विकासन्युज

नबिल बैंकको शैक्षिक कर्जा अब झन् सहज, कलेजबाट अफर-लेटर कुर्नु नपर्ने

काठमाडौं । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाको लागि अफर-लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन् । विद्यार्थीहरुले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्ट पार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको छ, जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रकृयाको लागि पर्याप्त समय उपलब्ध हुनेछ भने शत्रमा देखिने चाप तथा छोटो समयमा प्रकृया पुर्याउनुपर्ने वाध्यताबाट विद्यार्थीहरु मुक्त हुनेछन् । संशोधित शैक्षिक कर्जा प्रकृयाको बारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग भदौ ८ गते अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “विद्यार्थीहरुको लागि अझ राम्रो सेवा प्रदान गर्ने उदेश्यले शैक्षिक कर्जा प्रकृया सरल र सहज बनाइएको हो । यस्तो प्रकारको कर्जा आवेदन गर्न अब विद्यार्थीहरुले कलेज/विश्वविद्यालयबाट अफर-लेटरको लागि लामो समय प्रतिक्षा गरिरहनु पर्दैन ।”

सिभिल बैंकद्धारा दुर्घटना बीमा अन्तर्गत पाैने २ लाख रूपैयाँ भुक्तानी

काठमाडौं । सिभिल बैंक लिमिटेडले निःशुल्क दुर्घटना/मृत्यु बीमा कार्यक्रम अन्तर्गत निर्मला थारुलाई १ लाख ७४ हजार २४० रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको छ । बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले दुर्घटनामा परी मृत्यु भएका वंसराज थारुको सुपुत्री निर्मला थारुलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । बुटवल निवासी निक्षेपकर्ता वंसराज थारुको दुर्घटनामा परी मृत्यु भए पश्चात बीमाको रकम मृतकका श्रीमती शान्ती देवीथारुको नाममा बैंकले उपलब्ध गराएको छ । निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दुर्घटना/मृत्यु बीमा बापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भए पनि राहत पुर्याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

शिखर शुले ल्यायो ‘बडा शेल’ अफर, ग्राहकलाई ५० प्रतिशतभन्दा बढि छुट

काठमाडौं । शिखर शु कम्पनीले हालै काठमाडौ उपत्यका भित्रका आफ्ना ग्राहकहरुका लागि लक्षित गरि ‘बडा शेल’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० प्रतिशतभन्दा बढि छुट पाउन सक्नेछन् । यो अफर हालको लागि उपत्यकाभित्रका ९ शोरुमहरुमा उपलब्ध रहने छ । जस अन्तर्गत मनकामना शुज, न्युरोड, शिखर शुज सेन्टर, खिचापोखरी, शिखर शुज सेन्टर, बानेश्वर, किर्तिपुर शुज सेन्टर, किर्तिपुर, बौद्धशुज सेन्टर बौद्ध, पाटन सुज सेन्टर, पाटन, लिवास इण्टरप्राइजेज, नयाँ बसपार्क, कोसेली शुज हाउस, भोटाहिटि र त्रिबेणी शुज सेन्टर भोटा हिटिमा उपलब्ध रहने छ । ग्राहकको मागलाई ध्यानमा राखीथप अरु शोरुमहरुमापनिबिस्तार गरिने कुरा कम्पनीले जनाएको छ। लेडिज तथा जेन्स स्यान्डल, पार्टि शु, कलेज÷स्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस् शुहरुमा यो अफर उपलब्ध छ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब ४०० डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले विजयपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले धरानको विजयपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न उपचारसेवामा सो मात्राको छुट पाउने भएका हुन् । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंकको शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका हुन् ।

भारतमा बढ्यो पेट्रोलियमको भाउ, नेपालमा के होला ?

एजेन्सी । भारतमा सोमबारदेखि फेरी पेट्रोलियम पदार्थको भाउ बढेको छ । मुम्बइमा पेट्रोलको भाउ बढेर खुद्रामूल्य प्रतिलिटर ८६ रुपैयाँ ५६ पैसा पुगेको छ । आइतबारको तुलनामा सोमबार ३१ पैसा बढेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । राजधानी नयाँदिल्लीमा बढेर ७९ रुपैयाँ १५ पैसा, कोलकतामा ८२ रुपैयाँ ६० पैसा र चेन्नाइमा ८२ रुपैयाँ २६ पैसा पुगेको इण्डियन आयल कर्पोरेशन लिमिटेडले जनाएको छ । डिजेलको मूल्य मुम्बइमा ४२ पैसा बढेर ७५ रुपैयाँ ५४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ७७.४३ डलर पुगेको छ । इण्डियन आयलबाट पेट्रोलियम पदार्थ खरिद गर्ने हुँदा त्यहाँ मूल्य बढेपछि यसको असर नेपालमा पर्छ । नेपालमा पनि पेट्रोलियमको भाउ बढ्ने संभावना बढेर गएको छ ।

कावेली विकास बैंकले ३५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कावेली विकास बैंकले लगानीकर्तालाई ३५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले ७ करोड ३७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको बैंकले जनाएको छ । नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।

विकास बैंक र वित्त कम्पनीको पनि जोखिममा आधारित सुपरिवेक्षण गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीहरुको पनि जोखिममा आधारित सुपरिवेक्षण सुरु गरेको छ । २ बर्षदेखि बाणिज्य बैंकहरुको जोखिममा आधारित सुपरिवेक्षण गर्दै आएको राष्ट्र बैंकले यसपाली विकास बैंक र वित्त कम्पनीलाई समेट्न लागेको गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । ‘विकास बैंक र वित्त कम्पनीहरुको वित्तीय अनुशासन र संस्थागत सुशासन अभिवृद्धिका लागि यस बर्षदेखि जोखिममा आधारित सुपरिवेक्षण आरम्भ गर्दैछौं’,  गभर्नर नेपालले भने । केन्द्रिय बैंकले गत आर्थिकमा पनि केहि विकास बैंक र वित्त कम्पनीको जोखिममा आधारित सुपरिवेक्षण गरेको थियो । ‘गत बर्ष केहि विकास बैंकको जोखिममा आधारित सुपरिवेक्षण गरेका थियौं, यसपाली सबैको गर्छाै, साथै केहि वित्त कम्पनीहरुको पनि सुपरिवेक्षण हुनेछ’, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले विकासन्युजसँग भने । बैंकले नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ अनुसार स्थलगत अनुगमन गर्दै आएको छ । सो नियमावली अनुसार केन्द्रिय बैंकले सुपरिवेक्षण गर्ने सूचना सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुलाई १५ दिन अगावै उपलब्ध गराउनुपर्नेछ । हाल ३३ वटा विकास र २५ वटा फाइनान्स कम्पनी सञ्चालनमा रहेका छन् । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तथा वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि चालु आवमा वित्त कम्पनीहरुको समेत जोखिममा आधारित सुपरिवेक्षण आरम्भ हुने सूचना प्राप्त भएको जानकारी दिए । ‘यसपाली वित्त कम्पनीहरुको पनि जोखिममा आधारित सुपरिवेक्षण हुने अनौपचारिक खबर आएको छ, यसले कम्पनीहरुको संस्थागत सुशासन र वित्तिय जोखिम न्युन गर्न मदत गर्छ’, तुलाधरले भने । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको समग्र जोखिम मूल्यांकन तथा संस्थागत सुशासनका लागि २ बर्ष अघिदेखि जोखिममा आधारित सुपरिवेक्षण गर्दै आएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कार्यालयमै पुगेर आवश्यक कागजात तथा अपरेशन प्रणालीको सुक्ष्म अध्ययन गर्दै आएको छ ।

फेसबुक र ट्विटर नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा

कायरो । इजिप्टका राष्ट्रपति अब्देल फताह अलसीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा पारित भएको कानुनमा “सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्”लाई कामको जिम्मेवारी दिइएको छ । सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेभसाईटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ । “गलत समाचार प्रकाशन वा प्रशारण गरेमा वा कानुनको उल्लङ्घन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह गरेमा” व्यक्तिगत एकाउन्ट निलम्बन वा बन्द गर्ने अख्तियारी परिषदलाई दिइएको छ । सञ्चार सम्बन्धी विज्ञ तथा अधिकारकर्मीहरुले भने यस कानुनले राष्ट्रपतिको शासनका बारेमा अनलाइनमार्फत आलोचना गर्न पाउने हरेक व्यक्तिको वाकस्वतन्त्रतामा धावा बोल्ने वा व्यवधान उत्पन्न गर्ने टिप्पणी गरेका छन् । सीसीले जारी गरेको कानुनसँगै इन्टरनेटको प्रयोग र यसको व्यवस्थापनका बारेमा सार्वजनिक रुपमा थप बहस हुन थालेको छ । सिलसिलाबद्ध रुपमा यस्ता नियन्त्रणमुखी कानुनहरु आइरहेको विज्ञ तथा अधिकारकर्मीहरुको भनाइ छ । यही अगस्तमा राष्ट्रपति सीसीले यस्तै अर्को कानुन पनि जारी गर्नु भएको थियो । सो कानुनमा इजिप्टको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रलाई असर गरेमा अदालतले वेभसाइट बन्द गर्न आदेश दिन सक्ने व्यवस्था थियो । अधिकारप्राप्त व्यक्ति तथा प्रशासकहरुले वेभसाइट तथा सामाजिक सञ्जालहरुको गलत प्रयोग गर्नेलाई कारावास सजाय तथा दण्ड जरीवाना गर्न सक्ने जनाइएको छ । इजिप्टमा अहिले ५०० भन्दा बढी वेभसाइटहरु बन्द गरिएको छ भने नयाँ कानुन आएपछि अरु पनि धेरै अनलाइन, वेभसाइट तथा व्यक्तिगत ब्लगहरु बन्द हुने अशंका गरिएको छ । रासस