विदेशीलाई लिने हवाइ भाडामा वायुसेवा कम्पनीको मनोमानी
काठमाडौं । आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरूले विदेशीहरूलाई एउटै गन्तव्यमा पुग्ने भए पनि फरक-फरक भाडा लिने गरेको पाइएको छ । समान हवाई भाडादर कमिटी २०८३ ले प्रत्येक वायुसेवाकम्पनीले हवाई टिकट वापत विदेशीलाई फरक-फरक मुद्रा लिने गरेको औंल्याएको छ । भाडादरमा एकरुपता कायम गर्न भए पनि समान भाडादर कायम गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू कार्यान्वयन अन्तर्गत सबै ट्रंक रुटमा उडान गर्ने अन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशीलाई हवाई भाडादर समान गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको थियो । सोही सूची अनुसार विदेशीलाई समान भाडादर कायम गर्न एक अध्ययन समिति बनाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको दश बुँदे कार्य योजना अन्तर्गत बुँदा नं. ४ मा उल्लेख गरिए बमोजिम सबै ट्रंक रुटहरुका लागि उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाली तथा विदेशी नागरिकहरूलाई हवाई भाडादर समान गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधीकरणका महानिर्देशकको निर्णय अनुसार जेठ १९ गते निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समान हवाई भाडादर अध्ययन समिति गठन भएको थियो । कमिटीमा संयोजक ऋचा शर्मा, सदस्य सुवर्ण भट्टराई, निजी वायुसेवा कम्पनीका दुई जना प्रतिनिधि,रमेस महत सदस्य सचिव र सीए अनुप उपाध्याय थिए । कमिटीलाई एक महिनाको समय तोकिएको थियो । कमिटीले हवाई भाडा समान कायम गर्ने विषयमा अध्ययन र हवाई भाडादर समान कायम गर्दा फाइदा तथा बेफाइदाकोसमेत अध्ययन गरेको थियो । जहाजहरूमा यात्रुको संख्यामा कमी आएका पूर्ण क्षमतामा उडान हुने नगरेको कमिटिको प्रतिवेदनमा उल्लेख गरिएको छ आन्तरिक हवाई उडान तथा ट्रंक रुटमा विदेशी नागरिकलाई समान भाडा दर कायम गर्न सुझाएको थियो । मुलुकभर विभिन्न आन्तरिक हवाई उडानमा यात्रु संख्याको कमी भएको पाइएको छ । समान हवाई भाडादर कमिटि २०८३ ले सरकारले बुझाएको प्रतिवेदनमा यात्रुहरूले सडक यातायात मार्फत यात्रा गर्ने हुँदा वायुयानमा यात्रा गर्ने हवाई यात्रुको संख्यामा कमी आएको औंल्याएको हो । हवाई यात्रुको संख्यामा कमी आउँदा जहाजले आन्तरिक उडानको रुटमा पूर्ण क्षमतामा उडान हुने नगर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी, वायुसेवा कम्पनीको विदेशी पर्यटक मार्फत प्राप्त हुने टिकट वापतको विदेशी मुद्राबाट आम्दानीमा वृद्धि भएको छ । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा सहयोग पुग्ने प्रतिवेदनमा बताइएको छ । नेपाल सरकारले २०७३ सालमा ट्रंक रुटको भाडादर निर्धारण कायम गरेको थियो । हालसम्म ट्रंक रुटमा सोही भाडदर कायम रहेको छ । नेपाल सरकारको मन्त्रीस्तरीय २०५८ माघ १९ गतेको निर्णयानुसार प्रत्येक २-२ वर्षमा हवाई भाडादर पुनरावलोकन गर्ने निर्णय भएको थियो । २०७३ सालको हवाई भाडादर हालसम्म पुनरावलोकन हुन नसकेको । आन्तरिक वायुसेवा कम्पनीहरुले पटक-पटक ट्रंक रुटको हवाई भाडादर पुनरावलोकन गर्न भनिए पनि भाडामा पुनरावलोकन हुन सकेको छैन । सरकारले २०७३ सालमा हवाई भाडादर निर्धारण हुँदा अमेरिकन डलरको मूल्य १०७ रहेकोमा हाल उक्त डलरको मुल्य बढेर १४० पुगेको छ । यस बीचमा लिज कस्ट, बीमा, व्यवस्थापन खर्च, विमान खरिद, ईन्जिन तथा स्पेयरर्स पार्टस्, मर्मत सम्भार समाग्री, उपकरण खरिद लगायतका भुक्तानी अमेरिकन डलमा गर्नुपर्ने हुँदा वायुसेवा कम्पनीहरूलाई विदेशी मुद्राको व्यवस्थापनमा थप दवाव सिर्जना भएको कमिटिको प्रतिवेदनले औंल्याएको छ । विदेशी नागरिकलाई समान भाडादर कायम गरेको अवस्थामा विदेशी मुद्राको संञ्चितिमा कमि आउनेसमेत देखिएको कमिटिको प्रतविदेनले बताएको छ । विभिन्न आन्तरिक वायुसेवा कम्पनीहरुबाट टंक रुटमा यात्रा गर्ने हवाई यात्रुको संख्यामा उल्लेखीय रुपमा कमी आएको छ । अमेरिकन डलरमा भएको वृद्विका कारण, बीमा वायुयान, स्पेयर्स पार्टस् खरिद मर्मत सम्भार लगायतको सेवा डलरमा भुक्तनी गर्नुपर्ने भएको कारण वायुसेवा कम्पनीको नाफासमेत घटेको छ। पछिल्लो समयमा मध्य पूर्वमा आएको द्वद्वको कारणबाट हवाई इन्धनमा मूल्य वृद्धि भई यात्रुको संख्यामा थप कमी भएको छ । वायुसेवा कम्पनीले उडान मिलान (मर्ज) गरी उडानको संख्या कटौती गरेका कारण वायुसेवा कम्पनीहरुको आर्थिक अवस्था कमजोर हुँदै गएको छ । कमिटीले वायुसेवा कम्पनीलाई मजबुत र सक्रिय बनाउन हाल विद्यमान व्यवस्थालाई निरन्तरता दिन सुझाव पेश गरेको छ । ट्रंक रुटको भाडादरलाई प्रचलित बजार मुल्य, मुद्रास्फिति, संचालन लागत, अन्तर्राष्ट्रिय अभ्यास, विदेशी मुद्राको विनिमय दर र हवाई इन्धनको बजार मुल्य बजारलाई ख्याल गरेर समान भाडादर कायम गर्न सुझाव पेश गरेको छ ।, वायुसेवा कम्पनीको आर्थिक अवस्थालाई अध्ययन, विश्लेषण गरी नेपाल सरकारद्वारा २०७३ सालमा निर्धारण भएको हवाई भाडादर पुनरावलोकन गरेर विदेशी नागरिकले टिकट खरिद गर्दा लाग्ने भाडादर समेत समावेश गरी स्वदेशी तथा विदेशीलाई लिईने समान भाडादर कायम गर्न निर्णय गर्नुपर्ने कमिटीको सिफारिसले जनाएको छ । समान हवाई भाडादर कमिटि २०८३ को कमिटिले बुझाएको प्रतिवेदनलाई पुनः मन्त्रालयमा पठाइने नेपाल नागरिक उड्डयन प्राधीकरणका प्रवक्ता विक्रमराज गौतमले बताए। २०७३ सालदेखि ट्रंक रुटमा नबढेको भाडादरलाई लिएर दुई पटकसम्म मन्त्रालयमा प्रतिवेदन अध्ययनका लागि पठाएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमको स्थापना कालदेखि ट्रंक रुटको भाडा लिएको गौतमको भनाइ छ । ‘अहिलेको प्रतिवेदन अनुसार कार्यान्वयन हुने हामीले आशा गरेका छौ,’ उनले भने । यति एयरलाइन्सका सीइओ सुभाष सापकोटाले प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताए । कमिटिमा रहेका सदस्य सापकोटाले प्रतिवेदनमा भएका कुराले ट्रंक रुटमा भाडादर समान हुने भएमा नेपाली यात्रुलाई भाडादर मँहगो पर्न जानेछ । ‘नेपाली यात्रुलाई आन्तरिक हवाई उडानमा एक हजारदेखि १२ सय रुपैयाँ पर्न जानेछ,’ उनले भने । ट्रंक रुट अन्तर्गत विदेशीलाई भाडा दर समान हुनसाथ नेपाली यात्रुहरू मँहगीको मारमा पर्न जान्छन् । ट्रंक रुटमा नेपालका तीन वायुसेवा कम्पनीले उडान भरिरहेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र सौर्य एयरलाइन्सले उडान भरिरहेका छन् । विदेशी यात्रुलाई वायुसेवा कम्पनीले काठमाडौंदेखि विराटनगरसम्म १२५ डलर, काठमाडौंदेखि चन्द्रगढीसम्म १५५, पोखरा १२०, धनगढी २७५, जनकपुर ७०, सिमरा ५०, भरतपुर १४२, नेपालगञ्ज १७० र भैरहवा १२६ डलर लिने गरेका छन् ।
खाली हात काठमाडौं छिरेका रञ्जित ४ वटा सैलुनका मालिक
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल । जेड स्ट्रिटको साँघुरो गल्लीमा विदेशी पर्यटकहरू रिक्सामा यात्रा गरिरहेका छन् । कोही ढाडमा ठूलो ब्याकप्याक बोकेर नयाँ गन्तव्यतर्फ लागेका छन् । यही चहलपहलबीच एउटा आकर्षक सैलुन छ- रञ्जित ठाकुर बार्बर सप । भित्र एक युवक ग्राहकको कपाल मिलाइरहेका छन् । उनी हुन्, जनकपुरबाट तीन दशकअघि काठमाडौं आएका रञ्जित ठाकुर । रञ्जित १५ वर्षअघि पुर्ख्यौली पेसालाई निरन्तरता दिन दाजुको हात समाएर अपरिचित सहर काठमाडौं आएका थिए । सुरु–सुरुमा उनलाई यहाँका सबै कुरा नौला लाग्थे- सडकमा गुड्ने गाडी, मानिसहरूको भीड र आफूले काम गर्ने कैंचीसमेत । मधेसको तातो हावा छोडेर उनी काठमाडौंको चिसो वातावरणमा घुलमिल हुन आइपुगेका थिए । तर, उनलाई वातावरणसँग मात्र होइन, यहाँको जीवनशैलीसँग पनि अभ्यस्त हुनुपर्ने थियो । साथै, पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आफ्नो भविष्य निर्माण गर्ने चुनौती पनि उत्तिकै थियो । किशोरावस्थामै काम र जीवनको महत्त्व बुझेका रञ्जित परिवारको जिम्मेवारीले पनि चाँडै परिपक्व बने । त्यसैले केही गरेर देखाउने अठोट र परिवारको भविष्य बदल्ने सपना बोकेर उनी काठमाडौं आएका थिए । उनको आँखामा एउटै सपना थियो- ठूलो सहरमा संघर्ष गरेर परिवारको गुजारा चलाउने । त्यही सपना पछ्याउँदै अघि बढेका रञ्जित आज काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा लाखौँ रुपैयाँ मूल्यको आफ्नै बार्बर सप सञ्चालन गर्न सफल भएका छन् । काठमाडौं आउँदा रञ्जितको खल्तीमा पैसा थिएन । हातमा कुनै डिग्री पनि थिएन । उनीसँग थियो त केवल पुर्ख्यौली सीप- कपाल काट्ने कला । तीन दशकभन्दा बढी समयपछि तिनै रञ्जित आज काठमाडौंका सफल उद्यमीका रूपमा स्थापित छन् । कैंची र काइँयोको भरमा सुरु गरेको उनको व्यवसायिक यात्रा अहिले द्रुत गतिमा अघि बढिरहेको छ । दाजुसँग काठमाडौं आएपछि उनले ठमेलको पकनाजोलस्थित आफन्त (अङ्कल) को सैलुनमा दुई-तीन वर्ष काम गर्दै सीपलाई अझ निखारे । 'त्यतिबेला म सानै थिएँ। काम सिक्ने भोक थियो,' उनी विगत सम्झिन्छन्. 'काम त आउँथ्यो, तर काठमाडौंजस्तो सहरका ग्राहकको अपेक्षा पूरा गर्न म अझै दक्ष भइसकेको थिइनँ । काम जान्नु मात्रै पर्याप्त हुँदैन, दक्ष बन्न धेरै अभ्यास र मेहनत गर्नुपर्छ । सुरुआती दिनमा ग्राहकको कपाल काट्दा कतै केही बिग्रेला कि भन्ने डरले उनलाई सधैं सताइरहन्थ्यो । नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ ग्राहक भएकाले मनमा एक किसिमको त्रास थियो । तर, त्यही डर नै उनको सफलताको आधार बन्यो । ‘त्यही डरले मलाई आज यो स्थानसम्म ल्याएको हो,’ उनी सुनाउँछन् । केही वर्ष आफन्त (अङ्कल) कै सैलुनमा काम गर्दै उनले सीपलाई अझ निखारे । त्यहीँबाट उनले कपाल काट्ने कला मात्र होइन, ग्राहकसँग व्यवहार गर्ने शैली, व्यवसाय सञ्चालन गर्ने तरिका र आम्दानी गर्ने सीप पनि सिके। बिस्तारै आफ्नो काममा दक्ष बन्दै गएपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच पनि पलाउन थाल्यो । रञ्जितका लागि काठमाडौंका सुरुआती दिन सहज थिएनन् । नयाँ सहरमा संघर्ष त थियो नै, त्यसमाथि समाजका केही व्यक्तिको संकीर्ण सोच र विभेदपूर्ण व्यवहार पनि उनले सहनुपर्यो । कहिले ग्राहकले कपाल काटेपछि पैसा नतिरी हिँडिदिन्थे । कहिले पसलमै आएर अश्लील र अपमानजनक शब्द प्रयोग गर्थे । झगडा बढ्ला भन्ने डरले उनी प्रायः मौन बस्थे । त्यतिबेला उनीसँग सहेर आफ्नो काममा लागिरहनुबाहेक अर्को विकल्प थिएन । उनले सधैं विवादभन्दा कामलाई नै प्राथमिकतामा राखे । ‘मधेसबाट आएको भनेर ‘मधेसिया’, ‘धोती’ र ‘भैया’ भन्दै हेप्थे । चित्त त दुख्थ्यो, तर म झगडा गर्न होइन, काम गर्न आएको थिएँ । त्यसैले सबै कुरा सहेर आफ्नै काममा लागिरहेँ,’ रञ्जित ती तीता अनुभव सम्झिन्छन् । माओवादी द्वन्द्वको समयमा काठमाडौंको जनजीवन त्रासले ढाकिएको थियो । राजनीतिक अस्थिरतासँगै स्थानीय गुण्डागर्दीको डरले व्यवसाय सञ्चालन गर्न पनि सहज थिएन । यस्तो चुनौतीपूर्ण समयमा रञ्जितले पनि अनेक दुःख र दबाब सामना गरे । गलत नियत भएका केही मानिसहरूले दुःख दिने प्रयास गर्थे । तर, उनले कहिल्यै हिम्मत हारेनन् । बिहान ६ बजेदेखि राति ९ बजेसम्म ग्राहकको सेवामा खटिरहने उनको दैनिकी वर्षौंसम्म निरन्तर रह्यो। आज पनि ग्राहक आएसम्म पसल नबन्द गर्ने बानी उस्तै छ । ‘अहिले पनि म राति ९ बजेसम्म ग्राहकको प्रतीक्षामा बस्छु। सेवा नै मेरो व्यवसायको आधार हो,’ उनी भन्छन् । रञ्जितले आफ्नो कामलाई कहिल्यै रोकेनन् । वर्षौंको निरन्तर मेहनत र इमानदार सेवाकै परिणामस्वरूप आज उनी काठमाडौंमा चार वटा बार्बर सैलुन सञ्चालन गरिरहेका छन् । दैनिक १० देखि १२ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । ‘मानिसलाई सफा-सुग्घर देखिन मन पर्छ। सेवा राम्रो दिएपछि पैसा त आइहाल्छ नि,’ उनी मुस्कुराउँदै भन्छन् । वर्षौंसम्म उनको जीविकाको आधार बनेका कैंची र काइँयो आज पनि उस्तै प्रिय छन् । फरक यति मात्रै हो, समयसँगै प्रविधिले पनि उनको कामलाई साथ दिएको छ । पहिले कैंची र काइँयोमै सीमित रहेको काम अहिले आधुनिक हेयर क्लिपर र अन्य उपकरणको प्रयोगले छिटो, सहज र प्रभावकारी बनेको छ । ‘मेसिन आएपछि समय बच्न थालेको छ। काम गर्न पनि सजिलो भएको छ, हकलाई पनि सहज भएको छ,’ उनी भन्छन् । सानो सैलुनदेखि ४० लाख रुपैयाँको वार्षिक कारोबारसम्म कक्षा ५ सम्म मात्रै पढेका रञ्जितको व्यावसायिक यात्रा धेरैका लागि प्रेरणादायी छ । काठमाडौंका विभिन्न स्थानमा उनका चार वटा आफ्नै सैलुन छन्, जहाँ १० जनाले रोजगारी पाएका छन् । वार्षिक करिब ४० लाख रुपैयाँ कारोबार गर्ने रञ्जितको लक्ष्य अब व्यवसायलाई विस्तार गर्दै १० वटा सैलुन सञ्चालन गर्ने छ । तर, व्यवसाय विस्तारको यात्रामा उनलाई एउटा समस्याले भने निरन्तर पिरोलिरहेको छ- दक्ष र स्थायी जनशक्तिको अभाव । 'यहाँ सीप सिकेपछि धेरैजसो विदेश गइहाल्छन् । नेपालीहरूलाई स्वदेशमै ५० हजार कमाउनुभन्दा विदेशमा दुःख गर्न सजिलो लाग्छ,' उनी गुनासो गर्छन् । व्यापारको सूत्र र भाडाको मार रञ्जितको सैलुनमा नेपाली र विदेशी ग्राहकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ । नेपाली ग्राहकका लागि कपाल काटेको ५०० रुपैयाँ र दाह्री मिलाएको ३०० रुपैयाँ लिइन्छ । विदेशी ग्राहकका लागि भने कपाल काटेको १ हजार र दाह्रीको ५०० रुपैयाँ शुल्क छ । ‘काठमाडौंमा घरभाडा र महँगी दुवै निकै बढेको छ । एउटा सामान्य सैलुन सञ्चालन गर्न पनि करिब १५ लाख रुपैयाँ लगानी चाहिन्छ । त्यसैले विदेशी ग्राहकसँग केही बढी शुल्क लिनु हाम्रो बाध्यता पनि हो,’ उनी स्पष्ट पार्छन् । अधुरो पढाइको पीडा ४७ वर्षीय रञ्जितलाई आज पनि एउटा कुराले भने बारम्बार घोचिरहन्छ- अधुरो पढाइ । ‘यदि राम्रोसँग पढ्न पाएको भए व्यवसाय अझ व्यवस्थित ढंगले सञ्चालन गर्न सक्थेँ होला भन्ने लाग्छ,’ उनी भन्छन् । सायद त्यही कारण उनी आफ्ना दुई छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन चाहन्छन् । आफूले पढ्न नपाउँदा धेरै संघर्ष गर्नुपरेको अनुभवले सन्तानले भने त्यही बाटो हिँड्न नपरोस् भन्ने उनको चाहना छ । काठमाडौं आएको तीन दशकभन्दा बढी समयमा उनले आफ्नै घर बनाएका छन्, व्यवसायलाई स्थापित गरेका छन् र सुखी परिवारको सपना पनि पूरा गरेका छन् । आज उनलाई धेरै पैसा कमाउने लोभभन्दा पनि परिवारसँग शान्त र सुखी जीवन बिताउनु नै सबैभन्दा ठूलो उपलब्धि र अन्तिम चाहना लाग्छ । ‘जहाँसुकै जानुस्, इमानदारी हरायो भने अवसर पनि हराउँछ । अन्ततः मानिस आफैं पनि हराउँछ । आफ्नै माटोमा इमानदारीका साथ पसिना बगाउन सकियो भने विदेशभन्दा बढी यहीँ कमाउन सकिन्छ,’ उनी दृढतापूर्वक भन्छन् । रञ्जितले व्यवसायको सुरुआत कालधारा चोकको एउटा सानो सैलुनबाट गरेका थिए । त्यही सानो पसलमा उनले ११ वर्षसम्म निरन्तर पसिना बगाए । समयसँगै व्यवसाय विस्तार भयो, तर बढ्दो महँगीले व्यवसाय सञ्चालनको चुनौती पनि उत्तिकै बढाएको छ । 'पहिलेको समय र अहिलेको समय उस्तै लाग्छ, तर खर्च आकाशिएको छ । आज एउटा सटरको मासिक भाडा नै ५० हजारदेखि एक लाख रुपैयाँसम्म पुगिसकेको छ । काम त उही हो, तर महँगी भने धेरै टाढासम्म पुगिसकेको छ,' उनी भन्छन्।
ह्विल लकको आतंक, हजारको लोभ
काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाह प्रयास गरे । बिहीबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तत्कालै नेपालीलाई घटना वरपर भएका केही प्रहरी र व्यक्तिले उद्धार गरेर वीर अस्पताल पुर्याएका थिए । गम्भीर अवस्थामा अस्पताल पुर्याइएका नेपालीको आज बिहान मृत्यु पनि भइसकेको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले विभाग अगाडि गेटमा नेपाली उभिएपछि केहीबेर मोटरसाइकल चालक नेपाली र नगर प्रहरीबीच भनाभन भएको थियो । सार्वजनिक स्थानमा पार्किङ गर्न नहुने भन्दै चालकसँग नगर प्रहरीले विवादसमेत गरेका थिए । मुगुको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय बिहीबार (२५) गते नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए । उनी काठमाडौंमा राइड सेयरिङ गर्दै गुजारा गरिरहेका थिए । उनी हिमाली जिल्ला मुगुबाट काठमाडौं उपत्यकामा फरक जीवनशैली बाँच्ने लालसा बोकेर उपत्यका आएका थिए । राज्य अभिभावक बन्ला र सुखका दिनमा परिवारसँग बिताउन पाइने आशामा संघर्ष गर्न राजधानी भित्रिएका थिए । त्यहीँ राजधानीभित्र अभिभावक रक्षक हुनुपर्नेमा भक्षक बन्दा नेपालीले ज्यानसमेत गुमाए । बाइकमा ह्वील लकबाट सुरु भएको विवाद आज राज्यको विवेकमा लक लागेको छ । नेपालीको मृत्युले समग्र राज्य प्रणालीको करूण र विवेकमा लक लाग्दा सोच्न बाध्य बनाएको छ । पछिल्लो केही वर्षयता काठमाडौं महानगरपालिकाले सहरलाई सुन्दर र व्यवस्थित बनाउने अभियान चलाएको छ । अव्यव्यवस्थित पार्किङ गर्न नदिने र त्यस्ता सावरीसाधनलाई तुरुन्त कारबाही गर्ने गरेको छ । काठमाडौंका चोक र गल्लीमा नगर प्रहरीदेखि ट्राफिक प्रहरीलाई देख्न सकिन्छ । अनुशासन सिकाउन बसेका भन्दा पनि उनीहरू नागरिकलाई त्रासमा राख्न ज्यान लिन बसेका जस्ता देखिन्छन् । जसले सडक सुरक्षाभन्दा नागरिकलाई त्रसाउन बसे जस्तो आभास दिलाउने गरेका छन् । भाषाशैलीमा मिठास भन्दा पनि पैसा संकलन पहिलो प्राथमिकतामा पर्ने गरेको छ । मुलुककै बागडोर सम्हालेका बालेन्द्र शाह यतिखेर प्रधानमन्त्री छन् । उनको गीतमा कोरस साउन्ड 'गरिबको चमेली बोल्दिने कोही छैन' खुबै चर्चा पायो । जुन गीतले सामाजिक क्षेत्रको विकृति र विसंगतिलाई उजागर गरेको थियो । शाह समाजमा पछाडि परेका, निमुखा र गरिब वर्गको पीडा सुनिदिने वा उनीहरूको पक्षमा बोल्दिने गीतको सहाराले नेपाली राजनीतिमा भनौं वा सत्ताको आसनमा छन् । तीनै गीतका मर्म बुझ्न र सुन्न सक्ने प्रधानमन्त्री भएका मुलुकमा नेपालीले ज्यान गुमाउँदा एक शब्द स्टाटस लेख्न भ्याएका छैनन् । सिंहदरबारबाट केही किलोमिटर परमात्र रहेको वीर अस्पतालमा सान्त्वनाका निम्ति उपस्थित हुन सकेका छैनन् । जुनबेला प्रधानमन्त्री हुँदै थिए सोही समयमा उनी युवाले सबैभन्दा बढी रुचाएका व्यक्तिमा परेका थिए । आज एक युवा सदाका लागि सुतिरहँदा सिंहदरबारबाट वीर अस्पतालको भीडलाई कालो चस्माले हेरिरहेका होलान् ! कुनै समय उनी पनि काठमाडौं महानगरका प्रमुख थिए । जुनबेला नगर प्रहरीलाई सक्रिय बनाएर तथा उनीहरूको कामबाट वाहावाही बटुलेका थिए । आजै तिनै नगरप्रहरी अथवा ट्राफिक प्रहरीले सडकमा चालकलाई कारबाही गर्नु शिक्षा र ज्ञान दिन बसेका ठान्नेले अन्याय गर्दा बोल्न र शब्द लेख्न भ्याएनन् । राज्यले भने जरिवानाबापतको एक रसिद शिक्षा र ज्ञानको ठूला ग्रन्थ ठानिरहेको छ । स्थानीय सरकारदेखि केन्द्रीय सरकारले राजश्व संकलनलाई विकासको मुख्य स्तम्भ मानिरहेको छ । राज्यभित्र सबैभन्दा पहिले नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सुरक्षित ठानिनुपर्छ । सबैभन्दा पहिले राज्य उपस्थित हुने भनेको सडक र सार्वजनिक स्थानमा हो । सडकमा ट्राफिक प्रहरी वा नगर प्रहरीदेखि डराएर भाग्नुपर्ने अवस्था छ । पार्किङ गरेका सवारीसाधानलाई ट्राफिक प्रहरी र नगर प्रहरी गाडी लिएर आउँछ टपक्क टिपेर बग्गी कारखनामा पुर्याएपछि एक हजारको रसिद थमाउँछ । त्यहीँ राजश्वको लोभले आज गणेश नेपाली आगोमा लतपतिएर ज्यान गुमाउन बाध्य भए । सडकको किनारामा जीवन बाँच्न खोज्नेहरू राज्यबाट अपहेलित र मारिन बाध्य भएका छन् । कोही सडक किनारा रहेको खोलामा हाम फाल्छन त कोही भने सडकमै जल्न बाध्य भएका छन् । केही वर्षअघि बानेश्वरमा सडक अगाडि प्रेम आचार्यले आत्मदाह गरेका थिए । मुलुकमा राज्य हराएको सरकार पैसा उठाउन व्यस्त छ । नागरिकहरू ज्युँदै जल्दा राज्य पहिलो नभइ पैसा हुन थालेको छ । गणेश नेपालीको मृत्यु प्रकरणमा जीविकोपार्जनका निम्ति संघर्ष गरिरहेका नागरिकलाई अपराधी झैं व्यवहार गर्नु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने पूर्वमन्त्री तथा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले बताएका छन् । ‘गरिब र असहाय परिवारलाई विकल्पबिना विस्थापित गर्नु, र उनीहरूलाई निराशाको यस्तो मोडमा पुर्याउनेलाई स्वीकार्न नसक्ने उनले बताएका छन् । सरकार, स्थानीय तह र सम्बन्धित निकायलाई कठोर निर्णय लिनुअघि त्यसको मानवीय प्रभावबारे पनि गम्भीरतापूर्वक सोच्न तामाङले आग्रह गरेका छन् । राज्य गरिबमुखी होस् भनेर त्यत्रा आन्दोलन गरेका जनताले आज फेरि गरिबमारा सरकार बेहोर्नु परेको पत्रकार नारायण वाग्लेले बताएका छन् । ‘अहिले राज्यको व्यवहारले शब्दहरू आफै शक्तिहीन भएका छन्,’ उनले भने । काठमाडौंमा दुःख गरेर जीविका चलाउने मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली दिएर मात्र नपुग्ने उनको भनाइ छ । ‘क्षमायाचनाले पनि पुग्दैन । रवैया फेर, नभए फेरिन तयार होऊ,’ उनले थप अगाडि भने । काठमाडाैं महानगर प्रहरीको ह्वीललक आतंकका कारण मुगुका गणेश नेपालीले ज्यान गुमाएको संविधानविद भीमार्जुन आचार्यले बताएका छन् । ‘स्थानीय र केन्द्रीय सरकारबाट सवारीसाधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताणित बन्ने गरेका छन्,’ उनले भनेका छन्, 'के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? खोइ नि:शुल्क पार्किङको व्यवस्था काठमाडाैं मा ? कतै त सवारी साधन एकछिन ठडाउनै पर्ने होला नि ।' पार्किङलाई अपराधिककरण गर्ने पर्छ ? के यो नगरमा सामान्य मान्छे बस्नै नपाउने हो ? उनले प्रश्न गरेका छन् । सांसदहरु र नेताहरूले गरे आलोचना गणेश नेपालीको आत्मदाह प्रकरणमा विभिन्न पार्टीका नेता तथा सांसदहरूले पनि सरकारको आलोचना र आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक कवितासँगै सरकारप्रति कटाक्ष गरेका हुन् । ‘२०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका एउटा २५ वर्षीय युवा गणेशले गरेको अकल्पनीय आत्मदाह प्रयासले निर्मम शहरको विवेकहीन शासन पद्दतिको मुहार चिनाएको हो,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘यो दशकौंदेखि गिजोलिएको राज्य प्रणाली र शासन व्यवस्थाको उपज हो ।’ उनले जनताको मनोबल उकास्ने काम नगरी सजाय, दण्डले थिति बस्छ भन्ने बुझाइ गलत भएको पनि बताएका छन् । ‘उच्च कर, कडा दण्ड, निर्मम सजाय र चर्को जरिवानाले थिति बस्छ र ढुकुटी भरिन्छ भन्ने बुझाई सर्वथा गलत छ। यसरी सोच्नेहरु सधै असफल भएका छन्,’ उनले भनेका छन् ‘आम जनताको मनोबल उकास्ने गरी सरल र सहज नीति, कानून तथा शासकीय शैली चाहिन्छ ।’ नेपाली कांग्रेसकै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेशले बाध्य भएर आत्मदाहको प्रयास गरेको बताएकी हुन् । संसद बैठकमा बोल्दै उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण त्यतिखरे बालेन बालेनले लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरिन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरेकी छन् । ‘गणेश नेपाली भाइप्रति एकदमै गम्भीर जुन घटना घट्यो यसमा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘अबदेखि कुनै नेपालीहरूले यसरी आत्मदाह गर्नु नपरोस् ।’ यस्तै, शुक्रबार प्रतिनिधिसभामा बैठकमा श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिन् । ‘गणेश नेपालीको मृत्युको कारण आज हामी सम्पूर्ण नेपालीवासी दुखी छौं’ उनले भनेकी छन्, ‘सम्बन्धित मन्त्रालयले छानबिन गरी मृतकको परिवारलाई राहत दिन अनुरोध गर्दछौं ।’ नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले पनि आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले पनि बालेनको प्रेमराज आचार्यको आत्मदाहमा लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरेका छन् । नेकपा एमालेले पनि नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृङ्खलाबद्ध जनविरोधी गतिविधिका कारण जनतासामु असफल बन्दै गएको आरोप लगाइएको छ । राज्यले गरिब तथा निमुखा नागरिकको संरक्षण गर्नुको सट्टा उनीहरूको गाँस, बास र जीविकामाथि प्रहार गरिरहेको एमालेको दाबी छ । यस्तै, शुक्रबारको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीको निधनको कारण राज्यको नीति भएको बताएका छन् । ट्राफिक जरिवानाको नीतिका कारण नेपालीले आत्मदाह गरेको उनले बताए । यहाँनेर उनले प्रश्न गरे, ‘काठमाडौं धनीहरूको मात्रै हो ?’ राज्यको नीति, मन्त्रिपरिषद्का निर्णय हेर्दा सरकार धनीहरूको पक्षमा रहेको र गरिबहरूको पक्षमा नरहेको थाहा लाग्ने बताए । कर युरोप र अमेरिकाको जस्तो लिने तर सुविधा नदिने अवस्था रहेको उनको भनाइ छ । काठमाडौंमा गरिबलाई बस्न गाह्रो भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।
३ वर्षमा आन्तरिक उडानबाट झन्डै १० लाख विदेशीले गरे यात्रा
काठमाडौं । नेपालमा तीन वर्षमा ९ लाख ९७ हजार ५३८ विदेशी नागरिकले आन्तरिक हवाई उडानमार्फत यात्रा गरेका छन् । दुईवटा वायुसेवा कम्पनीमार्फत करिब १० लाख यात्रुले मुलुकभरका विभिन्न स्थानको आन्तरिक विमानस्थलमा विदेशी नागरिकले यात्रा गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले विदेशी नागरिकलाई उडान भराएका हुन् । त्यसैगरी, ९२ लाख २७ हजार २ सय २५ नेपाली यात्रुले मुलुकभरका विभिन्न विमानस्थलबाट यात्रा गरेका हुन् । बुद्ध एयरलाइन्सबाट सन् २०२४ मा २५ लाख ६३ हजार ८८५ मा स्वदेशी यात्रुले यात्रा गरेका हुन् । त्यसैगरी, १ लाख ५० हजार ४५४ विदेशी नागरिकले यात्रा गरे । सन् २०२५ मा बुद्ध एयरलाइन्सबाट २५ लाख ५० हजार ६०१ यात्रुले यात्रा गरेका थिए । १ लाख ७३ हजार ६३२ विदेशी यात्रुले यात्रा गरेका थिए । सन् २०२६ मा बुद्ध एयरलाइन्समार्फत २२ लाख ८३ हजार ९८७ यात्रुले यात्रा गरेका छन् । १ लाख ६९ हजार ६४८ विदेशी यात्रुले यात्रा गरेका हुन् । त्यसैगरी, यति एयरलाइन्समार्फत सन् २०२४ मा ७ लाख २८ हजार ९४८ नेपाली यात्रुले यात्रा गरेका थिए । २ लाख ५ हजार १९६ जना विदेशी यात्रुले यात्रा गरेका थिए । सन् २०२५ मा यति एयरलाइन्समार्फत ८ लाख ३ हजार ८०५ नेपाली यात्रुले यात्रा गरेका थिए । १ लाख ९१ हजार ५७७ विदेशी यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२६ को केही महिनाको तथ्यांकअनुसार यति एयरलाइन्समार्फत २ लाख ९५ हजार ९९९ यात्रुले यात्रा गरेका छन् । त्यसैगरी १ लाख ७ हजार ३१ विदेशी नागरिकले यात्रा गरेका छन् । हाल नेपालमा तीन वायुसेवा कम्पनीले उडान भरिरहेका छन् । बुद्ध एयरलाइन्स, यति एयरलाइन्स र सौर्य एयरलाइन्सले उडान भरिरहेका छन् । बुद्ध एयरलाइन्सको एटीआर ७२– १६ विमान र एटीआर ४२– २ विमानले उडान भरिरहेका छन् । यति एयरलाइन्स एटीआर ७२- ७, सौर्य एयरलाइन्स सीआरजे २००– २ र क्यु ४००– ७ वटा विमान रहेका छन् ।
भारतीयका लागि नेपाल अपराधको उर्वरभूमि
काठमाडौं । असारको पहिलो साता चितवनबाट एक बालक अपहरणमा परे । पछि प्रहरीले काठमाडौंको गोंगबुबाट बालकको सकुशल उद्वार गर्यो । ५-६ जना भारतीयको समूहले भारतीय नम्बर प्लेटको गाडीमा राखी अपहरण गरेका थिए । गोंगबुस्थित एक होटेलमा बन्धक बनाएर उनीहरुले बालकका परिवारसँग पैसा मागेका थिए । पक्राउ पर्नेहरूमा भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार रहेका छन् । अपहरणमा संलग्न रहेको आरोपमा पाँच भारतीयलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो । केही दिनअघि पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका दर्शनार्थीका गरगहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परे । भारतको गोरखपुर घर भई हाल भक्तपुरमा बस्दै आएका रञ्जित चौधरी र शान्ति चमारलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको थियो । उनीहरूबाट सुनको सिक्री, झुम्का, मुन्द्रा, मंगलसुत्र, चाँदीका औँठी, पाउजु, सिक्री, ब्रासलेट, लकेटलगायतका गरगहना बरादम गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले नेपाली रुपैयाँ एक लाख १५ हजार पाँच सय र भारतीय रुपैयाँ ८० हजार बरादम गरेको थियो । नेपाली युवायुवतीलाई न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा भारतको बिहार राज्यको गोपालगञ्जका ४२ वर्षीय संजय कुमार पनि पक्राउ परे । उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको थियो । उनले पीडित नेपालीलाई न्युजिल्यान्ड पठाइदिने भन्दै ९ लाख ८० हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्याएर राखेको जाहेरी परेको प्रहरीले जनाएको छ । विभिन्न समयमा भारतबाट नेपालमा आएर अपराध गर्नेको संख्या बढ्दै गएको छ । खुला सीमाबाट सहजै आवतजावतको कारण भारतीयहरूको पछिल्लो समय नेपालमा आएर अपराध गर्नेको संख्या बढ्दै गएको पाइएको छ । खुला रुपमा आवतजावत भएकै कारण भारतीयहरुको नेपाल आपराधिक क्रियाकलाप गर्ने क्रिडास्थल बन्दै गएको छ । अपराध गर्ने भारतीयको संख्या बढे पनि उनीहरू तुरुन्तै प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । नेपाल आउन भारतीयलाई कुनै रोकटोक छैन र नेपालीलाई पनि भारत जान कुनै अवरोध छैन । कतिपय अवस्थामा खुला सीमाकै कारण दुवैतर्फ आवतजावत हुँदा अपराधमा संलग्न हुने गरेको पाइएको छ । ६ आर्थिक वर्षमा नेपालमा आएर विभिन्न प्रकारका आपरधिक क्रियाकलापमा संलग्न भएका आरोपमा ४ सय ४९ भारतीय पक्राउ परेका छन् । ३७ जना महिला र ४ सय १२ जना पुरुषहरू आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाका चोरी, साधारण चोरी, जुवा खेल्न नहुने वा सट्टेबाजी गर्न नहुने, अवैध मुद्रा तथा सुन, ठगी आपराधिक विश्वास तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसुर, लागू औषध, सरकारी छाप दस्तखत किर्ते, राहदानी किर्ते, अपहरण तथा शरीर बन्धक बनाउने कसुरमा उनीहरू पक्राउ परेका हुन् । यस्तै, हातहतार खरखजाना, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसुरविरुद्धको कसुर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुर, नागरिकता सम्बन्धी, मानवबेचबिखन तथा ओसारपोसार, बहु विवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालयौन दुरुपयोग, सवारी ज्यान, सवारी अंगभंग, विद्युतीय कसुर तथा साईवर अपराध, दुरसंचार कसुर टेलिफोन तार चोरी, बैंकिङ कसुर, चिठ्ठा, अभद्र व्यवहार, निषेधित क्षेत्रमा प्रवेश, भन्सार छली र विविधजन्य अपराधमा भारतीय संलग्न हुने गरेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/ ०७७ मा ५ जना पुरुष, आव २०७७/ ०७८ मा २ जना पुरुष, २०७८/ ०७९ मा २८ पुरुष र ३ महिला, २०७९/ ०८० मा ४८ पुरुष र ३ महिला,२०८०/ ०८१ मा १३७ पुरुष र महिला १९, २०८१/ ०८२ मा १९२ पुरुष र १२ महिला मुलुकभरका विभिन्न स्थानमा फरक-फरक कसुरमा भारतीयहरू पक्राउ परेका थिए । भारतीयहरू साधारण चोरी, जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने, अवैध मुद्रा तथा सुनको कारोबार र लागूपदार्थ जन्य कारोबार जस्ता अपराधमा सबैभन्दा बढी भारतीयहरू संलग्न भएको पाइएको छ । विभिन्न कसुरमा काठमाडौं उपत्यकाका सुनधारास्थित कारागारमा १ सय ३ पुरुष र ९ जना छन् । डिल्लीबजार कारागारमा २२ जना र नख्खु कारागारमा २२ जना भारतीय कैदीबन्दी रहेका छन् । चोरी, बालात्कार तथा ठगी अन्य विविध कसुरमा भारतीयहरू काठमाडौं उपत्यकाका कारागार छन् । कारागार विभागका अनुसार करिब ११ सय भारतीय कैदीबन्दीहरू छन् । महिला र पुरुष दुवै भारतीयहरु मुलुकभरका विभिन्न कारागारमा रहेका छन् । नयाँ अवसर देखाएर अपराध नेपाल भारत खुला सीमा भएका हुँदा अपराध हुने मुख्य कारण बनेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्ले बताउँछन् । नेपालमा अपराध गरेर सहजै लुकेर भारततर्फ जान सकिने मानसिकता बनाएर पनि अपराध गर्न आउनेहरू पनि भेटिएको उनको भनाइ छ । ‘नेपालीलाई छिटो प्रलोभनमा पारेर ठगी जस्ता कार्यमा संलग्न हुने गरेका छन्,’ उनले भने, 'नयाँ-नयाँ अवसरका अफरहरू लिएर आउने भएकै कारण नेपालीहरू फस्ने भएकाले नेपालीहरू भारतीयको बन्धनमा पर्छन् । अन्त्यमा भारतीयहरू अपराध गर्न लालायित भएका छन् ।' प्रहरीका अनुसार भारतीयहरू मुख्यतया लागुऔषध, चोरी, जुवा र अवैध मुद्रा एवं सुन कारोबार तथा अभद्र व्यवहारको मुद्दा कसुरमा भारतीयहरू संलग्न भएका छन् । भन्सार छली गरेको आरोपमा केही भारतीयहरू पक्राउ परेका छन् । भारतीयहरू नेपालमा अपराध गर्ने नियतै बनाएर नेपाल प्रवेश गर्ने गरेको प्रवक्ता काफ्लेको भनाइ छ । नेपालमा आएर गलत सोच र आपराधिक क्रियाकलापमा संलग्न भएकासँग उनीहरूले उठबस बढाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । पछिल्लो समय प्रहरीले खुला सीमाकै कारण अपराध बढेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । प्रहरीले सीमा क्षेत्रका ग्रामीण भेगमा प्रहरीले सूक्ष्म ढंगले निगरानी गरिरहेको काफ्लेले बताए । सीमा क्षेत्रमा अपराध नियन्त्रण गर्नका लागि आधुनिक प्रविधिको प्रयोगलाई बढाइएको उनले उल्लेख गरे । सीमा क्षेत्रमा हुने अपराधलाई मुख्य चुनौती ठानेर प्रहरीले आवश्यक काम गरिरहेको उनले प्रस्ट पारे । ‘नेपालभित्र काम गर्ने स्थानमा भारतीयहरूको आपराधिक क्रियाकलाप रेकर्ड छ या छैन भनेर मात्र काममा राख्नुपर्ने हुन्छ,’ काफ्लेले अगाडि भने,’ कसैको पनि शङ्कास्पद गतिविधि देखेमा वा लागेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्नुपर्ने हुन्छ ।' भारतीयका लागि नेपाल अपराधको उर्वरभूमि नेपालमा विशेषतः माग्ने र व्यापारिक प्रयोजनका निम्ति भारतीयहरू प्रवेश गर्ने गरेको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा समाजशास्त्री दिपेश घिमिरे बताउँछन् । नेपालमा औपचारिक भन्दा बढी अनौपचारिक ढंगले नेपाल प्रवेश गर्ने भारतीयको संख्या बढी रहेको उनको भनाइ छ । कतिपय अवस्थामा नेपालमा आएर व्यापार गर्नेहरू पनि अपराध लाग्ने गरेको उनले बताए । लेनदेनको सवालमा सामान्य वादविवादले अपराधको विन्दुमा पुर्याउने गरेको उनको भनाइ छ । ‘नेपालमा आएर कुनै न कुनै किसिमले अपराध गर्नेहरू भनेका आफूलाई लाग्ने तल्लोस्तरका काम गरेको ठान्नेहरू अपराधमा संलग्न भएको पाइन्छ,’ उनले भने,’ माग्न आएकाहरू तथा निर्माण संरचनाको क्षेत्रमा काम गर्नेहरू विभिन्न अपराधको कसुरमा भेटिएका छन् ।' खुला सीमाबाट सहजै आवतजावत गर्न सकिने र अपराध गरेर लुक्न सकिने भन्ने मनोविज्ञानले काम गर्दा पनि भारतीयलाई आपराधिक क्रियाकलापमा लागेको पाइने घिमिरेले बताए । मधेस क्षेत्रमा लागु पदार्थको कारोबारी बढ्नुमा खुला सीमालाई एक मुख्य कारण मान्न सकिने उनको भनाइ छ । अधिकांश लागु पदार्थ भारतबाट आयात हुने उनले बताए । घिमिरेले सीमालाई व्यवस्थापन गर्न नसक्दा र आवतजावत गर्नेको तथ्यांक नराख्दा अपराध न्यूनीकरणमा ठोस कदम चाल्न नसकेको उल्लेख गरे । शिक्षाबाट वञ्चित भएकाहरू नेपालमा आएर अपराध गर्नेहरू भेटिएको उनले प्रस्ट पारे । भारतमा शिक्षाको मुलभुत ज्ञान नपाएकाहरूले नेपाललाई अपराधको उर्वरभूमि मान्ने गरेको उनले बताए । राज्य प्रणालीले यस्ता सीमापारका व्यक्तिबाट हुने अपराध नियन्त्रण गर्न आवतजावत गर्नेको तथ्यांक राख्नलाई उनले सुझाए । नेपालमा आएर काम गर्नेहरूको आपराधिक चारित्रिक प्रमाणपत्र माग गरेर राख्नुपर्ने घिमिरेको भनाइ छ । नेपालभित्र विदेशी नागरिकले गर्ने कार्यहरूको निगरानी नागरिकको तहबाट हुनुपर्ने उनले बताए । भारतीय व्यापारीहरूले नेपालमा गर्ने गतिविधिको निगरानी गर्नुपर्ने र रेकर्ड राख्नुपर्ने उनको भनाइ छ । अपरिचित व्यक्तिसँग अनावश्यक लेनदेन तथा काम गर्नुपर्दा नागरिक आफैँ सचेत हुनुपर्ने घिमिरेले बताए । खुला सीमाकै कारण दुवै देशका नागरिकले लाभ र हानि व्यहोरिरहेको हुन सक्ने उनले बताए ।
पर्यटक बनेर नेपाल प्रवेश, अपराध गरेर डिपोर्ट
घटना- १ ः एक साताअघि चीन जान लागेको अवस्थामा चिनियाँ नागरिक ७ हजार ५ सय अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे । चाइना स्ट्रन एयरलाइन्सबाट चीनको कुमिनाङ जान लाग्दा मो युलुङ विमानस्थलभित्र चेकजाँचको क्रममा पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिनसाथ राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको थियो । घटना- २ ः त्रिभुवन विमानस्थलबाट जेठ २८ गते दुई जना बंगलादेशी नागरिक पक्राउ परे । मलेसिया उड्न लागेको अवस्थामा उनीहरूको साथबाट १ हजार अमेरिकी डलर र २० हजार मलेसियन रिंगेटसहित उनीहरूलाई विमानस्थलका सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए । मोहम्मद इन्ताज अली र एमडी जाकिर होसिन पक्राउ परेका थिए । पक्राउ लगत्तै प्रहरीले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । घटना- ३ ः चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो केही समयघि फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेको अवस्थामा पक्राउ परे । वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलरसहित उनी पक्राउ परे । लगतै प्रहरीले पनि नियन्त्रण लिनसाथ राजश्व अनुसन्धान विभागको कार्यालयमा पठाएको थियो । प्रत्येक वर्ष विदेशीहरू पर्यटकको रुपमा नेपालमा भित्रिने गरेका छन् । उत्तिकै संख्यामा पर्यटकको रुपमा भित्रिए पनि अपराधमा उत्तिकै संलग्न भएको पाइएको छ । पर्यटकका रुपमा आउँदा विभिन्न उद्देश्यसहित विदेशीहरू आउँछन् । केही समयसम्म पर्यटक भिसामा रहे पनि उनीहरू गैह्रकानुनी काममा लाग्ने गरेको पाइएको छ । केही समय हिमाली तथा ग्रामिण भेगमा घुमे पनि बिस्तारै उनीहरूले आफ्नो उद्देश्य परिवर्तन गर्ने गरेको पाइएको छ । पर्यटक भिसाको दुरुपयोग गरेकै कारण उनीहरू प्रहरी हिरासतमा पुग्न थालेका छन् । प्रत्येक वर्ष पर्यटक भिसाको दुरुपयोग गर्ने पर्यटकको संख्या उत्तिकै बढ्दै गइरहेको छ । विदेशीहरू नेपालमा आएर पर्यटक भन्दा पनि अभियुक्त बन्ने गरेको खुलेको छ । विदेशी पर्यटक आफ्नो मुलुकमा पुगेर नेपालको प्राकृतिक दृश्य तथा कला संस्कृतिको प्रचार गर्छन् । तर, केही पर्ययटक भने गैह्रकानुनी काम गरी पर्यटक भन्दा पनि अभियुक्त बनेर प्रहरी हिरासत अथवा कारागारामा बस्न थालेका छन् । पछिल्लो समय विदेशीहरू नेपालमा आएर विदेशी मुद्रा सञ्चिति तथा बैंकिङ् कसुरमा पक्राउ पर्न थालेका छन् । विदेशी मुद्राहरू अपचलन तथा ओसारपसार संलग्न रहेको आरोपमा विदेशी पर्यटक सामेल हुने गरेको अध्यागमन विभागले जनाएको छ । बैंकिङ कसुरमा तथा विदेशी मुद्रा सञ्चिति मुद्दामा चिनियाँ ८, बंगलादेशी २ र नाइजेरियनलाई प्रहरीले पक्राउ गरेको थियो । विदेशी मुद्रा अपचलन गरेका आरोपमा मुद्दा खेप्ने र मुद्दाको किनारा लागेपछि अध्यागमन विभागले त्यस्ता विदेशी नागरिकलाई डिपोर्ट गरिदिने गरेको छ । एशियन मुलुकका पर्यटकहरू सामान बिक्री गर्न आउने भएकाले उनीहरूका साथबाट विदेशी मुद्रा फेला पर्ने गरेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बताए । विमानस्थलमा चेकजाँचको क्रममा विदेशी रकम फेला पर्ने गरेको उनको भनाइ छ । 'बंगलादेशीहरू भने कपडा व्यापारी रहने गरेको खुलेको छ, 'उनले भने, 'कपडा बिक्री गरेर स्वदेश फर्कदा विदेशी रकम साथमा बोकेर लैजाँदा फेला पर्ने गरेको छ ।' कतिपय विदेशीले सुन र कपडा खरिद गर्न विदेशी मुद्रा साथमा लैजाने गरेको उनको भनाइ छ । विदेशमा रहेका नेपालीहरूले विदामा फर्कने नेपालीलाई नेपाली पैसा माग गर्ने गरेको सिलवालले खुलाए । विदेशमा रहेका नेपालीले विदामा आएर फर्केका नेपालीसँग पैसा मगाउँने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको उनले बताए । चिनियाँ नागरिकले नेपालमा रहँदा खर्च गर्न नसकेका विदेशी मुद्रा साथमा लैजाने गरेको उनले प्रस्ट पारे । नियम विपरीत पैसा बोकेको पाइएमा प्रहरीले त्यस्ता विदेशी नागरिकलाई नियन्त्रणमा लिने गरेको छ । विदेशी नागरिकले नेपालमा रहँदा अमेरिकन ५ हजार साथमा राख्न पाउँछन् । भारतीय नागरिकले पाँच हजार अमेरिकन डलर बराबरको पैसा साथमा राख्न पाउने व्यवस्था रहेको छ । व्यवसायी र राज्य जिम्मेवारी बनून् विदेशी पर्यटकले नेपालमा अवाञ्छित गतिविधि नगरुन भनेर राज्य जिम्मेवारी बन्नुपर्ने ठमेल पर्यटन विकास परिषदका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी भवी शर्मा बताउँछन् । उनका अनुसार राज्य भित्र रहेका तीन निकायहरुको समन्वयकारी भूमिका हुनुपर्छ । अध्यागमन विभाग जिम्मेवार पर्यटकका लागि ट्रयाक सिस्टम लागु गर्ने पर्ने उनले बताए । ‘पर्यटक कता गएर बसेका छन् । कस्ता गतिविधि गर्या छन्रु त्यसको निरन्तर अपडेट तथा भिसाको अवधि कतिसम्म छ भनेर समय-समयमा जानकारी दिनुपर्छ,’ उनले भने । शर्माले पर्यटकले गरेका गतिविधिका जानकारी राज्यले निरन्तर राख्नुपर्ने बताए । दैनिक गरेका गतिविधिहरू अपडेट गर्न लगाएमा पर्यटकको सुरक्षा तथा राज्य जिम्मेवारी भएको देखिन सक्ने उनले बताए । पर्यटकलाई लक्षित एप बनाउनु उनले सुझाए । व्यवसायीले पनि नाफामुखी भएर पर्यटकले गरेका व्यवहार तथा गतिविधिलाई बेवास्ता गर्न नहुने उनको तर्क छ । पर्यटकले गलत गरेको जस्तो लागेमा व्यवसायीले राज्यलाई सूचना दिएर जिम्मेवारी बन्नुपर्ने उनको भनाइ छ । ‘विदेशीलाई नेपाल खुला मुलुक हो । यहाँ आएर जे पनि गर्न पाइन्छ भन्ने भाव छ । त्यस्तो खालको सन्देश जान दिन भएन,’ उनले अगाडि थपे,’ कानुन छ भनेर आभास दिलाउनुपर्छ । जोसुकैलाई भिसा दिनु भएन । विगतमा नेपाल आएर गएको कस्तो रेकर्ड छ त्यसको सम्पूर्ण विवरण हेरेर मात्र भिसा दिनुपर्छ ।‘ राज्य र व्यवसायी सबैभन्दा बढी सजग हुनुपर्ने शर्माले उल्लेख गरे । पर्यटक पनि आफैँ सजग भएमा पर्यटक भिसाको दुरुपयोग रोकिने उनको भनाइ छ । पर्यटकलाई अध्यागमन कानुनको नियमित जानकारी दिनुपर्ने उनले प्रस्ट पारे । पर्यटक भिसाको दुरुपयोग बढ्दै पर्यटक भिसामा नेपाल प्रवेश गरी अध्यागमन कानुन विपरीत कार्य गरेकालाई आवश्यक कानुनी कारबाही गरी निष्कास गरिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् । केही समयका लागि नेपाल प्रवेशको रोक लगाइ उनीहरूलाई आफ्नो मुलुक पठाउने गरिएको उनको भनाइ छ । उनका अनुसार पर्यटकहरू बैंकिङ कसुर, विदेशी मुद्रा अपचलन, ओभर स्टे, लागु औषध कारोबारी, जाली राहदानी-जाली भिसा, मानवबेचबिखन ओसारपसार, बिना राहदानी नेपाल प्रवेश गर्ने गरेका र ठगी जस्ता मुद्दामा पर्यटकहरूं पर्छन् । उनीहरूलाई नेपालको कानुन बमोजिम कारबाही गरी डिपोर्ट गरिएको छ । डिपोर्टमा पर्ने विदेशीहरूमा चीन, बंगलादेश, अमेरिका, बेलायत र पाकिस्तानका नागरिकहरू रहने गरेको ढकालले विकासन्युजलाई जानकारी दिए । अन्य मुलुकका पनि नागरिकहरू निष्काशनमा पर्ने गरेको उनको भनाइ छ । अध्यागमन कानुनको उल्लंघन गर्ने सबै पर्यटकलाई कानुन बमोजिम कारबाही गरिएको ढकालको भनाइ छ । केही वर्ष नेपाल आउन प्रतिबन्ध लगाइने उनले बताए । अध्यागमन विभागका अनुसार पाँच वर्षमा विभिन्न मुलुकका गरेर २ हजार २४५ पर्यटक नेपालबाट डिपोर्ट भएका छन् । उनीहरू विभिन्न किसिमका अपराधमा संलग्न भएका थिए । प्रत्येक वर्ष अध्यागमनका नियम उल्लंघन गर्ने पर्यटकको संख्या बढ्दै गएका छन् । सन् २०२५ मा ओभरस्टेमा ४५९, विभिन्न मुद्दा परेर ६४ जना गरेर ५ सय २३ जना डिपोर्ट भएका थिए । सन् २०२४ मा ओभरस्टे ४५१, विभिन्न मुद्दामा ५० जना कुल ५ सय १ जना, सन् २०२३ मा ४१२ ओभरस्टे, ४६ मुद्दा र कुल ४५८ जना डिपोर्ट भएका थिए । त्यसैगरी, सन् २०२२ मा ओभरस्टे ५३४, मुद्दामा परेका ३६ जना र कुल ५७० जना डिपोर्ट भएका र सन् २०२१ मा १९३ जना ओभरस्टे, २५ मुद्दा र १९३ जना डिपोर्ट भएका थिए । विदेशी भिसादारी पर्यटकहरू नेपालमा एक वर्षमा १ सय ५० दिन बस्न पाउने छन् । पर्यटकले पटक-पटक भिसा थप गर्न पाउँछन् । पहिलोपटक १५ दिन, दोस्रो पटक ३० र अन्तिम पटक ९० दिनको भिसा थप गर्न पाउने व्यवस्था रहेको छ ।
डिजिटल कारोबारसँगै मौलायो वित्तीय अपराध
काठमाडौं । घटना– १ एक साताअघि फेसबुक चलाइरहेका बेला सुवर्ण यादवको मेसेन्जरमा सुमित मण्डलको नामबाट मेसेज आयो, ‘विमानस्थलको अध्यागमन विभागमा मलाई रोकिएको छ । मलाई अप्ठयारो पर्यो । ५० हजार रुपैयाँ तुरुन्तै चाहियो,’ उनको मेसेजमा लेखिएको थियो । सुवर्णले आफूसँग पैसा नभएको बताए । केही समयलगत्तै पुनः सुमितले ‘२० हजार पठाइदिएको छु तर मलाई ५० हजार पठाएमात्र निकाल्न मिल्छ’ भन्दै मेसेज गरे । तिनले सुवर्णलाई ह्वाट्सएपमा क्युआरकोडसमेत पठाए । उनको मेसेजले सुवर्ण लोभिए । उनलाई कृषि विकास बैंकको क्युआर ह्वाट्सएपमा आयो । सुवर्ण हौसिए र आफू काम गर्ने अफिसको प्रमुखसँग मागेर ५० हजार पठाए । पटक–पटक गरेर उनले १ लाख ५० हजारजति पठाए । केही क्षणमै अध्यागमन विभागमा भएको दावी गर्ने ती व्यक्तिले उनलाई मेसेन्जरमा ब्लक गरिदिन्छन् । त्यसपछि बल्ल सुवर्णले आफू ठगिएको थाहा पाए । घटना– २ कपिलवस्तुबाट प्लस टु अध्ययन गर्न सीता मगर काठमाडौं आइन् । केही दिन आफन्तकोमा बसिसकेपछि उनले बिस्तारै कोठा खोजेर बस्ने योजना बनाइन् । उनी पनि सामाजिक सञ्जालमा चलाइरहन्थिन् । फेसबुकमा कोठा खोजिदिने विज्ञापन उनले देखिन् । कोठा आवश्यक परे म्यासेज र कल गर्नु भनेर आकर्षक विज्ञापन देखिन् । सीतालाई एउटा कोठा चाहिएको थियो । उनले आफ्नो आवश्यकताअनुसार कोठा विज्ञापनमा देखिन् अनि उनले तुरुन्तै विज्ञापनमा देखिएको नम्बरमा फोन गरिन् । कुराकानीकै सिलसिलामा उनले कोठा खोज्नुभन्दा अगाडि एडभान्स पैसा हाल्नुपर्ने शर्त थाहा पाइन् । कोठा खोजिदिने अफिसले पनि उनलाई अगाडि सेवा शुल्कस्वरूप ५ हजार हाल्दिनुपर्ने बताइन् । सीताले पैसा दिएको एक सातामा कोठामा पाउने शर्तमा पैसा दिइन् । पैसा दिएको केही दिनसम्म ती व्यक्ति निरन्तर उनको सम्पर्कमा थिए । कोठा खोजिदिने र खोजिरहेको मात्र जवाफ पाउने गर्थिन् उनी । दुई सातासम्म कोठा खोजिरहेको मात्र जवाफ पाएपछि सीताको मनमा चिसो पस्यो । केही दिनपछि उनले पुनः सम्पर्क गर्न खोज्दा फोन अफ थियो । कोठा खोजिदिने मानिसले उनलाई ह्वाट्सएप र फेसबुकमा ब्लक गरिसकेका थिए । सीताले सबैतिरबाट ब्लक भएको पाएपछि आफू ठगिएको थाहा पाइन् । न उनले कोठा पाइन् न त पैसा । त्यसपछि उनी उजुरीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगिन् । घटना– ३ केही महिनाअघि बिदा मनाउन चन्द्र श्रेष्ठ नेपाल आए । बिदा सकिएपछि उनलाई फेरि कतार जानु थियो । उनी पहिलो बिदामा नेपाल आउँदा कम्पनीले नै टिकट उपलब्ध गराएको थियो । पुनः कतार जानुपर्ने हुनाले उनले काठमाडौंकै ट्राभल्समा अनलाइनबाट सम्पर्क गरे। 'ब्लु स्काइ' ट्राभलको नामले प्रहरीकोमा उजुरी परेको छ । चन्द्रले सामाजिक सञ्जालबाट ट्राभल्ससँग सम्पर्क गरेका हुन् । उनले सबैथोक अनलाइनबाट हुने भएकाले पनि ट्राभल्सको अफिस धाइरहनु पर्ने झन्झट बेहोर्न चाहेनन् । ट्राभल्सको फेसबुक पेजमा सम्पर्क गर्दै उनले मेसेज गरे, ‘कतार जानका लागि टिकट काट्न पाइन्छ ?’ । ट्राभल्सको पेजबाट पनि अगाडि टिकट बुक गर्न पैसा लाग्ने जवाफ पाए । उनले पनि पैसा पठाइदिने बताए । मेसेन्जरमा उनले कुमारी बैंकको क्युआर पाएलगत्तै उनले पैसा पठाए । श्रेष्ठले पैसा पठाए पनि टिकटको कन्फर्मेसन भने पाएनन् । टिकट बुक गर्न पैसा हालेको त्यसको न रिसिभ पाए न बुक भएको मेसेज नै पाए । उनलाई ट्राभल कम्पनीको पेजबाट केही मिनेटमै फेसबुकबाट ब्लक गरियो । त्यसपछि बल्ल उनले आफू ठगिएको थाहा पाए । लगत्तै उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे । प्रविधिले वित्तीय क्षेत्रमा सहजता बढाएको छ । सहजता र सुविधासँगै वित्तीय क्षेत्रमा जोखिम पनि बढाएको छ । प्रयोगकर्ताहरू दिनहुँ डिजिटल ठगीको सिकार भइरहेका छन् । मानिसहरूलाई भुक्तानी गर्न टाढा–टाढा जानुपर्ने झन्झटबाट मुक्त भएका छन् । यसले गर्दा मानिसको समय बचत र प्रविधिको प्रयोगले सहजतासमेत थपेको छ । नेपालमा विद्युतीय भुक्तानी सेवा स्थापित भइसकेको छ । डिजिटल कारोबार लोकप्रिय बन्दै गएको देखिन्छ । जति–जति प्रविधिको विकास उत्ति नै वित्तीय अपराधको जोखिम पनि बढेर गएको छ । पछिल्लो समय मानिसहरूले उपहार परेको, कोठा खोजिदिने, बैंकबाट बोलेको तथा अनलाइनस सपिङ् गर्नका भनेर ठगीको धन्दा बढिरहेका छन् । प्रविधिको विकास भए पनि वित्तीय साक्षरता नबढ्दा मानिसहरू आर्थिक कारोबारमा फस्न थालेका हुन् । सोसल मिडिया ह्याक तथा फेक आइडी, बैंक तथा वालेट अफिसबाट बोलेको, बैंक तथा वालेट ह्याक गरेर ओटीपी, लट्री तथा पार्सल पठाएको, वैदेशिक रोजगारको प्रलोभन, भिडियो सेयरिङ ब्लाक मेलिङ, अनलाइन जब, अनलाइन टिकेटिङ, मास्टर कार्ड गेमिङ, अनलाइन मार्केटिङ तथा अनलाइन सपिङ र अनलाइन ट्युसन जस्ता कार्यमा ठगी गर्ने बढेका छन् । यी सबै ठगीमा पैसाको कारोबार हुने गरेको छ । कुनै न कुनै हिसाबले मानिसहरू ठगिने गरेका छन् । ठूला–ठूला रकम बैंक खातामा र सानामा क्युआर साइबर ब्यूरोका अनुसार विभिन्न शीर्षकमा ठगी भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार ६४२ वटा वित्तीय ठगीको उजुरी परेको थियो । ३ हजार बढी क्युआरबाट ठगीमा परेका उजुरीकर्ताहरू छन् । ब्यूरोले थोरै–थोरै रकम क्युआरबाट कारोबार हुने गरेको खुलेको बताउँछ । अधिकांश वित्तीय ठगीको उजुरीमा बैंक खातादेखि क्युआर पठाएर ठगी हुने गरेको ब्यूरोका प्रवक्ता दिलिप गिरी बताउँछन् । उनका अनुसार ठूला–ठूला रकम ठगिनेमा खातामा उजुरीकर्ताले बैंक खाता पठाउने गरेको खुलेको छ । साना कारोबारमा भने विभिन्न बैंक तथा अन्य क्युआर कम्पनीका क्युआर स्क्यान पठाएर ठगी गर्नेहरूको संख्या बढेको छ । प्रवक्ता गिरीका अनुसार वित्तीय साक्षरता हुँदाहुँदै पनि शिक्षित पुरुष तथा गृहिणीहरू डिजिटल कारोबारीको ठगीमा पर्ने गरेका छन् । नेपालीहरूमा अझै पनि वित्तीय साक्षरता भइनसकेको उनले जानकराी दिए । ‘सित्तैमा कसैले पैसा र उपहार दिँदैनन् । तर मानिसहरू अनाहकमा सामाजिक सञ्जालको आकर्षक विज्ञापन देखेर ठगीमा पर्ने गरेको छन्,’ प्रवक्ता गिरीले भने । ठगीमा पर्ने महिला धेरै फेसबुकमा अपरिचित कम्पनी र व्यक्तिले गरेका विज्ञापनबाट ठगिनेको संख्या बढिरहको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले जानकारी दिए । विज्ञापनको रोजगार, पार्सल आएको र सामान खरिद गरेर ठगीमा परेको भन्दै उजुरी दिनेको संख्या बढिरहेको उनको भनाइ छ । ‘दैनिक ५० जनाको हाराहारीमा निवेदन लिएर आउने गरेका छन्,’ ती अनुसन्धान अधिकृतले विकासन्युजसँग भने, ‘अनलाइन स्क्याममा परेका भन्दै पीडितहरू आउँछन् । तर उनीहरूले क्युआरबाट पैसा पठाउने गरेका छन् ।’ उनका अनुसार ५ हजारदेखि २ लाखसम्म ठगीमा परेको भन्दै उजुरी लिएर आउने गरेका छन् । उनले अधिकांश पीडितहरू २० देखि ३५ वर्ष उमेर समूहका मानिसहरू रहेको जानकारी दिए । पुरूषभन्दा बढी महिलाहरू अनलाइनका विभिन्न प्लेटफर्मको स्क्याममा पीडित बनेका छन् । २ हजार उजुरीमध्ये १८ सय क्युआरबाट पैसा पठाएर ठगीमा पर्ने गरेको ती अधिकृतले बताए । ग्राहकले कारोबारको निरीक्षण गर्नुपर्ने ग्राहकले बेला–बेलामा कस्तो कारोबार भइरहेको भनेर हेर्नुपर्ने फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवसकुमार सापकोटा बताउँछन् । गलत बाटोबाट वा सही तरिकाले पैसा आएको हो होइन, त्यसलाई पहिचान गरेमा पनि कानुनको फन्दामा नपरिने उनको बुझाइ छ । ‘ह्याक गरेर पैसा लानेले पनि अन्तिममा एउटै खातामा लैजाने गरेका छन्,’ सापकोटाले भने, ‘बैंक तथा ग्राहकले सुरुमा थाहा पाउन सकेमा त्यस्तो ठगीबाट बच्न सकिन्छ ।’ सीईओ सापकोटाका अनुसार ह्वाटस्एप नम्बर अरूले थाहा पाएर ह्याक हुने सम्भावना बढी हुन्छ । ग्राहकले कसरी पैसा आएको र किन आएको छ भनेर पत्ता लगाउन सकेमा यस्तो अवस्था सिर्जना नहुने बताउँछन् । असामाजिक प्रवृत्ति भएकाले गर्छन् सोसल मिडियामा अपराध डिजिटाइलेजसनको माध्यमबाट हुने अपराध फरक विशेषता भएका मानिसले मात्र गर्न सक्ने मानसिक अस्पताल पाटनका डा. अनन्त अधिकारीले जानकारी दिए । असामाजिक प्रवृत्ति भएका मानिसहरू अपराधिक गतिविधिमा सहभागी हुने गरेको उनको ठम्याइ छ । ‘मानव मनोविज्ञानको एउटा मुख्य शत्रु भनेको अपराध गर्न तयार रहनु हो । प्रविधिको विकाससँगै मानिसहरूले यसलाई अपराधीकरणको साधन बनाएका छन्,’ डा. अधिकारी भन्छन्, ‘पुरानो समयमा भौतिक रुपमा लुट्ने, चोर्ने र हत्या गर्थे । अहिले भने समयको विकाससँगै प्रविधिको विकासले अपराध गर्ने माध्यम फेरियो । मानिसहरूले डिजिटिल माध्यमलाई अपराध गर्ने स्थान बनाएका छन् ।’ डा. अधिकारीले भौतिक संसारमा जस्तो घटना हुन्थ्यो भर्चुअल माध्यममा त्यस्तै घटना दोहोरिन थालेको बताए । खराब मनोवृत्ति भएकाले गलत कर्ममा लाग्ने गरेको उनको भनाइ छ । आपराधिक मनोवृत्ति भएका मानिसहरूले सोसल मिडियामा पूर्णरुपमा अध्ययन गरेर मात्र विज्ञापन गर्ने डा. अधिकारीको बुझाइ छ । उनीहरूले सामाजिक सञ्जाललाई आर्थिक उपार्जनको माध्यम ठानेर अपराध कर्म गर्ने गरेको उनले बताए ।
महानिर्देशक अर्यालले सोमबार प्रधानमन्त्रीलाई भेटेका थिए, यस्तो छ घटनाको नालीबेली
काठमाडौं । पाँच वर्षअघि फ्रान्सेली कम्पनीलाई दिइएको ई-पासपोर्ट छपाइको ठेक्का सकिन केही दिन मात्रै बाँकी छ । तर, नयाँ कम्पनीले ठेक्का पाइसकेपछि पनि पुरानै कम्पनीलाई निरन्तरता दिने प्रयास भएको आशंकाबीच राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगे । यसले राहदानी छपाइ ठेक्काको बहुचर्चित प्रकरण फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ । विशेष अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । अख्तियारले ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितता, मिलेमतो र निर्णय प्रक्रियामा भएको चलखेलबारे अनुसन्धान अघि बढाएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको प्रक्रिया तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सुरु भएको थियो । २०७५ असार ३२ गतेको मन्त्रिपरिषद् बैठकले राहदानी विभागलाई ई–पासपोर्ट छपाइका लागि सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि २०७६ भदौ १५ गते अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको थियो । उक्त प्रतिस्पर्धामा फ्रान्सको आईडीईएमआईए आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनीले करिब २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ बराबरको प्रस्ताव पेश गर्दै ठेक्का हात पारेको थियो । त्यसयता नेपाली नागरिकका लागि ई–पासपोर्ट उत्पादन र आपूर्तिको जिम्मेवारी यही कम्पनीले सम्हाल्दै आएको छ । तर, अब उक्त कम्पनीको सम्झौता अवधि साउनको दोस्रो साता समाप्त हुँदैछ । ठेक्का पाइसके जर्मन कम्पनीले आईडीईएमआईएको अवधि सकिनुअघि नै सरकारले नयाँ कम्पनी छनोट गरिसकेको छ । जर्मनीका भेरिडोस जीएमबीएच र म्युहलबाउर आइडी सर्भिस जीएमबीएचले राहदानी छपाइको नयाँ ठेक्का पाएका छन् । ठेक्का सम्झौताअनुसार म्युहलबाउरले पहिलो प्याकेजअन्तर्गत करिब १ अर्ब ५५ करोड रुपैयाँको काम गर्नेछ भने भेरिडोसले दोस्रो प्याकेजअन्तर्गत ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँको जिम्मेवारी पाएको छ । यदि सरकारबाट कुनै नयाँ निर्णय भएन वा अन्तिम समयमा कुनै नाटकीय मोड आएन भने साउनको दोस्रो सातादेखि यी दुई जर्मन कम्पनीले नेपाली राहदानी छाप्ने काम सुरु गर्नेछन् । राहदानी विभागका प्रवक्ता सोमेश थापाले पनि पुरानो कम्पनीको अवधि समाप्त हुन लागेको र अब नयाँ कम्पनीमार्फत राहदानी उत्पादन प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । प्रधानमन्त्री कार्यालयको चासो महानिर्देशक अर्याल पक्राउ पर्नुअघि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार त्यहाँ नयाँ र पुराना राहदानी छपाइ कम्पनीहरूको सम्झौता अवधि, ठेक्का कार्यान्वयनको अवस्था तथा आगामी व्यवस्थापनबारे छलफल भएको थियो । प्रधानमन्त्री कार्यालयले विशेष गरी पुरानो कम्पनीको अवधि कहिले सकिन्छ, नयाँ कम्पनीले कहिलेदेखि काम सुरु गर्छ र ठेक्का कार्यान्वयनमा कुनै समस्या छ कि छैन भन्ने विषयमा जानकारी लिएको बताइएको छ । स्रोतका अनुसार यही क्रममा पुरानो कम्पनीलाई निरन्तरता दिने प्रयास भइरहेको भन्ने सूचना प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो । राहदानी विभागका एक कर्मचारीका अनुसार जर्मन कम्पनीहरूले कानुनी रूपमा ठेक्का पाइसकेपछि पनि पुरानै कम्पनीलाई काम दिने वातावरण बनाउन खोजिएको आशंका सरकारी निकायहरूमा उत्पन्न भएको थियो । ‘नयाँ कम्पनीले विधिवत् ठेक्का पाइसकेको अवस्थामा पुरानो कम्पनीलाई निरन्तरता दिने प्रयास किन भइरहेको छ भन्ने प्रश्न उठेको थियो,’ ती कर्मचारीले भने, ‘यही विषयले प्रधानमन्त्री कार्यालय र अख्तियार दुवैको ध्यान तानेको देखिन्छ ।’ उनका अनुसार यदि पुरानै कम्पनीलाई फेरि काम दिने प्रयास भएको प्रमाणित भयो भने त्यसमा विभाग मात्र नभई मन्त्रालय तहसम्मका अधिकारीहरूको भूमिकाबारे पनि प्रश्न उठ्न सक्छ । राहदानीको नयाँ ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौं रुपैयाँको अनियमितता गरिएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो । प्रधानमन्त्री कार्यालयका एक सदस्यका अनुसार अख्तियारले राहदानी छपाइसम्बन्धी निर्णय प्रक्रिया, ठेक्का कार्यान्वयन, कम्पनी छनोट तथा पुरानो कम्पनीलाई निरन्तरता दिन खोजिएको भनिएको प्रयासमाथि विशेष चासो राखेको छ । ‘उजुरी परेकाले अनुसन्धान सुरु भएको हो । अनुसन्धानको केन्द्रमा ठेक्का प्रक्रिया र त्यससँग सम्बन्धित निर्णयहरू छन्,’ ती सदस्यले बताए । नेपालमा राहदानी छपाइजस्ता संवेदनशील ठेक्कामा सहभागी हुने अधिकांश विदेशी कम्पनीले स्थानीय एजेन्ट कम्पनीमार्फत काम गर्दै आएका छन् । त्यसैले ठेक्का प्रक्रियामा विदेशी कम्पनीसँगै नेपालका एजेन्ट कम्पनीहरूको भूमिकामाथि पनि अनुसन्धान केन्द्रित हुन सक्ने अनुमान गरिएको छ ।