ट्रान्जिट हब बन्दै चोभारः रेल, फास्ट ट्रयाक, सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
काठमाडौं । कुनै बेला चोभार भन्ने वित्तिकै हिमाल सिमेन्टको नाम आउँथ्यो । सिमेन्ट उद्योग बन्द भएसँगै चोभारलाई फिल्म सुटिङ स्थलका रुपमा चिन्न थालियो । अधिकांश नेपाली चलचित्रका केहि दृष्य चोभारमै खिचिन्थे । अब भने चोभारको दिर्घकालिन पहिचान स्थापीत हुने भएको छ, अन्तराष्ट्रिय ट्रान्जिट हबका रुपमा । चीनबाट आउने रेल र भारतबाट आउने रेलको मिलन चोभारमै हुनेछ । काठमाडौं र तराईलाई जोड्ने ७६ किलोमिटरको फास्ट ट्रयाक पनि चोभारसम्मै आईपुग्नेछ । त्यस बाहेक सुख्खा बन्दरगाह र अन्तराष्ट्रिय सम्मेलन केन्द्रले चोभारलाई ट्रान्जिट हबका रुपमा नयाँ पहिचान दिलाउनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग र निजगढ–काठमाडौं फास्ट ट्रयाकलाई चोभारमा जोड्नेगरि सम्बन्धित निकायलाई निर्देशन दिईसकेको बताएका छन् । ‘फास्ट ट्रयाकलाई चोभारमा जोड्ने व्यवस्था मिलाउन भनिसकिएको छ, वीरगञ्ज–काठमाडौं रेलमार्गलाई पनि चोभारमै जोड्ने गरि अध्ययन अघि बढाउन भनिसकेका छौं’, मन्त्री खतिवडाले राजधानीमा केहि अघि आयोजीत एक कार्यक्रममा भनेका थिए । रेल विभागका महानिर्देशक बलराम मिश्रले पनि चीनबाट आउने रेल टोखाबाट चोभारसम्म पुर्याउनेबारे छलफल भैरहेको बताए । त्यस्तै, बिरगञ्जबाट आउने भारतीय रेल भने निजगढ हुँदै चोभार ल्याउने गरि अध्ययन भैरहेको जानकारी पनि उनले दिए । वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग भारत सरकारले अनुदानमै निर्माण गरिदिने आश्वासन दिएको छ । १०० किलोमिटर भन्दा कम दुरीको हुने अनुमान गरिएको वीरगञ्ज काठमाडौं विद्युतिय रेलमार्गलाई कार्गो बोक्ने क्षमतामा निर्माण गरिनेछ । केरुङबाट काठमाडौं आउने रेलमार्ग टोखामा आउनेछ । सो रेललाई पनि चोभारसम्म पुर्याएर चीन र भारतीय रेलवे नेटवर्कलाई जोडिने महानिर्देशक मिश्रले बताए । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले पनि फास्ट ट्रयाकलाई चोभारसम्म जोड्नका लागि अनौपचारिक छलफल भैरहेको जानकारी दिए । अर्थमन्त्री डा. खतिवडाले चोभारमा फास्ट ट्रयाक र बिरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग तथा केरुङ–काठमाडौं रेलमार्गले जोडेर निर्यात व्यापारको केन्द्र बनाउने बताएका हुन् । चोभारमै निर्माण भैरहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र र र इनल्याण्ड कन्टेनर डिपो(आइसीडी)ले आयात निर्यातको केन्द्र बनाउन सघाउने दावी गरेका हुन् । सम्मेलन केन्द्र र आइसीडीको निर्माण कार्य आरम्भ भैसकेको छ । नेपालले चीनसँग पारवाहन सन्धि गरेर चिनियाँ बन्दरगाहरुबाट आयात निर्यात व्यापार गर्ने सुबिधा प्राप्त गरिसकेको छ । त्यस्तै, चोभारको सुख्खा बन्दरगाह बनिसकेपछि भारत र चीनबाट काठमाडौंका लागि समान ढुवानी गर्ने कन्टेनरहरु सिधै चोभार आउनेछन् । त्यहिँ भन्सार चेकजाँच समेत हुनेछ । सरकारले राजधानी काठमाडौंलाई आधार बनाएर चोभारमा सुख्खा बन्दरगाह, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, उत्तर र दक्षिण पुग्ने रेल वे नेटवर्क, फास्ट ट्रयाक लगायतका पूर्वाधार निर्माण गर्न लागेको हो । यी पूर्वाधारहरुको निर्माण सम्पन्न भएपछि चोभार अन्तराष्ट्रिय व्यापारका लागि नयाँ ट्रान्जिट हब बन्नेछ ।
गत वर्षको तुलनामा चार हजार रुपैंया बढीमा च्याङ्ग्रा खरीद
काठमाडौं। यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए। “रु २३ हजार मुस्ताङमै प¥यो” उनले भने,“गत वर्ष सो मूल्यमा यहीँ आउँथ्यो ।” च्याङ्ग्रा खरीदमा लाग्ने समय, खाना, बास, भाडामै व्यवसायीको बढी खर्च छ । पहिलोजस्तो नाफा हुन छोडेपछि व्यवसायीले च्याङ्ग्रा कम खरीद गर्न थालेका छन् । केसीले ल्याएका १०१ च्याङ्ग्रामध्ये ५० बढी बिक्री भइसकेका छन् । उहाँलगायत बागलुङबाट गएका व्यवसायीले एक साता लगाएर च्याङ्ग्रा भित्र्याएका हुन् । च्याङ्ग्रा यहाँ ल्याइ पुर्याउँदा व्यवसायीले तीन÷चार ठाउँमा दस्तुर र कर तिर्ने गरेका छन् । यो वर्ष कतिपय स्थानीय तहले पनि कर उठाएपछि व्यवसायी मर्कामा परेका हुन् । अर्का व्यवसायी बलबहादुर थापाले भाउ महँगिएपछि बेच्न गाह्रो भइरहेको बताए। “एकै वर्षमा चार÷पाँच हजार महँगो भयो”, उनले भने,“च्याङ्ग्राको व्यापार जोखिमपूर्ण छ ।” थापााले ७० वटा च्याङ्ग्रा बागलुङ भित्राउनुभएको छ । जोमसोम पुगेर ल्याएका च्याङ्ग्रा बेच्दा एक÷दुई हजार नाफा निकाल्न पनि धौ–धौ भएको उनको भनाइ छ । व्यवसायी थापाले तिब्बतबाट यो वर्ष कम च्याङ्ग्रा आएकाले मूल्य बढेको बताए। मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् । जिउँदो च्याङ्ग्राको मूल्य बढेपछि काटेर बेचिने मासुको मूल्य पनि चर्को छ । प्रतिकिलो रु १२ सय तिरेर च्याङ्ग्राको मासु किनेको बागलुङ नगरपालिका–४ का गोविन्द्रप्रसाद शर्माले बताए। महँगै परे पनि उपभोक्ताले च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यवसायी बताउँछन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौं पुर्याईन्छ। पोखरामा यो वर्ष १७ हजार च्याङ्ग्रा झरेको बताइन्छ ।
प्रधानमन्त्रीज्यू, देश बनाउने भए मन्त्रीहरुलाई डण्डा लगाउनुस्ः माधव नेपाल
काभ्रे । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन्। काभ्रेको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भने, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस् ।” नेता नेपालले प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने बताए । उनले भने, “काभे्रपलाञ्चोक नै राजधानी राख्ने विषयमा तर्क पुष्टि गर्नुहोस् ।” नेता नेपालले काभ्रेको बनेपास्थित नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने विषयमा आफूले पनि गम्भीररुपमा पहल गर्ने बताए । उनले पाँचखाल नगर चीनसँगको व्यापारका लागि उपयुक्त भएकाले काभ्रेको महत्व निकै रहेको बताए । नेता नेपालले स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा सुशासन सिकाइ जनताको आँखाको नानी बन्नुपर्ने धारणा पनि राखे उनले भने, “जनताको आँखाको नानी बन्ने उपाय खोज्नुस् । जनतालाई सेवा सुविधा दिन नसके वर्तमान जनप्रतिनिधि र सरकारको औचित्य पूरा हुँदैन”, नेता नेपालले भने । नपाले हेलम्बु यातायात सेवा समितिसँग समन्वय गरी आफ्नो क्षेत्रमा छ वटा नगरबस सञ्चालन गरेको हो ।
फिजीमा १०० वर्ष पहिलो ‘कैलाश पर्वत’ बनाउने नेपालीको अधिकार थाइल्याण्डमा खोसियो, आप्रवासीको पीडामा राज्यको वेवास्ता
काठमाडौं । नेपालको सरकारले आप्रवासी नेपालीसँग अपेक्षामात्र गर्ने तर उनीहरुको पीडा र चासोहरुको अभिभावकीय भूमिकामा कहिल्यै प्रवेश नगर्ने निर्दयी प्रबृत्ति अंगालेको भन्दै विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । पहिलो ‘ग्लोबल नलेज कन्फरेन्स’मा कार्यपत्र प्रस्तुत गर्दै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कृष्ण अधिकारीले भने, “थाइल्याण्ड, फिजी, म्यानमारमा डेढसय वर्ष पहिलेदेखि पुगेका नेपालीले अमानवीय दुःख भोग्नुपरेको छ । कतिपय प्रवासी नेपालीसँग नागरिकताको प्रमाण जुटाउने कागजसम्म छैन । यस्तो अवस्थामा उनीहरुलाई सरकारले सहयोग गर्नुपर्छ ।” विदेशमा रहेका नेपालीको पीडा दर्शाउने अर्का प्राध्यापक हुन् दक्षिण एसियालि विश्वविद्यालयमा प्राध्यापनरत डा युवराज पोखरेल । “भारतमा १ करोड १० लाख नेपाली भाषी र ५० लाखदेखि ७० लाख प्रवासी नेपाली छन् । तर हाम्रो सरकारले उनीहरुप्रतिको कुनै पनि दायित्व बोध गरेको छैन ।” डा पोखरेलले नेपालका हरेक प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमा हुने र एउटै नेता पनि कैयौंपटक भारत जाने गरेको प्रसंग कोट्याउँदै भने, “दिल्लीमा मात्रै १५६ वटा नेपाली संगठन छन् । तिनै राजनीतिक संगठनको भेटघाट र भाषणमै नेताहरु अलमलिँदा लाखौं आप्रवासी नेपालीका दुःख राज्यले देख्न सकेको छैन ।” प्राध्यापक अधिकारीले सन् १९१४ मा फिजीमा ‘कैलाश पर्वत’ स्थापना गरेर पशुपति नाथको मन्दिर समेत स्थापना गरेको घटना जानकारी गराउँदै भने, “आज नेपालीले संसारभर आफ्नो संस्कृति र सभ्यताको विस्तार गरिरहेको छ । तर थाइल्याण्डजस्ता कैयौं ठाउँमा नेपालीले आफ्नो पहिचान दिन र नेपाली भाषामा शिक्षा लिन पनि नपाउने अवस्था सृजना हुँदा समेत राज्यले ध्यान दिन सकेको छैन ।” प्रवासी नेपालीको पुरानो विराशत कायम राख्न, संसारभरका नेपाली मूलका मानिसहरुसम्म नेपाली संस्कृतिको विकास र विस्तार गर्दै एकत्रित गर्न सरकार र गैरआवासीय नेपाली संघले मिलेर काम गर्नुपर्ने प्रा अधिकारीले बताए । सरकारले देशबाहिर रहेका नेपालीबाट पैसाको बिटोमात्र खोज्ने नभइ उनीहरुका समस्यामा पनि साथ दिनुपर्ने विज्ञहरुले बताए । त्यसअघि नै एनआरएनएका पूर्व अध्यक्ष डा शेष घलेले सरकारी अधिकारीहरुलाई गैरआवासीय नेपालीको संस्थाबाट ज्यादा अपेक्षा नगर्न आग्रह गरेका थिए । “आशा जे कुराको पनि गर्न सकिन्छ, तर अपेक्षा गर्नु डरलाग्दो कुरा हो । किनकी अपेक्षा गरिसकेपछि पु¥याउनु पर्ने दायित्व खडा हुन्छ,” उनलेभने, “हामी न्यून शीप, कमजोर भाषाजस्ता दक्षता अभावको अवस्थामा विदेसिने नेपाली बढी छौं । हाम्रो आम्दानी कम छ । आफ्नै समस्याको व्यवस्थापनमा लाग्नुपर्ने अवस्था छ । त्यसकारण सरकारले अहिले नै धेरै अपेक्षा गर्नेभन्दा दीर्घकालिन रणनीतिमा प्रवासी नेपालीको भूमिका खोज्नेतिर लाग्नुपर्छ ।” विकासको अपेक्षा कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले योजनाबद्ध विकासको अभ्यास सुरु भएको ६ दशक वित्दा पनि नेपालले तुलनात्मक रुपमा विकासमा फड्को मार्न नसकेको भन्दै गैरआवासीय नेपालीले राष्ट्रिय विकासमा योगदान दिनुपर्ने बताए । उनले रेमिट्यान्सलाई पूँजी निर्माणमा प्रयोग गर्न थुप्रै प्रयास गरिए पनि सफल हुन नसकेको भन्दै सहयोग गर्न एनआरएनएसँग आग्रह गरेका छन् । “संसारका ७९ मुलुकको अनुभवलाई संगालेर एनआरएनएको ‘नेपाल पोलिसी इन्सटिच्युट’ ले दिने सुझाव नेपालको नीति निर्माणमा ज्यादै महत्वपूर्ण हुने छ,” उनले भने, “यो गैरआवासीय नेपालीसँग मातृभूमि र सरकारको अपेक्षा हो ।” वैदेशिक मामिलाका विज्ञ तथा म्यानमारका लागि नेपाली राजदुत भिम उदासले आर्थिक कूटनीति, पूँजी बजारको विकास, ज्ञानको आदानप्रदान र नीतिनिर्माणजस्ता कुरामा प्रवासी नेपालीले सहयोग गर्न सक्ने बताए । उनले नेपालमा बजेट खर्चको प्रकृति निरासाजनक रहेको भन्दै आर्थिक वर्षको हालको अध्यासलाई नै बदल्न सुझाए । “अमेरिका लगायत थुप्रै देशले अप्रिलदेखि मार्चलाई आर्थिक वर्ष मान्छन् । हामी त्यो अवधीलाई वैशाखदेखि चैतको वर्ष नै मान्छौं,” उनले भने, “असारमा बजेट खर्च बढी हुँदा काम राम्रो भएन भन्ने हो भने आर्थिक वर्षको अवधि चैतमा सकिनेगरी परिवर्तन किन नगर्ने ?” ‘नेपाल पोलिसी इन्सटिच्युट’का कार्यकारी सदस्य शरद न्यौपानेले श्रमिक आप्रवाशन, विप्रेषको उपयोग, सामाजिक संरक्षण, मानवअधिकार, वैदेशिक लगानी, अन्तरराष्ट्रिय ब्यापार तथा पर्यटन प्रबद्र्धन, गुणस्तरीय शिक्षाजस्ता क्षेत्रमा काम गर्नका लागि नयाँ ‘थिंक ट्यांक’ स्थापना गरिएको बताए । “नेपाल र नेपालीको सेव ागर्ने तथा सार्वजनिक नीति निर्माण र कार्यान्वयन प्रक्रीयामा सघाउने काम हामीले गर्ने छौं,” उनले भने, “अहिले नै नेपाललाई धेरै ठूलो सहयोग गर्न नसकेपनि केही सहयोग पक्कै गर्न सक्छौं ।” एनआरएनएले हालैमात्र संसारभर छरिएर रहेका नेपालीका चासो र नेपालको विकासमा गैरआवासीय नेपालीको भूमिकाबारे अध्ययन अनुसन्धान गर्ने, नीतिनिर्माणमा सघाउने जस्ता काम गर्नै भन्दै ‘नेपाल पोलिसी इन्सटिच्युट’ स्थापना गरेको छ ।
दशैंमा सिन्धुली जाने यात्रुसँग लुट्दै यातायात व्यवसायी, ६ सय भाडा तोकिएकोमा १ हजार असुल्दै
काठमाडौं । दशैंमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौंबाट सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् । सिन्डिकेट हटाएको भन्दै आत्मरतीमा रमाएको झण्डै दुई तिहाइ बहुमतको सरकार व्यवसायीले मनपरी भाडा उठाउँदा मुक दर्शक बनेको छ । सिन्धुली जाने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् । अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । ब्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन् । उनीहरुले सवारी साधन आएपछि भेडाबाख्रा खाँदेजस्तै खाँदेर गाडीमै पैसा असुल्ने गरेका छन् । यात्रुलाई टिकट पनि उपलब्ध गराउँदैनन् । काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापा कोटेश्वरस्थित कमलामाई यातायात काउन्टरमा टिकट काट्न जाँदा यसै गरी ठगिइन् । उनी ३० गते घर फर्कन चाहन्थिन् । ब्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेर जान भने । उनले टिकट मागिन् । तर ब्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यो त ब्रम्हलुटै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मन परी देखेको थिइन । स्थिर सरकार आएका बेला ब्यवसायीले ब्रम्हलुट मच्चाएको टुलुटुलु हेरेर बस्नु परेको छ ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात ब्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् । तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् । उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाँ तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पर्यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’ यातायात ब्यवसायीले गरेको मनोमानी सुनेर यो सम्बाददाता चावहिलस्थित काबेली डिलक्सको काउन्टरमा टिकट लिन पुगेको थियो । त्यहाँका कर्मचारीले सोमबारको गाडीमा सिन्धुली जान १ हजार रुपैयाँ जम्मा गर्न भने । टिकट माग्दा उनले दिन नसक्ने बतए । ‘हामीले १ हजार रुपैयाँको टिकट दिए प्रहरीले थुनि हाल्छ नि,’ उनले भने, ‘टिकट नकाटी लैजान्छौं । सबै काउन्टरले त्यसै गरेका छन् ।’ उनले सबै सवारी साधनका धनीले टिकट नकाट्न भनेको बताए । व्यवसायीको मनपरी बारे सिन्धुलीका एसपी रामेश्वर यादवलाई जानकारी गराउँदा उनले काठमाडौबाट फर्कने सवारी साधनले मनपरी गरेकाले काठमाडौंकै प्रहरीलाई गुनासो गर्न भने । ‘सिन्धुलीबाट जाने सवारी साधनले बढी भाडा लिएको भए म काराबाही गर्ने थिएँ,’ उनले भने, काठमाडौंमा त्यहीँको प्रहरीले कारबाही गर्छ ।’ दशैंका मुखमा यात्रु ठग्ने ब्यवसायीलाई दुई तिहाइ बहुमत प्राप्त सरकारले कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित देखिन्थे । सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुँदै भने, ‘दशैं यात्रु लुट्ने सिजन हो ? अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ किन तिर्ने ?’ उनले मुलुकमा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे, ‘सरकारले सिन्डीकेट हटाएको हो कि थपेको हो रु यात्रुले सबै काउन्टरमा छापा मारेर व्यवसायीको मनोमानीविरुद्ध ठूलै एक्सन लिनु पर्ने बताएका छन् । ‘सिन्धुली जाने हरेक सवारी साधनमा छापा मारेर यात्रुसँग टिकट माग्नु पर्छ,’ एक यात्रुले आक्रोसित हुँदै भने, ‘टिकट नभेटे तिनीहरुको रुट परमिट खारेज गरेर काराबाही गर्नु पर्छ ।’
सोमबारदेखि हुण्डाईको फ्री चेक अप क्याम्प शुरु, हेराैँ कँहा कँहा हुँदै छ ?
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले “हुण्डाई हाईवे एसुरेन्स” योजना गरेको छ । उक्त योजना अन्तर्गत हुण्डाई गाडिहरुका लागि फ्री चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाई गाडीको फ्री चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमाआफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी यो कार्यक्रममको आयोजना गरेको हो । यस फ्री चेक अप क्याप मा ग्राहकहरुले आफ्नो हुण्डाई गाडीको फ्री चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट कुल्यान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड(काँकड्भित्ता रोड), इटहरी (मिलनचोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५कि.मी. उत्तरतर्फ), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्री चेक अप क्याप पोइन्टको स्थापना गरीेएको छ । यो कार्यक्रम असोज २९ देखी ३१ गतेसम्म बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
२५ प्रतिशत रेमिट्यान्स जलविद्युतमा लगानी गरे ८६६ मेगावाट बिजुली उत्पादन हुने
काठमाडौ । विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएकोविप्रेषण (रेमिट्यान्स) को २५ प्रतिशत रकम मात्र लगानी गरे ८६६ मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ । ऊर्जा क्षेत्रका जानकार डा गोविन्द तिमिल्सिनाले विप्रेषणको कम्तीका वार्षिक २५ प्रतिशत मात्रै लगानी गर्न सकिए जलविद्युत उत्पादन बढाउन सकिने जानकारी दिएका हुन् । उनले विप्रेषण गलत तवरले अनुत्पादक क्षेत्रमा खर्च भइरहेको भन्दै त्यसलाई व्यवस्थित रुपमा लगानीका लागि सरकारले वातावरण बनाउनुपर्नेमा तिमिल्सिनाको जोड छ । नेपाल राष्ट्र बैंकको पछिल्लो जानकारीअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ७३ अर्ब ९५ करोड रुपैयाँ बराबरको विप्रेषण आय भएको छ । नेपालीको महत्वपूर्ण चाडको रुपमा रहेको दशैं तथा तिहारमा विप्रेषण खर्ब माथि पुग्ने प्रक्षेपण गरिएको छ । वार्षिकरुपमा ७ खर्ब रुपैयाँ भन्दा माथि विप्रेषण आय भएपनि ८० प्रतिशत बढी रकम अनुत्पादक क्षेत्रमा खेर गइरहेकाले सदुपयोगमा जोड दिइएको हो । गैरआवासीय नेपाली संघले आइतबार राजधानीमा आयोजना गरेको ‘गैरआवासीय नेपाली दिवस प्रथम विज्ञ सम्मेलन’का अवसरमा नेपालका जलविद्युत्मा लगानीका अवसर खोजी विषयक छलफलमा विप्रेषण मात्रै सदुपयोग गरे ऊर्जा क्षेत्रको लगानीका लागि अन्य स्रोतको खोजी गर्नुनपर्ने बताइएको हो । केन्द्रीय बैंकका अनुसार आर्थिक बर्ष २०७४/७५ मा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । गत आवमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत छ । सामान्यतया विप्रेषणको ५० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसबाट आर्थिक विकासको आधार तयार पार्नुपर्ने भन्दै डा तिमिल्सिनाले राज्यले स्पष्ट नीति तथा कार्ययोजना बनाउन आग्रह गरे। रासस
किसान माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्न पायो बोर्डको अनुमति
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीको लागि ५० प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ४० हजार २५० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार २ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले सिभिल क्यापिटल मार्केट लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १६८५ रुपैयाँ रहेको छ ।