काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ बी जलविद्युत आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले बाढीका कारण आयोजनाका सम्पूर्ण संरचनामा ठूलो क्षति पुगेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार गत भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो । बाढीका कारण नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिरुपानीमा निर्माणाधीन आयोजनाका संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका हुन् ।
कम्पनीले आयोजनामा कार्यरत अधिकांश कर्मचारीको अवस्थासमेत अज्ञात रहेको जनाएको छ । बाढीपछि कर्मचारीहरूको अवस्था यकिन हुन नसकेको कम्पनीले जनाएको हो ।
त्रिशुली जलविद्युत कम्पनीले आयोजनाको संरचना क्षतिग्रस्त भएको र कर्मचारीको अवस्था अज्ञात रहेको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई गराएको छ ।
कम्पनीका अनुसार आयोजनाको क्षतिको अवस्था गम्भीर रहेको छ । बाढीले आयोजनाको निर्माण कार्यमा ठूलो असर पुगेको छ ।