करबारे अध्ययन गर्न समिति गठन
काठमाडौ । स्थानीय तहले लिइरहेको विभिन्न शीर्षकका करबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्ति आयोगका सचिव डा वैकुण्ठ अर्याल सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीका अनुसार समितिले १५ दिनभित्र स्थानीय तहको करका सम्बन्धमा प्रतिवेदन बुझाउनेछ । समितिले स्थानीय तहमा देखिएको करका समस्याको समाधान उपायसहित प्रतिवेदन सरकारलाई बुझाउने उनले जानकारी दिए। रासस
नेउवा महासंघका अध्यक्ष राणा साना मझौला उद्यम व्यवसायी महासंघद्धारा सम्मानित
काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित नेपाल उद्योग वाणिज्य(नेउवा) महासंघका अध्यक्ष भवानी राणा साना मझौला उद्यम व्यवसायी महासंघद्धारा सम्मानित भएकी छिन् । बुधबार(आज) नेउवा महासंघ सचिवालयमा एक कार्यक्रमबीच राणालाई बधाईसहित सम्मानपत्र प्रदान गरिएको छ । महासंघका अध्यक्ष बाबुकाजी महर्जनले साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा बधाई पत्र प्रदान गरेका हुन् । उनले निजी क्षेत्रको संघिय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघसँग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका छन् । सो कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष राणाले मुलुकको अर्थतन्त्रमा साना मझौला उद्यम व्यवसायको निकै ठूलो हिस्सा रहेकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार सहित आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
रुपन्देहीमा एनआईसी एशिया बैंककोे १८अाैँ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिकाको भुजौलीमा आफ्नो १८अाैँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका हुन् । साथै, उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् । हाल बैंकले २३८ शाखा कार्यालयहरु, २३२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नागढुङ्गादेखि कलङ्कीसम्मका घरमा एकै रंग लगाइने, १२ सय बत्ति जडान गरी झिलमिल बनाइदै सडकखण्ड
काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीले भने “नगरपालिकाले सडकखण्डको दायाँबायाँ करीब एक हजार २०० सोलारबत्ती जडान, वृक्षरोपण एवं नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यात्रु चढ्ने र ओर्लने स्थानमा विद्युतीय स्मार्ट प्रतिक्षालय हुने छ ।” नगरप्रमुख गिरीले सडक विस्तार कार्य छिटो निर्माण सम्पन्न गर्न सरकारसँग आग्रह गरे। केन्द्रीय सरकारले आवश्यक बजेट र निर्माणको अख्तियारी दिएमा तीन महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्न नगरपालिका तयार रहेको जनाएको छ । नगरपालिकाले खानेपानी सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन, शहरी आवास तथा भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा खेलकूद, सामाजिक सुरक्षा तथा विकास, पर्यटकीय पूर्वाधारको विकास, कृषि, वन, पशु, संस्थागत सुशासन तथा सेवा प्रवाह, सम्पदा संरक्षणलगायतका क्षेत्रलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ । जमीन बाँझो राख्नेलाई कर लगाउने एक वडा एक उद्यान, जमीन बाँझो राख्नेलाई कर लगाउने, नगरक्षेत्रमा सुपथमूल्य पसल सञ्चालन, एक घर दुई बिरुवा नीतिमा कडाइ, सामुदायिक अस्पताल निर्माण, नगरपालिकाभित्रका परम्परागत एवं जीवन्त बाजा, पर्व संरक्षण तथा प्रवद्र्धन गर्ने नीति पनि नगरपालिकाले लिएको छ । काठमाडौँको सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको सो नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क बनाएको छ । ती सेवामा नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातोकार्ड प्राप्त भूकम्पपीडितका नक्शापास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका रहेका छन् । साविकका नयाँभञ्ज्याङ, बाडभञ्ज्याङ, पुरानो भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ, नैकाप गाविस समेटेर २०७१ मङ्सिर १६ गते सरकारले सो नगरपालिका घोषणा गरेको थियो । पछिल्लो जनगणनाअनुसार नगरपालिकाको जनसङ्ख्या ८६ हजार १९८ र घरधुरी सङ्ख्या २० हजार ५३२ रहेको छ । रासस
डोनाल्ड ट्रम्पले पोर्न स्टार मार्फत चुनावमा पैसा बाँडेको पुष्टि, महाअभियोगको सम्भावना
न्यूयोर्क । अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् । अमेरिकाकै दुई सहरमा सन् २०१६ को चुनावताका भएका रकम दुरुपयोगका विषयमा अदालतले सुनुवाई गरिरहेका छन् । ट्रम्पका लामो समयदेखिका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारको रकमको दुरुपयोग भएको स्वीकारेका कारण न्यूयोर्कको अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ । कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्वाय मोडेल कारेन म्याकडगललाई कानुन विपरीत चुनावी प्रचारको रकम भुक्तान गरेको अदालत समक्ष जानकारी गराएका छन् । भुक्तानी गरिएका दुवैसँग ट्रम्पको नाजायज सम्बन्ध रहेको बताइन्छ । विगतदेखि नै चर्चामा रहेको यो मुद्दाको राजनीतिक र कानुनी महत्व रहिआएको छ । यस खुलासाले ट्रम्पमाथि चर्को दबाब सिर्जना हुने अड्कलबाजी गरिएको छ । कोहेनले राष्ट्रपति ट्रम्पमाथि नै औंला ठड्याएका छन् । राष्ट्रपति ट्रम्पकै आदेश र संयोजनमा आफूले रकम भुक्तानी गरेको कोहेनको भनाई छ । “यो रकम भुक्तानी गर्दा चुनावलाई प्रभावित पार्ने नै उद्देश्य थियो,” न्यायाधीश समक्ष कोहेनले भने । खचाखच भरिएको अदालतको इजलासमा बयान दिँदा कोहेन थरथर काँपेका थिए । यो स्वीकारोक्तीले राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम उत्पन्न गराएको छ । ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले अमेरिकी सञ्चार माध्यममा पठाएको वक्तव्यमा भनिएको छ, “राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन् ।” कोहेनको नाटकीय बयान सार्वजनिक भइरहेको अवस्थामा भर्जिनियाको जुरीले राष्ट्रपति ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्ट दोषी रहेको ठहर गर्दै आठवटा मुद्दामा सजाय गर्ने आदेश दिएको छ । उनीमाथि बैंक धोखाधडी, कर छली गरेको र विदेशी बैंक खातासम्बन्धी स्वघोषणा नगरेको लगायतका आरोप लागेको छ । यी समाचार प्रसार हुनासाथ ट्रम्पले खेद व्यक्त गर्दै म्यानाफोर्ट “असल मानिस” रहेको प्रतिक्रिया दिएका छन् । “मलाई अति दुःख लागेको छ,” ट्रम्पले पश्चिम भर्जिनियामा आयोजित मध्यावधि चुनावी सभाकै क्रममा संवाददाताहरुलाई भने । “जे भएको छ त्यो ज्यादै दुःखद छ, र चुनावका समयमा रुससँग कुनै साँठगाँठ थिएन ।” तर पछिल्लो समय ट्रम्पले म्यानाफोर्टसँग आफूलाई टाढा राख्न थालिसक्नु भएको छ । अमेरिकी कानुनी परम्परामा राष्ट्रपतिमाथि अदालतमा मुद्दा लाग्दैन, तर अभियोगहरु यदि प्रमाणित भएमा संसदमा महाभियोग लाग्न सक्दछ । आगामी नोभेम्बरमा हुने कङ्ग्रेसको मध्यावधि चुनावमा यो मुद्दा पेचिलो बन्नेछ । “मध्यावधि चुनावमा महाभियोगको विषयले प्रमुखता अवश्य पाउनेछ,” रिपब्लीकन रणनीतिकार तथा ट्रम्पका आलोचक रोब स्टजम्यानले भने । “डेमोक्रेटहरुले त यो विषय अवश्य जनतासमक्ष जोडतोडले राख्नेछन् ।”
८ तले स्मार्ट पार्किङको सोमबार टेण्डर, १ अर्बमा १६० वटा कार अट्ने यस्तो बन्दैछ ई-पार्किङ
काठमाडौं । काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि आगामी सोमबार बोलपत्र आब्हन गर्ने भएको छ । महानगरले स्वदेशी वा विदेशी दुबै कम्पनीहरुलाई काम गर्न पाउने गरी बोलपत्र आब्हान गर्न लागेको हो । बोलपत्रको अन्तिम तयारी भैरहेको महानगरका पुर्वाधार प्रमुख महेश काफ्लेले बताए । “हामीलाई जनता र मेयरबाट यति दबाब आइसक्यो कि हामीले कुनै हालतमा यो काम गर्नु पर्ने अवस्था छ, यस आयोजना १ अर्ब रुपैंयामा निजी क्षेत्रलाई दिने तयारी गरेका छौं, काफ्लेले भने आइतबारसम्ममा आयोजनालाई अन्तिम रुप दिन सकिए सोमबार बोलपत्र आब्हान गर्नेछौ ।” काफ्लेका अनुसार बोलपत्रका लागि १५ दिनको समयअवधि दिइनेछ । त्यसपछिको १५ दिनमा कम्पनी छनोट गरिनेछ । आवश्यक प्राविधिक र दक्ष जनशक्तिको अभावमा काम छिटो सञ्चालन गर्न नसकिएको महानगरका प्रवक्ता ज्ञानेद्र कार्कीले बताए । उनले भने हाम्रो देशमा दक्ष प्राविधिक जनशक्ति रहेको छैन, यसको लागि अन्तर्राष्ट्रिय जनशक्ति आवश्यक हुन्छ । त्यसैले समयमै काम शुरु गर्न नसकिएको हो । स्मार्ट पार्किङ महानगरको महत्वपुर्ण काम भएकोले अब अघि बढ्नेछ । पार्किङ निर्माणको लागि धर्मपथमा महानगरले २ रोपनी जग्गा तयार गरिसकेको छ । यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ । ई पार्किङमा केहि समयमै सजिलै सवारी पार्किङ गर्न सकिनेछ । पुराना पार्किङ भन्दा ई पार्किङ आर्थिक रुपले सस्तो पर्न जाने महानगरले विस्वास गरेको छ । यस पार्किङमा १५० वटा कार पार्किङ गर्न सकिनेछ । बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा पार्किङ नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । काफ्लेका अनुसार दरबारमार्गमा पनि साइकल, मोटरसाइकल, कार, जीप लगायतको सवारी पार्किङ गर्न सकिने गरि स्मार्ट पार्किङ निर्माण गरिनेछ । स्मार्ट पार्किङमा अग्रीम बुकिङ समेत गर्न सकिनेछ । पार्किङबाट कति रकम तोक्ने पछि नै निर्णय हुने पुर्वाधार प्रमुख काफ्लेले बताए । प्रत्येक तलामा २० वटासम्म कार पार्किङ गर्न सकिनेछ । १ देखि माथिल्लो तलामा इलेक्ट्रिक मार्फत कार राख्न र निकाल्न सकिनेछ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो । काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४ ०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो । यस्तो बन्नेछ पार्किङ भिडियो
८ अर्ब लगानीमा एसियाकै उत्कृष्ट अपार्टमेन्ट पोखरामा बन्दै, तीन वर्षमा सम्पन्न हुने
पोखरा । गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा एसियाकै उत्कृष्ट ‘लेक भ्यु रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माणको काम अगाडि बढेको छ । बि एण्ड बि प्रालीद्धारा निमार्ण हुन थालेको सो अपार्टमेन्टले नेपालकै पर्यटन क्षेत्रको चलायमान बनाउने दावी कम्पनीले गरेको छ । रियलस्टेट क्षेत्रमा २५ वर्षदेखि काम गरेका पोखराका सफल युवा व्यवसायीको लगानीमा परियोजना अगाडी बढेको हो । पोखरा महानगरपालीका १८ स्थित फेवातालको उत्तर पश्चिम सेदीमा अवस्थित ३६ रोपनी क्षेत्रफलमा एसीयाकै नमुना अपार्टमेन्ट बन्ने दावी परियोजनाका प्रवन्ध निर्देशक बिमल बसेलले जानकारी दिए । तीन वर्षमा सम्पन्न गर्न सो परियोजना ८ अर्ब रुपैयाँको लागतमा निमार्ण हुने भएको हो । अपार्टमेन्टमा ‘३ तलाको पार्किङसहित १८ तला सम्म अपार्टमेन्ट निर्माण हुन्छ,’ बसेलले भने , ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार भइसक्नेछौं ।’ परियोजनाका बारेमा बोल्दै बसेलले भने- पर्यटन क्षेत्रमा गण्डकी प्रदेश सरकाले लिएको लक्षलाई पुरा गर्ने पनि यो आवश्यक छ । प्रदेश सरकाले यस क्षेत्रलाई लगानी मैत्री बनाउन लगानी सम्मेलन गदै छ । स्थानीय व्यवसायीको अगुवाईमा सञ्चालन हुने सो परियोजनाले पोखरामा लगानी गर्ने वातावरण सिर्जना भएको व्यवसायीहरुले बताएका छन् । एसियाकै नमुना अपार्टमेन्टमा २ वटा विल्डिङमा ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गरिने सो कम्पनीका ईन्जीनीयर बिक्रम थापाले जानकारी दिए । ‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुने छ । अपार्टमेन्टका आफ्नै विशेषता छन्,’ प्रबन्ध निर्देशक बसेलले भने- अपार्टमेन्टले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।’ जसमा २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल, सुपरमार्केट, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर लगायत मानवीय आवश्यकता प्रशस्त सुविधा रहने छन् । अपार्टमेन्टको बार्दलीबाट फेवाताल, पोखरा, शान्तिस्तुपा लगायत पोखरा वरपरका सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिनेछ । नमुनायोग्य प्रोजेक्टले पोखराको पर्यटन क्षेत्रलाई ब्राण्डिङ गरेर संसारभर चिनाउन योगदान पुर्याउने कम्पनीका अध्यक्ष बिमला बसेलले बताए । परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम बसेलले जानकारी दिनु भयो । अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको हुने छ । संसारकै उत्कृष्ट अवधारणाबाट निमार्ण हुने अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ । १ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ कम्पनिको भनाई छ । प्रि लन्चिङका अवसरमा झण्डै ९० बटा अपार्टमेन्ट बुकिङ भएको बताईएको छ । यता पोखरा सागुरो हुँदै गएको छ सानासाना घरले पोखरालाई अव्यवस्थित बनाउने भएपछि महानगरले मापडण्डमा थप उदार हुन थालेको छ । हालसम्म पोखरा ३५ फिटको अनुमती लिएर ११ तलाका होटल बनेका छन । सोहीलाई आधार मानेर महानगरले उचाईको मापडण्डलाई परिमार्जन गर्ने थालेको छ । उचाईको मापदण्ड बढाउने प्रकृया अगाडी बढाएको महानगरका नक्सा शाखा प्रमुख ईन्जिनियर पुर्ण गुरुङले बताए ।
दोस्रो एका अस्ट्रेलियन एजुकेसन फेयर हुँदै
काठमाडौं। विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि अस्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तब्यका रुपमा स्थापित भईसकेको छ। अस्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन बृदि भैरहेको छ। उच्च शिक्षाको लागि आकर्षक गन्तब्य बनिरहेको अस्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहनुभएका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै अस्ट्रेलियामा रहेका शैक्षिक परामर्स केन्द्रहरुको साझा छाता संगठन अस्ट्रेलिया एजुकेसन कन्सल्ट्यान्ट् एलाईन्स (एका) ले अगस्ट २४ र २५ (भाद्र ८ र ९ गते) दोस्रो अस्ट्रेलिया शैक्षिक मेलाको आयोजना गर्दैछ। प्लस टु सकेर अस्ट्रेलिया उच्च शिक्षाको अध्ययनको लागि जाने क्रम बढीरहँदा विद्यार्थीसंगै अभिभावकहरुको समेत उत्तिकै जिम्मेवारी रहेकोले मेलामा एकाको नारा ” विद्यार्थीसंगै अभिभावक” रहेको छ। होटल अन्नपूर्णमा आयोजना हुने शैक्षिक मेलामा अस्ट्रेलियाका सात वटा कालेज तथा २२ वटा शैक्षिक परामर्सदाताहरुको प्रत्यक्ष सहभागी रहने उनिहरुले जनाएको छ। दुई दिन सम्म चल्ने शैक्षिक मेलामा अस्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभीभावकको जिम्मेवारी, पढाई खर्च र पढ्ने बिषय, कलेज तथा बिस्वोबिद्यालयका बारेमा बिशेष जानकारी उपलब्ध गराउने जानकारी समेत् दिए।