विकासन्युज

नाडेप लघुवित्तकाे सीईओमा उपेन्द्रबहादुर कार्की, मंसिर १ गतेदेखि लागू हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी कार्यकारी अधिकृतमा कार्कीलाई नियुक्त गरेको हो । नवनियुक्त कार्कीले आगामी चार वर्षसम्म संस्थाको कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् ।

प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने तयारी भइरहेको बताएका छन्। । महोत्तरीको औरही–३ मा अवस्थित सोन्फी दशैँ मावि श्रीपुरमा आयोजित प्राविधिक शिक्षालय तथा पुस्तकालय उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै डा यादवले सो कार्यका लागि अहिले जग्गा व्यवस्थापनका लागि पहल भइरहेको स्पष्ट पारेका छन्। औरही नगरपालिकामा रहेका पाँच मावि विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गरिने डा यादवले प्रतिबद्धता जनाए। औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले संस्कार र सोचको परिवर्तन गरेर शिक्षामा परिवर्तनको कल्पना गर्न सकिने धारणा राखे। सोन्फी दशैँ माविमा यस वर्षदेखि इन्जिनियरिङ तर्फको अध्ययन अध्यापन शुरु भएको छ। रासस

पोखरा फाइनान्सको कात्तिक १२ गते बुक क्लोज, १३ प्रतिशत लाभांश दिँदै

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको आगामी कात्तिक १२ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको दर्ता किताब बन्द गर्न लागेको हो । यस संस्था आगामी कात्तिक २० गते वार्षिक साधारणसभा बस्दै छ । उक्त सभाले संस्थाको प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८.६८४ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल संस्थाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ रहेको छ । उक्ता बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ ।

रानीपोखरी पुनःनिर्माण हुने विषय फेरि पनि अन्योलमा

काठमाडौं। भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनीको मागअनुरुपको आशयपत्र नभएकाले पोखरी पुनः निर्माणको काम अन्योल भएको हो । नगरप्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै भने, “निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ ।” यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो । कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको हो । पुनःनिर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । यस मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन् । रासस

घरघरको व्यथा नसर्ने रोग, यसका कारण मृत्यु हुने बढि

काठमाडौं। घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन्। मुटु, मिर्गाैला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । ती नसर्ने रोगका रोगी कति छन् कुनै अध्ययनसमेत भएको छैन । सरुवा रोगले भन्दा नसर्ने रोगका कारण हुने मृत्यु पनि बढिरहेको बताइन्छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसिडी एलायन्सद्वारा संयुक्तरुपमा सरुवा रोगसम्बन्धी हालै आयोजना गरेको एक कार्यक्रमका सहभागीले नसर्ने रोग रोकथाम गर्न नयाँ नीति ल्याउनुपर्ने सुझावसमेत दिएका थिए। पछिल्लो समय मन्त्रालयले आफ्नो बजेट विनियोजन गर्दा ८५ प्रतिशत रोग उपचार र १५ प्रतिशत रोग रोकथामका लागि खर्च गर्ने गर्दछ । रोकथामका लागि कम रकम विनियोजन गर्दा रोग लागेपछि मात्र उपचार गर्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढिरहेको जनस्वास्थ्य विज्ञको भनाइ रहेको छ । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनीले धेरैजसो तयारी खाद्य वस्तु खाने प्रवृत्तिले नसर्ने रोगी बढिरहेको चर्चा गर्दै खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन आग्रह गरे। पछिल्लो समय सरकारले विशेष गरी नसर्ने रोग (मुटु, मिर्गाैला, क्यान्सर) को उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गर्दै आएको छ । साथै धुवाँमुक्त चुल्हो निर्माणमा रु ४० हजार अनुदान समेत दिँदै आएको छ । अर्काेतर्फ धुलो, धुवाँजस्ता प्रदूषणका कारणले पनि नसर्ने रोग बढिरेहको बताइएको छ । उहाँले भन्नुभयो, “नसर्ने रोग हुन नदिन सूर्तीसेवन एवं मदिरापान सेवन छोड्नुपर्छ । स्वस्थकर, पोसिलो खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।” स्वास्थ्य मन्त्रालय, नसर्ने तथा मानसिक रोग नियन्त्रण शाखाका प्रमुख फणिन्द्रप्रसाद बरालले पछिल्लो समय नसर्ने रोग घरघरको स्वास्थ्य समस्याका रुपमा देखा परेको चर्चा गर्दै नसर्ने रोगका बारेमा सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। जनस्वास्थ्य विज्ञ डा केदार बरालले नसर्ने रोग नियन्त्रणका लागि नयाँ नीतिको आवश्यकता औँल्याउँदै त्यस्तो रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेको छ भने। मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोगमध्ये मुटुको रोगीको सङ्ख्या बढिरहेको बताए। उनले एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको देखाएको जानकारी दिए। । मधुमेह रोग विशेषज्ञ डा प्रदीपकृष्ण श्रेष्ठले पछिल्लो समय पेटमा सेतो बोसोको मात्रा बढेका कारण मधुमेहका रोगी बढिरहेको पाइएको बताए। बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद् किशोर प्रधानाङ्गले महिला क्यान्सर रोगीको सङ्ख्या बढिरहेको छ भन्नुभयो । उहाँले क्यान्सर रोगीलाई दिइने सहयोग रु पाँच लाख पु¥याउनुपर्ने सुझाव दिए। आयुर्वेद चिकित्सक सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके नसर्ने रोगको जोखिम कम हुने बताउनुभयो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सूर्तीजन्य पदार्थ र मदिरापान नियन्त्रणमा ध्यान दिन सुझाव दिनुभयो । प्रा डा शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग बढेको नभई नसर्ने रोगको सङ्ख्या बढेको जानकारी दिए । रासस

नर्भिक हस्पिटलले मनायो जनचेतनामूलक कार्यक्रम, समयमै उपचार गर्दा वाथरोगीको आयु बढ्न सक्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल र्याली कार्यक्रम गरेर मनाएको छ । साथै, नर्भिकको बाथरोग विभागले एक विशेष मोटरसाइकल र्याली कार्यक्रम आयोजना गरी जनचेतना अबिृद्धि गर्ने कार्य गरेको हो । बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम नर्भिक प्राङ्गणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, (सिफल), जयवागेश्वरी, गौशाला, पुरानो वानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १५० जनाको टोली संलग्न रहेकोे थियो । नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ । धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पुर्याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । यस कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए । बाथरोग सम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् । यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क” राखिएको छ । यसले बाथरोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवम् उपचारको महत्वबारे प्रकाश पार्ने गुप्ताले जनाएका छन् ।

दुर्घटना हुन नदिन १२ स्थानमा ट्राफिक जाँच

काठमाडौं। दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ । चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्यमुख्य सडकखण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम गोठलापानी, शाहीलेक, सीमानाका झुलाघाट, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग जयपृथ्वीराजमार्ग, पाटन–पञ्चेश्वर सडकखण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ । जाँचस्थलमा बसेका प्रहरीले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् । छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । प्रहरीले यसअघिनै दशैँतिहारलाई लक्षित गर्दै विशेष सुरक्षा योजनासमेत लागू गरिसकेको छ । नेपाल–भारत सीमानाका झुलाघाटमा पनि चेकजाँचमा पनि कडाइ गरेको छ । यात्रुको सजिलोको लागि सदरमुकाम गोठलापानी र खोडपे बजारमा सहायता कक्षसमेत स्थापना गरिएको छ । रासस

१७ हजार भेँडा च्याङ्ग्रा निकासी

काठमाडौं। दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिए। उनका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेँडा दुई हजार ७१५ वटा निकासी भएका हुन् । म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेँडाच्याङ्ग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेँडाच्याङ्ग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताए। उहाँका अनुसार, सबै भेँडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भेँडाच्याङ्ग्राको पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेँडाच्याङ्ग्रा निकासीबाट करिब रु ३५ करोड भित्रिएको छ। जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेँडाच्याङ्ग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेँडाच्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताएका छन्। । हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेँडाच्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ । रासस