विकासन्युज

अरुण तेस्रोको ८१ अर्ब लगानी रोकियो, स्टेट बैंकले भन्यो –प्रसारणलाइनको लाइसेन्स पाएपछि ऋण सम्झौता

काठमाडौं । सरकारले प्रसारणलाइनको अनुमतिपत्र (लाइसेन्स) दिन ढिलाइ गरेपछि ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ऋण सम्झौता रोकिएको छ । भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंकले प्रसारणलाइनको लाइसेन्स पाएपछि मात्र ऋण लगानी सम्झौता गर्ने अडान लिएको छ । स्टेट बैंकले आयोजनाको विद्युत उत्पादन संरचना बनाउन ८१ अर्ब रुपैयाँ ऋण दिन सहमति भएको छ । औपचारिक रुपमा ऋण सम्झौता हुन बाँकी छ । सरकारले प्रसारणलाइनको लाइसेन्स दिनासाथ स्टेट बैंक र एसजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच ऋण लगानी सम्झौता हुने देशीय निर्देशक हरेराम सुवेदीले बताए । उनले सन् २०२० पछि मात्र ऋण आवश्यक पर्ने बताए । उनले सन् २०१४ मा लगानी बोर्ड र प्रवद्र्धक एसजेवीएनबीच भएृको आयोजना विकास सम्झौता (पीडीए)मा आयोजना र प्रसारणलाइनको लाइसेन्स एकै पटक दिने उल्लेख छ । लगानी बोर्डले एसजेवीएनलाई विद्युत उत्पादनको लाइसेन्स गत जेठमा दिएको छ । प्रसारणलाइनको अझै पाएको छैन । प्रसारणलाइनको लाइसेन्सको प्रक्रिया लगानी बोर्ड, जलस्रोत तथा ऊर्जा मन्त्रालय हुँदै अहिले विद्युत विकास विभागमा पुगेको सुवेदीले जानकारी दिए । “हामीले प्रसारणलाइनको लाइसेन्सका लागि पटक पटक सरकारलाई अनुरोध गरेका छौ, अहिलेसम्म पाइएको छैन” उनले भने । संखुवासभाको दिर्दिङदेखि ढल्केबर हुँदै भिट्टामोडसम्म २१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्दैछ । प्रसारणलाइन बनाउन पञ्जाव नेसनल बैंकसंग ऋण सम्झौता भइसकेको छ । पञ्जावको मुख्य लगानी रहेको एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसंग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउँदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्र्तगत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

मेगा बैंकले ग्राहकलाई सित्तैमा मेहन्दी लगाइदिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ । महिला ग्राहकहरुका लागि मेगा बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो । साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैंकका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् । यो उत्सव मेगा बैंकका राजधानी र राजधानीबाहिरका हरेक शाखामा पालैपालो हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर आकर्षक मेहेन्दी लगाउन सक्ने मेगा बैंकले जनाएको छ । मेगा बैंकले नेपाली नारीहरुलाई लक्षित गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान संचालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता आकर्षक बचत योजना पनि संचालन गर्दै आएको छ ।

हाथवे फाइनान्सको सीईओमा सुवास पौडेल नियुक्त

काठमाडौं । हाथवे फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुवास पौडेल नियुक्त भएका छन् । गत साउन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ पदमा नियुक्त गरेको हो । पौडेलले सोही मितिदेखि उक्त पदको कार्यभार सम्हालेका छन् । यसअघि कम्पनीको सीईओ विष्णु पाण्डेले राजिनामा दिएपछि उक्त रिक्त पदमा पौडेल नियुक्त भएका हुन् । कम्पनीको गत असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले पाण्डेको राजिनामा स्वीकृति गरेको थियो ।

नक्कली प्रमाणपत्रले जागिर खाने शिक्षक विरुद्ध मुद्दा दायर

काठमाडौं । नारायण राष्ट्रिय प्राथमिक विद्यालय दोदोधरा ५ बेलुवा, कैलालीका प्राथमिक शिक्षक धनीराम डगौरा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्ति भै कार्यरत रहेका प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डगौरा विरुद्ध मुद्दा दायर गरेको हो । उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको हाईस्कुल एस.एल.सी सरहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्राथमिक शिक्षक राहत पदमा नियुक्ति लिइ लाभ लिएको देखिन आएको अख्तियारले जनाएको छ । उनी विरुद्ध भ्रष्टाचार निवारण २०५९ को दफा १६ को उपदफा १ बमोजिम जरिवाना र कैद सजाय हुनेछ ।

मेसी रानाल्डो फिफा वर्ष खेलाडीको उत्कृष्ट १० मा, २६ अर्बका नेइमार अटाएनन्

काठमडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् । यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् । उनीलाई पिएसजीले बार्सिलोनाबाट २२२ मिलियन युरो करिब २६ अर्ब नेपालीमा किनेको थियो । फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ । फिफा वर्ष प्रशिक्षकमा विश्व बिजेता फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, क्रोएसियाका लाट्को डालिस, म्यानचेस्टर सिटीका पेप ग्वार्डिवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेको फिफाले जनाएको छ । फिफाले विश्वभरका राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्दछ ।

आइसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक, बुधबारदेखि अनलाइन भोटिङ शुरु

काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितिले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो । आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया प्रालि, पिपल डेभलपमेन्ट ल्याब प्रालि र सारथी प्रालि उत्कृष्ट ५ कम्पनीको सूचीमा पर्न सफल भएका छन् । यसैगरी, आइसोलुसन लाइफ, सारथी, स्मार्टपालिका, थर्डविल नेपाल र उद्यमी नेपाल उत्कृष्ट ५ प्रडक्टमा पर्न सफल भएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । असार १ देखि १९ गतेसम्म खुला गरिएको अनलाइन नोमिनेसनमा विभिन्न ७ विधामा एक सयभन्दा बढीको आवेदन आएको थियो । स्टार्टअप कम्पनी अवार्डमा २७ र प्रडक्ट अवार्डमा २५ को नोमिनेसन दर्ता भएको र विभिन्न तीन चरणको छनोटबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्ड संयोजक तुषार न्यौपानेले जानकारी दिए । तेस्रो चरणको छनोटका रूपमा साउन ५ गते प्रतिस्पर्धीहरुको प्रिजेन्टेसन तथा स्पिड डेटिङ सम्पन्न भएको थियो । उक्त प्रिजेन्टेसन तथा स्पिड डेटिङबाट १० जनाको जुरी समूहले तेस्रो चरणको छनोटमा १२ बाट उत्कृष्ट पाँच छनोट गरिएको हो । उत्कृष्ट ५ मा पर्नसफल कम्पनी तथा प्रडक्टहरुका लागि बुधवारदेखि १० दिनका लागि अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन हुनेछ । १० दिनसम्मको भोटिङ र जुरीको मूल्यांकनका आधारमा सर्वोत्कृष्टलाई विशेष अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । भदौ १ गते होटल र्याडिसनमा हुने विशेष कार्यक्रममा विभिन्न ७ विधाका सर्वोत्कृष्टलाइ अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट हुने स्टार्टअप तथा प्रडक्टलाई अवार्डसँगै थप लगानीको अवसर जुटाउन सहकार्य गरिने जुरी सदस्य तथा सुस्मित इन्भेस्टमेन्टका सिइयो सुशील पोखरेलले जानकारी दिए । यो अववार्ड कार्यक्रम प्रविधिको क्षेत्रमा काम गरिरहेका स्टार्टअप तथा उद्यमीहरुका लागि राम्रो प्लेटफर्म रहेको पोखरेलले बताए । अवार्डका सल्लाहकार तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए । कसरी गर्ने अनलाइन र एसएमएस भोटिङ ? उत्कृष्ट ५ मा परेका स्टार्टअप कम्पनी तथा प्रडक्टहरुका लागि जोकोहीले अनलाइन तथा एसएमएसमार्फत भोट गर्न सक्नेछन् । अनलाइनबाट भोटिङ गर्नका लागि वेबसाइट www.ictaward.org/vote मा गएर मन परेको कम्पनी वा प्रडक्टलाई भोट गर्न सकिनेछ । यसैगरी एसएमएस भोटिङका लागि मोवाइलमा ICT टाइप गरि कम्पनी तथा प्रडक्टको कोड राखेर ३३००१ मा एसएमएस पठाएर भोट गर्न सकिनेछ । भोटिङ साउन १८ अर्थात ३ अगस्टसम्म खुला रहनेछ । भोटिङको विस्तृत जानकारी वेबसाइट तथा फेसबुक पेजमा उपलब्ध छ । अन्य पाँच विधाको छनोट प्रक्रिया जारी आइसिटी अवार्ड २०१८ को संस्करणमा जम्मा ७ विधामा अवार्ड हुनेछ । स्टार्टअप र प्रडक्ट अवार्डबाहेक अन्य विधामा सर्वोत्कृष्ट छनोटको काम भइरहेको आयोजकले जनाएको छ । पायोनियर, डायस्पोरा, आन्टरप्रेनर्स, डिजिटल गर्भनेन्स र मिडिया अवार्डमा जुरी समुहले प्राप्त नोमिनेशनहरुको बारेमा अध्ययनको काम भइरहेको जुरी समुहले जानकारी दिएको छ । अवार्डको अन्य ५ विधामा ६० भन्दा बढीको नोमिनेसन प्राप्त भएको छ । यसैगरी यी अवार्डहरुमा जुरी तथा सल्लाहकारले थप नोमिनेसन दिन पाउनेछन् । सबै विधाका सर्वोत्कृष्टलाई भदौ १ गते र्याडिसन होटमा हुने भव्य कार्यक्रमबीच सम्मान गरिने आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रम राष्ट्रिय टेलिभिजन, विभिन्न एप तथा अनलाइनहरुमा प्रत्यक्ष प्रसारण पनि हुने आयोजकले जानकारी दिएको छ ।

१०० मेगावाटको तामाकोसी पाँचौ चीनियाँ लगानीमा बनाइने, एआईआईबीसंग १५ अर्ब ऋण लिन प्रक्रिया सुरु

काठमाडौं । १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन चीनबाट १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर वैदेशिक लगानी ल्याउन प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको सो आयोजनामा ऋण लगानीका लागि एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) बाट ऋण लिन प्रक्रिया सुरु भएको हो । आयोजना बनाउन करिव १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एआईआईबीबाट ऋण लिनका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिवमानसिंह प्रधानले बताए । उनले विदेशी लगानीमा आयोजना निर्माण गर्ने भएकाले एआईआईबीबाट ऋण लिने प्रक्रिया थालिएको जानकारी दिए । आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण सुरुभई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम सुरु गर्न परामर्शदाता नियुत्तिको प्रक्रिया सुरु गरेको छ । परामर्शदाताका लागि तामाकोसीले आशयपत्र (ईओआई) मागेको छ । आशयपत्र पेश गर्ने परामर्शदातबीच प्रतिस्पर्धा गराइने छ । छनौट हुने परामर्शदाताले ल्याह्मेयर इन्टरनेसनले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को पुनरावलोकन गर्नुका साथै इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) को बोलपत्र डकुमेन्ट बनाउने छ । डकुमेन्ट तयार भएपछि आयोजनाको सिभिल लगायत अन्य प्याकेजको काम थाल्न विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गरिने प्रधानले बताए । आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनामा अहिले विद्युत प्राधिकरणले लगानी गरिरहेको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र बाँकी सर्वसाधारणलाइ सेयर आईपीओ निष्कासन गर्ने प्रधानले जानकारी दिए । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट निस्कने पानी सिधै सुरुङमा पठाएर ९९.८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ रहेको छ । यस्तै आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री (पीपीए) का लागि प्रारम्भीक छलफल भइरहेको उनले बताए ।

कोरियाको दुई अन्तरराष्ट्रिय नाटक महोत्सवमा नेपाली रङकर्मी केदार श्रेष्ठको प्रस्तुती

काठमाण्डौ। रङ्गकर्मी केदार श्रेष्ठले कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो प्रस्तुति मञ्चन गरेका छन्। उनले ‘पुम थिएटर फेस्टिभल २०१८’ र ‘आसितेज कोरिया इन्टरनेशनल समर थिएटर फेस्टिभलमा आफ्नो एकल नाटक ‘चन्द्र–सूर्य र काग’ मञ्चन गरेका हुन्। अंग्रेजीमा ‘मिस्टर मुन, मिस सन एण्ड मिसेस क्रो’नाम दिइएको सो एकल प्रस्तुति एक महिने एसियन आर्टिस्ट रेसिडेन्स कार्यशाला क्रममा तयार पारिएको हो । मिन्डुले थिएटर र फेस्टिभल पुमको निर्देशक सङ्ग इन्ह्युन ९ न्क्यलन क्ष्लजथगलको सुपरिवेक्षेणमा कोरियाली प्रशिद्ध लोकथामा नेपाली पात्र र परिवेश थपेर श्रेष्ठले नाटक निर्देशन साथै अभिनय गरेका थिए। ‘एसियन आर्टिस्ट रेसिडेन्स फर चिल्ड्रेन्स थिएटर २०१८’मा नेपालबाट प्रतिनिधित्व गर्दै ‘आसितेज नेपाल’को तर्फबाट सहभागी भएका केदार श्रेष्ठ थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक समेत हुन्।  उक्त नाटकमा नेपालमा शुभ समाचारको प्रतीकको रुपमा लिइने कागलाई थप्दै नेपाली लोक भाका समेत समावेश गरिएको थियो । कोरियाको गेयोगीं प्रान्तस्थित मिन्डुले थिएटर भिलेजमा हुने बालबालिका र अभिभावकमा केन्द्रित नाट्य महोत्सव ‘फेस्टिभल पुम’को यो १० औं संस्करण हो । त्यस्तै बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेजको कोरिया सेन्टर ‘आसितेज कोरिया’ले ‘इन्टरनेशनल समर थिएटर फेस्टिभल’को यो वर्ष २६ वर्षदेखि गर्दै आएको छ । कोरियन आर्ट काउन्सिलको सहकार्यमा गरिएको एसियन आर्टिस्ट रेसिडेन्समा कोरिया, नेपाल, भारत, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका गरी १० रङ्गकर्मी सहभागी थिए । थिएटर फेस्टिभलमा भने विश्वभरबाट विभिन्न देशका नाटकहरु मञ्चन भएका थिए ।