विकासन्युज

पञ्चकन्यामाई हाइड्रोपावरको आईपीओ आजदेखि खुला, ५५०० कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) आज मंगलबारदेखि निष्कासन गरेको छ ।कम्पनीले सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषलाई गरी कुल ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डले असार १० गते आईपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको थियो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा साउन १५ गते तोकिएको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओका लागि न्युनतम ५० र अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन पाउने सनराईजले जानकारी दिएको छ । कुल निष्कासन मध्ये ४ प्रतिशत अर्थात ४४ लाख रुपैयाँ बराबरको ४४ हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १० करोड १ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई छुट्टाइएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखाबाट आईपीओ भर्न सकिने छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार निष्कासन गरेको थियो । पञ्चकन्यामाईले वार्षिक २०० प्रतिशत खुदनाफा बढाउन भएको छ । कम्पनीले आउदो ४ वर्षमा खुदनाफा गत आर्थिक वर्ष ०७३र०७४ को तुलनामा ७९७ प्रतिशत बढाएर बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । एक वर्षदेखि बिजुली उत्पादन थालेका कम्पनीले आयोजना बनाउदा लिएको कर्जा विस्तारै भुक्तानी गर्दै आउदो ४ वर्षमा नाफा बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने भएको हो । गत आवमा कम्पनीको नाफा १ करोड ६७ लाख रुपैयाँ थियो । चालु आवमा नाफा ७ करोड ६२ लाख, आगामी वर्ष ०७५/०७६ मा १० करोड, ०७६/०७७ मा १२ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ ।नाफा बढ्दै गएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढ्ने भएको छ । आगामी आव ०७७/०७८ मा ईपीएस बढेर १३ रुपैयाँ ६३ पैसा पुग्ने छ । गत आवमा ईपीएस १.९१ प्रतिशत थियो । चालु आवमा ६.९३, आगामी आवमा ९.१६, आव ०७६/०७७ मा ११.३२ रुपैयाँ पुग्ने छ ।

एकैदिन ८२ अर्ब ५६ कराेडको चेक काट्नेलाई बधाई, जसले इतिहास पनि रचे

काठमाडौं । २०७५ साल असार ३२ गते । आर्थिक वर्ष २०७४/७५ को अन्तिम दिन । बैकिङ, राजश्व र कर्पोरट क्षेत्र सर्वाधिक व्यस्त रहेको दिन । भुक्तानीमा सर्वाधिक चाप भएको दिन र रकमको आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो कारोबार भएको दिन । असार ३२ गते मात्र एकाउन्ट पेई चेक र अन्तर बैंक विद्युतीय प्रणालीमार्फत एक खाताबाट अर्को खातामा ८२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपाल क्लियरिङ हाउस कम्पनीका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानका अनुसार सोमबार ७४ अर्ब ६५ करोड रुपैयाँ एकाउन्ट पेई चेकबाट भुक्तानी भएको छ । त्यस्तै, चेक नकाटी विद्युतीय प्रणालीबाट एक बैंकमा रहेको खाताबाट अर्को बैंकमा रहेको खातामा ८ अर्ब १ करोड रुपैयाँ भुक्तानी भएको छ । उच्चतम कारोबार रकमको आधारमा सोमबारको कारोबार अहिलेसम्म कै उच्च भएको प्रधानले बताए । आर्थिक वर्ष २०७४/७५ मा दैनिक औषत चेक कारोबार रकम २७ अर्ब रुपैयाँ भएको छ भने चेक कारोबार संख्या सरदर ४० हजार ६०० वटा रहेको छ । औसत भन्दा सोमबारकाे कारोबारमा चेक संख्या दोब्बर भएको छ भने कारोबार रकम तीन गुणाभन्दा बढी हाे। प्रधानको अनुसार यसअघि क्लियरिङ हाउसबाट एकै दिन १ लाख ९३ हजार वटा चेक क्लियरिङ भएको थियो । चेक संख्या कम भए पनि अंकित रकम ठूला भएकोले रकमको आधारमा सोमबार नयाँ रेकर्ड बनेको उनले बताए । नेपाल क्लियरिङ हाउसले सोमबार ८१ हजार १०० वटा चेक क्लियरेन्स गरेको छ भने ८ हजार २७६ अन्तर बैंक विद्युतीय भुक्तानी गरेको छ । ‘अन्तर बैंक विद्युतीय भुक्तानीमा संख्या र कारोबार दुबै अहिलेसम्मको उच्चतम हो’ प्रधानले भने–‘चेक मार्फत भएकाे कारोबार रकम पनि अहिलेसम्मकाे उच्चतम हो ।’ बैंकहरुलाई भ्याईनभ्याई प्रधानका अनुसार सोमबार बैंक तथा वित्तीय संस्थाहरुले पठाएका सबै चेक क्लियरिङ हाउसबाट क्लियर भएको छ । तर, धेरै बैंकहरुले ग्राहकको खातामा अंक चढाउन भ्याएका छैनन् । एक जना बैंकर्सले नाम नखुलाउने सर्तमा भने–‘हामीले राती अबेरसम्म पनि काम गरिरहेका छौं । एकै दिन उच्च कारोबार भएकोले केही डाटा अपटेड बाँकी रहन पनि सक्छ ।’ आर्थिक वर्षको अन्त्यमा बढी कारोबार हुने भएकोले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले शनिबार पनि सेवा प्रदान गरेको थिए । बधाई छ चेक काट्नेहरुलाई, जो अर्थतन्त्रका चालकहरु हुन् । साथमा, नयाँ अार्थिक वर्षकाे शुभकामना ।

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’ सम्पन्न

काठमाडौं । एक महिना अघिदेखि संचालन भएको हिमस्टार फुटवल मेला आधिकारिक रुपमा सम्पन्न भएको छ । यस अफर अन्तर्गत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए । कम्पनीका अनुसार यस योजना अन्तर्गत निकै धेरै प्रतिक्रिया आएको र धेरै ग्राहहरु यो योजनासँग जोडिएका छन् । यो योजनाको सफलतासँगै कम्पनीले निकट भविष्यमा आफ्ना अमूल्य ग्राहक केन्द्रित योजनाहरु ल्याउने छ । हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्तर्गतको गोल्छा कम्पनीको भगिनी संस्था हो । विगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले विभिन्न विद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा विक्री वितरण गर्दै आइरहेको छ । यस ब्रान्डको उत्पादन १९९८ देखि नेपाली ग्राहकमाझ निकै चर्चित रहेको छ ।

रोनाल्डोलाई इटालीमा भव्य स्वागत (भिडियोसहित)

काठमाडौं । पोर्चुगलका स्ट्रार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटाली लागेका छन् । १२० मिलियन युरोमा इटालियन क्लब युभेन्टस्ले अनुबन्ध गरेपछि रोनाल्डो आइतबार इटाली लागेका हुन् । उनलाई इटालीमा भव्य स्वागत गरेको छ । उनको समर्थनमा रंगशालामा हजारौं पुगेका छन् । आइतबार नै रोनाल्डोको मेडिकल भैसकेको छ भने केहि दिनमा अभ्यासमा उत्रिने छन् । युभेन्टसले रोनाल्डोलाई ४ वर्षका लागि अनुबन्ध गरेको छ । ३३ वर्षिय रोनाल्डोलाई रियल म्यड्रिडले उत्कृट लयमा छदै बेचेको हो । उनले म्याड्रिडमा ९ वर्ष विताएका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

१७ वटै स्थानीय तहमा सिद्धार्थ बैंककाे शाखा, सबैभन्दा पहिलाे बन्न सफल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा संचालनमा ल्याएको छ । बैंकिङ्ग पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा अनिवार्यरुपमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार बैंकले सबै तहमा शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई तोके बमोजिम स्थानीय तहमा खोल्नुपर्ने सबै शाखाहरु संचालनमा ल्याउनेमा सिद्धार्थ बैंक पहिलो बैंक हो । स्थानीय तहमा खोलिएका समेत गरी बैंकका सबै शाखाहरुबाट सरकारी तथा अन्य संघ संस्थाका साथैै सर्वसाधारण एवं उद्यमी व्यवसायीहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले बैंकिङ्ग कारोबार थप सहज र सुलभ बनाउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त र जोखिम रहित इन्टरनेट एवं मोबाइल बैंकिङ्गमार्फत समेत ग्राहकहरु सेवा प्रदान गर्दै आएको छ । बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । बैंकले हाल १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ९०० भन्दा बढी पीओएस् मेसिनमार्फत् गुणस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेपाल बंगलादेश बैंकको नयाँ एटीएम सेवा आइक्यान परिसरमा

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो ५६औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको(आइक्यान) परिसरमा उक्त सेवा संचालनमा ल्याएको हो । उक्त सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले संयुक्त रूपमा गरेका हुन् । साथै यस एटीएम सेवाबाट सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने बैंकले जनाएको छ । हाल बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट गर्न सक्नेछन् । उक्त समारोहमा एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, बरिष्ट प्रवन्धक दीपककुमार चन्दको उपस्थिती रहेको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्यालयको उपस्थिती रहेको थियो ।

गृहमन्त्री ‘बादल’लाई चीन भ्रमणका लागि निमन्त्रणा

काठमाडौं । चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको भेटवार्तामा उक्त जानकारी दिएका हुन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल-चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गरेका छन् । गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा उपमन्त्री जुनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिएका छन् । नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरेका छन् ।