विकासन्युज

चार दिनदेखि तारा एयरको विमान लुक्ला मै, प्राविधिकले निरीक्षण गरेपछि मात्र उड्ने

सोलुखुम्बु । यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौँ जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिएका छन् । शुक्रबार मौसम प्रतिकूल हुँदा पनि यहाँ अवतरण गरिएका दुई वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्कन सफल भए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयर लुक्लाले जनाएको छ । विमान कम्पनीको नियमअनुसार ४८ घण्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ । नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ । अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुनसकेको छैन । यहाँ हेलिकप्टरले समेत उडान भर्न सक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ । हेलिकप्टरले समेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडौं लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा राजेन्द्र बस्नेतले बताए । “सघन उपचार कक्ष ‘आइसियु’मा राखेर उपचार गर्नुपर्ने बिरामी छन् तर लैजान सकिएको छैन, मान्छेको ज्यान बचाउन मुस्किल प¥यो ।” उनले भने, “अक्सिजन छुटायो भने एक घण्टाभन्दा बढी बचाउन सक्ने अवस्था छैन, गाडीबाट लानसक्ने स्थिति हुने कुरै भएन, मौसम प्रतिकूलताका कारण हेलिकप्टरसमेत आउन सकेन ।” गत असार १५ गते जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा जीप दुर्घटनामा ज्यान गुमाएका दुईजना कर्मचारीको शव हेलिकप्टरबाट गृहजिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन । दुई दिनसम्म हेलिकप्टरको पर्खाइमा बसे पनि सफल नभएपछि जीपमार्फत नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताए । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटक अलपत्र परेको तारा एयर लुक्लाका स्टेशन इन्चार्ज फुनुरु शेर्पाले बताएका छन् । उनले भने, “यति नै यात्रु छन् भन्ने यकिन तथ्याङ्क छैन, केही यात्रु पैदल यात्रापछि सदरमुकाम सल्लेरीबाट जीपमार्फत गएको बुझिएको छ भने केही यात्रु एक घण्टाको पैदल यात्रापछि तल सुर्के पुगेर हेलिकप्टरमार्फत गइरहेका छन् ।” देशभर भएको अविरल वर्षाको प्रभाव सोलुखुम्बुमा पनि परेपनि कुनै पनि अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

एक बर्षभित्रै १ लाख २१ हजार मोहीलाई जमिन

काठमाडौं । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले एक बर्षभित्रै १ लाख २१ हजार मोहिलाई जमिन उपलब्ध गराउने घोषणा गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री खनालले भदौ मसान्तभित्र तथ्यांक संकलन गरेर एक बर्षभित्र जग्गा उपलब्ध गराईसक्ने बताएका हुन् । मोही र सुकुम्वासी समस्या हल गर्नका लागि मन्त्रालयले संयन्त्र समेत गठन गरेको जनाउँदै खनालले भने,‘हामीसँग प्राप्त तथ्यांक अनसार अहिलेसम्म एक लाख २१ हजार मोही छन्, भदौ मसान्तभित्र सबै मोहीको तथ्यांक यकिन गरिसक्छौं, र ती सबैको समस्या हामी एक वर्षभित्रै हल गर्छौं ।’ सुकुम्वासी समस्या पनि संविधान अनुसार समाधान गर्ने पनि उनले जनाए । कृषि भन्नेवित्तिकै भूमी जोडिएकोले कृषिमा यान्त्रिकरणको लागि प्राप्त जमिन नै नभएको उनको गुनासो छ । कृषिमा जमिनको खण्डिकरण रोक्ने बहस चलिरहेको सुनाउँदै मन्त्री खनालले भने,‘क्याविनेटबाटै यसअघि नै पारित भएको भूमी नीति कार्यान्वयनको तहमा लिएर लैजान्छौं, अहिले हामीसँग ११ प्रकारका जमिन छन्, तीनीहरुलाई अब चार भागमा वर्गीकरण गर्छौं, यसको लागि बलियो संयन्त्र निर्माण गरेका छौं, भुमिको पनि अब चाँडै व्यवस्थापन हुन्छ ।’ खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी पनि दिए । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् ।

चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

काठमाडौं । सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण लाइन र चीनतर्फ तत्कालका लागि दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन गुरुयोजनामा समेटिएका आठ अन्तरदेशीय प्रसारण लाइनमध्ये भारतर्फको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा आइसकेको छ । सो प्रसारण लाइनको क्षमता ४०० केभी भए पनि हाल १३२ केभीमा सञ्चालन भइरहेको छ । यस्तै रक्सोल-परवानीपुर, कुशाहा-कटैया १३२ केभी क्षमताको प्रसारण लाइन पनि सञ्चालन भइरहेको छ । सरकारले तयार पारेको गुरुयोजना अन्तर्गत कर्णाली, सेती र महाकाली करिडोरबाट भारततर्फ निकासी गर्ने गरी दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण हुनेछ । अत्तरिया र दोधारामा विशेष ‘हव’ निर्माण गरेर दोधारा-बरेली र अत्तरिया-बरेली ४०० केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण हुनेछ । सो क्षेत्रमा पञ्चेश्वर, पश्चिम सेती, फूकोट कर्णाली र बेतन कर्णाली जस्ता ठूला र महत्वपूर्ण आयोजना निर्माण हुने क्रममा छन् । यस्तै प्रस्तावित गुरुयोजनाको दोस्रो नम्बरमा रहेको भेरी करिडोरमा पनि फूलबारी- लखनउ ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । फूलबारी र मैनताडामा मुख्य प्रसारण ‘हव’ निर्माण गरिनेछ । नौमुरे, उत्तर गंगा, नलगाड र भेरी तेस्रो जलाशयुक्त आयोजना जस्ता महत्वपूर्ण परियोजना निर्माण हुने क्रममा छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको प्रसारण गुरुयोजनाअनुसार कालीगण्डकी-मस्र्याङ्दी करिडोर समेत जोड्ने गरी भारततर्फ ४०० केभी क्षमताको बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । कूल ४०० केभी क्षमताको उक्त अन्तरदेशीय प्रसारण लाइनको मुख्य प्रसारण हव भने बुटवल र भरतपुरमा निर्माण हुनेछ । कालीगण्डकी, माथिल्लो मस्र्याङ्दी र मनाङ मस्र्याङ्दी जस्ता महत्वपूर्ण जलविद्युत् परियोजना निर्माणको क्रममा छन् । केही समय पहिले नेपाल-भारतका ऊर्जा सचिवको संयुक्त बैठकले बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति जुटाएको हो । कुन ढाँचामा सो प्रसारण लाइन निर्माण गर्ने भन्ने बारेमा भने सहमति हुनसकेको छैन । नेपाल सरकारले सरकारी तहमा नै सो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै सरकारले प्रस्ताव गरेको गुरुयोजनाको त्रिशूली-चिलिमे-काठमाडौं उपत्यका, खिम्ती, तामाकोशी करिडोरमा खिम्ती, ढल्केबर, हेटौँडामा विशेष प्रसारण हव निर्माण हुनेछ । ढल्केबरमा प्रसारण हव निर्माण भइसकेको छ । हाल भारतबाट आयात भइरहेको विद्युत् सोही हवबाट आयात भइरहेको छ । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन नेपाल र भारतको पहिलो अन्तरदेशीय व्यावसायिक प्रसारण प्रणाली हो । सोही करिडोरबाट चीन जोड्ने रातमाटे-त्रिशूली गल्छी-रसुवागढी-केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणको क्रममा सहमति भएको हो । नेपाल र चीन दुबैले पूर्व सम्भाव्यता अध्ययन गरिसकेको र केही समयभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरी निर्माण शुरु गर्ने तयारी गरिएको छ । उत्तरी छिमेकी देश जोड्ने यो नै हालसम्म प्रगतिको लयमा पुगेको पहिलो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिए । यस्तै प्रस्तावित गुरुयोजनाको पाँचौँ नम्बरमा रहेको कोशी-अरुण करिडोरमा पनि चीन र भारत जोड्ने गरी दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । इनरुवा, मिर्चैया र किमाथांकामा विशेष प्रसारण हव निर्माण गरिने भएको छ । दक्षिणमा इनरुवा-पूणिर्या ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । यस्तै उत्तरतर्फ किमाथांका-लात्से ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । किमाथांकादेखि तिब्बत्को लात्सेसम्मको दुरी करिब १८० किलोमिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी २२ वर्षका लागि तय गरिएको गुरुयोजनामा आन्तरिक तथा बाह्य प्रसारण लाइन निर्माणलाई जोड दिइएको बताए । गुरुयोजना मन्त्रालय मातहतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले तयार पारेको हो । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले प्रसारण प्रणालीमा रहेको अन्यौलता हटाउने लक्ष्यका साथ गुरुयोजना तयार पारिएको र त्यसमा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि समेत विशेष हव र प्रसारण प्रणाली रहने स्थान समेत तय गरिएको जानकारी दिएका छन् । रासस

निर्धन उत्थानको १८ लाख ९० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । मंगलबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ लाख ९० हजार ३०६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । नक्सालको भगवतीबहालमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ९९ करोड ९७ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८६ रुपैयाँ रहेको छ ।

मेरो सेयर एप्स दुरुपयोग, लगानीकर्ताको तथ्यांक जोखिममा

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयर आवेदनका लागि प्रयोग गरेको मेरो सेयर एप्सको दुरुपयोग भएको छ । लिटल डि बिजनेश नामको युजरले मेरो सेयर एप्सको लोगो प्रयोग गरेर अर्कै एप्स बनाएर गुगल प्ले स्टोरमा अपलोड गरेको हो । आफ्नो लोगो चोरिएपछि सिडिएसले केन्द्रिय अनुसन्धान विभागमा उजुरी दिईसकेको प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए । ‘हाम्रो लोगो चोरि भएपछि सिइआईबीमा उजुरी दिएका छौं, अब साइबर क्राइमको मुद्धा लगाउँछौं’, सिडिएसका प्रवक्ता न्यौपानेले विकासन्युजसँग भने । उनले मेरो सेयरमा रहेको सेयर लगानीकर्ताहरुका तथ्यांकहरु भने सबै सुरक्षित रहेको स्पष्ट पारेको छ । सिडिएसले सेयर लगानीकर्ताहरुको तथ्यांकमा जुनसुकै समयमा खतरा आउने भएकाले लोगो चोरेर निर्माण गरिएको एप्स तत्काल बन्द गर्ने प्रक्रिया अघि बढाईसकिएको जनाएको छ । कम्पनीले हालसम्म आफ्नो आधिकारीक एप्स नभएकाले र निकट भविष्यमै त्यस्तो एप्स निर्माण गरेर सञ्चालनमा ल्याउने पनि जानकारी दिएको छ ।

रिडी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चुक्ता पुँजीको शतप्रतिशत(१००) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा निमार्ण गर्न लागेको ८.५ मेगावट क्षमताको बुटवल सोलार ओयोजनाको लागि सो मात्राको सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड १० लाख ५५ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको सेयर जारी गर्ने प्रस्ताव गरेको हो । बैठकको उक्त प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणभाले अनुमोदन गरेपछि मात्र सेयर जारी गरिने छ ।

७ सय मिलियन डलर भ्रष्ट्राचार गरेको आरोपमा मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ

काठमाडौं । मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ परेका छन् । राजकले प्रधानमन्त्री रहँदा ७ सय मिलियन भन्दा बढी डलर भ्रष्ट्राचार गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । उनले राज्य विकास कोष १एमडीबी मार्फत सो रकम हिनामिना गरेको बिबिसीले जनाएको छ । उनले खराब काम गरेपछि चुनावमा समेत हार बेहोरेका थिए । । राजकले चुनाव हारेपछि नै उनीमाथी अनुसन्धान निकायले सतर्कता बढाएको थियो । उनलाई मलेसियाका प्रहरीले घरैबाट पक्राउ गरेको उनको परिवारिक श्रोतले बताएको छ । राजक प्रधानमन्त्रीमा नियुक्त भएपछि नै भ्रष्ट्रचारमा लिप्त रहेको मलेसियन अनुसन्धान निकायले जनाएको छ ।

सीभन्दा कम ग्रेड ल्याउने विद्यार्थीले विज्ञानबाहेक सबै विषय पढ्न पाउछँन्- खवराज बराल

खवराज बराल, सचिव–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एसईईपछि विद्यार्थीहरु के पढ्ने भनेर सोचिरहेको छन्, उनीहरुलाई तपाई के सुझाव दिन चाहानुहुन्छ ? विद्यार्थीले आफ्नो क्षमता बुझ्नु पर्छ । पढ्ने विद्यार्थीले हो । अभिभावकले पढ्ने होइन । आफूलाई रुची छ कि छैन ध्यान दिनु पर्छ । जस्तो गणित, विज्ञान लगायतको विषय आफूलाई कतिको सजिलो लाग्छ । त्यो हिसाबमा विद्यार्थीले आफैले आफैलाई चिन्नु पर्छ । आफूलाई सजिलो नलाग्ने विषय विद्यार्थीले छानेर अघि बढ्नु सही हुन्न । सजिलो रुचिकर बिषय छनौट गर्नु राम्रो हो । विद्यार्थीहरुले शैक्षिक संस्था कसरी छान्ने ? मुलुकभर विभिन्न किसिमका विद्यालय र कलेज छन् । विदेशी विश्वविद्यालयाबाट सम्बोधन प्राप्त विद्यालयहरु पनि छन् । उनीहरुसँग स्वदेशी, विदेशी दुवै कोर्ष हुन्छ । विद्यालय छान्ने सन्दर्भमा खर्चको कुरा पनि छ । निजी कलेजहरु केही महँगो छन् । उनीहरुले दिने सुविधाहरुमा केही फरकपन छ । अहिलेको विद्यार्थीको क्षमतामा पनि भर पर्छ । कतिपय कलेजहरुमा छात्रवृद्धिको सुविधा हुन्छ । त्यसबेला विद्यार्थीहरुले छात्रावृद्धिको लागि प्रतिस्पर्धा गर्न सक्ने छन् भने त्यस्ता कलेज विद्यार्थीको लागि अवसरको रुपमा रहन्छ । अहिलेकालाई कलेज भने पनि वास्तवमा सबै विद्यालय नै हुन् । अहिले पढाउने १२ कक्षासम्म हो । मेरो बिचारमा विद्यार्थीहरुले प्रचार, प्रशार तथा विज्ञापनको पछि लाग्नु हुदैन । उनीहरुको प्रचार सामाग्रीका आधारमा यो राम्रो विद्यालय अर्को नराम्रो भनेर छुट्याउन सकिन्दैन । तपाईले अघि भन्नुभयो कि सरकारी र निजी क्षेत्रको उच्च विद्यालयमा शिक्षामा केही फरक छ । फरक कति हुन्छ र कुन बढी राम्रो हो ? ११ र १२ को पाठ्यक्रम एउटै हो । पाठ्यपुस्तक उस्तै हो । पढाउने मोडालिटी, मेथोलोजी लगायतमा फरक होला । तर कन्टेन्ट त एउटै हो । परीक्षा राष्ट्र परीक्षा बोर्डले नै दिएको हो । कस्तो स्कूलहरुमा स्कलरशीप पाइन्छ ? स्कलरसिप पाउनको लागि के कस्तो विधि प्रक्रिया पुरा गर्नुपर्छ ? स्कलरशीप विद्यार्थीहरुले नै खोज्नुपर्छ । विगतमा सरकारले १० प्रतिशत स्कलरशीप राखेको थियो । त्यसको लागि उच्च माध्यमिक शिक्षा परिषद, शिक्षा विभागले परिक्षा सञ्चानल गर्थ्यो । त्यो अनुुसार अगाडी बढ्थ्यो । अहिले चाहीँ स्कलरशीप स्थानीय तहबाट गर्ने अथवा पुरानो पद्दतिले गर्ने निर्णय हुन बाँकी छ । हामी छिट्टै निर्णय गर्दैछौं । उक्त स्कलरशीप भनेको सामूदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै हो । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भने त्यस खालको सुविधा छैन । कतिपय ११/१२ पढाउने संस्थाहरुले उनीहरु आफैले स्कलरशीपको व्यवस्था गर्छन् । उनीहरुले थोरैदेखि बढी अंक आएकालाई विभिन्न खालको स्कलरशीप खुलाउने गर्छन् । दुर्गम ठाँउबाट आएका लगायतको लागि समेत छुट्टै स्कलरशीप दिने प्रचलन छ । त्यस्तो कुरा बुझेर स्कलरशीप खोज्नु पर्छ । अहिले कक्षा ११ र १२ पढाउने सकारी विद्यालयहरु कति छन् ? हाल ३ हजारभन्दा बढी विद्यालयहरुलाई ११/१२ कक्षा पढाउनलाई अनुमति दिएका छौं । त्यसमा संस्थागत तथा सामूदायिक दुवै किसिमका विद्यालयहरु छन् । प्लस टुबाट शुरु गरेर व्याजलर, मास्टर लेबलमा बढाउने कलेजहरु पनि ५०/६० वटा कलेज पनि छन् । तपाई विद्यार्थीहरुलाई सरकारी विद्यालयलमा पढ्न सुझाव दिनुहुन्छ कि निजी विद्यालयमा ? तपाईको यो प्रश्न नै गलत भयो । यस्तो विषयमा हामीले बोल्न मिल्दैन । एसईई पढिसकेपछि कलेज पढ्ने कि स्कुल पढ्न जाने भन्ने दुविधा देखिन्छ । पत्रपत्रिकामा विज्ञापन हेर्ने हो भने ११ को भर्नाको लागि स्कूलहरुले पनि विज्ञापन गरेका छन्, कलेजहरुले पनि विज्ञापन गरेको छ । पत्रपत्रिका हेर्दा ११ कक्षाको पढाई स्कूलमा हुने हो कि कलेजमा हुने हो भन्ने दुविधा देखियो नि, किन यस्तो भयो ? केही कलेजहरुले कक्षा ११/१२ मात्र चलाउन अनुमति पाएका छन् । उनीहरुलाई कि कक्षा १ देखि नै पढाउन थाल्नुहोस्, कि स्कूल तहको कक्षा बन्द गर्नुहोस भनेर सरकारले भनेको छ । तर त्यो टुंगीएको छैन । अझै बाँकी नै छ । कक्षा ११/१२ शिक्षा भनेको स्कूलतहको शिक्षा नै हो, कलेज तहको शिक्षा होइन । तर कलेजहरुले ११ कक्षामा भर्ना खुला भयो भनेर राष्ट्रिय स्तरको पत्रपत्रिकाको सूचनाहरु प्रकाशित गरिरहेका छन् । ती शैक्षिक संस्थामा पढ्ने विद्यार्थीले कलेज पढेको अनुभूति गर्ने कि स्कूल पढेको अनुभूति गर्ने ? सञ्चार माध्यमले सत्य तथ्य कुरा बाहिर ल्याइदिनु पर्यो । त्यो ११/१२ कक्षा पढाईलाई प्लस टु एजुकेशन पनि भनिदैन । कलेज पनि होइन । त्यो उच्च माध्यमिक विद्यालय हो । कक्षा ११ र १२ पढ्नको लागि राजधानी बाहिर शैक्षिक संस्थाको उपलब्धता कति छ ? कति विद्यार्थी स्कूल तहको पढाईका लागि पनि राजधानी नै आउनु पर्ने वाध्यता छ ? के ११/१२ पढ्न काठमाडौं नै आउनु पर्छ भन्ने छ र ? अघि नै पनि भनिसके देशभर सो तह पढाउने विद्यालयहरु पर्याप्त छन् । काठमाडौं खासै आउदैनन् । अहिले करिब ११ कक्षामा पढ्ने विद्यार्थी काठमाडौंमा ३ लाख ५० हजार जना छन् । त्यस्तै १२ पढ्ने विद्यार्थीहरु पनि साढे २/३ लाखकै हाराहारीमा छन् । स्वभाविक रुपमै काठमाडौंमा ११/१२ कक्षा पढाउने विद्यालयहरु बढी छन् । जनसंख्या ५० लाख रहेकोले पनि त्यतिका संख्यामा विद्यार्थी हुनु स्वभाविकै हो । बाहिर विज्ञान पढाउने विद्यालयहरु धेरै नभएको भएर पनि काठमाडौंमा पढ्न आएका हुन् । दुर्गम ठाँउमा विज्ञान पढाउने शिक्षकको अभावको कारण विज्ञान पढ्ने चाहनाको कारणले काठमाडौं अथवा पोखरा जस्ता सहरहरुमा गएको देखिन्छन् । त्योसँगै विराटनगर, वुटवल, चितवन लगायतमा पनि विद्यार्थीको चाप त्यतिकै बढी छ । सीभन्दा तलको ग्रेड पाएका विद्यार्थीहरु अब कसरी अघि बढ्ने ? तिनीहरुको लागि ग्रेडबृद्धि परिक्षाको लागि योजना छ । उहाँहरुले ग्रेडबृद्धिको परिक्षा दिनुपर्छ । सी प्लस गणित र विज्ञानमा ल्याउनुभयो भने विज्ञान पढ्न पाउनुहुन्छ । अरु केही रोकावट छैन । सी ग्रेडभन्दा कम भएका विद्यार्थी ११ कक्षामा भर्ना नै हुन नपाएको गुनासो पनि नि ? भर्ना नलिने भन्ने होइन । मापदण्डभन्दा कम छ भने चाहीँ नलिन सक्छ । अर्को प्रवेश परिक्षा लिने हुदा सो परिक्षा उत्तिर्ण नगर्दा विद्यार्थीको छनौट प्रक्रियाको आधारमा नलिने हो । ग्रेट सीभन्दा तलकाले अघि बढ्न नपाउने भन्ने होइन विज्ञान मात्र पढ्न नपाउने हो । पढ्ने अरु धेरै विषय छन् । विज्ञान तथा गणितमा साइन्स पढ्न चाहनेले सी प्लस ल्याउनुपर्छ । त्यसको लागि अघिनै पनि भने पूरक ग्रेडवृद्धि परिक्षाको व्यवस्था गरिएको छ । त्यहाँ उहाँहरुले भाग लिइ आवश्यक स्कोर लिएर अघि बढ्न सक्नुहुन्छ ।