घर बनाउन ऋण चाहियो ? प्रभु बैंकले दिन्छ ११ प्रतिशतमा २५ वर्षका लागि
काठमाडौं । तपाई बैंकको ब्याजदर महंगो भएर घर किन्न वा नयाँ बनाउन सक्नु भएको छैन ? सस्तो ब्याजमा कर्जा खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस प्रभु बैंकले सस्तो ब्याजमा नयाँ आवास योजना ल्याएको छ । सजिलो प्रकृया र सरल ब्याजदरमा घर बनाउन कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले २५ वर्षसम्मका लागि ११ प्रतिशत ब्याजमा घरकर्जा (होमलोन) योजना ल्याएको छ । ५ दिनभित्र कर्जा दिने बैंकले जनाएको छ । बैंकले निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने छ ।
बिजुली खरिदबिक्रीमा नयाँ आधार तय, सहमति लिन २० लाख तिर्नु पर्ने
काठमाडौं । सरकारी र निजी क्षेत्रका जलविद्युत उत्पादन गर्ने कम्पनीसंग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने सहमति लिन अब २० लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएको छ ।सरकारले हालै सार्वजनिक गरेको विद्युत नियमन आयोग नियमावली, २०७५ मा यस्तो व्यवस्था गरिएको हो । मन्त्रीपरिषदले स्वीकृत गरेको नियमावली भदौ ११ गते (सोमबार) राजपत्रमा समेत प्रकाशित गरिएको छ । दिगो विद्युत विकासका लागि आवश्यक खरिद दर वा शुल्क निर्धारण तथा यस क्षेत्रका अस्पष्ट व्यवस्थालाई व्यवस्थापन गर्ने उद्देश्यले विद्युत नियमन आयोग ऐन तयार गरिएको छ । ऐन कार्यान्वयन गर्न नियमावली समेत तयार भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नियमावली ल्याउन विशेष पहल गरेका थिए । यसले ‘विद्युत नियमान आयोग’ गठनको आधार तयार गरेको छ । अब छिट्टै आयोग गठन हुने मन्त्री पुनले बताएका छन् । नियमावली बुंदा १७ मा पीपीए सहमति दिँदा वा प्रसारण शुक्ल (ह्विलिङ चार्ज) लगायत पक्षको दायरा स्पष्ट उल्लेख गरिएको छ । सोही बुँदाको ‘क’ मा विद्युत नियमन आयोगले विद्युतको थोक खरिद बिक्री दर निर्धारण गर्दा ७ हजार ५०० रुपैयाँसम्म लिन पाउने किटान गरिएको छ । यसैगरी, पीपीए गर्ने सहमति दिँदा १०० किलोवाटदेखि १ मेगावाटसम्म १ लाख रुपैयाँ शुक्ल तोकिएको छ । एकदेखि हजार मेगावाटसम्म प्रतिमेगावाट १० हजार रुपैयाँ र हजार मेगावाटभन्दा माथि एक मुष्ट २० लाख रुपैयाँ शुल्क तोकिएको छ । उता प्रसारण तथा वितरण वा अन्य दस्तुर निर्धारण गर्दा आयोगले २५ हजार रुपैयां लिन पाउनेछ । नियमावली सार्वजनिक भए पनि अझै आयोग गठनको संरचना भने तयार भएको छैन । आयोगले काम सुरु गरेपछि विद्युत क्षेत्रमा उत्पादन, प्रसारण, वितरण र शुल्क तोक्ने वा पीपीए गर्ने नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिनेछ । अहिलेसम्म निजी क्षेत्र वा आफ्ना सहायक कम्पनीसँग प्राधिकरणले नै पीपीए गर्दै आएको छ । अब भने त्यो अवस्था कायम हुने छैन । आयोगले विद्युत खरिद दर निर्धारण गर्दा आयोजनामा भएको ऋण लगानीको खर्च समेटिएको क्षमता शुल्क (क्यापासिटी चार्ज) र स्वलगानी (इक्विटी), प्रतिफल, कर तथा रोयल्टी, सञ्चालन तथा मर्मत खर्चसमेत समेटिएको ऊर्जा शुल्क (इनर्जी चार्ज) गरी दुई भागीय विद्युत दर प्रणाली प्रयोगमा ल्याउन सक्नेछ । उत्पादन अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था र विद्युत खपत गर्ने निकायबीच पिपिए गर्ने सहमति भए उनीहरूले आयोगको सहमतिमा सम्झौता गर्न सक्नेछन् । यसरी सम्झौता हुँदा समान प्रकृतिका संस्था वा निकायबीच पहिले गरिएको दरमा समानता र उपभोक्तालाई प्रतिकूल असर नपर्ने गरी गर्न सकिने पनि नियमावलीमा उल्लेख छ । विनियमावलीमा अनुमति प्राप्त व्यक्ति आपसमा गाभिन, संरचनाको खरिद बिक्री (सेल अफ प्लान्ट), प्राप्ति (एक्विजिसन) वा ग्रहण (टेक ओभर) गर्न सहमति दिंदा त्यस्तो संरचना वा संस्थाको आधार मूल्यको आधारमा १० करोड रुपैयाँसम्मको मूल्यका लागि १ लाख रुपैयाँ र सोभन्दा माथि प्रत्येक १० करोड रुपैयाँसम्मको लागि ५० हजार रुपैयां शुल्क तोकिएको छ ।
कञ्चनपुरका बलत्कारी पक्राउ
कञ्चनपुर । कञ्चनपुरका एक बलत्कारी पक्राउ परेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मानबहादुर विष्टलाई पक्राउ गरेको थियो । शुक्रबार राति घरमा पूजा भइरहेका बेला मोटरसाइकलमा लगी किशोरीलाई बलात्कार गरिएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । रासस
रसुवा कन्सट्रक्सनले १८ महिना अघिनै रातुपल सम्पन्न गर्यो
काठमाडौं । निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गुनासो आईरहेको बेला रसुवा कन्सट्रक्सन कंम्पनी प्राइभेट लिमिटेडले भने निर्धारित समय भन्दा १८ महिनाअघि नै एक पुलको निर्माण सम्पन्न गरेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्माण गरिएको पूल निर्धारित समय भन्दा अघि सम्पन्न भएको कम्पनीले जनाएको छ । वि.सं. २०७३ असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको रसुवा कन्सट्रक्सनले २०७६ पुस मसान्तमा पुल निर्माण सम्पन्न गरी उच्च व्यवसायिकता प्रस्तुत गरेको हो । पुल २४ करोड ६० लाख रुपैयाँमा रसुवाले सम्पन्न गरेको हो । २५० मिटर लम्बाई र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन प्रयोगमा आएको छ । ‘पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल लाइफलाइन नै हो’ निर्माण कम्पनीका अध्यक्ष तथा ईन्जिनियर राजेन्द्रराज आचार्यले सञ्चारकर्मी भने, “हामीले रातदिन मिहिनेत गयौँ त्यसैले निर्धांरित समय भन्दा १८ महिना अधिने पुल निर्माणको कार्य सकिएको छ ।” राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा (पाया) भासिएपछि आवतजावतमा कठिनाई भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो। आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०÷१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्छ ।
मेसीको २ गोलसँगै बार्सिलोनाको गोल वर्षा, हुइस्कामाथी ८ गोल
काठमाडौं । स्पेनिस पावरहाउस बार्सिलोनाले लालिगाको तेस्रो खेलमा हुइस्कामाथी गोलको बर्सा गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले हुइस्कामाथि ८ गोल प्रहार गरेको हो । हुइस्काले खेलको २ मिनेटमै अग्रता लिएपनि लियोनल मेसीले १५ मिनेटमै बराबरी गोल फर्काएका थिए । पहिलो हापमा हुइस्काले आत्माघाती गोल गरेसँगै लुइस सुवारेजले गाेल गरे । खेलको ४२ औं मिनेटमा हुइस्काका लागि गलार फाल्गुराले गोल गरे । दोस्रो हाफमा ओसामाने डेम्बेले, इभान राकेटिक जोर्डी अल्बा र मेसीले गोल गरे, खेलको अन्तिम समयमा सुवारेजले पेनाल्टी मार्फत गोल गरेपछि बार्सिलोनाले सहज जित हात पार्यो । जितसँगै बार्सिलोना लालिगाको शिर्ष स्थानमा रहेको छ ।
एलआईसी नेपालले नेपाल पुर्नबीमा कम्पनीसंग गर्यो शतप्रतिशत पुर्नबीमा
काठमाडौं । भारतीयको समेत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले नेपाल पुर्नबीमा कम्पनी लिमिटेडमा शत्प्रतिशत पुर्नबीमा गरेको छ । दुबै कम्पनीबीच पुर्नबीमा गर्ने विषयमा आइतबार सम्झौता भएको छ । चालु आर्थिक वर्षदेखि नेपालमा कुल आर्जन भएको बीमा शुल्कको २० प्रतिशत स्वदेशमै पुर्नबीमा गर्नुपर्ने व्यवस्थाअनुसार सम्झौता भएको हो । पुर्नबीमा वापतको रकम विदेश जान नदिनका लागि पुर्नबीमा कम्पनी स्थापना गरिएको हो । सरकारको नीतिअनुसार शत्प्रतिशत पुर्नबीमा नेपालमै गरिएको एलआईसीका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बताए । एलआईसीले जोखिम र महाविपत्तिको शत्प्रतिशत पुर्नबीमा गरेको उनले जानकारी दिए । कम्पनीसंग शत्प्रतिशत पुर्नबीमा गर्ने एलआईसी छैठौ कम्पनी भएको छ । यसअघि सुर्या लाइफ, गुराँश लाइफ, सानिमा लाइफ, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थासंग शत्प्रतिशत पुर्नबीमा सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले जानकारी दिए । कम्पनीले २८ मुलुकमा बीमा तथा पुर्नबीमा कम्पनीसंग व्यवसाय गरी बीमा शुल्क आर्जन गर्दै आएको छ । गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ बराबरको पुर्नबीमा व्यवसाय गरेको नेपाल पुर्नबीमा कम्पनीले यो वर्ष ३ अर्ब बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।
३ अर्ब ४५ करोडमा बन्ने भयो धरहरा, जीआईइटीसी–रमन जेभीले पायो पुनर्निर्माणको ठेक्का
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाउने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आह्वान गरेको ठेक्काको आइतबार आर्थिक प्रस्ताव खोल्दा जीआईईटसी रमन जेभीले कम दर प्रस्ताव गरेपछि ठेक्का पाउने निश्चित भएको हो । रमन जेभीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ । धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरेर ६ निर्माण कम्पनीले बोलपत्रमा भाग लिएका थिए । यीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो । धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका छन् । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ । मानन्धरले आशयपत्रका लागि सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी दिए । प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि बैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।
मेगा बैंकको सिन्धुलीमा एकैदिन दुई शाखारहित बैंकिङ सेवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिन्धुलीको तीनपाटन गाउँपालिकाको बेलघारी, चकमकेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बेलघारीको शाखारहित बैंकिङ सेवाको उद्घाटन वडा अध्यक्ष गोबिन्दबहादुर राउतले गरेका हुन् । यसैगरी, वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले चकमके शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् । मेगा बैंकका सिन्धुली शाखा प्रबन्धक केशबप्रसाद देवकोटाले मेगा बैकको खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा शाखारहित बंैकिङबाट उपलब्ध हुने जानकारी गराएका छन् ।