संघर्ष समिति गठन भएको र समस्या समाधान सम्वन्धी विषयमा जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता नम्वर २५०१ अन्तर्गतको पत्र पनि केही सुनुवाई नभएको अवस्था रहेको बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । स्थितिको जटिलताको समाधान प्रमुख जिल्ला अधिकारीबाट नआएको भन्दै शिक्षक कर्मचारीहरुले असन्तुष्टीसमेत प्रकट गरेका छन् । संघर्षरत शिक्षक कर्मचारीहरुले सीडीओ नारायणप्रसाद भटलाई पटकपटक उनकै कार्यकक्षमा भेटी समस्या समाधान गरिदिन अनुरोध गर्दा अध्ययन गर्नुपर्छ भनी आलटाल गरेको उनीहरुको आरोप छ । ज्ञापनपत्रमा संस्थामा भएका आर्थिक अनियमितताको छानविन गरी दोषिमाथि कडा कारबाही हुनुपर्ने माग पनि उल्लेख गरिएको छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती रहेको नेपाल इन्जिनियरि कलेजलाई प्रालि बनाई वेच्ने प्रयास यसअघि नै लम्वोदर न्यौपानेले गरेका थिए । ज्ञापनपत्र बुझाउनु अघि सयौँंका संख्यामा आएका कलेजका शिक्षक कर्मचारीहरुले प्रशाशन अगाडि विरोध र्याली निकालेका थिए । पर्यटक बस पार्क भक्तपुरबाट विभिन्न नारा लेखिएका कार्ड बोकी उनीहरु प्रशासन पुगेका थिए । सामाजिक संस्था ऐन अनुसार गैर नाफामुलक रुपमा सञ्चालनमा रहेको कलेज एक पक्ष सोही रुपमा र अर्काे पक्ष नाफा कमाउन निजीकरण गर्नुपर्नेमा रहेका छन् । सात सदस्यीय सञ्चालक समितिमा पाँंच जना प्रालि गरी वेच्ने पक्षमा छन् भने दुई जना नाफा नलिई सञ्चालन गर्नुपर्ने पक्षमा छन् । सञ्चालक समितिका सदस्यहरु हरिप्रसाद पाण्डे र शलिल भटराई नाफा नलिने पक्षमा छन् भने अन्य सदस्यहरु लम्वोदर न्यौपाने, डा रामरत्न उपाध्याय, लवराज भटराई, उपेन्द्र गौतम, र सूर्यवहादुर केसी प्रालि गरी नाफा कमाएर बेच्ने पक्षमा छन् ।

३ जनाको ज्यान लिने टिपर चालक जेल चलान

काठमाडौं । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट काठमाडौँ तर्फ आइरहेको बा ३ ख ६६७४ नं को टिपरले सोही दिशाबाट आइरहेको बा ५६ प १२२७ नं को स्कुटरलाई ठक्कँर दिँदा स्कुटर चालक हरिबहादुर कटुवाल तथा पछाडि यात्रा गर्ने सविता घिमिरे र अरविन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको थियो । सो घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले चालक सुचिकारलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) बमोजिम लापरर्बाहीपूर्वक सवारी चलाइ ज्यान लिएकोमा सोही नं बमोजिम सजायको माग दाबीसहित जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको थियो । सरकारवादी सो मुद्दामा पीडितको पक्षबाट जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सहायक जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्ले र अधिवक्ता किरण न्यौपाने तथा प्रतिवादी सुचिकारका तर्फबाट अधिवक्ता कुमारप्रसाद आचार्यले बहश गरेका थिए ।

आत्मनिर्भर बन्ने बाटो खोज्न प्रधानमन्त्री ओली चीन भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा निस्किएका छन् । ११९ जना प्रतिनिधी मण्डलको नेतृत्व गर्दै ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीले चीन भ्रमणका क्रममा आधा दर्जन नाका सञ्चालन, रेलको डीपीआर निर्माण, ट्रान्समिसन लाइन निर्माण, व्यापार तथा पारवाहन सन्धि, व्यापारमा विविधिकरण लगायतका सहमति गर्नेछन् । प्रधानमन्त्री ओलीले चीनको महत्वकांक्षी योजना बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई)का लागि आफ्ना पूर्वाधार योजनाहरु पनि पेश गर्नेछन् । चिनियाँ नाका जोड्ने पाँच वटा सडक, केरुङ–काठमाडौं रेलमार्ग, ट्रान्समिसन लाइन निर्माण, केहि जलविद्युत आयोजनाको निर्माण लगायतका योजनालाई बिआरआईमा राख्न प्रस्ताव गर्नेछन् ।