पैसा, पैसा, पैसा, पैसा नै पैसा एनभीडीयाको संसारमा
काठमाडौं । २०२५ मा धेरैले सुनेको एउटा वाक्य– ‘तिमी त्यो किन्दैछौ? त्यो गर्दैछौ ? यो अर्थतन्त्रमा ?’ तर विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीया भने यस्तो समस्याबाट जुधिरहेको छैन । यसको समस्या त धेरैलाई मनपर्ने खालको छ- अत्यधिक पैसा हातमा हुनु । अक्टोबरको अन्त्यसम्म एनभीडीयासँग नगद र छोटो अवधिका लगानी गरी ६०.६ अर्ब डलर थियो । यो जनवरी २०२३ मा रहेको १३.३ अर्ब डलरभन्दा निकै माथि हो- त्यसबेला नै ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेको थियो । यसबीचमा पनि एनभीडीयाले नोकियामा १ अर्ब, इन्टेलमा ५ अर्ब, एन्थ्रोपिकमा १० अर्ब खर्च गर्यो । र अझै छलफलमै रहेको ओपनएआईमा १०० अर्ब डलरको प्रतिज्ञा गरेको छ । यसैसँग यो साता कम्पनीले साइनअप्सिसमा २ अर्ब डलर लगानी गर्ने घोषणा गर्यो । ग्राफिक्स कार्ड बनाउने सानो कम्पनीबाट सुरु भएर आज विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको एनभीडीयाले अहिलेसम्म ३७ अर्ब डलर बराबरका सेयर बायब्याक र डिभिडेन्ड वितरण गरिसकेको छ र थप ६० अर्ब डलर स्वीकृत गरिएको छ । जब तपाईंको सबैभन्दा ठूलो चुनौती ६० अर्ब डलर कसरी खर्च गर्ने भन्ने हुन्छ, त्यसलाई कर्पोरेट विलासी जीवनभन्दा अरू के भन्न मिल्ला र ? एनभीडीयाका एआई चिपहरूको उच्च मागका कारण कम्पनीको बजार मूल्य बढेको हो । विश्वभर एआईको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ, जसका कारण आगामी दिनमा एनभीडीयाका सेयरहरू अझ बढ्ने अपेक्षा गरिएको छ । एनभीडीयाले बनाउने चिपहरूलाई ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) भनिन्छ, जुन एआई उद्योगको मेरुदण्ड मानिन्छ । विश्वका सबै देशहरू चिप आपूर्ति शृंखलामा आफ्नो प्रभुत्व जमाउन चाहन्छन् । अमेरिका र चीनबीचको वास्तविक प्रतिस्पर्धा पनि यही क्षेत्रमा केन्द्रित छ। एनभीडीयाको मुख्यालय अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारामा रहेको छ । यसको स्थापना सन् १९९३ मा ताइवानी इन्जिनियर जेनसन हुआङले गरेका थिए । एनभीडीयामा उनको करिब ३.५ प्रतिशत हिस्सेदारी छ ।
विद्युत् प्राधिकरणका कर्मचारीले युनिफर्म नलगाए कारबाही हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोसाक (युनिफर्म) लगाउन निर्देशन जारी गरेको छ । अबदेखि पोसाक नलगाई कार्यालय पुग्ने कर्मचारीले सिधै विभागीय कारबाही भोग्नुपर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशकस्तरीय (मंसिर १२ गतेको) निर्णय अनुसार कार्यालय समयमा तोकिएको पोसाक अनिवार्य गरिएको हो । प्राधिकरणले ‘नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली, २०७५’ को विनियम १२१ को उप–विनियम (४) लाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो । नयाँ निर्देशन अनुसार अब कुन कर्मचारीले पोसाक लगाएका छन् वा छैनन् भनेर नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनका क्रममा पोसाक नलगाएको भेटिएमा सोही विनियमावलीको उप–विनियम (५) बमोजिम कडा विभागीय कारबाही गर्न सम्बन्धित विभागहरूलाई परिपत्र गरिएको छ । प्राधिकरणको केन्द्रीय कार्यालय लगायत विभिन्न निकायमा कार्यरत धेरैजसो कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक नलगाउने गरेको गुनासो राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको थियो । सतर्कता केन्द्रले यस विषयमा चासो देखाउँदै पोसाक अनिवार्य गराउन प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरण नेतृत्व ‘एक्सन’ मा उत्रिएको हो । यो निर्देशनसँगै अब प्राधिकरणका कार्यालयहरूमा अनुशासनको नियम कडा हुने देखिएको छ । प्रशासनले अब नियमित ‘छड्के जाँच’ गर्ने र पोसाक बिनाका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ ।
निर्वाचन आयोगले तोक्यो समानुपातिकमा उम्मेदवारको बन्द सूची पेश गर्ने समय सीमा
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोकेको छ । आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निवेदन पेश गर्ने भनेको हो । आयोगले कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा निवेदन सार्वजनिक सूचनामार्फत भनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले भनेको छ। राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्ने भएको आयोगले जनाएको छ । उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ । सहायक पददेखि सहायक निर्देशक गरी ७६ जना कर्मचारी मागेको हो । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागका अनुसार अधिकृत तृतीय श्रेणीमा सहायक निर्देशक अर्थशास्त्र र व्यवस्थापन तर्फ १/१ जना, सहायक निर्देशक ३९ जना, लेखा तथा लेखापरीक्षणतर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना र सहायक द्वितीय २१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ ।
नेपाल फाइनान्सका दोस्रो ठूला सेयरधनी मानन्धर बाहिरिने, मूल्य १ सय रुपैयाँ
काठमाडौं । नेपाल फाइनान्सका संस्थापक ठूला सेयरधनी विजय मानन्धर बाहिरिने भएका छन् । मानन्धरले फाइनान्समा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएका हुन् । फाइनान्समा मानन्धर दोस्रो ठूलो संस्थापक सेयरधनी हुन् । कम्पनीमा मानन्धरको ३.५४ प्रतिशत अर्थात् २ लाख ५८ हजार ७२८ कित्ता सेयर स्वामित्व छ । उनले आफ्नो स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा २ करोड २६ लाख ४० हजार ३ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र न्यूनतम् मूल्य वा सो भन्दा बढी मूल्यमा आवेदन दिनुपर्नेछ । यसअघि संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समय दिएको भएपनि कसैले पनि चासो नदिएपछि सर्वसाधारण लगानीकर्तालाई बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाअध्यक्ष थापाको निधन
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए । वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिका अन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ ।
आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिने छ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।