काठमाडौं । रसुवा बाढीका कारण फुर्केखोलाको पुल बगेपछि अवरुद्ध बनेको धादिङको सदरमुकाम धादिङबेंसीसँगको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुनः सञ्चालनमा आएको छ ।
फुर्केखोलाको पुल बाढीले ‘वास आउट’ भएपछि धादिङबेंसीसँगको मुख्य सडक सम्पर्क विच्छेद भएको थियो ।
त्यसपछि मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेंसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।
संघीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालका अनुसार हाल वैकल्पिक मार्गबाट साना सवारीसाधन धादिङबेंसीसम्म सञ्चालन हुन थालेका छन् ।
सडकलाई थप सहज बनाउने काम भने जारी छ ।
‘बाढीले धादिङबेंसी जोड्ने फुर्केखोलाको पुल बगाएपछि सडक सम्पर्क विच्छेद भएको थियो । अहिले मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीको पुल प्रयोग गरेर दायाँ किनारबाट वैकल्पिक सडक सञ्चालनमा ल्याएका छौं,’ नेपालले भने।
उनका अनुसार बाढीले क्षति पुर्याएका तथा लेदो र हिलो जमेको स्थानमा ग्राभेल राख्ने, लेदो हटाउने र आवश्यक ठाउँमा अस्थायी संरचना निर्माण गर्ने काम भइरहेको छ ।
खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न मिल्ने बनाइएको छ ।
केही स्थानमा सडक सामान्य अवस्थामा रहे पनि बाढीले ‘वास आउट’ गरेका खण्डमा भने अझै सवारी सञ्चालनमा कठिनाइ रहेको कार्यालयले जनाएको छ ।
ती स्थानलाई सुधार गरी ठूला सवारीसाधनसमेत सञ्चालन गर्न सकिने बनाउने तयारी भइरहेको छ ।
वैकल्पिक सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन परिचालन गरिएको छ ।
आवश्यकताअनुसार अन्य क्षतिग्रस्त सडक खण्डमा समेत उपकरण परिचालन गरिएको संघीय सडक सुपरीवेक्षण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नजिकैबाट ग्राभेल उपलब्ध भए त्यहीँबाट ल्याएर हिलो तथा लेदो भएका खण्डमा हाल्ने तयारी गरिएको छ ।
अहिले साना सवारीसाधनका लागि सडक सम्पर्क स्थापित भइसकेको र अन्य सवारीसाधनलाई समेत सहज रूपमा सञ्चालन गर्न सडक सुधारको काम तीव्र पारिएको छ ।