विकासन्युज

लुम्बिनी विकास बैंकको सीईओमा बोहरा

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । नवनियुक्त सीईओ बोहराले बुधबार(आज)बाट कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बोहरालाई बैंकको सीईओ पदमा नियुक्त गरेको हो ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङाना भन्छन्: सीसीडी रेसियो नहटेकाले यो वर्ष पनि क्रेडिट क्रन्च हुनेछ

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) नहटाएसम्म बैंकमा लगानीयोग्य पुँजीको समस्या समाधान नहुने दावी गरेका छन् । विगत २ वर्षदेखि निरन्तर लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) को समस्या झेल्दै आएका बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशदेखि अघिल्ला वर्षको जस्तो समस्या देखिने बताएका हुन् । राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) ६ बाट ४ प्रतिशत कायम गर्दा ४८ अर्ब रुपैयाँ तरलता थपिने भएपछि सो रकमले लगानीयोग्य पुँजी समस्या समाधान नगर्ने भन्दै सीसीढी रेसियो हटाउनु पर्ने सुझाएका हुन् । सीसीडी रेसियो खुला गरे प्रणालीमा थप ३ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी जुट्ने बैंकरको भनाई छ । नेपाल बैंकर्स इन्ष्टिच्युटले बुधबार राजधानीमा आयोजना गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति सम्बधि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढुङानाले सीसीडी रेसियो हटाए मात्र बैंकिङ प्रणालीमा देखिएको क्रेडिट क्रन्च समस्या समधान हुने जिकिर गरे । सीसीडी रेसियो हटाउँदैमा बैंकले पैसा दिन नसक्ने अवस्था नआउने दावी गर्दै उनले भने “सबैलाई एकै पटक पैसा नपर्ने भएकाले राष्ट्र बैंकले भनेको जस्तो समस्या आउदैन ।” उनले समग्रमा मौद्रिक नीति तरलता बढाउने र ब्याजदर घटाउनेमा केन्द्रीत भएको बताए । ८ प्रतिशत आर्थिक वृद्धि गर्नका लागि विस्तारकारी मौद्रिक नीति भएको ढुङानाको तर्क छ । रिफाइनान्सिङको सीमा बढाउनु, सीआरआरको सीमा घटाउन सकरात्मक प्रयास भएको उनको टिप्पणी छ । भारुमा ऋण लिन पाउने र ५० करोड ऋण लिनको क्रेडिट रेटिङ र बैंकको पनि रेटिङ गर्नुपर्ने राम्रो योजना भएको उनले सुनाए । ब्याजदर करिडोरले अल्पकालका लागि ब्याजदर नियन्त्रणका लागि केही महत्वपुर्ण काम गरेपनि दीर्घकाललार्इ प्रभाव पर्ने कुनै काम गर्न नसक्नेको जिकिर गरे । ब्याजदर अन्तर (स्प्रेड) ४.५ प्रतिशतले कर्जाको ब्याजदर घटाउन सहयोग पुग्ने उनको विश्लेषण छ । सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि निजी क्षेत्रबाट १० खर्ब ७ अर्ब रुपैयाँ थप लगानी आवश्यक पर्ने भन्दै उनले हालको १८ प्रतिशत निक्षेप परिचालन वृद्धिले ५ खर्ब रुपैयाँ मात्र निक्षेप परिचालन हुने ढुङानाले जानकारी दिए । सो लक्ष्य पुरा गर्न निजी क्षेत्रले थप ५ खर्ब रुपैयाँ स्वपुँजी परिचालन गर्न सक्षम छन् की छैनन् त्यो हेरिनु पर्ने उनको सुझाव छ । ठुला परियोजनामा स्थानीय स्रोतले नपुग्ने भन्दै यसमा वैदेशिक लगानी चाहिने उनको सुझाव छ । साना परियोजनामा नेपाली बैंक लगानी गर्न सक्षम रहेको भन्दै ठुलामा विदेशी लगानी आवश्यक पर्ने ढुङानाको तर्क छ । बजेटले सेयर बजार र घरकर्जालाई वेवास्ता गरेको उनको भनाई छ । साधारण सेयर (आईपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर बिक्री नहुने चिन्ताको विषय भएको उनले बताए । यस विषयमा राष्ट्र बैंकले सोच्नुपर्ने ढुङानाको भनाई छ ।

नवनियुक्त कर्मचारीलाई एनएमबि माइक्रोफाइनान्सले ५ दिने व्यवस्थापन तालिम दिने

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरुका लागि ५ दिने “लघुवित्त व्यवस्थापन तालिम” दिने भएको छ । फाइनान्सले लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिने उद्देश्यले उक्त तालिम बुधबार(आज) बाट शुरु गरेको छ । उक्त तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीले गरेका हुन् । यस तालिम साउन ६ गतेसम्म जारी रहने छ । कार्यक्रममा सीईओले लघुवित्तले विपन्न, गरीब तथा पछाडि पारिएका वर्ग, समुदायमा काम गर्ने भएकोले आयआर्जनका माध्यमले उनीहरुको आर्थिक विकासको साथै सामुदयायिक विकासमा समेत योगदान पुर्याउने बताएका छन् । यस संस्थाले हाल ७५ वटा शाखा कार्यालयको स्थापना गरी करीब ८० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेको उनले बताए । ५ दिने उक्त लघुवित्त व्यवस्थापन तालिममा नवआगुन्तक कर्मचारीहरुलाई तालिमको औचित्य सम्बन्धमा कम्पनी सचिव तथा जनशक्ति विभाग प्रमुख बिष्णुप्रसाद शर्माले जानकारी दिएका छन् । उक्त तालिममा सम्पुर्ण शाखाका प्रशिक्षार्थी तथा शाखा प्रमुख गरी ६७ जना नव नियुक्त कर्मचारीहरुको साथै वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लगायत विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

प्राइम लाईफ इन्स्योरेन्सको सीईओमा मनोज भट्टराई पुनः नियुक्त

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराई पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिले असार पहिलो साता नै भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । कम्पनीको निर्णयमा बीमा समितिले साउन १ मा सहमति दिएको कम्पनी सचिव राजनप्रसाद अधिकारले सार्वजनिक गरेका छन् । बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशक काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम प्राधिकरणमा तानिँदै, सञ्चय कोष र नागरिक लगानी कोषले बीमा गर्न नपाउने

काठमाडौं । अब स्वास्थ्य बीमा कार्यक्रम पनि बीमा प्राधिकरण(हालको बीमा समिती)को मातहतमा आउने भएको छ । त्यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण निगमले प्राधिकरणको स्वीकृति लिएर मात्रै बीमा कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन् । प्रस्तावित बीमा ऐनले बीमा सम्बन्धी सबै कार्यक्रमलाई बीमा प्राधिकरणको मातहतमा ल्याउने व्यवस्था अघि सारेको हो । हाल संसदमा पुगेको बीमा ऐन, २०७५ को बिधेयक अहिलेकै अवस्थामा पारित भएर कार्यान्वयनमा आउने हो भने बीमा सम्बन्धी सबै कार्यक्रम प्राधिकरण(समिति)को मातहतमा आउनेछ । हाल नेपाल सरकारले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले सावधिक जीवन बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण निगमले पनि कर्जाको बीमा गराउँदै आएको छ । बीमा समितिले सबै खाले बीमा कार्यक्रमहरुको नियमन तथा सुपरिवेक्षणको जिम्मेवारी आफु मातहत ल्याउन प्रयास गरिरहेको थियो । सोही प्रयास अनुसार समितिले ऐनको मस्यौदामा सबै खाले बीमा कार्यक्रमहरु प्राधिकरण(हालको समिति)बाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने व्यवस्था बनाएको थियो । अर्थ मन्त्रालयले पनि सो दावीलाई सघाउँदै सबै खाले बीमा कार्यक्रमहरु प्राधिकरणसँग स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने व्यवस्थालाई नै अघि बढाएको हो । ऐन संसोधन भएर पारित भएसँगै हालको बीमा समितिको नाम नेपाल बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।

वारेन बफेटले दान गरे ४ खर्ब रुपैंयाँ

काठमाडौं । विश्व सेयर बजारका बादशाहका नामले चिनिएका अमेरिकी धनाढ्य वारेन बफेटले ४ खर्ब रुपैंयाँ दान गरेका छन् । विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्रो नम्बरमा रहेका बफेटले वर्कसायर हाथवे कम्पनीको बार्षिक उपहार वापतको ३.४ बिलियन अमेरिकी डलर( ४ खर्ब भन्दा बढि नेपाली रुपैंया) दान गरेका हुन् । ८२ बिलियन अमेरिकी डलरका मालिक बफेटले हालसम्म ३१.५ बिलियन अमेरिकी डलर दान गरिसकेका छन् । बफेटले बिल फाउण्डेसन, सुशन थम्पसन बफेट फाउण्डेसन, सेयर उड फाउण्डेसन, होवार्ड जी वफेट फाउण्डेसन, नोभो फाउण्डेसलाई सो रकम दान गरेका हुन् । बफेटले सन २००६ मै वर्कसायर हाथवेमा रहेको आफ्नो सबै सेयर दान गर्ने घोषणा गरेका थिए ।

काभ्रेको धुलिखेलमा करोडौ लगानीमा २ रिसोर्ट बन्दै, रिसोर्टको काम सुरु

काठमाडौं । काभ्रेको धुलिखेलमा निजी लगानीमा १२५ वेडका २ वटा रिसोर्ट बन्ने भएको छ । ओम स्टोन एशिया क्यापिटल नेपाल प्राइभेट लिमिटेडले धुलिखेल नगरपालिका वडा नम्बर ११ स्थित फुलबारीमा २ वटा रिसोर्ट निर्माण गर्न लागेको हो । एउटा रिसोर्ट ६५ र अर्कोको ६० वेड हुने ओम स्टोनले जनाएको छ । दुबै रिसोर्ट सञ्चालनमा ल्याउन लगानीकर्ता ओम स्टोनले प्रारम्भीक वातावरणीय प्रभाव मूल्याँकन (आईईई) को काम सुरु गरेको छ । आईईईको कामका लागि प्रकृति कन्सल्टले परामर्शदाताको पमा काम गरिरहेको छ । एउटा रिसोर्टको निर्माण तथा सञ्चालन ओम स्टोन एसिया क्यापिटल र अर्कोको ओम स्टोन एसिया पपर्टिजले गर्ने भएको छ । वातावरणीय प्रभाव मूल्याँकनको काम सकिएपछि दुबै रिसर्टको एकसाथ निर्माण कार्य हुने छ । पछिल्लो समयमा होटल तथा रिसोर्टमा लगानी बढ्दै गएको छ । पर्यटकीय क्षेत्रमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्दो छ । पर्यटक आगमन बढाउन सरकारले सन् २०२० मा नेपा भ्रमण वर्ष मनाउने तयारी गरेको छ । यस्तै सन् १९९८ मा पनि नेपाल भ्रमण वर्ष मनाइएको थियो ।

सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्यो, १७ गतेदेखि एकिकृत कारोबार

काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । आउदो १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकाले एकिकृत कारोबार हुन लागेको फाइनान्सले जनाएको छ ।