विकासन्युज

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम

काठमाडौं । चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनियाँ सहर कुन्सानमा परीक्षण भइरहेको यो १० यात्रु क्षमताको विद्युतीय विमानलाई चीनमा हालसम्म निर्माण गरिएको सबैभन्दा ठूलो सिधै माथि उड्न र सिधै अवतरण गर्न सक्ने (इभिटिओएल) विद्युतीय विमान मानिन्छ । साङ्घाई बन्दरगाहबाट करिब ६० किलोमिटर पश्चिममा रहेको कुन्सानस्थित एक ह्याङ्गरमा हालै यस विमानको प्रदर्शन गरिएको थियो । विशाल ड्रोनजस्तै देखिने ‘म्याट्रिक्स’ करिब पाँच टन तौलको इभिटिओएल विमान हो, जसले भविष्यमा सहरभित्रको हवाई ट्याक्सी सेवाको सम्भावनालाई सङ्केत गरेको छ । सन् २०१७ मा स्थापना भएको चिनियाँ कम्पनी अटोफ्लाइटले यो विमान विकास गरेको हो । कम्पनीका अनुसार म्याट्रिक्सले एकपटकमा १० जनासम्म यात्रु बोक्न सक्छ । यसको पखेटाको फैलावट करिब २० मिटर (लगभग ६६ फिट) छ भने विमानको लम्बाइ १७.१ मिटर र उचाइ ३.३ मिटर रहेको छ । पूर्ण रूपमा चार्ज गरिएको अवस्थामा यसले करिब एक घन्टासम्म उडान भर्न सक्ने क्षमता राख्छ । अटोफ्लाइटले एसोसिएटेड प्रेसका लागि आफ्नो कम उचाइ उडान परीक्षण केन्द्रमा यसको प्रत्यक्ष उडान प्रदर्शन पनि गराएको थियो । चिसो दिनमा गरिएको उक्त प्रदर्शनमा कर्मचारीहरूले म्याट्रिक्सलाई ह्याङ्गरबाट हेलिप्याडमा सारेपछि उडानका लागि तयारी गरिएको थियो । प्रोपेलरहरू सुरु गरिएपछि केही मिनेटसम्म प्रणालीको जाँच गरियो । सबै उपकरण ठीक रहेको पुष्टि भएपछि विमान विस्तारै आकाशतर्फ उड्न थाल्यो । यसको आवाज सुनिन्थ्यो तर सामान्य हेलिकप्टरको तुलनामा कम थियो । करिब १० मिनेटसम्म उडान भरेपछि र हेलिपोर्ट वरिपरि दुई चक्कर लगाएपछि म्याट्रिक्स सहज रूपमा फर्किएर सुरक्षित अवतरण गरेको थियो । यद्यपि यस्तो प्रविधि व्यापक रूपमा प्रयोगमा आउन अझै केही समय लाग्ने देखिन्छ । अटोफ्लाइटका वरिष्ठ उपाध्यक्ष स्टिभन याङका अनुसार उडान ट्याक्सी वास्तविक सेवाका रूपमा कहिले सञ्चालनमा आउला भन्ने प्रश्नको स्पष्ट उत्तर दिन अहिले कठिन छ । उनले कम्पनीसँग पहिले नै दुई टन क्षमताको यात्रुवाहक इभिटिओएल विमान तयार भइसकेको तर आवश्यक प्रमाणीकरण प्रक्रियाको प्रतीक्षामा रहेको जानकारी दिए । अटोफ्लाइटले सन् २०२७ सम्म नियामक निकायबाट ‘टाइप प्रमाणपत्र’ प्राप्त गर्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । यस्तो प्रमाणपत्रले विमानको डिजाइनले सुरक्षा मापदण्ड पूरा गरेको पुष्टि गर्छ । तर यात्रु बोकेर सञ्चालन गर्न ‘अपरेटर प्रमाणपत्र’ लगायत अन्य स्वीकृतिहरू पनि आवश्यक पर्नेछन् । हाल म्याट्रिक्स अझै प्रोटोटाइपकै चरणमा रहेको छ । चीनका अन्य केही कम्पनीहरूले पनि इभिटिओएल विमान विकास गरिरहेका छन् । गुआङ्गडोङ प्रान्तमा आधारित एहाङ कम्पनीले विकास गरेको विमानलाई व्यावसायिक यात्रु सेवा सञ्चालनका लागि अधिकारीहरूले प्रमाणीकरण प्रदान गरिसकेका छन्, तर व्यावहारिक सेवा अझै सुरु भएको छैन । विशेषज्ञहरूका अनुसार यस्तो उडान ट्याक्सी सेवा सञ्चालन गर्न अनुमति मात्र पर्याप्त हुँदैन । त्यसका लागि आवश्यक पूर्वाधार, उडान मार्ग, सुरक्षा प्रणाली र सञ्चालन व्यवस्थापन पनि तयार हुनुपर्छ । चीनले पछिल्लो समय ‘कम–उचाइ अर्थतन्त्र’ नामक अवधारणालाई अघि बढाइरहेको छ । यसअन्तर्गत ड्रोन तथा साना उडान उपकरणहरूको प्रयोग विस्तार भइरहेको छ । उदाहरणका लागि, दक्षिणी सहर सेन्जेनमा अहिले नै ड्रोनमार्फत खाना डेलिभरी सेवा सञ्चालन भइरहेको छ । न्याटिक्सिस कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङका वरिष्ठ अर्थशास्त्री ग्यारी एन्गले उडान ट्याक्सी उद्योगको विकासलाई नजिकबाट अध्ययन गरिरहनुभएको छ । उन का अनुसार चीनले सुरक्षा सुनिश्चितता, आवश्यक पूर्वाधार निर्माण तथा उडान मार्ग व्यवस्थापन जस्ता चुनौतीहरू पार गर्नुपर्नेछ । उनले प्रविधि मात्र पर्याप्त नभएको उल्लेख गर्दै यससँग सम्बन्धित सम्पूर्ण इकोसिस्टम अझै पूर्ण रूपमा विकसित भइनसकेको बताए । उनका अनुसार व्यावहारिक रूपमा यस्तो सेवा देखिन कम्तीमा पनि थप तीन वर्ष लाग्न सक्छ । यद्यपि म्याट्रिक्सको परीक्षण उडान हेर्दा भविष्यमा सहरमाथि यस्ता विद्युतीय विमानहरू देखिने सम्भावना भने स्पष्ट देखिन्छ । अटोफ्लाइटका याङका अनुसार विद्युतीय उडान ट्याक्सी अन्ततः वास्तविकतामा परिणत हुने विश्वास कम्पनीलाई छ । तर यस्तो भविष्य निर्माण गर्न एउटा कम्पनीको प्रयास मात्र पर्याप्त नहुने र सम्पूर्ण उद्योग तथा पूर्वाधारको संयुक्त विकास आवश्यक पर्ने उनले उल्लेख गरे । 

दोस्रो पटक संसदमा शिशिर, शिक्षा क्षेत्रमा दख्खलता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७११ मत प्राप्त गरेर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाए ।  खनालको संसदको यात्रा यो दोस्रो पटक हो । २०७९ को चुनावमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।  खनाल शिक्षा क्षेत्रका जानकार मानिन्छन् । उनी यसअघि छोटो समयका लागि शिक्षा मन्त्री समेत बनेका थिए ।  टिच फर नेपालका संस्थापकमध्येका एक रहेका खनाल दुर्गम क्षेत्रको शिक्षा सुधारमा काम गर्दै आएका थिए ।  ‘टिच फर नेपाल’ को नेतृत्व गरेका खनालले राजनीतिमा आउनुअघि सार्वजनिक शिक्षा सुधारको अभियान चलाएका थिए । ४७ वर्षीय खनाल टोखा १० गोंगबुका बासिन्दा हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् ।  २०७४ को चुनावपछि उनी तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएका थिए । उनले महात्मा गान्धीको विचारमा आधारित सर्वोदय अभियानमार्फत श्रीलङ्का, भारत, अमेरिकालगायतका ठाउँहरुमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापनका उल्लेखनीय काम गरेका छन् । 

मोरङ- ६ मा रास्वपाकी आचार्य भारी मतान्तरले अगाडि

काठमाडौं । मोरङ- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुबिना आचार्य नेपाली कांग्रेसका डा. शेखर कोइरालासँग भारी मतान्तरले अगाडि छिन् । आचार्यले १६ हजार ८२३ मत प्राप्त गर्दा कोइरालाले ३ हजार ९५५ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका विनोद ढकालले २ हजार ९४५, अञ्जुलीमा माटो चिन्हका उम्मेदवार मातृका पौडेलले २ हजार ६९०, हलोका उम्मेदवार ५९९ र तारा चिन्हका उम्मेदवार ओपेन्द्र कुमार रायले ४४२ मत प्राप्त गरेका छन् ।

झापा ५ मा बालेन १२ हजार मतको नजिक, ओलीले पाए २ हजार ६९५ मत

काठमाडौं । झापा ५ मा बालेन्द्र शाहले पछिल्लो मत परिणाम अनुसार ११ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ हजार ६९२ मत पाएका छन् ।  त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्थरा चिमरियाले ३३५ र  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ३५५ मत प्राप्त गरेका छन् ।

प्रचण्डको जित सुनिश्चित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएको छ । यहाँ कुल १९ हजार १०६ मत खसेको थियो । प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन् ।

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्। 

सबै प्रहरी कर्मचारीहरूले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरुरी छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आइरहेको भूमिका उत्कृष्ट रहेको चर्चा गर्दै आगामी दिनमा समेत सबै प्रहरी कर्मचारीहरूले निष्ठावान, इमानदार भई अझ उच्च अनुशासन एवं व्यावसायिकता प्रदर्शन गर्न जरुरी रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवं जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।  सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ निर्वाचनको समयमा प्राप्त आ(आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको समेत उनले उल्लेख गरे ।  प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीति सहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिए ।  मतगणनास्थल, मतगणनाको परिणाम एवं विजयी दलको र्याली, जुलुस लगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्न समेत उनले जोड दिए । सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्ने उनले बताए । प्रहरी महानिरीक्षक कार्कीले कुनै पनि अवाञ्छित गतिविधिमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरू थप क्रियाशील हुन निर्देशन दिए । साथै सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवं प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।  निर्वाचन प्रहरीप्रति सबै प्रहरी कर्मचारीहरूले अझ उत्कृष्ट आचरण एवं व्यवहार प्रस्तुत गर्नुपर्ने बताउँदै उनीहरूको उचित व्यवस्थापन तथा प्राप्त गर्ने सेवा सुविधामा कुनै पनि कमी/कमजोरी नहुने गरी कार्य गर्न समेत उनले आग्रह गरे ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयसम्मका निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरू एवम् थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लगायत अन्य प्रहरी अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अछाम-१ मा नेकपाका भीम रावल अग्र स्थानमा, रास्वपा चौथो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाम-१ मा जारी मतगणनाको प्रारम्भिक परिणामले नेकपाकालाई अग्रता दिलाएको छ । सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार नेकपाका भीम रावलले ९५२ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक बहादुर साउदले ७१३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ७३२ मत ल्याएका छन् । यसैगरी रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन् । मतगणना जारी छ ।