विकासन्युज

नेपाल – भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न

काठमाडौं। शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०÷६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदोहर गर्नबाट उत्पन्न समस्या समाधान गर्न, आइसिटी सञ्चालन र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सम्बन्धमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए। सोमबार बसेको सो बैठकमा नेपालकोतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी केसी, प्रहरी उपरीक्षक मनोज केसी र विराटनगर भन्सार प्रमुख निमांस अधिकारी तथा भारतकातर्फबाट अररियाका जिएम हिमांशु शर्मा, प्रहरी प्रमुख, सीमा सुरक्षा प्रहरी प्रमुख र भन्सार प्रमुखको सहभागिता थियो। रासस

दशैँघरमा फूलपाती भित्र्याइयो

काठमाडौं। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्र्याइएको छ । फूलपाती भित्र्याएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ । रासस

अब एनआईसी एशियाको बैंक खाता घरबाटै खोल्न सकिने, विभिन्न सेवामा २०% छुट

काठमाडौं । अब घरैमा बसी एनआईसी एशिया बैंकको बैंक खाता खोल्न सकिने भएको छ । बैंकले लाइनमा बसी रहन नपर्ने र झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सक्नेछन् । जस अन्तर्गत भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ् तथा इन्टरनेट बैंकिङ सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् । यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको उक्त खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले संचालनमा ल्याएको बैंकले जनाएको छ ।

२५ कम्पनीले ७ अर्ब ८६ करोडको आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)

काठमाडौं । जलविद्युत र वित्तीय क्षेत्रका गरी २५ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । २५ मध्ये १९ वटा जलविद्युत कम्पनी रहेका छन् । ७ अर्ब ८६ करोड ७६ लाख ५७ हजार रुपैयाँ बराबरको ७ करोड ८६ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । सबै कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । (सूची हेर्न यहाँ क्लिक गर्नुहोस) अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १ अर्ब ७१ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेका छन् । यस्तै मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक लगानीकर्ता र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन हुदैछ ।सीईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । पछिल्लो समयमा आईपीओ निष्कासन गर्नेमा जलविद्युत कम्पनीको संख्या बढेको छ । न्युनतम १० प्रतिशत आईपीओ जारी गर्नुपर्ने कानूनी व्यवस्थाले गर्दा जलविद्युत कम्पनी सर्वसाधारणमा जान लागेका हुन् । आईपीओ निष्कासन माग गर्नेमा पाँचथर पावर कम्पनी, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रो, शुभश्री हाइड्रोपावर, जोशी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, सीबीआइएल क्यापिटल, चौतारी लघुवित्त वित्तीय संस्था, हिमालय ऊर्जा विकास कम्पनी, मैलुङखोला जलविद्युत, युनिक हाइडेल, गज्र्याङ उपत्याका हाइड्रो र लाफिङ वुद्ध पावर कम्पनी रहेका छन् ।

‘उपभोक्ताको स्वास्थ्यमाथि मजाक र कालोबजारी गर्नेलाई कार्वाही गर्ने’

चितवन । चितवन प्रशासनले चाडपर्वलाइ लक्षित गर्दै जिल्लामा सञ्चालित होटलहरुको अनुगमन कार्यलाई तीव्र बनाएको छ । नेपालीहरुको पर्व विजयादशमी, शुभदीपावाली तथा छठ पर्वलाई मध्ययनजर गर्दै जिल्लामा रहेका होटलहरुको अनुगमन गरेको जनाएको छ । खाद्य निरीक्षक प्रविण कुमार तिवारीको नेतृत्वमा रहेको अनुगमन टोलीमा मध्यरातमा यहाँ गरिएको अनुगमनका क्रममा नारायणगढ ( मुग्लिङ्ग र फिस्लिङ लोकमार्गमा सञ्चालित दुई वटा होटलहरु बन्द गराएका छन् । लोकमार्गमा सञ्चालित होटलहरुमा गरिएको अनुगमनमा क्रममा हामीले फोहोर व्यवस्थापनमा लापरबाही गरेको पाइएपछि इच्छाकामना गाउँपालिका वडा नं. ४ लेवाटारका सुजन लाङ्घाली होटल एण्ड खाजा घर र छिम्केश्वरी होटल एण्ड खाजा घर बन्द होटल बन्द गरेका हौं । खाद्य निरीक्षक तिवारीले भन्छन्: ‘अनुगमनका क्रममा हामीले पकाएका खानेकुराहरु गन्हाउने र फोहोर व्यवस्थापनमा समेत चरम लापरबाही गरेको भेटायौं त्यसैले सो होटलहरु बन्द गरेको बताए । यता, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले अनुगमनका क्रममा कालोबजारी समेत भएको पाइएको बताए । १८ रुपैयाँमा पाइने पानी यहाँ २५ रुपैयाँसम्म लिएका रहेछन् साथै म्याद गुज्रिएका पेय पदार्थहरु पनि उल्लेखनीय मात्रामा भेटायौं त्यसलाई हामीले नष्ट समेत गरेका छौँ ।’ उनी भन्छन् : ”यतिमात्र कहाँ हो र ? उपोभोक्ताको स्वास्थ्य माथि समेत यहाँ उत्तिकै खेलवाड गर्दो रहेछ । होटलमा ग्राहक ल्याइदिए लामो दुरीका बस चालकलाइ होटल सञ्चालकले यस अगाडि ५०० रुपैयाँ भत्ता दिदै आएकोमा त्यो अहिले बढाएर दुई हजार रुपैंयाँसम्म पुर्‍याएका रहेछन् । त्यसबाट भत्ता लिएका होटलहरुले यात्रुहरु ओराल्ने र गुणस्तरहिन खानेकुरा खुवाउनेसम्म गरेको पायौं । यात्रुलाई होटलमा लगेर ओराल्ने र त्यहीँको खाना खुवाउन बाध्य बनाउने चालकहरुलाइ मासु खाना र मदिरासमेत निःशुल्क खुवाउने गरेका रहेछन् । यो लापरबाहीको पराकाष्ठा हो ।” उनले भने, उपभोक्ताको स्वास्थ्यमाथि मजाक गर्ने र कालोबजारी गर्नेलाई दण्डीत गर्नुपर्छ । तब मात्र, यस्तो गतिविधि कम हुने उनले बताए । सभ्य तरिकाले चार्डपर्व नमनाए कार्वाही हुन्छ: प्रजिअ बर्ष दिनमा एकपटक मात्रै आउने चार्डपर्वलाइ मर्यादित र हर्षोल्लासका साथ मनाउन जिल्ला प्रशासन कार्यालय चितवन ले जिल्लाबासीमा आह्वान गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले आधुनिकताका नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी अवाञ्छित गतिविधि हुन सक्ने भएकाले यस्ता गतिविधि नगर्न आग्रह गरेका हुन् । उनले विजयादशमीलाई अनुशासित रुपमा मनाउन अपिल गरेका हुन् । मर्यादित एवं अनुशासनमा रहि चार्डपर्व नमनाएको खण्डमा प्रशासनले कडा कारबाही गर्ने बस्नेतको जोड थियो । लोकमार्गका होटल बाहेक अन्य होटल र रात्री मनोरञ्जन व्यवसाय राती १० बजेपछि अनिवार्य रुपमा बन्द गर्न समेत प्रशासनले सार्वजनिक रूपमा आह्वान गरेको छ । जुवाजन्य खेल जस्तै स् तास, कौडा लगायतका खेल, स्वीकृति बिना चिठ्ठा, उपहारलगायतका कार्यक्रम सञ्चालन, एवं पटका लगायतका विष्फोटकजन्य सामग्री र मदिरा र मदिराजन्य वस्तुको बिक्री वितरणमा समेत रातीको नौ बजेपछि प्रशासनले रोक लगाएको जनाएको छ । विशेष चाडपर्व सुरक्षा योजना अनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ । लोकमार्गमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरीबाट ट्राफिक गस्ती, चेकजाँच, मापसे जाँचलाई तीव्र बनाइएको छ । घटनालार्इ शीघ्र सम्बोधन गर्न नेपाल प्रहरीमा क्विक रेसपोन्स टिम र सशस्त्र प्रहरीमा इमिडिएट रेसपोन्स टिमको व्यवस्था गरिएको बताउँदै कुनै पनि विषयमा गुनासो, जानकारी वा उजुरी गर्नुपरे नेपाल प्रहरीको यात्रु सहायता कक्ष पुल्चोक र केन्द्रीय बस टर्मिनल, नजिकैको प्रहरी चौकी वा सशस्त्र प्रहरी बल वा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल ९८५५०९०१३३ र निःशुल्क ०५६-५२४२४१ वा १०० मा समेत फोन गर्न सकिने प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

ज्योति विकास बैंकको ८ प्रतिशत नगद लाभांश पारित, हाम्रोलाई प्राप्ती गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रस्तावित ८.४० प्रतिशत नगद लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । साथै, सभाले बैंकलाई नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रो विकास बैैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्तापूँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छ । साथै, १० हजार रुपैयाँभन्दा बढि ऋणी मार्फत १६ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गर्न कम्पनी सफल भएको थियो ।

निजी लगानीबाट केवलकार निर्माण बढ्दो, अर्बाैको लागतमा ३ दर्जन निर्माणको तयारीमा

काठमाडौं। पछिल्लो समयमा नेपालमा पनि केवलकारमा लगानी बढ्न थालेको छ । निजी क्षेत्रबाट हालसम्म ३ दर्जन बढी केवलकार निर्माणका लागि अध्ययन सुरु भएका छन् । ती मध्ये केहीको निर्माण सुरु भएका छन् । मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालनमा आईसकेका छन् । यस्तै पोखराको तालवारहीदेखि सराङकोटसम्मको केवलकार निर्माण भइरहेको छ । मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको हो । एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मुलुकका २० स्थानमा केबलकार निर्माणका लागि आवेदन परेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ । सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि लगानी बढेको नेपाल रोप वे प्राइभेट लिमिटेडका अध्यक्ष गुणराज ढकाल बताउछन् । कार्वनरिहत यात्रा भएकाले केवलकार निर्माणमा लगानीकर्ताको चासो बढेको उनको भनाई छ । नेपाल रोपवेले दुई दर्जन केलकारको संभाव्यता अध्ययन गरिरहेको ढकालले सुनाए । उनका अनुसार केवलकारमा हुने लगानीबाट राम्रो प्रतिफल पाउने भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको उनको भनाई छ । निजी लगानीमा भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केवलकार बनाउन त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ । मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ । यस्तै सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ । डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथीभरा दर्शन र सर्वशिद्धीधाम पञ्चकोट बाग्लुङमा पनि प्रक्रिया शुरु भएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ । यस्तै मुत्तिनाथले ४० अर्ब रुपैयाँ लगानी गरेर ८५ किलोमिटर लामो केवलकार बनाउने तयारी थालेको छ । वन्दीपुर केवलकारले सर्वसाधारणबाट लगानी जुटाउन सुरु गरिसकेको छ । त्यस्तै मुक्तिनाथ दर्शन प्रालिले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन गरिरहेको छ । काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ । प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन गरिरहेको छ । यस्तै मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन गरिरहेको छ । विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ ।

खुलेन सहसचिव र उपसचिवको विज्ञापन अधिकृत र नायब सुब्बा के होला ?

काठमाडौं । असोज ३१ गते सहसचिव र उपसचिवको विज्ञापन नखुल्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवाको विज्ञापन २ महिनासम्म नखुलाउने निर्णय गरेको हो । कर्मचारी विज्ञापन नखोल्न मन्त्रिपरिषदले निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । उनका अनुसार लोकसेवालाई पत्र लेल्ने तयारी मन्त्रालयले गरेको छ । मन्त्रालयले माग संख्या पठाउन प्रदेश सरकारले केन्द्र सरकारले पत्र काट्नु पर्नेछ । तर प्रदेश सरकारले पत्र नपठाएपछि अन्योल बढेको मन्त्रालयले जनाएको छ । लोकसेवा आयोगको ३१ गते विज्ञापन खुल्ने तालिका स्थगित गर्नुपर्ने अवस्था आएको आयोगका उपसचिव देवी प्रसाद सुवेदीले बताए । संविधानमा प्रत्येक प्रदेशमा प्रदेश सेवा आयोग रहने व्यवस्था गरेपनि सो सम्बन्धि ऐन नबन्दा समयमै विज्ञापन हुन खुल्न नसकेको हो । प्रदेश सेवा आयोग नबन्दासम्म केन्द्रिय कार्यालयले नै विज्ञापन खोल्ने संवैधानिक व्यवस्था हुँदापनि प्रदेशले केन्द्र सरकारलाई पत्र काट्न नसकेपछि अन्योलता बढेको हो । असोज दोस्रो साता नै आउनु पर्ने माग संख्या अहिलेसम्म नआएकोले ३१ गतेको कार्यतालिका प्रभावित भएको आयोगका उपसचिव अधिकारीले बताए । विज्ञापन सरकारको निर्णयमा भर पर्ने कुरा हो समय सारेर भएपनि विज्ञापन खोल्न सकिन्छ । गत वर्ष आयोगले खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ जना सहसचिवको विज्ञापन खुलाएको थियो । यसैगरी उपसचिवतर्फ २१५ जनाको विज्ञापन गरको थियो । नेपालको संविधानको भाग २३ धारा २४२ देखि २४४ सम्म प्रदेश लोकसेवा अयोगको बारेमा उल्लेख गरिएको छ । यसमध्ये धारा २४४ मा प्रत्येक प्रदेशमा एक प्रदेश सेवा आयोग रहने उल्लेख गरिएको छ । सोही धाराको उपधारा २ मा प्रयोजनका लागि संघीय संसदले कानून बनाई मापदण्ड लागू गर्न सक्नेछ भनिएको छ । संविधानको धारा २४३ मा निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्य संघिय सरकारी सेवा र संगठित संस्थाको पदको लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ भनी उल्लेख छ । संघमा एक लोकसेवा आयोग रहनेछ । संघिय आयोगको लागि पहिलेको संसदले नै ऐन निर्माण गरिसकेको थियो तर पास नभई संसद विघटन भएपछि अब संघिय संसदले कानून बनाउने भएको हो । सघंमा रहने लोक सेवाको काम, कर्तव्य र अधिकार संघिय संसदले बनाएको ऐन अनुसार हुनेछ । यसले प्रदेश लोक सेवा आयोगको कानून नबने सम्म सबै लोक सेवा आयोगले नै पदपुर्ति गर्नेछ । संघिय संसदले कानून नबनाएसम्म कन्द्रले नै सबै परिक्षा सञ्चालन गर्ने आयोगका उप सचिव देवीप्रसाद सुवेदीले बताए । आयोगले अहिले रहेको अञ्चल स्तरको कार्यलयलाई नै प्रदेश स्तरको कार्यालय बनाउने तयारी गरेको छ । प्रत्येक प्रदेशमा रहको कार्यालयमा सहसचिवले नेतृत्व गर्ने सुवेदीले जानकारी दिए ।