विकासन्युज

शिक्षामा दोष छैन, व्यवसायिक वातावरण ठिक हुनुपर्यो- दीपिका थापा

करिव २० वर्षअघि भक्तपुरको गट्ठाघरमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्दाको समयबाट आजको दिनसम्म अनेकौं आरोह अवरोह पार गर्दै अघि बढेकी जुझारु महिला दीपिका थापासँग स्कूल सञ्चालनको सुरुवाती समयमा उनले भोगेका तितामिठा अनुभवका साथै नेपालको स्कूल तहमा आवश्यकिय शिक्षा र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन उनको स्कूलले गरिरहेको क्रियाकलाप लगायतका विषयमा देशविकासका राजाराम न्यौपानेले गरेको कुराकानी । दीपिका थापा, प्रिन्सिपल, सिद्धार्थ विद्यापिठ सेकेण्डरी बोर्डिङ्ग स्कूल कस्तो परिवेशमा तपाईले सिद्धार्थ विद्यापिठ स्कूल स्थापना गर्नु भएको हो ? मैले १५ वर्षको उमेरदेखि नै शिक्षण पेसा शुरु गरेकी हुँ । साना नानीहरुलाई पढाउँदै जाँदा समयक्रम सँगै मैले आफ्नै स्कूल खोल्ने सोच बनाउन थालेको थिएँ । ५ अलग अलग विद्यालयबाट शिक्षिकाको रुपमा प्रशस्त अनुभव बटुलेपछि २०५६ सालमा यस स्कूलको स्थापना गरेकी हुँ । स्कूल सञ्चालन गर्ने योजना सुनाउँदा साथीभाइ, आफन्त लगायतले महिलाले धेरै ठूलो सोच बनाउँदा असफल भइन्छ भनिरहन्थे । तर म पहिलेदेखिनै अलि जिद्धि स्वभावको भएकोले होला सहि काम गर्नमा महिला अथवा पुरुष भन्ने कुराले केहि फरक पार्दैन भन्ने धारणा बनाएँ अनि आफ्नो सपनालाई मलजल गर्दै गएँ । फलस्वरुप २०५६ सालमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्न सफल भएँ । सिद्धार्थ विद्यापिठ अन्य स्कूलहरुभन्दा के कारणले फरक भएको छ ? हरेक विद्यालयले पढाइलाई नै फोकस गर्ने गर्दछन् र हामीले पनि त्यही नै गरेका छौँ । त्यसैगरी विद्यार्थीहरुलाई पढाइका साथसाथै नृत्य, गायन, वादन लगायतको ज्ञान दिनु त सामान्य नै भइसक्यो । तर आज यस मानेमा हामी अन्य स्कूलहरु भन्दा फरक भएका छौं कि हामी आउँदो युग टेक्नोलोजीको युग हुनेछ भन्ने कुरालाई विशेष ध्यान राख्दै हाम्रा विद्यार्थीहरुलाई टेक्नोलोजीको पनि आवश्यकय ज्ञान दिने गर्दछौं । यस अन्तर्गत भिब्ग्योर नेक्स्ट जेन प्रोग्राम्स्का ६ अलग अलग विषयहरुको ज्ञान हाम्रा विद्यार्थीहरुले स्कूल लेभलमै हासिल गरिरहेका छन् । ती ६ विषयहरुमा लाइफ स्किल्स क्लासेज, आर्ट एण्ड डिजाइन क्लासेज, फोटोग्राफी एण्ड सिनेमेटोग्राफी, रोबोटिक्स एण्ड टेक्नोलोजी क्लासेज, इमर्सिभ मिडिया क्लासेज र एनिमेसन एण्ड भिजुअल इफेक्ट्स क्लासेज रहेका छन् । यस्तो फरक किसिमको कक्षा सञ्चालनले तपाईंका विद्यार्थीहरुमा कस्तो किसिमको परिवर्तन ल्याएको छ ? हाम्रो विद्यालयमा दिइने फरक तथा जीवनोपयोगी शिक्षाको एकदम राम्रो प्रभाव विद्यार्थीहरुमा परेको हामीले पाएका छौं । उनीहरुमा सकारात्मक सोच राख्ने र सिर्जनात्मक हुने कला विकास हुँदै गइरहेको छ । पहिलेका विद्यार्थीहरुले पनि कार्टुन हेर्ने गर्थे र अहिलेकाहरुले पनि हेरिरहेका छन् । तर पहिलेका विद्यार्थीहरुले मनोरञ्जनका लागि मात्र हेर्थे भने अहिले हाम्रा विद्यार्थीहरुले कार्टुन हेर्ने मात्र नभई बनाउन पनि सिकिरहेका छन् । त्यसैगरी उनीहरुले कम्प्यूटरमा गेम खेल्ने मात्रै नभई गेम कसरी बनाएको छ भनेर पनि ज्ञान हासिल गरिरहेका छन् । स्कूल नजाने भन्दै बहाना बनाउने बच्चाहरु पनि खुशी हुँदै स्कूल जान हतारिन्छन् भन्ने कुरा अभिभावकहरुको भनाई छ । यसका साथै बोल्ने किताबका माध्यमबाट पनि पढाइने हुँदा विद्यार्थीहरु उत्सुकताका साथ कक्षामा सहभागि हुने गर्दछन् । वेलावेलामा हामीले सिकाएका विषयहरुको बारेमा विद्यार्थीका अभिभावकलाई पनि जानकारी दिने गरेका छाैँ। जसका कारण अभिभावकहरु पनि आफ्नो बच्चाको भविष्यको कुरालाई लिएर धेरै नै ढुक्क हुनुभएको हामीले पाएका छौं । बोल्ने किताब भनेको के हो ? बोल्ने किताब पनि अन्य किताबजस्तै हुन्छ । हाम्रो आँखाले त्यसलाई छुट्याउन सक्दैन । त्यो किताव नदेखिने चिप्सको सहायताले बोल्ने गर्दछ । यसका लागि विशेष प्रकारको कलमले त्यो किताबमा छुनुपर्ने हुन्छ । किताबमा भएको अक्षरमा कलमले छुँदा त्यहाँ लेखिएको कुरा शब्दमा उच्चारण हुन्छ । त्यतिमात्र नभई त्यहाँ दिइएका जनावरहरुको चित्रमा छुने हो भने त सो जनावर कराएको आवाज पनि आउने गर्दछ । बोल्ने किताबबाट पढ्दा विद्यार्थीहरुलाई के फाइदा भएको छ ? हामीले विदेशबाट यस्ता किताब ल्याएर विद्यार्थीहरुलाई सिकाइरहेका छौँ । किन्न सक्ने क्षमता भएका विद्यार्थीहरुले बोल्ने किताव वास्तविक मूल्यमै किनेर लगेका छन् । तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई भने हामीले सो किताब थोरै मुल्यमै उपलब्ध गराएका छौं । बोल्ने किताबबाट पढ्नाले गर्दा विद्यार्थीहरुले विभिन्न शब्दहरुलाई सहि उच्चारण गर्न सिकेका छन्, अनेकौं जनावरहरुको आवाज प्रत्यक्ष सुन्न पाएका छन् । यसका साथै किताब कसरी बोल्न सक्छ भनेर हामीले विस्तारमा बताइदिने भएकोले गर्दा उनीहरुलाई टेक्नोलोजीबाट असीमित कुराहरु निर्माण गर्न सकिने रहेछ भन्ने पनि ज्ञान प्राप्त भएको छ । अंग्रेजी, नेपाली लगायत अन्य विभिन्न भाषाहरुमा समेत सो किताब बोल्ने भएकाले विद्यार्थीहरुलाई अन्य भाषाहरुको सामान्य ज्ञान हासिल गर्न पनि सजिलो भएको छ । यस्तो विधिबाट हुने पढाईको लागि विद्यार्थी शुल्क निकै महँगो छ कि ? होइन, त्यस्तो विल्कुल छैन । हाम्रो पढाउने तरिकाको तुलनामा मासिक शुल्क निकै नै सस्तो छ । यहाँ एक पटक भर्ना भएको विद्यार्थीले अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन । त्यसैगरी विद्यार्थी भर्ना गर्ने बेलामानै हामीले टेस्ट लिएर विद्यार्थीको लेबल छुट्याउने गर्दछौं । ए ग्रेड ल्याउने विद्यार्थीलाई निशुल्क भर्ना, बी ग्रेड ल्याउनेलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट र त्यसैगरी सी ग्रेड ल्याउनेलाई मात्र पुरै भर्ना शुल्क लाग्ने गर्दछ । सी ग्रेड ल्याएका विद्यार्थीहरुलाई हामीले धेरै मेहनत गर्नुपर्ने भएकोले पनि यस्तो भएको हो । झट्ट हेर्दा केहि मंहगो देखिए पनि प्रविधिको प्रयोग गरेको हिसावमा यो धेरै नै सस्तो हो । नेपाली विद्यार्थीहरु राम्रो शिक्षा प्राप्त गर्नका लागि विदेश जान हतारिएका देखिन्छन् । के नेपालमा शिक्षा वास्तवमै कमजोर हो ? मलाई लाग्छ, हाम्रो देशमा शिक्षाको स्तर नराम्रो भएर विद्यार्थीहरु विदेश गएका होइनन् । बरु यहाँ शिक्षा अनुकुल रोजगारी नभएकोले, लागानीमैत्री वातावरण बन्न नसक्नाले, रोजगारमूलक पाठ्यक्रमको अभाव भएकोले र त्यसैगरी विद्यालय तथा घरपरिवारबाट पनि राष्ट्रप्रेमको पाठ नपढाइएकोले गर्दा पनि उनीहरुले विदेश तिरै गएर थप शिक्षा आर्जन गर्न खोजेका हुन् । शिक्षा क्षेत्रमा तपाईंको सफलताको अनुभव कसरी बाँड्न चाहनुहुन्छ ? म सफल हुनुमा मेरो जिद्धिपना नै प्रमुख कुरा हो । मलाई लाग्छ कोहि मान्छे सफल हुनका लागि उसले आफ्नो कामलाई निरन्तरता दिनु पर्छ । हाम्रो समाजले अहिले पनि धेरथोर मात्रामा छोरा र छोरीमा भेदभाव गरिरहेकै छ । मैले स्कूल स्थापना गर्दाको समयमा त झन् छोराले धेरै पढ्ने र ठूलो काम गर्नुपर्छ तर छोरीले भने घरपरिवार राम्रोसँग चलाउन जान्नुपर्छ भन्ने चलन व्यापक थियो । त्यस्तो परिस्थतिलाई चिर्दै मैले यो स्कूल स्थापना गर्न सकें । आजका महिलाहरु पनि पढाइमा अव्वल बन्दै गएको र हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढेको देख्दा साहै्र खुशी लाग्छ । हाम्रो देशमा एकदम धेरै सम्भावनाहरु छन् । त्यसैले आफूलाई मनपर्ने क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्दै अनि अध्ययनलाई पनि सँगसँगै अघि बढाउँदै जाने हो भने एकदिन अवश्य पनि सफल भइन्छ र देशको नाम उँचो बनाउन सकिन्छ भनी म सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु र त्यसैगरी अभिभावकहरुलाई पनि म के भन्न चाहन्छु भने आफ्ना घरमा बच्चाहरुलाई हप्काएर, डर देखाएर पढ्नमा मात्र दवाव दिइरहनु हुँदैन । यसले उसमा भएको सिर्जनात्मक क्षमतामा ठूलो ह्रास ल्याउन सक्छ ।

एक वर्षमा ६० वटा आयोजना सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका २६ ले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ । लैनचौरमा मंगलबार आयोजित ‘सार्वजनिक सुनुवाइ एवं ज्येष्ठ नागरिक सम्मान तथा भत्ता वितरण’ कार्यक्रममा उक्त वडाले आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न भएका निर्माण कार्यको विवरण प्रस्तुत गरेको हो । प्रमुख पर्यटकीयस्थल ठमेलदेखि गोँगबु क्षेत्रसम्म रहेको उक्त वडामा बाटो कालोपत्रे, ब्लक तथा ढुंगा छाप्ने, ढल तथा मंगल निर्माण, सडक बत्ती जडान, ढुंगेधारा निर्माण तथा मर्मत, इनार निर्माण, रेलिङ हाल्ने काम सम्पन्न भइसकेको जनाइएको थियो । यस्तै रानीबारी प्रहरी बिट पुनःनिर्माण, वडा कार्यालय भवन कोठा निर्माण, रिटेनिङ वाल निर्माण पनि गरिसकिएको सो अवसरमा उल्लेख गरिएको थियो । यस वडालाई महानगरकै उत्कृष्ट वडा निर्माण गर्न लागिएको जानकारी गराउँदै वडाध्यक्ष ख्यामराज तिवारीले भने, “कुन स्थानमा के कुराको आवश्यकता छ, त्यसको बारेमा वडा कार्यालयमा निवेदन दिनुहोस्, हामी समस्या समाधान गर्न तयार छौँ ।” वडाले आर्थिक वर्ष २०७५/७६ का लागि ३० वटा आयोजना प्रस्ताव गरेकामा ठमेल प्रवेशद्धार निर्माण, पुरानो वडा कार्यालय भवन मर्मत, वडाभित्र सार्वजनिक स्थलमा वृद्धका लागि गोलघर निर्माण, बाटो मर्मत, सार्वजनिक शौचालय निर्माणजस्ता योजना छन् । कार्यक्रममा ८० वर्ष पूरा गरेका ४२ पुरुष र ७५ वर्ष पूरा गरेका ११२ महिलालाई जनही १२ हजार रूपैयाँ नगदसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । उक्त वडामा ८५३ ज्येष्ठ नागरिक, ४११ एकल महिला, १५ पूर्ण अपांगता भएका व्यक्ति र २३ आंशिक अपांगता भएका व्यक्ति बसोवास गर्दै आएका छन् । रासस

दक्षिण एसियामा दुरसञ्चार प्रभावकारी बनाउन ३ दिने गोष्ठी काठमाडौंमा शुरु

काठमाडौं । दक्षिण एसियमा दुरसञ्चारलाई प्रभावकारी बनाउने उदेश्यले काठमाडौंमा ३ दिने गोष्टी शुरु भएको छ । गोष्टीमा दक्षिण एसियाली क्षेत्रमा दुरसञ्चारलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशका विज्ञहरुले छलफल गर्नेछन् । कार्यक्रममा बोल्दै सूचना, संचार तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले  दुरसञ्चार सबै गरिब जनताले सुलभ रुपमा पाउनु पर्नेमा जोड दिए । एसिया प्यासिफिकका महासचिव अर्विन हाओराङ्सीले दक्षिण एसियामा दुरसञ्चारलाई अत्याधुनिक बनाएर अघि बढ्ने बताए । कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, महानिर्देशक कामिनीराज भण्डारी, सूचना, संचार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ लगायतको सहभागिता रहेको थियो । ३ दिन चल्ने गोष्टीमा नीति निर्माणसंगै यसको कार्यान्वयन र सेवामा जोड दिने छ तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एसियाका विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन् भने त्यसभित्र रहेर छलफल हुनेछ । गोष्टीमा दक्षिण एसियाका ८ मुलुकसंगै इरानको पनि सहभागीता रहेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले सानेपाको स्टार हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । उक्त सेवामा छुट दिने सम्बन्धी मंगलबार दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । हाल बैंकले ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नक्कली प्रमाणपत्रले जागिर खाने अविनारायण अधिकारी विरुद्ध अदालतमा मुद्धा दायर

काठमाडौं । शारदा निम्न माध्यमिक विद्यालय नामसालिङ ५, इलामका तत्कालीन शिक्षक अविनारायण अधिकारी विरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अधिकारीले बिहार स्कुल इग्जामिनेशन पटना, भारतबाट १२ कक्षा पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिइ बढुवा समेत हुनुका साथै निवृत्तभरण समेतको लाभ लिएको देखिए पनि उनी विरुद्ध मुद्दा दायर भएको हो । भ्रष्टाचार निवारण ऐन, २०१७ भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

गंगामायालार्इ भेटेपछि पौडेलले भने- रातो झण्डा अाेढेर सबै खत माफ हुँदा अराजकता बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३६ औं दिनमा आइपुग्दा थप बिग्रिएको हो । मंगलवार बिहान स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका वरिष्ठ नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको छ । पौडेललाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनशन बसेको ३६ औं दिन भइसकेको पछिल्लो दुई दिन यता स्वास्थ्य पहिलेभन्दा जटिल भएर गएको बताएका थिए । शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ । अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता वरिष्ठ नेता पौडेलको भनाई थियो । उनले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसिइवीलाई छानविन गर्न नसक्दा रातो झण्डे ओढेर सवै अपराध माफ हुने अराजकता बढेको बताए । उनले अपराधीले माओवादीसंग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउदै गएको टिप्पणी गरे । वरिष्ठ नेता पौडेलले भने- ‘रातो झण्डा ओढेपछि सवै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ । छोराको हत्यालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ ।’ वरिष्ठ नेता पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृतितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको बताएका छन्। २०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् । अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् । अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए । छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।

मलेसियामा २५ वर्षीय ठिटो युवा तथा खेलकुद मन्त्री, नेपालमा कहिले ?

काठमाडौं । मलेसियामा २५ वर्षीय ठिटो सइद सिद्धिक अब्दुल रहमानले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । ९३ वर्षीय मोहम्मद महाथिर नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका रहमान संसारकै सबै भन्दा कान्छो उमेरका मन्त्री हुन् । उनको उमेर सन २०१८ को डिसेम्बर ६ तारिखका दिन २६ बर्ष पुरा हुँदैछ । यस अघि खैरी जमालुद्धिनदलाई कान्छा मन्त्री मानिँदै आएको थियो । जमालुद्धि ३७ बर्षको उमेरमा मन्त्री बनेका थिए । सिद्धिकीले एसियन ब्रिटिस संसदबारे आयोजना गरिएको वादविवाद प्रतियोगीतामा एसियाका तर्फबाट ३ पटक उत्कृष्ठ वक्ताको पुरस्कार प्राप्त गरेका थिए । उनी मोहम्मद महाथिरको पार्टीको युवा संगठन प्रमुखको जिम्मेवारीमा थिए । ९३ वर्षीय मोहम्मद महाथिर संसारका सबै भन्दा बढि उमेरका प्रधानमन्त्री हुन् । उनै महाथिरले कान्छो उमेरका मन्त्री नियुक्त गरेर अर्काे विश्व रेकर्ड कायम गरेका छन् । भ्रष्टाचार बिरोध अभियान सञ्चालन गरेर पुनः मलेसियाको सत्तामा आएका  महाथिरले युवा मन्त्रालयको जिम्मेवारी युवालाई सुम्पेका हुन् । महाथिरलाई आधुनिक र समृद्ध मलेसियाको डिजाईनरका रुपमा लिइन्छ । महाथिरकै नेतृत्वमा मलेसियाले राजनीतिक स्थायीत्व तथा विकास र समृद्धिको बाटो समातेको थियो । आधुनिक मलेसियाका निर्माता महाथिरले २५ बर्षिय ठिटोलाई मन्त्री बनाउँदा नेपाललाई पनि विकास र समृद्धिको बाटोमा अघि बढाउने दावी गरिरहेका ओली सरकार कहिले युवाले अवसर पाउँछन हेर्न बाँकी छ । अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले संसारका सबै भन्दा पाको उमेरका प्रधानमन्त्रीले सबै भन्दा कम उमेरका युवालाई मन्त्री नियुक्त गर्नु राम्रो भएको बताए ।

अब पर्यटन विश्वविद्यालय पनि

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उनले भने, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।” मन्त्री अधिकारीले उक्त विश्वविद्यालय स्थापनाका लागि सरकारले आगामी एक महिनाभित्र संसदमा कानून पेश गर्ने गरी तयारी गरिरहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मा २० हजार पर्यटक भित्र्याउने सरकारले लिएको लक्ष्य सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहको बताए । नेपालमा आउने पर्यटकमध्ये लगभग ७० प्रतिशत पदयात्राका लागि आउने गरेको बताउँदै उनले पर्यटकसँग प्रत्यक्ष सम्पर्कमा रहने ट्रेकिङ गाइड नेपालका लागि पर्यटनदूत भएको धारणा व्यक्त गरे । थ्रीसिस्टर पर्यटन तालीम केन्द्रका सञ्चालक लक्की कार्कीले संस्थाले हालसम्म मुलुकका ५५ जिल्लाका एक हजारभन्दा बढीलाई ट्रेकिङ गाइडसम्बन्धी तालीम प्रदान गरेको जानकारी दिए । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले तालीममा ३४ जनाको सहभागिता रहेको जानकारी दिए ।