माछापुच्छ्रे बैंकको ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा, संख्या ३७ पुग्यो
काठमाडौं । माछापुच्छ्रेबैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका(हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ३७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
२१ करोड लागतमा दिक्तेल–खानीडाँडा सडक कालोपत्रे हुँदै
काठमाडौं । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो । आगामी १८ महीनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक जिम्मा लिएको छ । सडकको विस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चोकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेका लागि प्रारम्भिक चरणको काम तिहारलगत्तै शुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताए । नाली, रिटेनिङ वालसहित छ दशमलव २५ मिटर चौडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्ने गरी काम अघि बढाइएको हो । नगरपालिकासँगको सहकार्यमा पहिलो चरणमा दिक्तेलबाट आहालेसम्मको खण्ड मात्र कालोपत्रे गरिने एकाइले जनाएको छ । सो सडकलाई प्राधिकरणले प्राथमिकताको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिए। गत असोज १ गते सम्झौता भएको सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौतामा उल्लेख छ । जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही मार्ग खोलिए पनि बीचमा जोडिन बाँकी छ । मार्ग खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खुल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ । सडक कालोपत्रे भएपछि सबैभन्दा बढी जिल्ला अस्पतालबाट सिफारिश भएका बिरामीलाई खानीडाँडा विमानस्थल पु¥याउन सहज हुनेछ । अहिले हिउँदमा मात्र सडक सञ्चालन हुँदा सिफारिश गरिएका बिरामीलाई स्ट्रेचरमार्फत खानीडाँडा विमानस्थल पु¥याउनुपर्ने बाध्यता रहेको आफन्तले बताएका छन् । सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ । फोक्सिङ्टारमा पक्की पुल बनेपछि उक्त सडक तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच
काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । कारोबार शुरु हुँदा ओरालो लागेको नेप्से अन्तत बजार बन्द हुँदा ७.४५ अंकले बढेर १२४९ अंकमा पुगेको छ । सामान्य सुधार आएको बजारमा कुल १५२ कम्पनीको २३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । बुधबार सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशिया, कुमारी र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबैसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ७० अंकले उकालो लागेको छ । निर्जीवन बीमा ६१, जीवन बीमा ४० र उत्पादनमूलक समूह २० अंकले बढेका छन् । त्यस्तै, अन्य बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् । बुधबार पञ्चकन्या माई हाइड्रोपावर, ओरियन्टल होटल, यूनाईटेड मोदी हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र समता माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेको छ ।
साझाको ५ वटा विद्युतीय बसले गौतम बुद्ध विमानस्थलमा यात्रु बोक्ने
काठमाडौं । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरकाे विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ । केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। उनले भने, “दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।” काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उनले बताए । एशियाली विकास बैंकले पाँच वटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो । चिनियाँ निर्माण कम्पनी विवाइडीले बस निर्माण गरेको हो । यी बस केही समयका लागि मात्रै काठमाडौँ उपत्यकामा चल्नेछ । बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ । लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उनले बताए । उनले भने, “काठमाडौँ उपत्यकामा हामीले नै यी बस सञ्चालन गर्नैछौँ ।” कुल २९ जना यात्रु क्षमता रहेको बस अपाङ्गतामैत्री समेत रहेको पाण्डेयले बताए। यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिने छ । उनले भने, “बस सबै यात्रुका लागि सजिलो खालको छ ।” विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमा समेत सकारात्मक असर गर्ने उनले बताए। विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसमेत लागेको छ । बीस ठाउँमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्न प्रक्रिया थालेको छ । रासस
तीन महिनामा पौने चार खर्बको वस्तु आयात, हेराैँ कुन देशबाट कति ?
काठमाडौं । मुलुकमा पछिल्लो समयमा दैनिक उपभोग्य वस्तु तथा विलासिताका सामानको आयात बढ्दै गएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको तीन महीना चालू आवको तीन महीनामा विभिन्न मुलुकबाट नेपालमा कूल तीन खर्ब ७४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आवको यही अवधिको तुलनामा ४३ दशमलव पाँच प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा रु दुई खर्ब ६० अर्ब २० करोडको वस्तु आयात भएको विभागको तथ्याङ्क छ । आयात भएका वस्तुमध्ये सबैभन्दा बढी रु ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी रु ४० अर्बको फलाम र स्टिलको कच्र्चा पदार्थ, रु २९ अर्बको सवारीसाधन, रु २८ अर्बको मेशिनरी सामान, रु २२ अर्बको इलेक्ट्रिकल सामान, रु १७ अर्बको विमान र विमानका सामान आयात भएको विभागको तथ्याङ्क छ । सबैभन्दा बढी आयात भारतबाट यस अवधिको कूल आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट रु दुई खर्ब ३६ अर्बको सामान भारतबाट आयात भएको छ । जुन कूल आयातको ६३ प्रतिशत हो । त्यसपछि सबैभन्दा बढी चीनबाट रु ५३ अर्ब, फ्रान्सबाट रु १४ अर्ब, युनाइटेड अरब इमिरेट्स (युएई) बाट आठ अर्ब, थाइल्याण्डबाट रु चार अर्बका विभिन्न वस्तु आयात भएको देखिन्छ । चालू आवको तीन महीनामा निर्याततर्फ भने नेपालबाट विभिन्न मुलुकमा कूल रु २३ अर्ब ७४ करोडको विभिन्न वस्तु निर्यात भएको निर्देशक आचार्यले जानकारी दिए। तीन महीनामा नेपालबाट रु दुई अर्ब २४ करोडको कच्चा धागो, रु दुई अर्ब ३४ करोडको गलैँचा, रु एक अर्ब ९० करोडको गार्मेन्ट निर्यात भएको छ । निर्यात सबैभन्दा बढी भारत र त्यसपछि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र जर्मनीमा भएको देखिन्छ । यस अवधिमा मुलुकको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । जसमध्ये सबैभन्दा बढी भारतसँग मात्र रु दुई खर्ब २३ अर्ब छ । मुलुकको बढ्दो घाटा विभिन्न मुलुकबाट भित्रने विप्रेषणले धानेको छ । हाल मुलुकमा विदेशमा काम गर्ने नेपालीबाट प्रतिमहीना झण्डै रु ८५ अर्ब विप्रेषण भित्रने गरेको छ । तीन महीनामा एक खर्ब बढी राजश्व आम्दानी काठमाडौं । चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल एक खर्ब एक अर्ब २४ करोड रुपैयाँ राजश्व आम्दानी भएको छ । यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड रुपैयाँ राजश्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए । मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये नौ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् । त्यसमध्ये सबैभन्दा बढी आयात वीरगञ्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्याङ्कमा उल्लेख छ । रासस
वसन्तपुरमा घुम्ने पर्यटक बढे, एकै दिन १३ लाख आम्दानी
काठमाडौं । सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै रु १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिनुभयो । अन्य दिन सामान्यतयाः दैनिक रु १० लाख आम्दानी गर्दै आएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ अन्य देशबाट एक हजार २६९ जना पर्यटक घुम्न आएका थिए । यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन रु १२ लाख ८१ हजार ३०० जम्मा भएको हो । यहाँ विशेष गरी चिन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन् । यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । शुल्कबापत दैनिक सङ्कलन हुने रकमलाई पर्यटकको सङ्ख्या बढाएर रु १५ लाख सम्म पु¥याउने लक्ष्य सुनाउँदै कार्यक्रम प्रमुख पसखलले वसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुनःनिर्माणमा तीव्रता दिइएकाले पर्यटकको सङ्ख्या बढेको बताए । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्मा गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ चरणमा पुगेको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मङ्गलबार आएका हुन् । आन्तरिक पर्यटकको लागि भने शुल्क लिन व्यवस्था रहेको छैन । यस क्षेत्रमा पर्यटकको झण्डै तीन दर्जन सम्पदा रहेको छ । जसमा भूकम्पका कारण दश सम्पदाको वटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको बताए ।रासस
बढी यात्रु बोक्ने १०० सवारीसाधनलाई कारवाही, ७० हजार राजस्व अशुल
ओखलढुङ्गा । ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज कुमार फुयाँलले बताए । उनका अनुसार सदरमुकामबाट जिल्लाका विभिन्न ठाउँका लागि जाने बोलेरो जिप र सुमो बढी कारवाहीमा परेका छन् । “कच्ची सडकमा जोखिम मोलेर क्षमताभन्दा धेरै यात्रु बोक्ने कारवाहीको दायरामा आएका छन् । गल्ती नदोहोर्याउने शर्तमा छाडिएको छ ।” फुयाँलले भने । ओखलढुङ्गामा दशैँको समयमा भएको सवारीसाधन कारवाहीबाट रु ७० हजार राजश्व सङ्कलन भएको छ । पर्वका समयमा हुनसक्ने दुर्घटना रोक्न जाँचमा कडाइ गरिएसँगै दशैँ अवधिमै ७० हजार रुपैयाँ राजश्व उठेको ट्राफिक प्रहरी पोेष्ट ओखलढुङ्गाले जनाएको छ । रासस
२६७ वटा सहकारीको लगानीमा १ लाख ४ हजार लिटर क्षमताको पेट्रोल पम्प बन्ने
काठमाडौं । जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको उनले बताए । भट्टराईका अनुसार एउटा सहकारीले रु २५ हजारदेखि पाँच लाखसम्म शेयर लगानी गरेका छन् । सङ्घको आफ्नै जग्गामा पम्प खोलिएको हो । पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार पम्प निर्माणका लागि करीब रु पाँच करोड लगानी गरिएको छ । पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा रहेको छ । अधिकारीका अनुसार एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् । चार डिजल र चार पेट्रोलका सवारीले इन्धन भर्न पाउने उनले बताए। एक लाख चार हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । जसमध्ये ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल क्षमता रहेको छ । अधिकारीले डिजिटल विलिङबाट भुक्तानी गर्ने सुविधा राखिएको बताउनुभयो । तेल ढुवानीका लागि दुई ट्याङ्करसमेत खरीद गर्ने तयारी गरिएको छ । सहकारीको पम्प भएकाले निजी व्यवसायीको एशोसिएसनमा सदस्य नबस्ने र निजीको भन्दा सस्तो मूल्यमा इन्धन बिक्री गर्ने संयोजक अधिकारीले बताए । रासस