काठमाडौं । उद्योगीले मजदुरको तलव औसत १२ प्रतिशत बढाउन प्रस्ताव गरेका छन् । मजदुर नेताले न्युनतम तलव दोब्बर भन्दा अझ बढी बढाएर २० हजार पुर्याउनु पर्ने माग गरेपछि उद्योगीले मूल्यवृद्धिका आधारमा तलव बढाउने प्रस्ताव गरेका हुन् । अहिले मजदुरको मासिक औसत तलव ९ हजार ७०० रुपैयाँ छ । १२ प्रतिशत वृद्धि भएमा उनीहरुको न्युनतम तलव १० हजार ८६४ रुपैयाँ पुग्ने छ ।

मजदुरको तलव बढाउन दवाव परेपछि उद्योगीको तर्फबाट १ हजार १६४ रुपैयाँ वृद्धि गर्ने प्रस्ताव आएको नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) का उपाध्यक्ष तथा न्युनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक पौडेलले बताए । उद्योगीले साउन १ गते देखि सबै मजदुरहरुको तलब बढाउनु पर्ने अवस्था आएपछि मालिक र मजदुरनेता सौदावाजीमा लागेका हुन् ।
सरकारले २ बर्षमा मजदुरहरुको तलब समायोजन गर्ने व्यवस्था अनुसार समिति गठन गरेको हो । उद्योगी र मजदुर नेताबीच संभवत मंगलबारसम्म न्युनतम तलवको विषयमा सहमति हुने संभावना रहेको पौडेलले जानकारी दिए ।
१५ हजार रुपैयाँका हारहारीमा सहमति हुन सक्ने संभावना देखिएको छ । श्रम मन्त्रालयले सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय न्युनतम पारिश्रमिक निर्धारण गठन गरेको थियो । समितिको बैठक ९ पटकसम्म बसिसकेको छ । अब एक हप्ताभित्रै मजदुरहरुको न्युनतम पारिश्रमिक निर्धारण हुनेछ । ‘हामी छलफलको अन्तिम तर्फ पुगिसकेका छौं, निष्कर्षलाई लिपीवद्ध गर्न मात्रै बाँकी छ’, समितिका सदस्य तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने ।
‘हामीले आफ्नो अडान राखेका छौं, उद्योगीहरुले आफ्नो कुरा राख्नु भएको छ, ९ पटक छलफल भएको छ, अब अर्काे निर्णायक छलफल गरेर मजदुरको नयाँ तलबमान सिफारिस हुनेछ’ पौडेलले विकास न्युजसँग भने ।
समाजिक सुरक्षामा औपचारिक क्षेत्रको २० प्रतिशत र अनौपचारिक क्षेत्रको ४१.५ प्रतिशत रकम बढ्ने संभावना रहेको छ । समितिले गर्ने सिफारिसलाई श्रम मन्त्रालयले साउन १ गतेदेखि लागु गर्नेछ ।
‘छलफलमा बिभिन्न प्रस्तावहरु आएका छन, हामी ठ्याक्कै रकम यति हुने भन्ने तर्फ गएका छैनौं, केन्द्रिय बैंकको तथ्यांक, आईएलओको रिपोर्ट र नेपाली बजारको आधारमा तलब तोकिन्छ ।’, अग्रवालले भने ।