मुक्तिनाथ विकास बैंकले ५ करोडसम्मको आवास कर्जा दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ “मुक्तिनाथ आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा लिन सक्नेछन् । नियमित रुपमा किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन् भने पहिलो १ वर्षको लागि निःशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि प्राप्त गर्नेछन् । कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी डिजाइन गरिएको बैंकले जनाएको छ । यसले नियमित तर न्यून आय भएका ग्राहकलाई समेत निजको आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुनेछ । यस कर्जाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकको सबै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
स्थानीय तहको मनपरी
पछिल्लो समयमा कर उठाउने नाममा स्थानीय तहले मनपरी गर्न थालेका छन् । ऐन नियमलाई उलंघन गर्दै स्थानीय तहले धमाधम आफु अनुकुल हुने गरी कर असुलीलाई तिव्रता दिएपछि विवाद बढेको छ । करको विषयमा विवाद आएपछि संघीय सरकारले पनि नियम भन्दा बाहिर गएर कर असुली नगर्ने स्थानीय तहलाई कडा निर्देशन दिएको छ । यति हुदा पनि स्थानीय तहले अझै अटेर गरी कर असुलीलाई जारी राखेका छन् । यतिसम्मकी संघीय सरकारको अधिकारमा रहेको मूल्य अभिवृद्धि कर (भ्याट) मा समेत स्थानीय सरकारले गिद्धे दृष्टिलगाएका छन् । हालै ललितपुरस्थित गोदावरी नगरपालिकाले संविधान विपरित भ्याट असुली गरेको पाइएको छ । नगरपालिकाले पानी ट्याङकरहरुसँग प्राकृतिक श्रोतको उपयोग गरे वापत असुल गरेको करसँग भ्याट उठाएको पाइएको हो । साउन १ गतेदेखि खानेपानी ट्याङकरबाट पानीको भ्याट असुली गरेको पाइयो । नगरपालिकाले पानीको मात्र भ्याट उठाएको समाचार बाहिर आएको छ । अन्य कारोबारमा पनि नगरपालिकाले भ्याट उठाएको हुन सक्ने संभावना छ । नगरपालिकाले प्राकृतिक श्रोतहरुको उपयोग शुल्क वापत निकासी कर उठाउने क्रममा १३ प्रतिशत भ्याट असुली गरेको पाइएको छ । नियम विपरित भ्याट उठाउन नपाउने भन्दै चर्कौ दवाव आएपछि नगरपालिकाले यसलाई रोक्ने बताएका छन् । यो पछिल्लो घटनाक्रम हो । यसभन्दा अघि यस्ता कैयनं गलत काम स्थानीय तहबाट हुदै आएका छन् । गाउँगाउमा बैकिङ पंहुच पुर्याउनका लागि स्थापना भएका बैंक तथा वित्तीय संस्थाको शाखाबाट पनि स्थानीय तहले कर उठाउन थालेपछि ठुलो विवाद भएको थियो । यसमा स्थानीय तहपछि हटेपछि समस्या समधान भएको छ । यस्तै दोलखामा रहेको चर्नावती जलविद्युत आयोजालाई शैलुङेश्वरी गाउँपालिकाले पत्र लेखेर लाखौ रुपमा कर बुझाउन आउन उर्र्दि गरेको थियो । ऐन कानून विपरित हुने देखिएपछि गाउँपालिका कर असुलीबाट पछि हटेको थियो । विकास गर्ने नाममा स्थानीय तहलाई जथाभावी कर उठाउने अधिकार संविधानले दिएको छैन् । स्थानीय निकाय स्वायत्त संस्था हो । तर पनि करको विषयमा जथाभावी गर्न छुट भने दिएको छैन् । करबाट आएको रकम स्थानीय विकासमा लगानी गर्ने राम्रो कुरा भएपनि यसले अराजकता निम्त्याउने देखिएको छ । देशको मुल कानून संविधानमा प्राकृतिक स्रोत साधन बाँडफाँड र कर असुलीका लागि स्पष्ट अधिकार तथा क्षेत्र नै किटान गरेको छ । कर संकलनको विषयमा स्थानीय निकायका प्रमुख, उपप्रमुख र कर्मचारीले नियम कानूनको अध्ययन नगरेको पाइएको छ । कानूनले घरवहाल कर, प्राकृतिक स्रोत कर, मनोरञ्जनलगायत साना कर उठाउन अधिकार दिएको छ । कुल उठेको कर मध्ये १५ प्रतिशत स्थानीय तहमा फिर्ता हुने कानूनी व्यवस्था छ । यसरी स्थानीय तहले नियम कानूनलाई बिर्सिएर जथाभावी कर असुली गरे जनतामा निराशा आउनुका साथै संघीयताका विरुद्धमा विस्तारै जनमत तयार हुने अवस्था आउने देखिन्छ । अधिकाँश स्थानीय तहको ध्यान अहिले कसरी कर उठाउने भन्ने देखिएको छ । स्थानीय तहरुले बुझेर वा नबुझेर अनावश्यक कर संकलन गरिरहेको छन् ।कतिपय अवस्थामा नबुझेर त कतिपय अवस्थामा बुझेरै पनि स्थानीय तहरुले अनावश्यक कर उठाईरहेका छन् । त्यसैले अधिकार क्षेत्रबारे सबैलाई स्पष्ट पार्नु आवश्यक देखिन्छ ।
एनआईसी एसिया र बुम रेमिटबीच रेमिट्यान्स सेवा संचालन सम्झौता
काठमाडौं । एनआईसी एसिया बैंक र बुम रेमिट्यान्स प्रा.लि बीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौतामा एनआईसी एसिया बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । सम्झौता पछि बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकले आफ्नो २३४ वटा शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवयेर मार्फत आन्तरिक विप्रेषन कार्य गर्न सकिने बताइएको छ ।
सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो दिने
काठमाडौँ । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले आइतबारदेखि युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको छ । सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने भएको छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने जनाएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो गाडी आफै सवारी नामक व्यबसायिक अभियान सुरु गरेको हो । सो अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिने भएको छ । यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीकाे भनाइ छ । राजनबाबु श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सिप्रदी ट्रेडिङ प्रा. लि. सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालीलाई विदेश जान रोक्न र विदेशबाट आएकाले पनि सो अभियानमा भाग लिएर मासिक १ लाख रुपैयाँसम्म कमाउन सकुन भन्ने उद्धेश्यले अभियान सुरु गरेको बताए । यो अभियानमा २०० भन्दा धेरै सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए । सो अभियानमा कम्पनीले पत्रकार रवि लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । हाल नेपालमा टाटाको ५७ वटा वर्कसप, ४५ वटा सोरुम र २४ वटा मोवाइल भ्यानहरु संचालनमा रहेका छन् । साथै मोवाइल वर्कसप पनि संचालनमा ल्याउदै छ । नेपालमा हाल ७० भन्दा बढि रुटमा ५ हजार टाटा सुमोहरु संचालन भैरहेको छ ।
त्रिशूली–काठमाडौं २२० केभी भूमिगत प्रसारणलाइनको काम ४८ प्रतिशत सकियो
काठमाडौं । नेपालमै पहिलोपटक बनिरहेको भूमिगत विद्युत प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा १ हजार ३०९ मिटर भूमिगत लाइन बनाउनु पर्छ । त्यसमध्ये हालसम्म ६३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाईनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ । निर्माणका लागि अहिले २७० श्रमिक परिचालित छन् । रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए । ‘स्थानीयलाई मिलाउँछौं, गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौ, रुख कटानमा रहेको समस्या समाधान गछौं’,मन्त्री पुनले भने,‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नु पर्छ ।’ मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत पर्ने ६८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारणलाइनको रुट केही परिर्तन हुँदा काट्नु पर्ने रुखको संख्या घटेर ३३६वटा पुगेको छ । रुख कटानका स्वीकृतिका लागि फाइन वन विभागका पुगेगको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुन पेश गर्नु परेको आयोजनाले जनाएको छ । काट्नु पर्ने रुखमा टाँचा लगाइसकिएको छ । भूमिगत लाइनका लागि सडक खनिएकाले वर्षादको बेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् । प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए को विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली ३ एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । त्यसले पनि प्रसारणलाइन सोही अवधिभित्र बनासक्नु दवाव छ । ४५ किलोमिटर प्रसारण लाइनको १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । यो प्रसारण लाइन आगामि दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारणलाइन सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।
एनसीसी बैंक र प्राईम लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राईम लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
तपाईको दुई पांग्रे सवारी बिग्रियो ? चिन्ता नलिनुस्, अब एक क्लीक मै सबै समस्या समाधान
काठमाडौं । के तपाई आफ्नो दुई पांग्रे सवारी बिग्रेर चिन्तामा हुनुहुन्छ ? चिन्ता नलिनुस्, अब एक क्लीक मै दुई पांग्रेका सबै समस्याहरु समाधान हुनेछन् । अब ‘थर्ड ह्वील नेपाल’ले नै सबै समस्याको समाधान गर्नेछ । थर्ड ह्वील नेपालले भर्खरै दुई पांग्रे सवारी साधन प्रयोगकर्ताका लागि नयाँ ‘थर्ड ह्वील नेपाल’ नामक मोबाईल एप्स सार्वजनिक गरेको छ । जसमा आफ्नो जानकारी अनि सवारी साधनको विवरणहरू दर्ता गराएपछि चाहिएको समयमा थर्ड ह्वीलमा केवल एक बटन र क्लीक मात्र गरेपछि दुई पांग्रेका सबै समस्या समाधान हुने कम्पनीले जनाएको छ । एप्सले दुई पांग्रे सवारीमा आएका विभिन्न समस्यालाई समाधान गर्न सहयोग गर्नेछ । इम्याट आइटीले सवारी साधन प्रयोगकर्ताका लागि मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि उक्त एप्स बजारमा ल्याएको हो । थर्ड ह्विल नेपालका अरूण कुमार राउतले भने, ‘मध्यमबर्गीय आर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई पाँग्रे सवारीसाधनमा निर्भर रहेका छौं, यसको मर्मत, संभार लगायत आकस्मिक समय अनि डोहोर्याएर बनाउने ठाँउसम्म लिएर जाँदा हाम्रो धेरै समय अनि मेहनत खर्च हुने गर्दछ ।’ साथै, उनले यस्तो अवस्थामा थर्ड ह्वील अर्थात तेश्रो चक्का, दुई पांग्रे सवारीसाधन धनी नेपालीहरुका लागि यस एप्स एउटा बरदान सावित हुने बताएका छन् । सर्भिसिङ या अन्य केही बाइकको मर्मत चाहिएमा घर या कार्यलयबाटै बाइक मर्मतका तेस्रो पांग्रामार्फत लागि पठाउन सकिने कम्पनीले बताएको छ । समयमै गुणस्तरीय सेवालाई प्रमुख आधार बनाएर निर्माण गरिएको यस एप्सले दैनिक जीवनमा सहज र परिवर्तन ल्याउने कम्पनीको दाबी छ । कसरी सेवा लिने? सबैभन्दा पहिले प्ले स्टोर र एप स्टोरमा गएर ThirdWheelNepal एप्स डाउनलोड गर्ने । त्यसपछि दिइएको फारम भर्नुपर्ने छ । जसमा आफ्नो बाइक नम्बर दर्ता गर्नुपर्छ त्यसपछि मात्रै सेवा लिन सकिने कम्पनीले जनाएको छ । अथवा यसको वेवसाइटबाट पनि सेवा लिन सकिन्छ ।
सन नेपाल लाइफद्धारा बिमितलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस कम्पनीमा बीमा गराएकी बिमित गिता नेपालीको श्रीमान रमेश नेपालीलाई बिमाङ्क बराबरको रकम ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले बिमित गिताको यही असार १३ गते हृदयघातको कारण मृत्यू भएकोे हुनाले मृतकको श्रीमान रमेश नेपालीलाई सो बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका महाप्रबन्धक कमलराज गौतम तथा ब्राण्ड एम्बेसडर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले हस्तान्तरण गरेका हुन् । मृतक नेपालीले गत २०७४ फागुन १० गते प्रथम बीमा शुल्क २५ हजार ३७३ रुपैयाँ जम्मा गरेकी थिइन् । कम्पनीले रुकुम उप-शाखाको उद्घाटन गरेको छ । उक्त उप-शाखा उद्घाटन कम्पनीका महाप्रबन्धक गौतम तथा ब्राण्ड एम्बेसडर धुर्मुसले संयूक्त रुपमा गरेका हुन् । त्यसैगरी, कम्पनीले सल्यानमा पनि बीमा जागरण अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा करिब ३०० जनाको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।