विकासन्युज

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएको छ ।      जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी बिहीबार रिहा भएका हुन् । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत रहेका थिए ।      अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन् ।      सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् । आयोगको  प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।       

सामुदायिक विकासका लागि मेटलाइफको ६.५ मिलियन डलर सहयोग

काठमाडौं । मेटलाइफ फाउन्डेसनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम (CIGP) अन्तर्गत नेपालसहित विभिन्न देशका गैरसरकारी संस्थाहरूलाई सामुदायिक आवश्यकता सम्बोधन गर्न आर्थिक सहयोग प्रदान गरेको छ । फाउन्डेसनले विश्वभरका संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको जनाएको छ । उक्त कार्यक्रममार्फत खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, वातावरणीय दिगोपन तथा समुदाय सशक्तीकरण क्षेत्रमा काम गर्ने संस्थाहरूलाई सहयोग गरिएको हो । यस वर्ष विश्वभरका १०० भन्दा बढी संस्थाले अनुदान प्राप्त गरेका छन्, जसमा नेपालका दुई संस्था पनि समावेश छन् । सोलुखुम्बुको सोलुचामले ‘Awake’ परियोजनाका लागि दुई वर्षको अवधिमा १,१०,००० अमेरिकी डलर अनुदान प्राप्त गरेको छ। परियोजनामार्फत तीन हजारभन्दा बढी स्थानीयलाई वातावरण संरक्षणसम्बन्धी तालिम, फोहोर व्यवस्थापन, वृक्षरोपण तथा पानी र सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, सोसेक नेपालले ‘SAFE’ कार्यक्रमका लागि दुई वर्षका लागि १,००,००० अमेरिकी डलर सहयोग पाएको छ । कार्यक्रमले किसान, युवा तथा साना व्यवसायलाई दीर्घकालीन खाद्य सुरक्षा, सीप विकास, आर्थिक सुदृढीकरण र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । मेटलाइफ फाउन्डेसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेसले समुदायको समग्र कल्याण सुधार गर्ने संस्थामा लगानी गर्दै व्यक्तिहरू र परिवारलाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य रहेको बताएका छन् । सन् २०२३ मा सुरु गरिएको यो कार्यक्रम २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको हो । हालसम्म कार्यक्रममार्फत २०७ संस्थालाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकिएको छ, जसबाट विश्वभर १.६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन् ।  

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर निर्वाचित हुने पक्का

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुने पक्का भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेसँगै उनी निर्वाचित हुने पक्का भएको हो ।  उपसभामुख पदका लागि ठाकुरको समर्थकको रूपमा रास्वपाका सांसद अशोक कुमार चौधरी रहनेछन् ।  यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् । लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक राख्दै उम्मेदवारी दर्ता गराएकी हुन् ।  धादिङकी लामाको  समर्थकका रूपमा राप्रपाकै सांसदहरू खुस्बु ओली, ताहिर अली र भरत गिरी रहेका छन् ।

उपसभामुख : श्रम संस्कृति पार्टीलाई कांग्रेस–एमालेले साथ दिने, रास्वपा राप्रपातर्फ ढल्किने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनलाई लिएर प्रमुख दलहरूबीच रोचक राजनीतिक समीकरण देखिएको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।  श्रम संस्कृति पार्टीले रुबी कुमारी ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरेको सांसद ध्रुव राईले जानकारी दिए । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने आफ्नै उम्मेदवार मैदानमा उतार्ने तयारी गरेको छ ।  राप्रपाका एक नेताका अनुसार समानुपातिकतर्फबाट निर्वाचित सांसद सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउने योजना पार्टीले बनाएको छ । हाल प्रतिनिधिसभाको सभामुख रास्वपाका नेता भएकाले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने हुन्छ । यही व्यवस्था अनुरूप दलहरूले आफ्नो रणनीति तय गरिरहेको कांग्रेस सांसद प्रकाशसिंह कार्कीले जानकारी दिए ।

ओलीको आरोप– ‘पूर्वाग्रहपूर्ण मुद्दा, प्रमाण नपुग्दा रिहा’

काठमाडौँ । केपी शर्मा ओली ले सरकारमाथि गम्भीर आरोप लगाउँदै आफूलाई पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन् । उनले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा हुनुपरेको बताए । रिहाइपछि सार्वजनिक धारणा राख्दै ओलीले आफ्नो पक्षमा आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। उनले परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति पनि सम्मान प्रकट गरेका छन् । प्रहरी नियन्त्रणका क्रममा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै उनले प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरे। ओलीले आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्नेहरूमाथि भएको दमनप्रति आपत्ति जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग राख्दै राज्य उदासीन भए आफ्नो पार्टीले खर्च बेहोर्ने चेतावनीसमेत दिएका छन्। स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी पनि उनले दिए ।

नरेशलाल समुहको प्रि बजेट छलफल : ८० भन्दा बढी अध्यक्षले भने–यो समुहले हाम्रो समस्या बुझेको छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि बजेट छलफल गराएको हो । ललितपुर स्थित हिमालय होटलमा भएको उक्त छलफलमा वस्तुगत संघ तथा महासंघतर्फका गरी ८० भन्दा बढी अध्यक्षहरू सहभागी भएका थिए भने बजेटसँग सम्बद्ध विभाग तथा महाशाखा प्रमुखहरु थिए । कार्यक्रममा बोल्ने अघिकांश वस्तुगत अध्यक्षहरूले अहिले पनि व्यवसायीका धेरै समस्याहरू रहेको र अब बन्ने बजेटमार्फत सम्बोधन हुनुपर्ने बताए । ‘उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले हामी बस्तुगत अध्यक्षहरुको गुनासो सुनाउनका लागि जसरी यो प्रि बजेट छलफल कार्यक्रम गर्नुभयो यो एकदमै सह्रानिय छ,’ कार्यक्रममा बोल्ने वस्तुगत अध्यक्षहरुले भने, ‘नरेशलाल समूहमा व्यवसायीका समस्या बुझेको र सरकारसँग लविङ गरेर व्यवसायीका माग सम्बोधन गराउन सक्ने व्यवसायीहरू उम्मेदवार रहेकाले सो समुहलाई जिताउन आवश्यक छ ।’ कार्यक्रममा बोल्ने अधिकांश वस्तुगत संघका अध्यक्षहरूले आफ्ना मागलाई सरकारले सम्बोधन नगरेको भन्दै हाल दुई तिहाइको सरकार बनेको र त्यसले सम्बोधन गर्ने बताएका थिए । कार्यक्रममा उपाध्यक्षमा उम्मेदवार नरेशलाल श्रेष्ठले अहिले व्यवसायीहरू विभिन्न कारणले गर्दा पलायन हुने अवस्था रहेको र सरकारले उनीहरुको समस्या सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने बताए । ‘कोरोना महामारीपछि नै व्यवसायीहरु एकदमै समस्यामा छन् भने जेनजी आन्दोलनपछि त उद्योगी व्यवसायीको आत्मबल नै गिरेको छ,’ उनले भने, ‘दुई तिहाई नजिकको बनेको सरकारले व्यवसायीको समस्या समाधान गर्दैै आत्मबल उचो बनाउनुको विकल्प छैन ।’ आफुले अहिले पनि व्यवसायीक हकहितमा काम गर्दै आएको र आगामी दिनमा पनि व्यवसायीको एजेण्डा लिएर सरकारसँग नीतिगत पहलका लागि काम गर्ने बताए । ‘मैले सँधै वस्तुगत संघका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायसँग बहश पैरबी गर्दै आएको छु,’ उनले भने, ‘सोही अनुरुप अहिलेपनि वस्तुगत संघसंस्थाका समस्यालाई बजेटमार्फत सम्बोधन गराउन प्रि बजेट छलफलको आयोजना गरेका हौं आशा छ आज उठेका समस्याहरुलाई सरकारले बजेटमार्फत सम्बोधन गर्नेछ ।’ यसैगरी कार्यक्रममा महासंघको वस्तुगत तर्फका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालले आफ्नो कार्यकाल महासंघको तर्फबाट सरकारसँग लविङ गरेर उद्योगी व्यवसायीको हितमा थुप्रै काम गरेको र अबका दिनमा उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफु सधैँ व्यवसायीकै साथमा रहने बताए । ‘यसअघि सरकारले निजी क्षेत्रमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्ने नियम ल्याउन लागेको थियो,’ उनले भने, ‘त्यसमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आफुहरु लागेको र त्यसलाई रोक्न सफल भएको भन्दै अहिलेको कार्यकालमा २० भन्दा बढी कानूनहरू परिमार्जन गरी व्यवसायीमैत्री बनाउन सफल भएका छौं ।’ सोही अनुरूप अबका दिनमा पनि व्यवसायीक हकहितमा काम गर्न नरेशलाल समुहलाई नै जिताउनुको विकल्प नभएको उनको भनाई छ । महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट सदस्यहरुमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सोही समुहबाट महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली चुनावी मैदानमा छन् ।  

गोरखनाथ कल्याण केन्द्रले 'धर्म नीति आधारित महाअभियान' सुरु गर्ने

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा अब पुनः एकपटक राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दैछ । गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षको सुरुवातसँगै एक महत्वाकांक्षी 'धर्म नीति आधारित महाअभियान' सुरु गर्ने घोषणा गरेको छ । केन्द्रका अनुसार यो अभियान केवल धार्मिक अभ्यासमा सीमित रहने छैन, बरु राष्ट्र निर्माणका लागि आवश्यक नैतिकता, अनुशासन र चेतनालाई पुनर्स्थापित गर्ने रणनीतिक प्रयास हुनेछ । अभियानको मूल लक्ष्य धर्मलाई कर्मकाण्डबाट मुक्त गर्दै जीवन, समाज र राज्य सञ्चालनको आधार बनाउनु हो । यसका निम्ति केन्द्रले यसअघि नै देशका विभिन्न भूभागमा शक्तिपीठ स्थापना गर्दै आध्यात्मिक ऊर्जा सन्तुलनको आधार निर्माण गरिसकेको छ । हालसम्म कुशेश्वरमा सौर्यमण्डलीय शक्तिपीठ, पालुङमा वायुमण्डलीय शक्तिपीठ, विजयपुरमा घर्तीमण्डलीय शक्तिपीठ, भकुण्डेबेशीमा ॐकारेश्वर शक्तिपीठ, राम्चेवेशीमा आदिश्वरनाथ शक्तिपीठ स्थापना सम्पन्न भईसकेको केन्द्रका संरक्षक अनन्त प्रसादले जानकारी दिए । गोरखामा  पनि राजविद्या शक्तिपीठ स्थापना हुँदैछ । सबै उर्जा एकीकृत गर्दै गोरखाको राजशक्ति पीठलाई केन्द्रबिन्दु बनाउने रणनीति केन्द्रको छ, जसले देशभर दैविक ऊर्जा सन्तुलन र आध्यात्मिक जागरण विस्तार गर्ने अपेक्षा गरिएको छ । गोरखामा निर्माणाधीन पीठको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ र अबको केही महिनाभित्र पूर्णता दिने लक्ष्य राखिएको छ । यो पीठलाई केवल धार्मिक संरचना होइन, दैविक ऊर्जा, नैतिकता र राष्ट्रशक्ति बीच सन्तुलन कायम गर्ने केन्द्र का रूपमा विकास गरिने उनले बताए ।  शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरण ले धर्म-नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन 'दैविक ऊर्जा' को अनिवार्यता औंल्याउँदै 'राजविद्या शक्तिपीठ' स्थापना भईरहेको  बताए । उनका अनुसार जबसम्म आध्यात्मिक ऊर्जा र राज्य शक्ति बीच समन्वय हुँदैन, तबसम्म विश्वभर स्थायी शान्ति र समृद्धि सम्भव हुँदैन ।  'धर्म-नीतिलाई प्रभावकारी र सन्तुलित बनाउन दैविक ऊर्जा अनिवार्य हुन्छ । दैविक उर्जाकै बलको प्रयोगले नेपाल एकिकरण भयो । अङ्ग्रेजीलाई परास्त गर्दै देवभुमी नेपाल कसैको अधिनमा बस्नु परेनझ, गोरखाको शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरणले भने, 'आज पनि पुनः नेपालले आफ्नो राष्ट्रको सनातन धर्मको मर्म र त्यो गौरवशाली ईतिहास जोगाउने समय नजिक आउँदैछ । यसका निम्ती हाम्रो केन्द्रले निरन्तर काम गरिरहनेछ ।' अहिले केन्द्रको उदेश्य सुन्दा अनौठो र अप्रत्याशित लागेपनि निकट भविष्यमा यसको प्रभाव पुष्टि हुने पीठाधीश अच्युतकृष्ण शरण बताउँछन् । गोरखामा पीठको निर्माण सम्पन्न भएपछि यहाँ सतगुरु गोरक्षनाथ बाबा, माँ गोरखकाली लगायत विभिन्न             देवी-देवताहरूको मूर्ति स्थापना गरिनेछ । जसले यस स्थानलाई शक्तिशाली साधना, श्रद्धा र आध्यात्मिक अनुभूतिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। नमुना गुरुकुल निर्माण : कर्मकाण्डभन्दा माथि धर्म नीति राजशक्ति पीठ निर्माण सम्पन्न भए लगत्तै 'नमुना गुरुकुल' निर्माणको काम सुरु गर्ने केन्द्रले जनाएको छ । गुरुकुल परम्परागत कर्मकाण्डमा सीमित नरही धर्मलाई जीवन नीति, चेतना र चरित्र निर्माणको आधार का रूपमा स्थापित गर्ने आधुनिक आध्यात्मिक शिक्षाकेन्द्र बनाउने केन्द्रको रणनीति   छ । यहाँ विद्यार्थीहरूले वेद, उपनिषद्, योग, ध्यानसँगै नेतृत्व विकास, नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्रचेतनामा आधारित समग्र शिक्षा प्राप्त गर्नेछन् ।  यसको मुख्य लक्ष्य चरित्रवान्, जिम्मेवार र राष्ट्रप्रेमी नागरिक र नेतृत्व उत्पादन गर्नु हो । सुरुमा गोरखाबाट सुरु गर्ने नमुना गुरुकल क्रमश सम्पुर्ण प्रदेश हुँदै नेपालभरका जिल्लामा पुर्याउने केन्द्रको दीर्घकालिन लक्ष्य रहेको उनले बताए । गोरखालाई विश्व आध्यात्मिक योग केन्द्र बनाउने योजना केन्द्रले गोरखालाई पुनः विश्वकै आध्यात्मिक योग केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना पनि बनाएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने गोरखभूमिलाई अन्तर्राष्ट्रिय स्तरको साधना, अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित केन्द्रले काम गरिरहेको छ । अभियानअन्तर्गत गोरखामा योग, ध्यान, दर्शन, संस्कृत तथा वेद अध्ययनका लागि अत्याधुनिक तथा परम्परागत ज्ञानलाई समेट्ने गरि गुरुयोजना बनाईएको केन्द्रका संरक्षक अनन्त प्रसादले बताए ।  यसमार्फत विश्वका विभिन्न देशबाट साधक, चिन्तक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।  'नेपाल गोरखभूमि भएको र यही भूमिबाट महान योगी गुरु गोरखनाथ ले योग साधनाको मार्ग विश्वसामु प्रस्तुत गर्नुभएको ऐतिहासिक आधारले पनि गोरखालाई विश्व आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ',  उनले भने । यो योजना सफल भएमा धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय वृद्धि हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने तथा हराउँदै गएको संस्कृत भाषा, गुरुकुल शिक्षा प्रणाली र वैदिक परम्पराको पुनर्जीवन हुने अपेक्षा गरिएको छ । 'यो पहल केवल भौतिक संरचना निर्माणमा सीमित नभई चेतना, संस्कार र मूल्यमा आधारित समाज निर्माणतर्फ उन्मुख हुनेछ । गोरखाबाट सुरु हुने यो अभियानले नेपाललाई आफ्नो मौलिक पहिचान र मार्गतर्फ पुनः उन्मुख गराउने तथा विश्वसमक्ष शान्ति, योग र आत्मज्ञानको सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य छ', उनले  भने । अभियानका संरक्षक गुरु अनन्त प्रसाद ले यो पहल कुनै एक संस्था वा समूहको मात्र नभई नेपाल सरकार र सम्पुर्ण राष्ट्रप्रेमी नागरिकहरूको साझा दायित्व भएको स्पष्ट पारेका छन् ।  'यो अभियान नेपाल आमाप्रति प्रेम गर्ने, स्थायी शान्ति, समृद्धि र सन्तुलित विकास चाहने सम्पूर्ण नागरिकहरूको साझा लक्ष्य बन्नुपर्छ', उनले भने ।

असनको ‘प्राचीन शाख’ फर्काउने तयारी, शनिबार सवारी प्रवेशमा रोक

काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेशलाई निषेध गरिने भएको छ । सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन यस्तो निर्णय भएको हो । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला  कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लब र समुदायका प्रतिनिधिको उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि स्थानीय संघसंस्था, क्लब तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो ।  तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।  ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो,’ बैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔं ।’  आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।  ‘स्थानीय, संघसंस्था, क्लव तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो,’ वडाध्यक्ष योगेशकुमार खड्गी भन्छन्, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजवुत बनाइने बताए । ‘भेहिकल  फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।  यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवद्र्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।