विकासन्युज

पहिलो ४ दिनमा नेपाल बैंकको एफपीओ बिक्री भएन, साउन १३ गतेसम्म खुला

काठमाडौं । थप निष्कासन (एफपीओ) बिक्री नभएपछि नेपाल बैंकले साउन १६ गतेसम्म खुला गरेको छ । बैंकले एफपीओ निष्कासन बन्द छिटोमा असार १९ गते हुने जानकारी गराएको थियो । छिटोमा बन्द हुने अन्तिम दिन आज मंगलबारलाई तोकिएको थियो । बिक्री नभएपछि ढिलोमा साउन १३ गते बन्द हुने भएको हो । सोमबारसम्म २१ करोड ९२ लाख ४६ हजार रुपैयाँ बराबरको एफपीओ मात्र बिक्री भएको छ । सोमबार ७ हजार २३९ आवेदकले ७ लाख ८३ हजार २२ कित्ता किन्नका लागि फारम भरेको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । आवेदनको अवस्था हेर्दा बैंकको एफपीओ बिक्री नहुने देखिएको छ । अन्तिममा प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सकार्नुपर्ने संभावना बढेको छ । ८ वटा मर्चेन्टले बैंकले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् । एफपीओमा १०० प्रतिशत प्रत्याभूति गर्नुपर्ने व्यवस्था छ । एफपीओ खुलेको दिनदेखि संगठित संस्थालाई पनि खुला गरेपनि हालसम्म कसैले दिएका छैनन् । बैकले न्युनतम ५० कित्ता र अधिकम १० ले भाग जाने गरी विद्यमान कानूनी व्यवस्थाको सीमाभित्र रहने गरी अधिकतमका लागि आवेदन दिन सकिने छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुनेछ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

१२ प्रतिशत तलव बढाउन उद्योगीको प्रस्ताव, मजदुरले भने-२० हजार चाहिन्छ, मंगलबार सहमति हुने संभावना

काठमाडौं । उद्योगीले मजदुरको तलव औसत १२ प्रतिशत बढाउन प्रस्ताव गरेका छन् ।  मजदुर नेताले न्युनतम तलव दोब्बर भन्दा अझ बढी बढाएर २० हजार पुर्याउनु पर्ने माग गरेपछि उद्योगीले मूल्यवृद्धिका आधारमा तलव बढाउने प्रस्ताव गरेका हुन् । अहिले मजदुरको मासिक औसत तलव ९ हजार ७०० रुपैयाँ छ । १२ प्रतिशत वृद्धि भएमा उनीहरुको न्युनतम तलव १० हजार ८६४ रुपैयाँ पुग्ने छ । मजदुरको तलव बढाउन दवाव परेपछि उद्योगीको तर्फबाट १ हजार १६४ रुपैयाँ वृद्धि गर्ने प्रस्ताव आएको नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) का उपाध्यक्ष तथा न्युनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक पौडेलले बताए । उद्योगीले साउन १ गते देखि सबै मजदुरहरुको तलब बढाउनु पर्ने अवस्था आएपछि मालिक र मजदुरनेता सौदावाजीमा लागेका हुन् । सरकारले २ बर्षमा मजदुरहरुको तलब समायोजन गर्ने व्यवस्था अनुसार समिति गठन गरेको हो । उद्योगी र मजदुर नेताबीच संभवत मंगलबारसम्म न्युनतम तलवको विषयमा सहमति हुने संभावना रहेको पौडेलले जानकारी दिए । १५ हजार रुपैयाँका हारहारीमा सहमति हुन सक्ने संभावना देखिएको छ । श्रम मन्त्रालयले सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय न्युनतम पारिश्रमिक निर्धारण गठन गरेको थियो । समितिको बैठक ९ पटकसम्म बसिसकेको छ । अब एक हप्ताभित्रै मजदुरहरुको न्युनतम पारिश्रमिक निर्धारण हुनेछ । ‘हामी छलफलको अन्तिम तर्फ पुगिसकेका छौं, निष्कर्षलाई लिपीवद्ध गर्न मात्रै बाँकी छ’, समितिका सदस्य तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने । ‘हामीले आफ्नो अडान राखेका छौं, उद्योगीहरुले आफ्नो कुरा राख्नु भएको छ, ९ पटक छलफल भएको छ, अब अर्काे निर्णायक छलफल गरेर मजदुरको नयाँ तलबमान सिफारिस हुनेछ’ पौडेलले विकास न्युजसँग भने । समाजिक सुरक्षामा औपचारिक क्षेत्रको २० प्रतिशत र अनौपचारिक क्षेत्रको ४१.५ प्रतिशत रकम बढ्ने संभावना रहेको छ । समितिले गर्ने सिफारिसलाई श्रम मन्त्रालयले साउन १ गतेदेखि लागु गर्नेछ । ‘छलफलमा बिभिन्न प्रस्तावहरु आएका छन, हामी ठ्याक्कै रकम यति हुने भन्ने तर्फ गएका छैनौं, केन्द्रिय बैंकको तथ्यांक, आईएलओको रिपोर्ट र नेपाली बजारको आधारमा तलब तोकिन्छ ।’, अग्रवालले भने ।    

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘दृष्टि’ उत्कृष्ट, ‘सेभ लाइफ क्याम्पियन’ भिडियो लन्च

काठमाडौं । रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्धारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ । त्यसैगरी नेपाल फिल्म एकेडेमीद्धारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्धारा निर्देशित ‘सरी बेटा’ फिल्म तेस्रो बनेको छ । पहिलो विजेता फिल्मले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगदका साथै शिल्ड र सर्टिफिकेट प्राप्त गरेका छन् । सहभागी तथा विजेताहरुलाई कार्यक्रमका अतिथि योगेश भट्टराई, कर्णबहादुर थापा र बिनोद श्रेष्ठले शिल्ड, सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नासा फाउन्डेसनको व्यवस्थापनमा आज नेपालमै पहिलो पटक आयोजित काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभलमा यी फिल्म विजयी भएका हुन् । नेपाल टुरिजम बोर्डको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ पूर्व उप-प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा विशिष्ट वक्ताका रुपमा बेलायतका पूर्व यातायात मन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम)का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुलश्रेष्ठ थिए । सो अवसरमा मुख्य अतिथिका रुपमा पूर्व मन्त्री कर्ण बहादुर थापा, संघीय संसद सदस्य योगेश भट्टराई र जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठको उपस्थिति रहेको थियो । निर्णायक मण्डलमा वरिष्ठ कलाकार आरपी पन्त, सञ्चारकर्मी दिनेश डिसी, चलचित्र सम्पादक नवीन निरौला, पत्रकार दिवस गुरागाईं र ट्राफिक इन्जिनियर आशिष गजुरेल थिए । कार्यक्रममा १२ जना नेपाली कलाकारद्धारा अभिनित “SAVE #3500 LIVES Campaign” भिडियो समेत लन्च गरिएको थियो । फेस्टिभलमा कुल १७ वटा फिल्मले सहभागिता जनाएका थिए । संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ सडक दुर्घटना । आज संसारमा वार्षिक रुपमा १४ लाखभन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सय भन्दा बढी अनाहक मै मारिन्छन् । त्यसैगरि, नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौको क्षति भइरहेको पनि छ । सडक दुर्घटनाका कारण हाम्रो सामाजिक संरचना नै धरापमा पर्ने अवस्थामा पुगेको छ । र, त्यही कहाली लाग्दो अवस्थामा केही सुधार गर्ने उद्देश्यका साथ सरकारी र नागरिक स्तरमा पनि केही न केही कार्य भइरहेका पनि छन् । त्यसैको एक प्रयासको रुपमा नासा फाउन्डेसन र अन्य संस्थाहरुले पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरेको बताएका छन् । नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको कल्याणकारी संस्था हो ।

मन्त्रीको स्वकिय सचिव छाडेर पार्टी संगठनमा लागे आलम

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका स्वकिय सचिव वसिम आलमले जिम्मेवारी छाडेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिव तथा मोरङ एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका आलमले पार्टी तथा संगठनको कामका लागि स्वकिय सचिवको जिम्मेवारी त्यागेको बताएका हुन् । सोमबार मन्त्री लालबाबु पण्डितले मन्त्रालयमै आलमलाई विदाई गरेर यस अघि स्वकिय अधिकृत रहेका मनोज राईलाई स्वकिय सचिव नियुक्त गरेका हुन् । मन्त्री पण्डितले जिल्लामा पार्टी काम, क्षेत्रको विसका निर्माणमा समन्वय तथा अनेरास्ववियुको जिम्मेवारी समेत वहन गर्नेगरि आलमलाई पठाइएको जानकारी दिए । आलमले पनि जिल्लाको विकास निर्माणमा समन्वय तथा पार्टी र संगठनको कामका लागि आफुले स्वकिय सचिवको जिम्मेवारी छाडेको जानकारी दिए । पण्डित यस अघि सामान्य प्रशासन मन्त्री हुँदा पनि आलम स्वकिय सचिवको जिम्मेवारीमा थिए । काँग्रेस नेता शेखर कोइरालासँग निर्वाचन लडेको मन्त्री पण्डितको चुनावी कमाण्ड पनि आलमले नै सम्हालेका थिए । उनी मोरङको राजनीतिक वृतमा परिचित युवा राजनीतिज्ञ हुन् ।

मेक्सिकोलाई हराउन नेइमार सहित को-को मैदानमा ?

काठमाडौं । केहि मिनेट पछि शुरु हुने ब्राजिल र मेक्सिको बिच हुने खेलमा उत्कृष्ट ब्राजिलियन डिफेन्डर मार्सेल्लो टीममा परेका छैनन । ब्राजिलले नेइमार सहित ग्राबियल जेसिसलाई मुख्य स्ट्राइकर बनाएर टाेली मैदान उतार्ने भएको छ । टोलीमा विलियम, थियागो सिल्भा, कौटिन्हो, पाउलिन्हो, कासिमेरो, फिलिपे लुइज, मिरान्डा, फाग्गर र गोलरक्षक एलिसन रहेका छन् । अप्रत्यासित रुपमा स्पेन बाहिरिएपछि ब्राजिल थप सर्तक भएको मैदान उत्रिनेछ ।

विदेशबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जनालाई गोकर्ण विष्टको सम्मान

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जनालाई श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सम्मान गरेका छन् । २३ जना उद्यमीमध्येबाट ८ जनालाई छनोट गरी मन्त्रालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा सोनम लामा, देवी प्रसाद खत्री, हरि लुइँटेल, खोगराज कटुवाल, गणेश पुन मगर, प्रेम प्रसाद लामिछाने, द्रोन प्रसाद न्यौपाने र रामदिपाल थारु रहेका छन् । यसमध्ये सबैभन्दा उत्कृष्ट पुरस्कार सोनाम लामाल जितको छन् । उनले १६ करोड लगानीमा लमजुङ जिल्लामा एकिकृत कृषि फार्म सञ्चालन गर्दै आएका छन् । उनलाई नगद १ लाख र बाँकी ७ जनालाई ५० हजार नगद सहित पुरस्कार प्रदान गरिएको हाे । कार्यक्रमलाई सम्बोधन गर्दै ५ वर्षभित्र नेपाली युवाहरुलाई विदेश जान निरुसाही बनाउने बताए । ‘नेपाली युवा हरुले श्रमलाई सम्मान गर्न नसक्दा बेरोजगारीहरु बढिरहेका छन्, नेपाली श्रम बजारको माग अनुसार जनशक्ति कामदार पाउन सकिएको छन यो नेपालको लागि ठूलो दुर्भाग्य हो,’ मन्त्री विष्टले भने । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न लागेको उनले बताए । आज नेपाली युवाको सपना जापान, संयुक्तराज्य अमेरिका, बेलायत भएको भन्दै अबको दश वर्षमा यो चक्रलाई तोड्ने दाबी गरे । कार्यक्रममा सम्पानीत व्यक्तिहरुले ससरकारको सम्मानप्रति खुशि व्यक्त गरेका थिए ।

बिजुली उत्पादन लक्ष्य २५०, थपियो १०० मेगावाट मात्र, कति घट्छ भारतबाट आयात ?

काठमाडौं । चालु आर्थिक वर्ष ०७४/०७५ मा सार्वजनिक र निजी क्षेत्रबाट गरी १०० मेगावाट बिजुली थप भएको छ । गत साउन यता १६ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भइसकेको छ । यसमध्ये निजी क्षेत्रबाट १५ आयोजना सम्पन्न भई ७० मेगावाट र विद्युत प्राधिकरणको लगानीमा ३० मेगावाटको चमेलिया आयोजना सम्पन्न भएको छ । निजी क्षेत्रबाट माइभ्याली हाइड्रोपावर प्राइभेट लिमिटेडले ५.१ मेगावाटको अपरमाई सी, द्रोणाञ्चल हाइड्रोपावरले ६०० किलोवाटको ढुङेजिरी, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, ४ मेगावाटको पुवाखोला १ हाइड्रोपावर, शिवानी हाइड्रोपावरले ४.९ मेगावाटको फावाखोला, माउन्ट कैलाश इनर्जी लिमिटेडको १३.६ मेगावाटको थापाखोला छन् । यस्तै मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सर्दिखोला, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, युनियन हाइड्रोपावरको ३ मेगावाटको मिदीमखोला, सिउरीभुमे माइक्रो हाइड्रको २३ किलोवाट, मोलुङ हाइड्रोपावरको ७ मेगावाटको मोलुङखोला, सिकलेस हाइड्रोपावरको १३ मेगावाटको मद्क्युखोला र हिमाल दोलखा हाइड्रोपावरको ८ मेगावाटको माइसाना क्यासकेड आयोजना रहेका छन् । बराही हाइड्रोपावरको १.५ मेगावाटको थेउलेखोला र ४० किलोवाटको लेगुवाखोला आयोजना सम्पन्न भएको विद्युत प्राधिकरणले जनाएको छ । यो वर्ष जलविद्युतको मात्रै जडित क्षमता १ हजार १०० मेगावाट पुग्ने छ । यो तापीय ऊर्जा बाहेकको हो । ५३ मेगावाटको तापीय प्लाण्ट पनि रहेका छन् । यस्तै ६०० किलोवाटको सोलार आयोजना र प्रणाली बाहिर साना तथा लघुजलविद्युतबाट २७ मेगावाट बिजुली उत्पादन भइरहेको छ । गत वर्ष विभिन्न १२ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । असारसम्म अरुण कावेली पावर लिमिटेडले निर्माण गरेको २५ मेगावाटको कावेली बी, माथिल्लो मोदी इनर्जीले निर्माण गरिरहेको २० मेगावाटको मोदी, अपी पावर कम्पनीको ८ मेगावाटको माथिल्लो नौगाड, माउन्टेन नेपाल हाइडोपावरको २१.६,तल्लो हेवाखोला, रैराग हाइडोपावरको ९.९ मेगावाटको इवाखोला आयोजना नआउने भएको छ । यो समेत गरी विद्युत प्राधिकरणले १९५ मेगावाट बिजुली थप हुने प्रक्षेपण गरिएको थियो । लामो समयपछि प्रणालीमा माग भन्दा बढी बिजुली आपूर्ति भएको छ । प्रणालीमा अहिले माग भन्दा झण्डै १०० मेगावाट हारहारीमा बिजुली बढी रहेको छ । हाल बिजुलीको माग ११७५ देखि १२०० मेगावाट रहेको छ । तर आपूर्ति भने १३०० मेगावाट रहेको छ । विद्युत प्राधिकरणका आयोजनाबाट ४५०, भारतबाट ५०० र निजी उत्पादकबाट ३५० देखि ४०० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग भने बढीमा १२०० मेगावाट पुग्ने गरेको छ । आन्तरिक उत्पादनबाट मात्रै ९०० मेगावाट हारहारीमा बिजुली आपूर्ति हुने गरेको छ ।    

ग्लोबल आइएमई बैंक र ओम हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने सम्झौता भएकाे छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन, मिडिया तथा ब्राडिङ्ग विभाग प्रमुख रविन्द्र ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष भोला रिजालको विशेष उपस्थिति रहेको थियो । उक्त सम्झौता पश्चात ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा विशेष छुट पाउने छन् । बैंकले ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ । हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ९३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।