काठमाडौं । १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन चीनबाट १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर वैदेशिक लगानी ल्याउन प्रक्रिया सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको सो आयोजनामा ऋण लगानीका लागि एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) बाट ऋण लिन प्रक्रिया सुरु भएको हो । आयोजना बनाउन करिव १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
एआईआईबीबाट ऋण लिनका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिवमानसिंह प्रधानले बताए । उनले विदेशी लगानीमा आयोजना निर्माण गर्ने भएकाले एआईआईबीबाट ऋण लिने प्रक्रिया थालिएको जानकारी दिए ।
आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण सुरुभई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम सुरु गर्न परामर्शदाता नियुत्तिको प्रक्रिया सुरु गरेको छ । परामर्शदाताका लागि तामाकोसीले आशयपत्र (ईओआई) मागेको छ । आशयपत्र पेश गर्ने परामर्शदातबीच प्रतिस्पर्धा गराइने छ ।
छनौट हुने परामर्शदाताले ल्याह्मेयर इन्टरनेसनले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को पुनरावलोकन गर्नुका साथै इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) को बोलपत्र डकुमेन्ट बनाउने छ । डकुमेन्ट तयार भएपछि आयोजनाको सिभिल लगायत अन्य प्याकेजको काम थाल्न विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गरिने प्रधानले बताए ।
आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ ।
आयोजनामा अहिले विद्युत प्राधिकरणले लगानी गरिरहेको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र बाँकी सर्वसाधारणलाइ सेयर आईपीओ निष्कासन गर्ने प्रधानले जानकारी दिए ।
निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट निस्कने पानी सिधै सुरुङमा पठाएर ९९.८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ रहेको छ । यस्तै आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री (पीपीए) का लागि प्रारम्भीक छलफल भइरहेको उनले बताए ।