डोनाल्ड ट्रम्पको नाकमै बामपन्थी सरकार, सुध्रिएला अमेरिका-मेक्सिको सम्बन्ध ?
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले नयाँँ राष्ट्रपति पाएको छ । आइतबार भएको मतदानमा बामपन्थी नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले कुल मतको ५३ प्रतिशत मत ल्याउदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिबिसीका अनुसार लोपेजले नजिकका प्रतिद्धन्दी रिकार्डो अनायलाई दोब्बर मतले पराजित गर्दै राष्ट्रपतिमा चुनिएका हुन् । अनायले २२ प्रतिशत मत प्राप्त गरेका थिए । यस्तै अर्का प्रतिद्धन्दी मान्डेले १६.५ प्रतिशत र रोड्रिगेजले ५ प्रतिशत मत प्राप्त गरेका थिए । अमेरिका र मेक्सिको बिचको सम्बन्ध बिग्रिरहेको अवस्थामा बामपंथी नेता लोपेज उदयले दुई देशबिचको सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा चर्चा हुन थालेको छ । राट्रपतिमा विजयी भएपनि लोपेजले प्रतिक्रिया दिदैं आफु भ्रष्ट्राचार र छिमेकी देशहरुसँगको सम्बन्ध सुमधुर बनाउने बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै लोपेजले बधाई दिएका छन् । उनले भनेका छन् -‘मलाई विस्वास छ उनले उत्कृष्ट कार्यसम्पादन गर्नेछन् र मेक्सिको-अमेरिका सम्बन्ध थप उचाइमा पुग्नेछ ।’ राट्रपति ट्रम्पले मेक्सिकोको सिमाबाट अमेरिकामा आप्रवासी भित्रिएको भन्दै सिमामा पर्खाल लगाउने चुनावी नारा दिदैं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
हरेक क्षेत्रमा अगुवाई गर्दै शिखर इन्स्योरेन्स, हजार रोगको उपचारसहित स्वास्थ्य बीमामा फोकस
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन तर्फको अगुवा कम्पनी हो । हाल १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये १५ औं कम्पनीको रुपमा १४ वर्षअघि स्थापना भएको यो कम्पनी धेरै कोण र आधारबाट सबैभन्दा राम्रो बीमा कम्पनी भएको छ । एक अर्ब ५ करोड चुक्ता पुँजी भएको यो कम्पनी पुँजीको आधारमा पनि सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले चालु आर्थिक वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम आम्दानी गरेको छ । जुन निर्जीवन तर्फको कुल बजारको करिव १७ प्रतिशत हिस्सा हो । अरु कुनै पनि कम्पनीले कुल बजारको १० प्रतिशतभन्दा बढी हिस्सा लिन सकेका छैनन् । त्यस्तै यस कम्पनीले बीमा पोलिसी संख्या २ लाख ६५ हजार भन्दा बढी बिक्री गरेको छ जुन कुल बजारको १९ प्रतिशत भएको कम्पनीले जनाएको छ । कम्पनीको शाखा हाल ७५ वटा छन् । निकट भविष्यमा शाखा संख्यालाई १०० भन्दा बढी बनाउने कम्पनीको योजना छ । शाखा सञ्जालको आधारमा पनि शिखर इन्स्योरेन्स कम्पनी नम्बर वान छ । लगानीकर्तालाई दिने लाभांशको आधारमा पनि शिखर इन्स्योरेन्स कम्पनी अरु भन्दा अगाडि छ । पछिल्लो छ वर्षमा कम्पनीले सेयरधनीलाई वार्षिक कम्तिमा २० र बढीमा ६० प्रतिशतसम्म बोनस दिएको छ । सञ्चालनमा आएको १३ वर्षमा लगानीकर्तालाई नगद र बोनस सेयर गरी २३६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीको नेटवर्थ १ अर्ब ७७ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीले ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जनशक्ति विकास, प्रोफेशनालिजम्को विकास र जनचेतना वृद्धि जस्ता कार्यमा पनि शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रहेको बताउँछन् यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे । कम्पनी सेवाग्राहीप्रति पनि उच्च सर्तक र प्रतिवद्ध छ । ‘हामीले एक आर्थिक वर्षभित्रमा १ अर्ब ३ करोड रुपैयाँसम्म बीमितको दावी भुक्तानी गरेका छौं । बीमा विश्वासमा चल्ने संस्था भएको, समस्या पर्दा बीमा कम्पनीले सहयोग गर्छ भन्ने विश्वासका आधारमा बीमा गरिने भएकोले बीमितको दावी भुक्तानी समयमा नै गर्दै आएको र बीमितको विश्वास कै कारण कम्पनी अग्रस्थानमा उभिन सफल भएको पाण्डे बताउँछन् । कम्पनीले धेरै क्षेत्रमा अगुवाई गरेको छ । कम्पनीले पहिलो पटक मौषम सूचकमा आधारित बीमा सेवा प्रदान गर्दै आएको छ । जुन किसानलाई निकै उपयोगी भएको छ । कम्पनीले नेपालमा पहिलो पटक जटिल रोगको बीमा शुरु गरेको छ भने क्यासलेस हेल्थ इन्स्योरेन्स सर्भिश शुरु गरेको छ । स्वास्थ्य बीमामा फोकस ‘मानिसहरुमा लाग्ने रोग पनि वृद्धि भईरहेको छ, उपचार खर्च पनि बढिरहेको छ । यस समस्याको समाधान अन्ततःस्वाथ्य बीमा नै हो’ पाण्डे भन्छन्–‘त्यसैले हामीले एक हजार भन्दा बढी रोगको उपचार हुने गरी स्वास्थ्य बीमा योजना लागू गरेका छौं ।’ १००० रोग भनेको विश्वभरमा देखिने अधिकांश रोग हुन् जसको उपचार हुन्छ । पाण्डेका अनुसार यी रोगहरुको पहिचाहन भएको छ र यस्ता रोग लाग्यो भने उपचार खर्च कति हुन्छ भनेर रिसर्च गर्ने पनि भईसकेको छ । हरेक प्रकारको रोगको बीमा गरिएको हुने र बीमा गरिएका रोगहरुको सूचि बीमा पोलिससँगै बीमितलाई दिने पुस्तिकामा उल्लेख गरिएको हुन्छ । ‘कुनै जोखिम बढी हुन्छ, कुनै रोगको उपचार विधि जटिल हुन्छ । तर सामान्यतय धेरै रोगको उपचार कति हुन्छ भनेर स्पष्ट नै भएका हुन्छन्’ पाण्डेले भने–थोरै खर्च हुने निश्चित प्रकारको उपचारको तत्काल भुक्तानी हुन्छ । स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन थर्ड पार्टी एडमिनिस्ट्रेटर आवश्यक रहेको उनी बताउँछन् । ‘थर्ड पार्टी एडमिनिस्ट्रेटरको लागि अहिले कानुनी प्रबन्ध छैन । नयाँ कानुनमा थर्ड पार्टी एडमिनिस्ट्रेटरको व्यवस्था गर्न हामीले बीमा समितिलाई सुझाव दिएका छौं’ उनले भने । थर्ड पार्टी एडमिनिस्ट्रेटरको सेवा व्यक्तिले पनि दिन सक्छ । संस्थागत रुपमा यस्तो सेवा दिने कम्पनीहरु पनि आउनसक्छन् । बीमा कम्पनीहरुले ग्राहकलाई बीमा सेवा दिन्छन् । विरामी परेपछि बीमितले लिने उपचार, उसले पाउने सुविधा, उसले गरेको खर्च सबै एडमिनिस्ट्रेटरले हेर्छ । अस्पतालले विरामीसँग उचित शुल्क लिएको छ कि बढी लिइहेको छ कि छैन ? बीमितले बील सहि रुपमा पेश गरेको छ कि गडबडी गरेको छ भनेर थर्ड पार्टी एडमिनिस्ट्रेटरले हेर्छ । ‘थर्ड पार्टी एडमिनिस्ट्रेटरले अस्पताल र बीमा कम्पनीबीच पुलको काम गर्छ । उसले डाटा म्यानेज गर्ने, भुक्तानी गर्ने काम गर्छ’ उनले भने । योजनाबद्ध रुपमा अस्पतालमा जानुछ भने बीमा कम्पनीलाई जानकारी दिएर उपचार गर्दा झनै सजिलो हुन्छ । पूर्व समय तालिका अनुसार अस्पतालमा भर्ना भएर, उपचार गरेर आरामले फर्कन सकिन्छ । थर्डपाटी एड्मिनिस्ट्रेटरले सबै बस्दोबस्त मिलाई दिएको हुन्छ । अकस्मात विरामी पर्ने वा अकस्मात अस्पताल जानु पर्ने अवस्थामा विरामीले पहिला भुक्तानी गरेर पछि बीमा दावी गर्न सक्छन् । ‘हामीले देशका ठूला २२ अस्पतालहरुमा नगदरहित कारोबार गर्ने गरी उपचारको सम्झौता गरिसकेका छौं । भारतमा थर्डपार्टी एड्मिनिस्ट्रेटर सिस्टममा गएको ६ वटा ठूला अस्पतालमा उपचार गर्दा पनि बीमा सुविधा प्राप्त गर्न सकिन्छ । नक्कली विलको समस्या नक्कली विल पेस हुने समस्याबाट बीमा कम्पनीहरु सफर छन् । पाण्डे भन्छन्–‘अरु क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि मोरल हजाड रिस्क (अनैतिक कार्यबाट हुने जोखिम) हुन्छ । यस्तो समस्या क्रमशः नियन्त्रण हुँदै गएको छ । खासगरी थर्डपार्टी एड्मिनिष्ट्रेटर भएको अवस्थामा समस्या हुँदैन । ‘एउटा केस हामीकोमा आयो । ५० हजारको तीन वटा एन्टिवाइटिकङ खाएको भनेर बीलसहित बीमा दावी भयो । लगत्तै ती महिलाले बच्चा पाईन, सबै कुरा राम्रो भयो । हामीले पत्ता लगायौ कि दावी गरिएअनुसारको औषधि सेवन गरेको भए ती महिलाले पाउने वच्चा बाँच्ने सम्भावना शून्य हुनेथियो । त्यस्तो खतरा औषधि थियो त्यो । पछि त्यो दावी फिर्ता भयो’ विकृतिको उदाहरण उनले दिए । नेपालीहरु वर्तमानमा भन्दा भविष्यप्रति बढी चिन्तित हुन्छन् । जुन देशमा सरकारले नागरिकलाई स्वाथ्य सुविधा राम्रो दिएको छ, निशुल्क स्वास्थ्य उपचार दिन्छ, त्यो देशमा नागरिकहरु भविष्यप्रति धेरै चिन्तित हुँदैनन् । तर नेपाल जस्तो देशमा स्वास्थ्यप्रति सबै चिन्तित बन्नु परेको छ । ‘हामीले शुरुमा भारतको बीमा रेटलाई नेपालमा लागू गर्यौ । तर नेपालमा बीमा दावी कम आयो । त्यसपछि बीमा शुल्क दर एकपटक २० प्रतिशत, अर्को पटक १५ प्रतिशत गरेर दुई पटक घटाईसक्यौ’ उनी भन्छन्–बीमा गर्ने अभ्यास आम रुपमा बढ्दै जाने हो भने बीमा शुल्क झनै घट्नेछ । पछिल्लो समय कर्पोरेट क्षेत्रले आफ्न कर्मचारीको सामूहिक स्वाथ्य बीमा गराउने अभ्यास बढेको छ । तर सर्वसाधारणमा स्वाथ्य बीमाको अभ्यास कम नै छ । बीमा गर्नेहरु मध्ये जसले उपचार गर्नुपर्यो उसले फेरि बीमा गर्छ । तर एक वर्ष बीमा गरे, विरामी भएन भने मानिसहरु अनावश्यक खर्च भयो भनेर सोच्छन् त्यो गलत हो, पाण्डे भन्छन्–‘बीमालाई खर्च मान्ने होइन, लगानी सम्झनुपर्छ ।’ याे पनि बोनस सेयर दिएर दुई अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउन सक्षम छौं -दीपप्रकाश पाण्डे
मेस्सी र रोनाल्डो घर फर्किए, आज नेइमारको पालो हो ?
काठमाडौं । विश्व फुटवलका स्टारद्धय लियोनेल मेस्सी र रोनाल्डो दुबै घर फर्किसकेका छन् । मेस्सीको अर्जेन्टिनाले फ्रान्ससँग पराजय व्यहोरेर रसिया छाड्नु परेको हो भने रोनाल्डोको पोर्चुगलले उरुग्वेसँग पराजित भएर यसपालीको विश्व कपबाट हात धुनु परेको हो । मेस्सीको अर्जेन्टिनालाई युरोपियन पावर हाउस फ्रान्सले घर पठाउँदा युरोपियन च्याम्पियन पोर्चुगललाई दक्षिण अमेरिकी उरुग्वेले सिकार बनायो । मेस्सीको अर्जेन्टिनालाई उपाधीको प्रमुख दावेदार मानिएको थियो भने रोनाल्डोको पोर्चुगलले पनि युरो कपमा जस्तै अप्रत्यासित नतिजा ल्याउने धेरैको अनुमान थियो । तर मेस्सी र रोनाल्डोले एकै दिन एकै चरण अर्थात प्रि क्वार्टर फाइनलबाटै घर फर्कनु पर्यो । अर्जेन्टिना र पोर्चुगल भन्दा पहिले नै डिफेन्डिङ च्याम्पियन जर्मनी घर फर्किसकेको थियो । अर्जेन्टिना र पोर्चुगलले रसिया छाडेको भोली पल्टै अर्काे दावेदार स्पेनको विश्व कप यात्रा पनि टुंगीसकेको छ । आज अर्थात सोमबार अर्का स्टार नेइमारको ब्राजिलले मेक्सिकोको सामना गर्दैछ । जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेन बाहिरिएपछि ब्राजिलको पराजय पनि नजिक आईरहेको अनुमान गर्नेहरुको संख्या बढिरहेको छ । आज ७ः४५ बजे ब्राजिलले मेक्सिकोको सामना गर्नेछ भने ११ः४५ बजे बेल्जियमले जापानको सामना गर्नेछ । एक पछि अर्काे अप्रत्यासित नजिता आईरहेको विश्व कपमा मेक्सिकोले ब्राजिल र जापानले बेल्जियमलाई पराजित गरे भने पनि आश्चर्य भने हुने छैन् । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो भने जापान पनि अप्रत्यासित नजितासहित नक आउट चरणमा पुगेको एसियाली पावर हाउस हो । यद्यपी स्टार खेलाडीहरुले भरिएको ब्राजिलले जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेनको पराजयबाट पाठ सिक्न सक्ने सम्भावना छ । बेल्जियमले स्पेनकै नियति नभोग्नका लागि नयाँ रणनीतिका साथ मैदान उत्रने सम्भावना भने जिवितै छ ।
जनकपुर पुगेर माधव नेपालले देखाए २ नम्बर प्रदेशको समृद्धिका आधार
जनकपुर । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ मा दिगो विकासको सिद्धान्तलाई आत्मसात गरी समृद्धिको मार्गचित्र बनाउनुपर्नेमा जोड दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारले जनकपुरमा आयोजना गरेको ‘समृद्धिको चाहनाः सम्पन्न प्रदेश २ को चाहना’ विषयक गोष्ठीमा उनले प्रदेश नं २ मा विकासका विशाल सम्भावना रहेकाले समृद्धिको सपनालाई साकार तुल्याउन क्षेत्रगत तथा जिल्लागत विशेषताको पहिचान गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन । पूर्वप्रधानमन्त्री नेपालले प्रदेशको मानव संशाधन, कृषि विकास र व्यावसायीकरण, पूर्वाधार तथा संरचना निर्माण र सञ्चालन, सामाजिक पूर्वाधार, औधोगिक र लगानी, आवास तथा शहरी विकास नीति दीर्घकालीन सोचलाई ध्यानमा राखी तर्जुमा गरिनुपर्ने बताए । समृद्धिको गन्तव्यका बाधक तत्वलाई परास्त गर्न जनचेतना र सामूहिक प्रयासको खाँचो उनले औल्याएका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो स्रोतमा अधारित समृद्धिको यात्राको परिकल्पना गर्नुपर्ने धारणा राखे । उनले प्रदेश नं २ लाई विकासको ‘ब्राण्ड प्रदेश’का रूपमा पहिचान स्थापित हुने गरी विकास निर्माणको योजना र नीति निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रको हस्तक्षेप बन्द नभएसम्म प्रदेश सरकारको अनुभूति गराउन कठिन भएकोतर्फ ध्यानाकर्षण गराएका थिए । प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनारले मानव संशाधनको उचित व्यवस्थापन, आर्थिक सामाजिक सूचकमा सुधार र चेतना अभिवृद्धि, उपलब्ध स्रोतको कुशल व्यवस्थापन, लगानी अभिवृद्धि, कृषि उत्पादनमा वृद्धि, वित्तीय पहुँचमा अभिवृद्धि, नदी नियन्त्रण र उपयोग जस्ता पक्षलाई ध्यानमा राखी दूरदृष्टि (सन् २०३० सम्मको) बनाउनुपर्ने बताए ।
नागवेली लघुवित्तको हकप्रद सेयर साउन ४ देखि असार २० गतेसम्मका सेयरधनीले आवेदन दिन पाउने
काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन भदौ ७ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउने भएका छन् । हकप्रद बाँडफाँडपछि संस्थाको चुक्तापुँजी दोब्बर बढेर १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्ने छ ।
नारायणगढ–मुग्लिन र बुटवल–तानसेन सडक अवरुद्ध
चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ । यस्तै सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण पहिरो हटाउने कार्य अझै शुरु भएको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ । यस वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि राजमार्ग करीब चार पटक अवरुद्ध भइसकेको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । रासस
२० मेगावाटको तल्लो मोदी आयोजना अन्तिम चरणमा, साउनदेखि बिजुली उत्पादन हुने
फलेवास । पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्म उत्पादन गर्ने तयारी गरिएको आयोजना प्रमुख पवनकुमार यादवले बताए।आयोजनाले २०६९ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि प्राकृतिक र मानवीय समस्याले अवरोध भएको थियो । “अब दुई प्रतिशत मात्रै काम बाँकी छ,” जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले भने, “अबको काम सबै प्राविधिक विषयसँग सम्बन्धित भएकाले असारभित्रै उत्पादन थाल्नेमा हामी ढुक्क छौँ ।” ३ अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा शुरु गरेको आयोजनाले निर्धारित अवधिमा काम नसकेपछि लागत पनि बढेको हो । आयोजनाले ०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपूँजी रहेको आयोजना पक्षले जनाएको छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदीको तिलाहारबाट ४ हजार २०० मिटर लामो सुरुङ हुँदै कुश्माको चुवास्थित परादीमा आयोजनाको पावर हाउस रहनेछ । रासस
काभ्रेको अर्गानिक हिमालय होटलद्धारा बिजुली चोरी
काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलद्धारा बिजुली चोरेको फेला परेको छ । सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको हो । टोलीले होटलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवकाअनुसार होटलले २०६४ सालमा गार्हस्र्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको टोलीले फेला पारेको हो । ‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै बिजुली प्रयोग गरेको दखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’,उनले भने, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ,बिजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौं।’ उनले सोमबार विस्तृत मूल्याङकनपछि जरिवाना सहितको महशुल निर्धारण हुने जानकारी दिए । यसअघि काभ्रेमै विद्युत चोरी गर्ने वडाध्यक्ष पक्राउ परेका थिए । उनी जरिवानासहितको महशुल तिरेर रिहा भएका थिए । गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको केही अघिको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेका छन् । प्राधिकरणले विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकैरुपमा मुलुकभरी सञ्चालन गरिरहेको छ ।