इन्धनबाट चल्ने कारहरूको लोकप्रियता फेरि बढ्दै
काठमाडौं । विश्वभरका गाडी किन्नेमध्ये धेरै उपभोक्ता पुनः आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीतर्फ फर्किन थालेको अर्न्स्ट एण्ड यङ (ईवाई) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टले देखाएको छ । अस्थिर नीति, व्यापार युद्ध र ईभीसम्बन्धी पूर्वाधार तथा लागतप्रतिको बढ्दो शंकाका कारण यस्तो भएको रिपोर्टमा उल्लेख छ । डिजेल तथा पेट्रोलबाट चल्ने कारको बिक्री सहज बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्ना पुख्र्यौली सरकारद्वारा तयार गरिएका फ्युल–इकनोमी स्ट्यान्डर्डहरू ठूलो मात्रामा घटाउने प्रस्ताव पेश गरे । युरोपेली युनियनले समेत सन् २०३५ पछि आईसीई बन्द गर्ने योजना फितलो पारिएको संस्करण छिट्टै ल्याउन सक्ने संकेत छ । ईवाई ग्लोबल एयरोस्पेस, डिफेन्स एण्ड मोबिलिटीका प्रमुख कोन्स्टान्टिन एम. गालका अनुसार ईभीतर्फको रूपान्तरण अपेक्षाभन्दा ढिलो गतिमा अघि बढेपछि नीतिहरू परिवर्तन भइरहेका हुन् । उनका अनुसार चिनियाँ उपभोक्ताहरू धेरै ईभी किनिरहे पनि उनीहरूका लागि गाडी केले चल्छ भन्ने भन्दा पनि कति राम्रोसँग डिजिटल लाइफस्टाइलसँग एकीकृत हुन्छ भन्नेमा बढी चासो छ । जहाँ एकातिर परम्परागत गाडी निर्माता कम्पनीहरूले जीवाश्म इन्धनको प्रयोग कम गर्ने गति सुस्त चाहन्छन् भने विद्युत् यातायात समर्थक समूहहरूले सीओटू उत्सर्जन नियन्त्रणका लागि ईभीतर्फ छिटो संक्रमण अत्यावश्यक भएको बताउँदै आएका छन् । पश्चिमी नीतिनिर्माताहरूले चीनका भारी रूपमा अनुदान प्राप्त ईभीहरूबाट आफ्ना बजार जोगाउन आयात शुल्कजस्ता कडा उपायहरु अपनाइरहेका छन् । तर अमेरिकन र युरोपेली कार निर्माताहरूले विश्वबजारमा चीनका पेट्रोलबाट चल्ने कारहरूसँग समेत कडा प्रतिस्पर्धा भोगिरहेका छन् । विश्वभरका ५० प्रतिशत गाडी खरिदकर्ताहरू आगामी २४ महिनामा नयाँ वा पुरानो पेट्रोलरडिजेलबाट चल्ने कार किन्न चाहन्छन्— यो दर २०२४ को तुलनामा १३ प्रतिशतले बढेको हो । ब्याट्री–इलेक्ट्रिक कारप्रतिको रुचि १० प्रतिशत बिन्दुले घटेर १४ प्रतिशतमा पुगेको छ । हाइब्रिड कारप्रतिको रुचि ५ प्रतिशतले घटेर १६ प्रतिशत मात्र बाँकी छ । सम्भावित ईभी खरिदकर्तामध्ये ३६ प्रतिशतले भू–राजनीतिक परिस्थितिका कारण खरीद पुनर्विचार वा ढिलाइ गरिरहेका छन् । ‘हामीले हालै युरोपेली युनियनसँग छलफल गरेका छौं । उनीहरूले ग्रिन डिलको पुनर्मूल्यांकनका लागि ‘ड्यु–डिलिजेन्स’ गरिरहेका छन्... अहिले उनीहरू धारणा वा विश्वासभन्दा वैज्ञानिक तथ्यमा बढी ध्यान दिन थालेका छन्,’ गालले भनिन् ।
तारागाउँ रिजेन्सी होटलले ५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।
इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न, उत्कृष्ट विद्यार्थी लेनिसा घिमिरे सम्मानित
काठमाडौं । इटहरी इन्टरनेशनल कलेजले इटहरीको सोल्टी वेस्टेन्डमा वार्षिक दीक्षान्त समारोह २०२५ रूपमा सम्पन्न गरेको छ । सोमबार आयोजित कार्यक्रममा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो । अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको समारोहमा स्नातकहरूको उपलब्धि, सिकाइ यात्रा र भविष्यका अवसरबारे चर्चा गरियो । कलेजका अनुसार यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको छ । निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताका आधारमा प्रदान गरिने यस छात्रवृत्तिले विद्यार्थीलाई आगामी शैक्षिक यात्रामा थप प्रेरणा दिने विश्वास कलेजले व्यक्त गरेको छ । कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक प्रमुखलगायत प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति थियो । स्नातकहरूलाई बधाई दिँदै अध्यक्ष बुढाथोकीले भने, 'विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता हो ।' सोही कार्यक्रममा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिष्टोफर लेनले कलेज तथा विद्यार्थीहरूको प्रगतिको प्रशंसा गर्दै आइएनजी–लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाइने बताए । कलेजले दीक्षान्त समारोह आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको जनाउँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर र विद्यार्थी क्षमताविकासलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
भोजपुर । अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराइएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । अन्य क्रसर उद्योगहरू अनुगमन भइरहेको उनको भनाइ छ । ‘हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ,’ प्रमुख थुलुङले भने, ‘कानून विपरीत रहेका क्रसर उद्योगलाई कानूनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ । अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ ।’ क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिए । आवश्यक कानूनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको उनको भनाइ छ । अवैध रुपमा चलिरहेको क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनको लागि दबाब दिइरहेको उनले बताए । ‘राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन,’ उनले भने, ‘सबै क्रसर उद्योगलाई कानूनी दायरामा ल्याउन आवश्यक कदम अघि बढाएका छौँ ।’ जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उन्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ । पक्की पुलबाट ५ सय मिटर, सडक मार्ग, खोला किनाराबाट २ सय मिटर र हाइटेन्सन लाइनभन्दा १ सय मिटर टाढाको दुरीमा क्रसर सञ्चालन गर्नुपर्ने कानूनी प्रावधन रहे पनि उद्योगले कुनै पनि प्रक्रिया पूरा नगरेको अनुगमन समिमिले जनाएको छ । क्रसर उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३ सय मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दुरीमा सञ्चालनमा छ । बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान रहेको छ । क्रसर भोजपुरको लेगुवा बजार र धनकुटाको राम बजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ । मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ को माघ महिनादेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा छ । रासस
सुन्तला किलोको ९० रुपैयाँ, यस्तो छ तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । कालीमाटीमा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ३० रुपैयाँ, रातो मूला प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३२ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ । रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, सेलरी प्रतिकिलो ४५० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ३५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो २७० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।
चार वटा फर्मलाई जरिवानासहित कारबाही
काठमाडौं । नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई २० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान १० हजार जरिवानासहित कारबाही गरेको छ । त्यस्तै, काठमाडौं महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई पनि १० हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ को ‘घ’ को कसुरमा कारबाही गरिएको विभागले जनाएको छ । सोमबार विभागले काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये ११ वटालाई सामान्य निर्देशन दिइ व्यवसायमा आवश्यक सुधार गर्न, कानुन परिपालना गर्न निर्देशन दिइएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाईड रिसोर्टमा छुट दिने
काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रालिबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यसका साथै एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जस अन्तर्गत एसबिएलएनपिएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३५ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।