बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण, २ करोड ५० लाखको लागत
काठमाण्डौ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ। विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ । बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने उनले बताए। झण्डै रु दुई करोड ५० लाखको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको र बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने उनले बताए। बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेकाइ गर्न सो उपकरण प्रयोग हुने आचार्यले बताए। अस्पताल स्थापना हुँदा विसं २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरीद गरिएको थिएन । अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुने गर्दछन् । रासस
३३ वर्षिय रोनाल्डोको शरीर २० वर्षे ठिटो जस्तो, एम्बाप्पेभन्दा ३३ किमी प्रतिघण्टा छिटो दौडने
काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ३३ वर्ष पुगेपनि उनको शरिर २० वर्षको जस्तै युवा देखिएको छ । युभेन्टसकाे मेडिकल टीमले उनको शरिर २० वर्षको जस्तो रहेको सार्वजनिक गरेको हो । मेडिकल रिर्पोट अनुसार उनी अहिले ३३ वर्षको भएपनि २० वर्षका युवा जसरी फुटबल खेलिरहेका छन् । उनको शरिरमा ७ प्रतिशत मात्र बोसो रहेको छ । सामान्यतय उनको उमेरका अन्य खेलाडीको १० प्रतिशत भन्दा बढी बोसो हुने गर्छ । उनको शरिरमा ५० प्रतिशत मासंपेशी रहेको छ, यो अन्य खेलाडीको भन्दा ६ प्रतिशत बढी हो । बिइन स्पोर्टको अनुसार रोनाल्डो विश्वकपको सबैभन्दा छिटो दौडने खेलाडी हुन् । मेडिकल रिर्पोट अनुसार रोनाल्डो एम्बाप्पे भन्दा ३३.९८ किलोमिटर प्रतिघण्टाको दरले छिटो दौडिएका छन् । तर मेडिकल रिर्पोटमा उमेर अनुसार तुलना गरिएको छ । केलियन एम्बाप्पे अहिले १९ वर्षका रहेका छन् भने रोनाल्डो उनीभन्दा १४ वर्ष जेठो रहेका छन् । विश्वकपमा राम्रो प्रर्दशन गरेको रोनाल्डोलाई रियल म्याड्रिडले ११७ मिलियन युरोमा बिक्री गरेको हो । उनले रियललाई लगातार तेस्रो वर्ष च्याम्पियान्स् लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनलाई युभेन्टस्ले ४ वर्षको सम्झौता गरेको छ ।
भारतको सेयर बजारमा पहिरो, बजार खुल्नसाथ १०० अंकको भारी गिरावट
एजेन्सी । भारतको सेयर बजारमा बुधबार १०० अंकको भारी गिरावट आएको छ । ठुला कम्पनीको सेयर मूल्यमा एकाएक गिरावट आएपछि बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सुचक १०० अंकले भारी गिरावट आएको हो । यो हालसम्मको ठुलो गिरावट भएको फाइनान्सियल एक्सप्रेसले जानकारी दिएको छ । ठुलो टेलिकम कम्पनी भारती एयरटेलको सेयर मूल्य ३ प्रतिशत घटेको छ । यस्तै अनिल अम्बानीको टेलिकम कम्पनीले १५ प्रतिशत कमाएको छ ।यस्तै उच्च सेयर मूल्य भएका टीसीएस, इन्फोसेज, आईसीआईसी बैंक र एसियन पेन्ट्सको सेयर भाउमा गिरावट आएको छ ।
१९.२८ प्रतिशत नाफा बढाउदै सिटिजन्स बैंक, बिक्री होला २०० मा एफपीओ ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदो २ वर्षमा नाफा १९.२८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ मा बैंकले नाफा २७ करोड ४५ लाख ९० हजार बढाएर १ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै चालु आर्थिक वर्षमा बढाएर १ अर्ब ४५ करोड ६७ लाख रुपैया पुग्ने अनुमान गरेको छ । बैंकले एफपीओ निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको आब्हानपत्रमा नाफामा भएको वृद्धिले बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २१ रुपैया पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा ईपीएस १७ रुपैयाँ ६२ पैसा र यो वर्ष १८ रुपैयाँ पुग्ने छ । नेटवर्थमा प्रतिफल १५.९४ प्रतिशत पुग्ने अनुमान छ । लगानीकर्तालाई २ वर्षपछि १ अर्ब २७ करोड ५७ लाख रुपैयाँ लाभांश बाँड्ने अनुमान गरेको छ । गत वर्षमा १ अर्ब २ करोड, चालु आर्थिक वर्षमा १ अर्ब २ करोड लाभांश प्रस्ताव हुन सक्ने अनुमान बैंकको छ । बैकको न्युनतम चुत्तापुँजी पुगेकाले लगानीकर्तालाई बोनस सेयर नदिने भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा निक्षेप परिचालन २१ प्रतिशत बढाएर ९२ अर्ब २६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवमा बैंकको निक्षेप परिचालन ७६ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । यस्तै कर्जा लगानी पनि बढेर १८ प्रतिशत भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु आवमा कर्जा लगानी १९ प्रतिशत बढेर ६९ अर्ब २८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । २ वर्षमा जगेडा कोषको आकार बढेर २ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यो वर्ष २ अर्ब १६ करोड ८९ लाख रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । आउदो ०७६/०७७ मा मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत हारहारीमा रहने अनुमान बैंकको छ । चालु आवमा पनि मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत नै हुने अनुमान बैंकको छ । यस्तै वचतको ब्याजदर पनि औसत ४.५ प्रतिशत हुने अनुमान गरिएको छ । २ वर्षको अवधिमा बैंकको ब्याज आम्दानी बढेर आगामी आर्थिक वर्षमा २ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ पुग्ने अनुमान बैंकको छ । गत आर्थिक वर्षमा बैंकको ब्याज आम्दानी २ अर्ब १३ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षमा बढेर २ अर्ब ४० करोड ४५ लाख रुपैयाँ पुग्ने छ । बैंकले साउन १५ गतेदेखि सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।
अनुदानको चामल महँगो भएपछि जनताले किन्न छाडे, खाद्य संस्थानमै थन्कियो
दुनै, डोल्पा । हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका हुन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् । प्रतिकेजी ६५ रुपैयाँमा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्यसंस्थान डोल्पाले शाखाले जानकारी दिएको छ । जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको ३ हजार ५१५ क्विन्टल जापानी चामल बिक्री हुन सेकेको छैन । विसं ०७२/०७३ मा ५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा १५ वृद्धि भई ६५ रुपैयाँ पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारी दिए । जनताले जापानी चामल किन्न नमाने पछि मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बूढाले जानकारी दिए । उनले भने, “सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो, जनताले किन्न सक्दैनन् ।” शाखा प्रमुख जोसिका अनुसार संस्थानको चामल अलि महँगो छ तर बजारको चामलको भन्दा राम्रो गुणस्तर अनुदानमा दिने चामलमा छ ।हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी ६०, मध्यम ६०, मकवानपुरे ५२, मोटा ५१, जिरा मसिनो ७०, गोरखनाथ ६५ र उसिना ३५ रुपैयाँमा खाद्य संस्थानले जनतालाई बिक्री गर्दै आएको छ । सबै जनतासँग महँगो चामल किन्नको लागि पैसा नहुने भएकाले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय धनरुपे कामीले आफ्नो वास्तविकता सुनाए । उनले भने, “छाँक टार्नकै लागि खाद्यान्नको चामल किन्नुपर्छ, तर खाद्यान्नकै चामल महँगो भयो, किन्ने क्षमता छैन ।” “सरकारले दिने चामल बजारको सरह नै भयो हामीजस्ता गरीबका लागि सरकारले दिने र बजारको चामलमा कुनै परक छैन, धनरुपेले भने– जतिनै जातका चामल दिए पनि महँगो भएपछि कागलाई बेल पाक्यो हर्ष न विस्मात् । चामल ढुवानी हुन सकेन डोल्पा जिल्लाको लागि आव ०७४/०७५ मा २४ हजार २०० क्विन्टल चामल ढुवानी हुनुपर्नेमा १६ हजार ७०९ क्विन्टल मात्र भएको छ । नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट ३ वटा ठेकेदारले डोल्पाको लागि ढुवानी गर्ने जिम्मा लिए पनि आव सकिदासमेत ढुवानी पूरा गर्न सकेका छैनन् । यातायातको समस्या सडक जोखिम र खच्चडबाट ढुुवानी गर्नुपर्ने बाध्यता रहेकाले ढिलाइ हुने गरेको इन्द्रदीप क्न्सट्रक्सन, सिद्धार्थ ढुवानी सेवा र ओमजयदुर्गे ढुवानी सेवाले जनाएको छ । हाल जिल्लामा ढुवानी भएको चामलमा १ हजार २६९ क्विन्टल चामल मात्र मौज्जाद रहेको र त्यसमध्ये लगभग १ हजार २०० क्विन्टल जापानी चामल नै रहेको नेपाल खाद्यसंस्थान शाखा कार्यालय डोल्पाले जनाएको छ । जापानी मात्र नभएर सरकारले अनुदानमा दिने सबै जातका चामलको मूल्य महँगो भएको कारण समायोजन हुनुपर्ने माग जनताको छ । जनताको लागि अनुदान भन्ने मात्र गरेको तर व्यापारीशैलीमा चामल जनतालाई बिक्री गरेको जनताको आरोप छ । रासस
नियमित बिजुली आपूर्ति भएपछि उदयपुर सिमेन्टको उत्पादन बढ्यो, १ वर्षमा २२२ करोडको कारोबार
गाईघाट, उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सिमेन्ट बिक्री गरेको छ । २०७४ को साउनदेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले २ अर्ब २२ करोड २७ लाख ९६ हजार रुपैयाँको सिमेन्ट बिक्री गरेको हो । विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष १ लाख २९ हजार ५०० मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९०० बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए। उत्पादित सिमेन्टको मूल्य २ अर्ब २३ करोड रुपैयाँ रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिए। उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विसं २०४४ बाट सञ्चालनमा आएको उद्योगले विद्युत् भार कटौतीको मारको खेप्नुपरेको कारण २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गर्न सफल भएको थियो । त्यसपछिका समयमा यस वर्षमात्र सिमेन्ट उद्योगले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको र यो नयाँ रेकर्ड स्थापना भएको उद्योगका महाप्रबन्धक पौडेल बताउछन् । पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेन्ट उद्योगले दैनिक ७५० मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन गर्दै आएको छ । विगतमा उद्योगले मुस्किलले ५५० मेट्रिक टन मात्र सिमेन्ट उत्पादन गर्ने गरेको थियो । देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । रासस
जनता क्यापिटल सञ्चालनमा आउदै, सीईओ नियुत्तिका लागि माग्यो आवेदन
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि सहायक कम्पनी स्थापना गरेको छ ।बैंकले जनता क्यापिटल लिमिटेड स्थापना गरेको हो । क्यापिटललाई सञ्चालनमा ल्याउन जनताले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्त गर्न लागेको छ । अगष्ट १० तारिखसम्म दरखास्त दिन कम्पनीले भनेको छ । व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, तथ्याँकशास्त्र, लेखामा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने छ ।
१ अर्ब निक्षेप राख्न बैंक खोज्दै विद्युत प्राधिकरण, साउन १५ गते दिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वचत रहेको रकम मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले आफुसंग भएको १ अर्ब रुपैयाँ ६ महिनामाका लागि मुद्धति निक्षेपमा राख्न बैंकसंग प्रस्ताव मागेको हो । साउन १५ गतेसम्म प्रस्ताव पेश गर्न विद्युत प्राधिकरणले भनेको छ । बैंकले बढीमा १ अर्ब रुपैयाँ प्रस्ताव गर्न सकिने प्राधिकरणले जनाएको छ । बढी ब्याजदर प्रस्ताव गर्नेले पाउन छन् ।