विकासन्युज

पूर्व सचिवको प्रस्तावः मृत्यु संस्कारमा पनि कर लगाऔं, ३ अर्ब उठ्छ

भिम प्रसाद उपाध्याय काठमाडौं ।पश्चिमा मुलुकमा मान्छेले मर्नुअघि मृत्यु कर नतिरेमा तिनको अन्त्येष्ठी संस्कार नै हुदैन, गर्न पाईदैन। नेपालका नेताहरूले जनतालाई मृत्युकर लगाउने कुराको भेउ नै नपाए जस्तो छ । लगाई हालौं मृत्युकर, मरेपछि काजकिरियामा लाखौ खर्च गर्ने नेपालीहरूले त्यसमा १० प्रतिशत मात्र कर लगाए पनि प्रति मृतक न्युनतम २० हजार रुपैंयाँ कर असुल हुनेछ । नेपालमा वार्षिक १ लाख ५१ हजार मान्छेहरु मर्छन् । प्रति मृतक २० हजारका दरले कर असुल्ने हो भने सरकारलाई ३ अर्ब कर राजश्व उठ्नेछ । युरोप र अमेरिका युरोपमा मृत्यु जस्तै मृत्यु कर पनि अनिवार्य हुन्छ । बाख्रा मरेको प्रमाणित गराउँदा कर लगाउनेहरुले मृत्यु कर किन नलगाउने ?

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: कोइराला

  विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे। उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए। उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे। रासस

सरकारको नयाँ योजना: सबै नेपालीलाई जलविद्युत्को सेयर

काठमाडौ । सरकारले ‘जनजनमा सेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माणपछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा सामाजिकस्तर उठेको तथ्यलाई मनन गर्दै सरकारले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको सेयर दिने लक्ष्य राखेको हो । पछिल्लो जनगणनाअनुसार नेपालमा ५६ लाख घरधुरी रहेका छन् । यद्यपि त्यसमा केही वृद्धिसमेत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई आकर्षक प्रतिफल दिने गरी जलविद्युत् आयोजनाको चयन भइरहेको र केही समयभित्रै कार्यक्रमकै रुपमा घोषणा गरिने जनाएको छ । आर्थिकरुपमा नै लगानी गर्न सक्नेलाई पैसा र पैसा लगानी गर्न नसक्ने तर श्रम मात्रै योगदान गर्न सक्ने नागरिकलाई श्रममार्फत नै सेयर दिने गरी तयारी थालेको मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आम्दानीको आकर्षक स्रोतको जोहो हुने गरी सरकारले सबै नेपालीलाई सेयर दिने गरी आकर्षक आयोजनाको खोजी गरिएको जानकारी दिए । मन्त्री पुनले भने, “५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत् आयोजनाको निर्माण गरिन्छ । त्यसका लागि तयारी भइरहेको छ ।” नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दबाबमा छनोट नगरिने समेत मन्त्री पुनको भनाइ छ । “आकर्षक आयोजनाको छनोट गरी ५६ लाख घरधुरीको सेयर लगानी सुनिश्चित हुने गरी राम्रो प्रतिफल दिने आयोजना निर्माण गर्ने छौँ, त्यसले अहिले वृद्धभक्ता पाएजस्तै राज्यको अगुवाइमा निर्माण हुने आयोजनामा सेयर लगानी गरी जनताले प्रतिफल पाउँछन्”, उनले भने । “विगतमा भनसुन, राजनीतिक प्रभाव र दबाबमा गलत आयोजना छनोट गर्दा प्राधिकरण बनाउने आयोजनाको लागत दोब्बर÷तेब्बर भएको छ भने निर्धारित समयमा सकिएको छैन, अब त्यस्तो हुने छैन, प्रतिस्पर्धी र आकर्षक आयोजना छनोट गरी निर्माण गरिने छ ।” स्थानीय नागरिकले ठूलाठूला परियोजना बन्ने र आफूहरुले केही पनि लाभ पनि नपाएको भन्दै विरोध गरेपछि तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले १० प्रतिशत सेयर स्थानीयलाई छुट्याउनै पर्ने प्रावधान राख्यो । हाल निर्माण भइरहेका अधिकांश आयोजनाले स्थानीयवासीलाई दश प्रतिशत र आम नेपालीलाई १५ प्रतिशत सेयर प्रदान गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका अधिकांश आयोजनाले पनि स्थानीयवासीलाई सेयर बिक्री गरेको छ । केहीको भने प्रक्रियामा रहेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले हाल दोलखावासीलाई शेयर बिक्री गरिरहेको छ । १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर सो कम्पनीले बिक्री गरिरहेको छ । यस्तै गत फागुनमा चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले सीमित साधारण सेयर बिक्री गरेको छ । पछिल्लोपटक वर्तमान सरकारले आम नेपालीलाई सेयर दिने रणनीतिलाई पुनः कार्यान्यनमा ल्याउन लागेको छ । सरकारले प्राधिकरण वा कुनै सङ्गठित सरकारी संस्थाको ५१ प्रतिशत सेयर रहने र नेपाली नागरिकलाई ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी आयोजना छनोट गर्न लागेको छ । आयोजना छिट्टै छनोट हुने र प्रक्रियासमेत शुरु गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री पुनको भनाइ छ । त्यसो त जलविद्युत् लगानी तथा विकास कम्पनीले पनि विप्रेषण हाइड्रोमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर दिने योजना अगाडि सारेको छ । रेमिट हाइड्रो नाम दिइएको छुट्टै कम्पनीसमेत स्थापना भइसकेको छ । ताप्जेजुङका दुई आयोजना छनोट भई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र पहुँच मार्ग निर्माणको कामसमेत भइरहेको छ । स्थानीयावासीलाई शेयर दिँदा त्यसले आयोजनामा अपनत्व महसुस गर्ने, आयोजना निर्माण तथा प्रसारण लाइनलगायतको काम गर्न समेत सहज हुने सरकारको विश्वास छ । त्यसो त सरकारले प्रसारण लाइन पर्ने क्षेत्रका जनतालाई समेत शेयर दिने लक्ष्य अगाडि सारेको छ । तर सेयर बजारमा भने जलविद्युत् कम्पनीको शेयरको अवस्था भने त्यति राम्रो छैन । एकाध कम्पनीबाहेक अधिकांश जलविद्युत् कम्पनीका शेयर आधारभूत मूल्यको आसपास नै रहेको छ । रासस

महाकाली चिनी मिलको क्षमता विस्तार, २२ हजार टन ऊखु क्रसिङ गर्ने

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा रहेको महाकाली चिनी मिलले क्षमता विस्तार गरेको छ । ८ हजार मेट्रिक टन दैनिक उखु क्रसिङ गर्दै आएको मिलको क्षमता विस्तार गरी दैनिक २२ हजार मेट्रिक टन उखु क्रसिङ गर्ने बनाइएको छ । क्षमता विस्तारका लागि आधुनिक उपकरण जडान गरिएको मिलका एससिएम म्यानेजर सिडी पाण्डेले बताउनुभयो । “मिललाई आवश्यक पर्ने उखुको अझै अभाव रहेको छ ” उनले भने। उनका अनुसार हाल दैनिक १० लाख मेट्रिक टन उखु मात्रै मिललाई उपलब्ध हुदै आएको छ । उखुको उत्पादन बढाउन किसानलाई आधुनिक तरिकाले उखुखेती गर्ने तरिकाबारे जानकारी दिने, उन्नत बीउ उपलब्ध गराउने र आधुनिक उपकरणको प्रयोगबारे जानकारी दिने कार्यसमेत भइरहेको उनले बताए । मिलले गरेको सर्भेक्षण अनुसार कञ्चनपुरमा ११ बिघा खेतमा उखुखेती हुने गरेको छ । मिलले जनरल उखुको मूल्य ४५० र अर्लिजातको उखुको मूल्य ४७० रुपैयाँ निर्धारण गरेको छ । किसानलाई भुक्तानी दिँदा खातमा सोझै पैसा पठाउने व्यवस्था मिलले गरेको छ । मिलमा उखु बिक्री गरेका सबै किसानको भुक्तानी भइसकेको मिल सञ्चालकको दाबी छ । मिलमा उत्पादित चिनी चितवन, बुटवल, नेपालगञ्ज र पहाडी जिल्लामा बिक्री हुने गरेको छ । रासस

२ नम्बर प्रदेश संसदमा ओलीको सम्बोधन-बालुवा चाल्दा सुन भेटिन्छ, विकासको चिन्ता नगर्नुस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २ नम्बर प्रदेशमा आफ्नो धेरै बिरोध हुने भएकाले सो प्रदेशको विकास नै द्रुतगतिमा हुने बताएका छन् । प्रदेश नम्बर २ को संसदलाई सम्बोधन गर्दै ओलीले २ नम्बर प्रदेश आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका हुन् । उनले त्यहाँ कृषि र उद्योगको सम्भावनालाई अधिकतम उपयोग गरेर विकासको मुल फुटाउने बताए । अथाह सम्भावना रहेको प्रदेश अविकासको भूमरीमा रहन नसक्ने पनि स्पष्ट पारे । दाइजो, बोक्सी लगायतका कुरितीलाई चिरेर अघि बढ्नुपर्ने चुनौती समेत रहेको धारणा राखेका थिए । ओलीले खोलामा बालुवा चालेर सुन झिक्न सकिने बताउँदै युरेनियमको उत्खनन पनि प्राथमिकतामा रहेको बताए ।

१३ हजार घुससहित वडा सचिव विदुर रेग्मी पक्राउ

इटहरी । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्र्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका टोलीसँग मलाई गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध जनाएका थिए । उनलाई थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा लगिएको जनाइएको छ । रासस

मकवानपुरको भीमफेदीमा बन्जीजम्प बन्ने, वैशाखदेखि सञ्चालमा आउने

काठमाडौँ । मकवानपुरको भीमफेदीमा सार्वजनिक र निजी लगानीमा बन्जीजम्प सञ्चालनमा आउने भएको छ । भीमफेदी गाउँपालिका–५ सुपिङमा असोज १० बाट बन्जीजम्पको निर्माण हुन लागेको हो । ८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको बन्जीजम्प र बन्ने रिसोर्टले १०० रोपनी जमिन ओगट्ने छ । आगामी बैशाख १ गतेदेखि बन्जीजम्प सञ्चालनमा आउने छ । ऐतिहासिक पर्यटकीय प्रचुर सम्भावना रहेको गाउँपालिकामा बन्जीजम्पको निर्माणले पर्यटक प्रवद्र्धनमा हुने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले विकास न्युजलाई जानकारी दिए । उनले निजी क्षेत्रको लगानीमा बन्जीजम्प निर्माणको तयारी भइरहेको पनि बताए । गाउँपालिकाको विकास, यहाँ रहेका पर्यटकीय र ऐतिहासिक स्थलको प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन रणनीति अनुसार बन्जीजम्पको निर्माण हुन लागेको अध्यक्ष लामाले जानकारी दिए । उनले बन्जीजम्पका लागि प्राविधिक अध्ययन भइसकेको जानकारी दिए । प्राविधिक अध्ययनबाट बन्जिजम्पका लागि उपयुक्त रहेको प्रतिवेदन आएपछि स्थानीयको ४० रोपनी जग्गा निजी क्षेत्रले खरिद गरिसकेको पनि उनले बताए । सञ्चालक राजाराम बोगटीले बन्जीको उचाई १२० मिटर हुने छ । यो उचाई नेपालकै दोस्रो भएको पनि दाबी गरेका छन् । भीमफेदीमा निर्माण हुन लागेको बन्जीजम्प नेपालको केन्द्रीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक हो । बन्जीजम्प र रिर्सोटमा आवश्यक रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिइने बोगटीले जानकारी दिए ।

यातायातबाट ठगिने दिन सकियो, अब स्मार्ट कार्डबाटै भाडा तिर्ने सुविधा

एन क्लाउडले दिगो सार्वजनिक यातायतमा सुरुवात गरेको टिकटको नमुना काठमाडौं । अब सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरु ठगिने दिन सकिएको छ । तोकिएको भाडादरभन्दा २/४ रुपैयाँ बढी तिर्दै आइरहेका यात्रुहरुले अब जति रुपैयाँ भाडादर हो त्यति नै रुपैयाँ तिर्न सक्ने भएका छन् । किनकी अब सार्वजनिक यातायातमा इ-टिकेटिङ तथा स्मार्ट कार्डको सेवा सुविधा लागू भइसकेकाे छ । जसले भाडादर जति हो त्यति नै रुपैयाँको टिकट काट्छ अर्थात १३ रुपैयाँ भाडामा १५ रुपैयाँ लिँदै आइरहेका सहचालकहरुबाट यात्रुहरु ठगिने छैनन् । नेपाल बैंकको सहकार्यमा एन क्लाउड प्रालिले  नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ-टिकेटिङ तथा स्मार्ट कार्ड सेवा प्रविधि भित्र्याएको छ। यो प्रविधि हाललाई साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा लागू हुँदैछ। यस प्रविधिमा क्यास टिकेट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ। निकट भविष्यमा स्मार्ट कार्डलाई अन्य क्षेत्र जस्तै पेट्रोल पम्प, पसल, पार्किङ, स्कूल तथा कलेजमा प्रयोग गर्न सकिनेछ। एन क्लाउडले दिगो सार्वजनिक यातायात प्रा. लि. मा सुरुवात गरेको स्मार्ट कार्डको नमुना स्मार्टकार्ड के हो ? स्मार्टकार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ। स्मार्ट कार्ड अन्तर्राष्ट्रिय स्तर अनुरुप पैसाको सट्टा अहिलेको प्रविधि अनुसार प्रयोग हुने कार्ड हो। यो कार्ड बसका सहचालकहरुसँग किन्न सकिनेछ। कार्डमा पैसा सकिएको अवस्थामा बसकै सहचालकहरुबाट रिचार्ज गर्न सकिनेछ। दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाबाट पैसा तिर्न सकिने छ। पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमामा कार्ड ट्याप गरेर टिकट लिन सकिने छ। दोस्रो तरिकामा बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ। यसमा टिकट प्रिन्ट हुँदैन र यो केवल कार्ड भएको ग्राहकहरुले मात्र प्रयोग गर्न सक्नेछन्। कार्ड रिचार्ज गर्न र कार्डमा ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइसमात्र प्रयोग गर्न सकिनेछ।