
काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित नेपाल उद्योग वाणिज्य(नेउवा) महासंघका अध्यक्ष भवानी राणा साना मझौला उद्यम व्यवसायी महासंघद्धारा सम्मानित भएकी छिन् । बुधबार(आज) नेउवा महासंघ सचिवालयमा एक कार्यक्रमबीच राणालाई बधाईसहित सम्मानपत्र प्रदान गरिएको छ ।
महासंघका अध्यक्ष बाबुकाजी महर्जनले साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा बधाई पत्र प्रदान गरेका हुन् । उनले निजी क्षेत्रको संघिय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघसँग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका छन् ।
सो कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष राणाले मुलुकको अर्थतन्त्रमा साना मझौला उद्यम व्यवसायको निकै ठूलो हिस्सा रहेकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार सहित आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।