विकासन्युज

चन्द्रागिरि केवलकार दशैंभर सञ्चालनमा, टिकाको दिन पनि बिहान १० बजेदेखि खुल्ने

चन्द्रागिरि । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दशैं विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर बिदाको दिनमा सेवादिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको छ । चन्द्रागिरि हिल्स परिसरमा संचालित सम्पूर्ण सेवाहरु विदाका दिनमा समेत साविक बमोजिम नै संचालनमा आउने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध गरिएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

जनशक्ति अभावले पुनर्निर्माण सुस्त

काठमाडौँ । भूकम्प गएको साढे ३ वर्ष बितिसक्दा पनि दक्ष जनशक्ति अभावका कारण पुनर्निर्माणले आशातित गति लिन सकेको छैन । भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माणका लागि आवश्यक निर्माणकर्मी, इन्जिनियर र प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा पुनर्निर्माणमा ढिलाइ भएको हो । पुनर्निर्माणमा यत्तिकै दक्ष जनशक्ति आवश्यक पर्छ भनेर यकिन गर्न नसकिएपछि भएका कर्मचारीको प्रभावकारी कार्यसम्पादन र व्यवस्थापन नभएकाले पनि पुनर्निर्माणमा ढिलाइ भएको हो । मुलुक नयाँ सङ्घीय संरचनामा गइसकेपछि पुनर्निर्माणको काम पनि स्थानीय तहबाटै गर्नुपर्ने जिम्मेवारी थपिएको छ । अहिले भूकम्पप्रभावित जिल्लामा झन्डै ३६ हजार निर्माणकर्मी खटिएका छन् । प्राधिकरणले पनि थप ५१ हजार कर्मचारीलाई तालिम दिइसकेको छ । तर तालिम लिएकामध्ये केही वैदेशिक रोजगारीका सिलसिलामा विदेश र केहीले काम नगरेपछि जनशक्ति अभाव भएको छ । नयाँ संरचनाअनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लामा हरेक गाउँपालिका,नगरपालिकामा एक/एक जना सिभिल इन्जिनियर र कम प्रभावित १८ जिल्लामा पनि एक/एक जना गरी २ सय ८२ जना सिभिल इन्जिनियर स्थानीय तहमा पठाइने प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले बताए । त्यस्तै महानगरपालिकामा पनि तीन वडा हेर्ने गरी एक जना इन्जिनियर रहने उनको भनाइ छ । अहिले पुनर्निर्माणमा झन्डै २७ सय इन्जिनियर, असिस्टेन्ट इन्जिनियर र सब इन्जिनियरमध्ये कतिपयले काम छाडेको र केहीले पठाएको ठाउँमा गएर काम नगरेको श्रेष्ठले बताए । अहिले नै ३० देखि ४० प्रतिशत इन्जिनियर तथा प्राविधिक जनशक्ति थप थप आवश्यक पर्ने त्यसका लागि पनि प्राधिकरण लागिरहेको उनको भनाइ छ । २०७६ जेठसम्म निजी आवास निर्माण सम्पन्न गर्ने गरी प्राधिकरण अघि बढेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताए । उनले प्राधिकरणसँगै विभिन्न सङ्घसंस्था, निकाय, स्थानीय तहको सहकार्य र सहयोगमा एकीकृत रुपमा निजी आवासको निर्माणको काम अगाडि बढाइने उनले जानकारी दिए । अहिले नयाँ संरचना र नीतिअनुसार जनशक्ति व्यवस्थापन, अनुदान वितरण र स्थानीय जनशक्तिलाई उपयोग गरी रोजगारीका अवसर सिर्जना गर्नेतर्फ पनि लागिएको उनले बताए ।

पप्पु कन्ट्रक्सनले पुल नबनाएपछि मध्यपहाडी लोकमार्गले काट्यो पत्र, कात्तिक ५ गतेभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेड र नेपाल प्रगति जेभीलाई उपस्थित हुन पुष्पलाल मध्यपहाडी लोकमार्ग पुर्वीखण्डले पत्राचार गरेको छ । लोकमार्ग आयोजनाले कात्तिक ५ गतेभित्र उपस्थित हुन पप्पुलाई अल्टिमेटम दिएको छ । पप्पु कन्ष्ट्रक्सनका अध्यक्ष संघीय समाजवादी फोरमका साँसद हरिनारायण रौनियार हुन् । सिन्धुली जिल्ला अन्तर्गतको सोखुखोलामा पुल निर्माणका काम नगरेपछि मध्य पहाडी लोकमार्गले उपस्थित हुन पत्र काटेको हो । २०६९ पुस २८ गते सक्ने गरी ०६८ असार २९ गते पप्पुसंग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । समयमा सम्पन्न नगरेपछि मध्य पहाडी लोकमार्गले ०७० पुस २६ गतेसम्म म्याद थप गर्दा पनि पुलको काम नगरेको हो । पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि पप्पुलाई असोज २१ गते एडजक्सनका लागि जेभीबाट निवेदन पेश भएको थियो । तर लोकमार्ग आयोजनाले औचित्यहिन देखेर उसको प्रस्तावलाई अस्वीकार गरेको छ । पप्पुले ठेक्का लिएको कुनै पनि काम सम्पन्न नगरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । यता भौतिक पुर्वाधार, योजना तथा यातायात मन्त्रालयले समेत उसको कामको अध्ययन गरिरहेको छ । पप्पुले दुई दर्जनबढी पुल आयोजनाको काम अलपत्र पारेको छ ।

माथिल्लो तामाकोसीको आईपीओ कात्तिक १५ देखि, १ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) कात्तिक १५ गतेदेखि निष्कासन हुने भएको छ ।प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा कात्तिक १९ र ढिलोमा मंसिर १४ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । कोषका अनुसार आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने छ । नेपाल धितोपत्रबाट स्वीकृती प्राप्त सीआस्वाका सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आईपीओ भर्न सकिने कोषले जानकारी दिएको छ । तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाले यसअघि नै सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउँदो असारदेखि मात्र बिजुली उत्पादन हुनेछ ।

युवा तथा बालबालिकामा मानसिक समस्या बढी, आत्महत्या बढ्दो

काठमाडौं। पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवं सोचाइमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यावहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ । मानसिक स्वास्थ्य समस्याले असामान्यरुपमा व्यक्तिको भावना, सोचाइ र व्यावहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन्। स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिए। पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४० प्रतिशत रहेको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । उहाँका अनुसार बाल्यकालमा नमिठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद, साथीबाट खिसिट्युरी, आर्थिक विपन्ता लगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् । “स–साना, बोझ एवं तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत युवामा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो”, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउँछन्। मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न उनी भन्छन्, “अभिभावकले बालबालिका तथा युवायुवतीका कुरा सुन्नुपर्छ । ती कुरालाई सकभर पूरा गर्ने बानी बसाल्नुपर्छ । पूरा नभए के कारणले नहुने हो जवाफ दिनुपर्छ । अभिभावकले उनीहरुको कार्यबोझ हटाइदिनुपर्छ ।” आत्महत्या बढ्दो मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्याबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्तिले आत्महत्या गरेका थिए । तीमध्ये दुई हजार ८५४ पुरुष, २ हजार २०० महिला, १११ बालक र १३९ बालिका रहेका थिए । विश्व स्वास्थ्य सङ्गठनले विश्वका १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो कारण र नेपालमा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको जनाएको छ ।

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्यो यान्त्रिक पुल, एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सकिने

कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्धारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् । व्यवसायीहरु नितान्त नाफामुखी मात्र हुँदैनन् भन्ने सन्देश दिएको यो पुलमा स्थानीय बासिन्दाका साथै ख्याति प्राप्त निजी क्षेत्रका व्यवसायीहरुको लगानी रहेको छ । व्यापारी-व्यवसायीहरुको छाता संस्था पर्वत उद्योग वाणिज्य सङ्घको प्रवद्र्धन र स्थानीय व्यवसायीहरुको लगानीमा सेवा व्यवसायको नयाँ आयाम स्वरुप कुश्मा-बलेवा यान्त्रिक पुल निर्माण भएको छ । घण्टौं लागेर कालीगण्डकी वारपार गर्नुपर्ने बाध्यतालाई यो पुलले अन्त्य गरिदिएको छ । यो पुल नाफामुखी भन्दा बढी सेवामुखी सोचका साथ विसं २०६९ मा निर्माण गरिएको हो । छ वर्ष अघि निर्माण गरिएको यान्त्रिक पुलका कारण कुश्माबजारको पर्यटन क्षेत्रले थोरै भए पनि गति लिएको छ । सदरमुकाम कुश्माको वडा नं ५ देखि बागलुङ नपा १४ नारायणस्थान, बलेवा जोड्ने गरी निर्माण भएको कुश्मा-बलेवा यान्त्रिक पुल पछिल्ला दिनहरुमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थप अब्बल सावित हुँदै गएको छ । कुश्मा र समग्र पर्वत जिल्लाको व्यापार खस्कँदै गइरहेको अवस्थामा स्थानीय व्यापार प्रवद्र्धन गर्न तथा दक्षिण बागलुङका एक दर्जन भन्दा बढी तत्कालीन गाविसहरुलाई कुश्मासँग सिधै जोड्न करीब पाँच करोड रुपैयाँको लगानीमा यो पुल निर्माण गरिएको हो । उक्त पुल निर्माण सम्पन्न भएपछि कुश्मादेखि बलेवासम्मको एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सम्भव भएको छ । करीब दुई दशक अघि बन्द रहेको विमानस्थलसमेत यही यान्त्रिक पुलका कारण पुनः सञ्चालन हुने माहोल बनेको हो । “बलेवा क्षेत्रमा ठूलो जनसङ्ख्या रहेको र उनीहरुको मुख्य बजार कुश्मा भएकाले आवतजावतलाई सहज होस् भन्ने हेतुले यान्त्रिक पुल निर्माण गरेका हौं,” कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने– “बलेवा विमानस्थल, कालीगण्डकी कोरिडोर, प्रसिद्ध भैरवस्थान मन्दिर र बलेवा क्षेत्रको घना वस्तीलाई ध्यानमा राखेर सेवामुखी सोचका साथ यो परियोजना ल्याएका हौं ।” उनले भने- “हामीले मुनाफा मात्र हेरेका छैनौं, समाज विकासका लागि समेत हाम्रो लगानी अर्थपूर्ण होस् भन्ने अपेक्षा हो ।” अहिले बागलुङ, म्याग्दी र मुस्ताङका लागि पैदल मार्ग भएर आउने पर्यटकहरु समेत एकपटक यान्त्रिक पुलमा चढेर जाने वातावरण बनेको छ । प्रसिद्ध भैरवथान मन्दिरमा दर्शन गर्न जाने-आउने तीर्थालुहरुको सङ्ख्यामा समेत वृद्धि भएको छ । पुल निर्माणपछि बिरामीहरुलाई तुरुन्त कुश्मासम्म ल्याउन र अत्यावश्यक वस्तुहरु तुरुन्तातुरुन्तै ओसारपसार गर्न समेत पुल सहयोगी बनेको छ । द्रुत गतिमा स्तरोन्नति हुँदै गइरहेको कालीगण्डकी कोरिडोर बाह्रैमास सञ्चालनमा आउन थालेपछि यान्त्रिक पुलमा आवतजावत गर्नेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । सम्भवतः मुलुकमै सबैभन्दा धेरै ४६३ जना सेयर सदस्य भएको र मोफसलमा ठूलो लगानी भएको यो पुलको कुल लम्बाइ ५५० मिटर रहेको छ भने क्यारिज क्षमता ८ जना ९६०० केजी० रहेको छ । महिनामा करीव ५०० को हाराहारीमा त पर्यटकहरु मात्र यो पुल चढ्ने गर्दछन् । यान्त्रिक पुलका कार्यालय प्रमुख चिरन्जीवी रेग्मी भन्छन् – “दैनिक ४०० जना भन्दा बढीले यान्त्रिक पुलबाट सेवा लिइरहेका छन् ।” उनका अनुसार प्रत्यक्ष रुपमा १३ जना स्थानीयवासीले रोजगारी पाएका छन् । कालीवारि र पारिको दूरीलाई छोट्याउने मात्र नभई कुश्मा आउजाउ गर्न पुल निर्माणपछि निकै सहज बनेको स्थानीयवासीको धारणा छ । बलेवा नेपानेका यामबहादुर केसी भन्छन् – “पुल निर्माण भएपछि बलेवामा आवातजावत गर्ने र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।” पुलबाट यात्रा गरिसकेपछि बलेवा क्षेत्रमा पुग्ने पर्यटकहरुले सुविधासम्पन्न होटल, पार्क लगायत केही समय भुल्ने ठाउँको अभाव भएको तथ्यलाई औँल्याउँछन् । कालीगण्डकी नदीमाथि बञ्जी, स्काई साइक्लिङ र स्वीङको निर्माण समेत अन्तिम चरणमा पुगेको बताइएको छ । रासस

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

काठमाडौं। नेपालीको महानपर्व बडादशैँमा आवश्यकता भन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा गङ्गा सापकोटा पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताउँछन्। अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उनको भनाइ छ । मुख्यरुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ । रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उनले सुझाव दिए। धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्छ । त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् । अलग/अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने गर्दछ । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने विज्ञहरु बताउँछन् । सोही अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विनय ठाकुर मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि कारक हुने बताउनुहुन्छ । चाडपर्वका समयमा यस्तापदार्थ सेवन गर्दा हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उनको सुझाव छ । विज्ञहरुले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन् । चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरुले सुझाएका छन् । अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटी खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने बताउँछन्। राम्रो खानपिन भएका ठाउँमा खानाका कारण १० प्रतिशत क्यान्सर हुन्छ भने अनियन्त्रित खानपिन भएको ठाउँमा यो प्रतिशत ७० पुग्ने उनको भनाइ छ । पोलेका, तारेका मासु, सुर्तीजन्य पदार्थ, मदिरा, गालेको अचार, बासी खानेकुरा क्यान्सर रोगको कारक हुने भन्दै उहाँ यस्ता खानेकुरा नखान सुझाव दिन्छन्। पशुजन्य स्रोतबाट प्राप्त बोसोले मानिसलाई मोटोपन बढाएर स्तन र पेटको क्यान्सर बनाउन सक्ने प्रमुख शिवाकोटी बताउँछन्। खानामा बढी नुन नहाल्न, रसायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन गरिएका तरकारी, अन्नपात र फलफूल नखान पनि उनको सुझाव छ । पछिल्लो समय युवा पिँढीमा कोलोस्ट्रोल, क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने सम्भाबना देखिएको छ । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै हुन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछ । चुरोटले अन्ननलीदेखि मलद्वारसम्मका भागमा क्यान्सरको असर पर्नसक्छ । दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने विज्ञहरुको सुझाव छ । मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन् । मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुने हुँदा सिधैँ आगोमा पोल्दा उच्चतापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ । भरतपुर अस्पतालका डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउँछन् । हामीले मासु खानैपर्दा ताजा नै खानुपर्ने उहाँको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुबै तरिका हानिकारक हुने उनको भनाइ छ । फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिनसक्ने उच्च खतरा हुने जानकारी दिँदै उनी भुटेर राख्दा किटाणुविहीन भए पनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने खतरा उच्च हुने बताउँछन्। डा. अधिकारी भन्छन्, “मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ ।” अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने उनको भनाइ छ । बासी मासु खाँदा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा यसमा विशेष ध्यान दिन र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्न उनको सुझाव छ ।

मेलम्चीको काम ३५ दिनभित्र सकिने, सुरुङ ढलानको काम अन्तिम चरणमा

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किलोमिटर बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्ग नजीक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ । गत हप्ता दैनिक २०० देखि २९४ मिटरसम्म ढलान भएको थियो । ठेकेदार कम्पनीको आन्तरिक कमजोरीका कारण काममा ढिलाइ भएकामा समस्या समाधान भइसकेकाले अबका दिनमा दैनिक सरदर २५० मिटरसम्म ढलान गर्न ठेकेदार कम्पनी सहमत भएको छ । दशैंँ र तिहारजस्ता चाडपर्वमा काम रोकिने हुँदा १ महीनाभन्दा बढी समय लाग्ने बताइएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– १ अम्बाथान मुहानको बाँध बाँध्ने काम वर्षात्मा खोलामा पानी बढेकाले स्थायी रुपमा बनाउन नसकी बाँकी रहे पनि अस्थायी रुपमा अर्कै बाटाबाट स्टिलको पाइप जडान भइसकेकाले सुरुङभित्र पानी हालेमा कुनै बाधा नपर्ने सूचना अधिकारी पन्तले जानकारी दिए । उनका अनुसार सुरुङभित्र तीन ठाउँमा भ्याण्टिलेशन जडान गर्नुपर्ने हुँदा सबै उपकरण आइसकेकाले अब सो काम पनि चाँडै हुनेछ । हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङको काम गत चैत २७ गते भएको थियो । चैत २९ गते उपराष्ट्रपति र खानेपानी तथा शहरी विकासमन्त्रीले आयोजनाको मुहानस्थलमा औपचारिक कार्यक्रमसहित सम्पन्न भएको घोषणा गरेका थिए । नेपाल सरकारले इटालेली कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग सुरुङ निर्माणको ठेक्का सन् २०१३ मा सम्झौता गरेको थियो । निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरिएको थियो । पछिल्लो समय पनि खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीको मागअनुसार थप रकम भुक्तानी गरी दशैंँ अगाडि मेलम्ची पानी सुन्दरीजलमा झार्ने शर्तमा गत असारमा तीन महीनाको म्याद थप गरेको थियो । रासस