काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङका नेता डा. कृष्णमान शाक्यले पार्टीकी सांसद आशिका तामाङले नागरिकका समस्या उठाउने विषय सही भए पनि त्यसलाई प्रस्तुत गर्ने शैली उपयुक्त नभएको बताएका छन् ।
आइतबार विकासन्युजकर्मीसँग कुरा गर्दै शाक्यले तामाङले वडाध्यक्षसँग गरेको प्रश्न उठानको विषयलाई गलत भन्न नमिल्ने, तर प्रश्न गर्ने र प्रस्तुत हुने शैली भने सुधार गर्नुपर्ने बताए ।
‘उहाँले नागरिकका समस्या उठाउनुहुन्छ, यो सकारात्मक कुरा हो,’ शाक्यले भने, तर ती विषय उठाउने उहाँको शैली त्यति शोभनीय हुँदैन । जनप्रतिनिधिसँग प्रश्न गर्दा विषयवस्तुमा केन्द्रित भएर मर्यादित ढंगले प्रस्तुत हुनुपर्छ ।’
उनका अनुसार जनप्रतिनिधिले नागरिकका समस्या र गुनासा सम्बन्धित निकायसम्म पुर्याउनु आवश्यक छ ।
तर, समस्या समाधानका लागि गरिने पहल विवाद वा व्यक्तिगत आरोप प्रत्यारोपमा परिणत हुन नहुने उनको भनाइ छ ।
शाक्यले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयमता अपनाउनुपर्ने बताए ।
‘सांसदले जनताको आवाज उठाउनु उहाँको जिम्मेवारी हो । तर सार्वजनिक पदमा रहेपछि बोल्ने र प्रस्तुत हुने शैलीले पनि त्यत्तिकै महत्त्व राख्छ,’ उनले भने ।
उनले तामाङले उठाएका विषयमाथि भन्दा पनि त्यसलाई प्रस्तुत गर्ने तरिका चर्को रहेको बताए ।
नागरिकका समस्या समाधान गर्न स्थानीय तह, जनप्रतिनिधि र सांसदबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
रास्वपाभित्रै सांसद तामाङको कार्यशैलीलाई लिएर समय समयमा बहस हुँदै आएको अवस्थामा शाक्यको पछिल्लो टिप्पणी आएको हो ।