रोयल इनफिल्डले सार्वजनिक गर्यो नयाँ हन्टर ३५०, मूल्य ४ लाख ९४ हजार
काठमाडौं । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले मोटरसाइकल हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ विशेषता र आकर्षक रङहरू सहितको हन्टर ३५० को सार्वजनिक गरिएको हो । कम्पनीले नयाँ हन्टर ३५० को दुई भेरियन्टको मूल्य समेत घोषणा गरेको छ । जसअनुसार सिंगल टोन कलरको अन-रोड मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डुअल टोन कलरको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । योसँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल बनेको छ । के-के छन् नयाँ विशेषताहरू ? कम्पनीका अनुसार यो मोटरसाइकललाई मेटियर ३५० कै उस्तै प्लेटफर्ममा निर्माण गरिएको हो । नयाँ जे-सिरिज अन्तर्गतको अत्याधुनिक इन्जिनमा तयार गरिएको हन्टर ३५० आधुनिक शैली र शहरी सवारी अनुभव चाहनेका लागि लक्षित गरिएको छ । यसपटकको हन्टर ३५० मा राइडरको अनुभव र सुरक्षालाई ध्यानमा राख्दै धेरै नयाँ विशेषताहरू थपिएका छन् । जसमा रातको समयमा स्पष्ट भिजिबिलिटीका लागि नयाँ एलईडी बत्ती, काठमाडौंको ट्राफिकमा क्लच परिवर्तन गर्न सहज बनाउने र हातलाई आराम दिने प्रविधि, डुअल च्यानल, अगाडि र पछाडि दुवै चक्कामा एबीएस प्रणाली, जसले भिजेको वा चिप्लो बाटोमा पनि सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ । यस्तै, पहिलेभन्दा परिष्कृत र आरामदायी यात्राका लागि सुधारिएको सस्पेन्सन रहेको कम्पनीले दाबी गरेको छ । नेपालको सडक अवस्थालाई सुहाउँदो र अफ-रोड यात्राका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ । ट्रिपर न्याभिगेसन प्यानल जोड्न मिल्ने सुविधासहितको आधुनिक इन्स्ट्रमेन्ट क्लस्टर रहेको समेत कम्पनीले बताएको छ । नयाँ हन्टर ३५० विश्वका चर्चित सहरहरूबाट प्रेरित चार नयाँ रङहरूमा उपलब्ध छ । टोकियो ब्ल्याक, लन्डन रेड, रियो ह्वाइट र ग्राफाइट ग्रेमा उपलब्ध रहेको जनाएको छ । कम्पनीका अनुसार हन्टरमा ३४९ सीसीको सिंगल-सिलिन्डर, फ्यूल-इन्जेक्टेड, एसओएचसी एयर-एण्ड-अयल कुल्ड इन्जिन जडान गरिएको छ, जसले ६ हजार १०० आरपीएममा २०.२ हर्सपावर र ४० हजार आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ । पाँच गियर बक्ससहितको यो इन्जिनले सहरमा सहज सन्तुलन र खुल्ला सडकमा उत्साहजनक शक्ति दिने विशेषता राख्छ । अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले यो नयाँ उत्पादनले नेपाली बजारमा नयाँ कोशेढुंगा स्थापित गर्ने विश्वास व्यक्त गरे । रोयल इनफिल्डका सार्क क्षेत्रका बिजनेस हेड, मोहित बेनिवालले नेपाल रोयल इनफिल्डको लागि विशेष स्थान भएको बताए । उनले छोटो अवधिमै नेपालमा मध्य-सेग्मेन्टमा ८३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएकोमा नेपाली ग्राहकहरूप्रति आभार प्रकट गरे । वीरगञ्जस्थित एसेम्बली प्लान्टबाट हालसम्म ३० हजार भन्दा बढी मोटरसाइकल उत्पादन भइसकेको र यसले नेपालमा रोयल इनफिल्डको प्रतिबद्धतालाई दर्साउने उनकाे भनाइ छ । त्यसैगरी त्रिवेणी ग्रुपका हर्ष सांघाईले अटोमोबाइल क्षेत्रमा कुनै अनुभव नहुँदा पनि रोयल इनफिल्ड जस्तो प्रतिष्ठित ब्रान्डको जिम्मेवारी पाएको बताए । साथै मोटरसाइकल बुक गरेका ११ जना ग्राहकहरूलाई चाबी हस्तान्तरण गरिएको थियो । नयाँ लन्चले नेपाली बजारमा रोयल इनफिल्डको उपस्थितिलाई अझ बलियो बनाउने र विशेषगरी युवा राइडरहरूलाई आकर्षित गर्ने कम्पनीकाे दाबी छ । २०२३ जुनदेखि अल्फा अटोमोटिभले सीकेडी मोडेलमार्फत मोटरसाइकल एसेम्बलिङ गर्दै आएको छ । अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डपछि नेपालको नाम रोयल इनफिल्डको पाँचौँ एसेम्बलिङ देशको रूपमा जोडिनु आफैंमा ठूलो उपलब्धि भएकाे कम्पनीले जनाएकाे छ । वीरगञ्जस्थित १ लाख वर्गफुटमा फैलिएको अत्याधुनिक एसेम्बलिङ प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ। यसले नेपाली उपभोक्ताका लागि छरितो आपूर्ति मात्रै होइन, रोजगारी र औद्योगिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो, १३.८६ करोड जमानत जफतका लागि बैंकमा पत्र
काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ । उक्त सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तारोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो । पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाइएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत बापतको ४ करोड १९ लाख र पेस्की बापतको ९ करोड ६७ लाख रुपैयाँ गरी कुल १३ करोड ८६ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरि सकिएको योजना प्रमुख पोखरेलले उल्लेख गरे । पेस्की रकममा १० प्रतिशत ब्याजसहित असुल हुनेछ । योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको हो । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फ समेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत बापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापजाँच गरिनेछ ।
प्रतिघण्टा ३०० किलोमिटर गतिमा गुड्ने रेलमार्ग बनाउँदै साउदी अरब र कतार
काठमाडौं । साउदी अरब र कतारले सोमबार खाडी राज्यका राजधानीहरू जोड्ने उच्च गतिको रेल निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यो दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधारको पछिल्लो सङ्केत हो। साउदी अरबको राज्य नियन्त्रित सञ्चारमाध्यमले सरकारद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै लेखेको छ, ‘उच्च गतिको विद्युतीय यात्री रेलमार्गले रियाद र दोहालाई जोड्नेछ ।’ साउदी अरबका अल-होफुफ र दमाम पनि यो सञ्जालमा आउने अपेक्षा गरिएको छ । निर्माणसँगै उक्त रेलमार्गमा प्रतिघण्टा ३०० किलोमिटरभन्दा बढी गतिमा उच्च गतिका विद्युतीय रेल गुड्ने र यसले दुई राजधानीबीच यात्रा लगभग २ घण्टाको बनाउने अधिकारीहरूले बताएका छन् । अहिले खाडी राष्ट्रका उक्त प्रमुख दुई शहरहरू बीचको सीधा उडान लगभग ९० मिनेटमा हुने गरेको छ। ६ वर्षमा पूरा हुने यस परियोजनाले प्रतिवर्ष १ करोड यात्रुहरूलाई सेवा दिने अपेक्षा गरेको छ। साउदी राजकुमार मोहम्मद बिन सलमान र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । हालैका वर्षहरूमा खाडी राज्यहरूबीचको सम्बन्धमा नाटकीय सुधारलाई चिह्नित गर्ने कदमहरूको श्रृङ्खलामा यो सम्झौता सबैभन्दा महत्त्वपूर्ण र पछिल्लो हो । सन् २०१७ को जुनमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारसँगको कुटनीतिक र यातायात सम्बन्ध तोडेका थिए । सन् २०२१ जनवरीमा साउदी सहर अलउलामा भएको शिखर सम्मेलनपछि सम्बन्ध पूर्ण रूपमा पुनःस्थापित भएको थियो। ४ राष्ट्रहरूले दोहालाई मुस्लिम ब्रदरहुडसहित कट्टरपन्थी इस्लामवादीहरूलाई समर्थन गरेको र साउदी अरबको कट्टर प्रतिद्वन्द्वी तेहरानसँग घनिष्ठ सम्बन्ध राख्न खोजेको आरोप लगाउँदै कुटनीतिक तथा भौगोलिक रूपमा सम्बन्ध तोडी एक्लाउने घोषणा गरेका थिए । राजकुमार मोहम्मदले क्षेत्रीय खाडी भ्रमणको एक भागको रूपमा सम्बन्धलाई पुनः स्थापित गर्ने घोषणापछि पहिलो पटक सन् २०२१ डिसेम्बरमा दोहाको भ्रमण गरेका थिए । त्यसबेलादेखि, दुई राज्यका नेताहरूले नियमित रूपमा भेट गर्दै आएका छन् र गाजामा युद्ध विरामको आव्हानसहित कूटनीतिक पहललाई समर्थन गर्न सेनामा सामेल भएका छन् । गर्मीयाममा दोहामा इजरायलले आक्रमण गरेपछि रियादले पनि कतारलाई समर्थन गरेको छ ।
उडान डिले भएर अलपत्र यात्रुको बास र खानाका लागि होटल खोज्दै नेपाल एयरलाइन्स
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले होटल सूचीकरण तथा सम्झौताका लागि आह्वान गरेको छ । उडान डिले वा रोकिएका कारण अलपत्र यात्रुको बास तथा खाना व्यवस्थापनका लागि होटल सूचीकरण गर्न आह्वान गरेको हो । सन् २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा भर्ने उडानहरू कुनै कारणवश ढिला वा रद्द वा अर्को दिनका लागि पर सारिएको अवस्थामा उक्त उडानका यात्रुहरूलाई वास तथा खानाको व्यवस्थापन गर्न इच्छुक होटललाई सूचीकरण हुन आह्वान गरिएका नेपाल वायुसेवा निगम यात्रु सेवा विभागले जनाएको छ । निगमको आर्थिक विनियमावली, २०६५ को विनियम १६६ (४) को व्यवस्था अनुसार स्तरीय एवं विशिष्टिकृत प्रकृतिका होटलहरूले निगममा सूचीकरण भई सम्झौता गर्नुपर्ने यात्रु सेवा विभागले जनाएको छ । इच्छुक होटलहरूले १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।
दैनिक ३३ करोड राजस्व असुलीको लक्ष्य, भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले ठप्प
काठमाडौं । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सारमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूको आकस्मिक आन्दोलनका कारण सोमबार भैरहवा भन्सारबाट राजस्व असुली हुन सकेन । जसले दैनिक करोडौंको राजस्व लक्ष्यमा गम्भीर असर पारेको छ । आन्दोलित भन्सार एजेन्टका कर्मचारीहरूले विशेष गरी भन्सार ऐन, २०८२ को दफा ७१ को उपदफा (झ) को व्यवस्थाको विरोध गरेका छन् । उक्त दफामा गरिएको व्यवस्थाअनुसार (झ) घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको १० प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँच पास गर्नु पर्ने उल्लेख छ । भन्सार एजेन्टहरूका अनुसार यो व्यवस्था अव्यावहारिक छ । कागजात संलग्न गर्ने प्रक्रियामा सामान्य त्रुटि वा मानवीय भूल भएमा पनि लाग्ने महसुलको १० प्रतिशत जरिवाना तिर्नुपर्ने भएकाले यसले काम गर्न असहज बनाएको र अनावश्यक आर्थिक भार थोपरेको उनीहरूको तर्क छ । आन्दोलनकर्ता राजु बस्नेतले पहिला सहज रुपमा भइरहेको कामलाई पनि यो ऐनले बल्झाएको बताए । ‘काम गर्दा त्यहाँ मानवीय त्रुटि हुन सक्छ त्यसमा ठूलो जरिवाना लगाउँदा हामी बेरोजगार हुने अवस्था आउँछ । त्यो रकम व्यापारी र भन्सार एजेन्टले तिर्दैन । त्यो हामी कर्मचारीको तलबबाट काटिने हो,’ उनले भने । आन्दोलित पक्षले यसको निकास न निस्केसम्म काम नगर्ने जनाएका छन् । यस विषयमा नेपाल भन्सार एजेन्ट सङ्घले भने आधिकारीकता जनाएको छैन । सङ्घका रुपन्देही अध्यक्ष मधु पन्थीले यो भन्सार एजेन्ट सङ्घको आन्दोलन नभई एजेन्टहरूसँग काम गर्ने कर्मचारीको मात्र रहेको बताए । तर, कर्मचारीहरूको माग जायज रहेकाले अब यस विषयमा कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलका अनुसार भैरहवा भन्सारले यो महिनाको लक्ष्य ८ अर्ब ५९ करोड प्राप्त गरेको छ । यस हिसाबले दैनिक ३३ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य भन्सारको छ । तर भन्सार एजेन्टको कर्मचारीको आन्दोलनका कारण भन्सार जाँच पास अवरुद्ध हुँदा सम्पूर्ण राजस्व सङ्कलन ठप्प भएको छ । भन्सार प्रशासनले हरेक मामिलामा बदनियतको अवस्था हेरेर जरिवाना लगाउने वा नलगाउने निर्णय गर्नसक्छ । तर ऐनमा कडा व्यवस्था राख्नुले भविष्यमा हुने छल्ने प्रयासलाई निरुत्साहित गर्ने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
आज सुदूरपश्चिम र विराटनगर आमनेसामने, जित्ने टोली सिधै फाइनल पुग्ने
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपरान्ह ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका ७ खेलमध्ये ६ र विराटनगरले भने ७ मध्ये ५ खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।
टरिगाउँ विमानस्थलबाट असहाय यात्रुलाई भाडामा १ हजार रुपैयाँ छुट
काठमाडौं । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौंसम्मको यात्रा गर्दा ८ हजार ७७५ रुपैयाँ भाडा रहेकामा असहाय व्यक्तिलाई ७ हजार ६४५ रुपैयाँ मात्रै भाडा लिने व्यवस्था गरिएको तुलसीपुरस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार हाल टरिगाउँबाट हप्तामा ४ दिन उडान भइरहेको छ । आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान भइरहेको जनाउँदै उनले यात्रुको सङ्ख्या भने न्यून हुने गरेको छ । दैनिक ४/५ जनाभन्दा बढी यात्रु नहुने गरेको उनले बताए । कात्तिकसम्म यात्रुको सङ्ख्या हुने गरे पनि अहिले यात्रु न्यून हुने गरेका प्रमुख सुनारले उल्लेख गरे । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । विमानस्थलको धावन मार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने समस्याले यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावन मार्ग ७५० मिटरको छ । उक्त धावन मार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल विसं २०११ मा स्थापना भएको हो ।
सर्वाेच्चको आदेशपछि शाक्यले भने- न्यायको जीत भयो, देश, जनता र प्राधिकरणको हितमा काम गर्छु
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः बहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सरकारको निर्णयबाट आहत भएकामा न्यायालयले राहत दिएको बताए । शाक्यले भने, ‘न्यायालयको निर्णयले राहत महसुस भएको छ ।’ उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्याए । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यका पक्षमा परमादेश जारी गरेको हो । सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।