भोटेकोशी बाढीः मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हनेको संख्या ९ सय ८७ पुगेको छ ।  

मंगलबार (भदौ १६) गते  बिहान ९ बजेसम्म ९ सय ८७ जनाको जनाको शव फेला परेको र ३ हजार ९ सय ६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव भेटिएको छ । त्यस्तै गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८, रसुवामा २७ र नुवाकोटमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बाढीमा परी हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन् । घाइतेमध्ये २,७४० जनाको उपचार नेपाल सेनाका स्वास्थ्यकर्मीमार्फत गरिएको छ । पहिचान नखुलेका शवहरूलाई २१ वटा अस्पतालमा राखिएको छ ।

विपद्का कारण विशाल सङ्ख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन् । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नुवाकोटबाट करिब १,५५८ र रसुवाबाट ८६५ जना बेपत्ता छन् । यस्तै, जलविद्युत् आयोजनाहरूबाट ६३९ जना, ५८३ जना विदेशी नागरिक र उनीहरूसँग भ्रमणमा गएका १६४ जना नेपाली हालसम्म सम्पर्कमा आएका छैनन् ।

सुरक्षाकर्मीतर्फ नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारी बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म ११,८१४ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले ५७३ पटक (मङ्गलबार मात्र १२ उडान) हवाई उडान गरी ३ हजार४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरिसकेको छ । यस्तै, रसुवा र नुवाकोटमा राहत सामग्री ढुवानीका लागि सशस्त्र प्रहरीले पनि ५० भन्दा बढी उडान भरेको छ ।

उद्धार तथा राहत कार्यका लागि कुल २९ हजार ०११ सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसमा ८,८९६ नेपाली सेना, ७ हजार ९१२ नेपाल प्रहरी र ४ हजार २०३ सशस्त्र प्रहरी रहेका छन् । 

नेपाल सरकारले प्रभावित क्षेत्रका लागि आर्थिक सहायता घोषणा गरेको छ । जसअन्तर्गत रसुवा र नुवाकोटलाई १९१ करोड, धादिङलाई ५० लाख र अन्य प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।

राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक, ३७ बोलेरो र हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ ।

प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज बनाउन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।

त्यसैगरी, बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमका ११० वटै टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ भने एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन् ।

Share News