विपत्तिमा गोल्याण फाउण्डेशनको साथ, ४ सयलाई दैनिक खाना

काठमाडौं । भोटेकोशीलगायत नदी बेसिनमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित हजारौं नागरिक घरबारविहीन भएका छन् । उनीहरू अहिले पनि कष्टकर अवस्थामा बस्न बाध्य छन् ।

यस्तो विपत्तिका बेला गोल्याण ग्रुपअन्तर्गतको गोल्याण फाउण्डेशन भने बाढी प्रभावितको सहयोगमा सक्रिय भएको छ । फाउण्डेशनले बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

फाउण्डेशनले नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा भोजन, स्वास्थ्य उपचार र मनोपरामर्श सेवा उपलब्ध गराइरहेको छ ।

उक्त होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । उनीहरूका साथै आसपासका बाढी प्रभावित गरी दैनिक करिब ४ सय जनालाई तीनपटक खाना तथा खाजा उपलब्ध गराइँदै आएको छ ।

भोजनसँगै प्रभावितलाई सामान्य स्वास्थ्य सेवा पनि दिइएको छ । बालबालिकाका लागि बालमनोपरामर्श सेवा सञ्चालन गरिएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले राहत तथा सहयोगका लागि ५० जना स्वयंसेवी, कर्मचारी र मनोपरामर्शकर्ता परिचालन गरेको छ । गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख तथा फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेको नेतृत्वमा स्वयंसेवी टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिका रहेका छन् । उनीहरूका लागि खेल सामग्री उपलब्ध गराउनुका साथै बालमनोपरामर्शसमेत दिइँदै आएको गैह्रेले बताइन् ।

‘कत्ति पनि ढिलो नगरी गोल्याण फाउण्डेशनको स्वयंसेवी समूह बाढीको भोलिपल्टै प्रभावित क्षेत्रमा पुगेर तत्काल खानपिनको व्यवस्था गर्यो,’ उनले भनिन् ।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले विपत्तिको समयमा प्रभावित नागरिकलाई साथ र सहयोग गर्नुपर्ने मान्यताअनुसार बाढी गएको दिनमै राहत तथा सहयोगको योजना बनाइएको बताए ।

‘यस्तो बेला प्रभावित क्षेत्रमै पुगेर सहयोग गर्नुपर्छ भन्ने हिसाबले हामीले नुवाकोटको विदुरमा गएर तत्काल राहत तथा सहयोग कार्य गर्यौं,’ उनले भने, ‘अवस्था सामान्य नभएसम्म हाम्रो सहयोग जारी रहन्छ ।’

उनले नेपाल सरकार तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर राहत तथा सहयोगलाई थप प्रभावकारी बनाइने बताए ।

यसैबीच, गोल्याण ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्याण ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक शशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

रिलायन्स स्पिनिङ मिल्स नेपालका प्रमुख धागो उत्पादक कम्पनीमध्ये एक हो । कम्पनीले सुनसरीको दुहबी र खनारमा रहेका उद्योगबाट धागो उत्पादन गर्दै आएको छ ।

प्राकृतिक विपत्तिको समयमा नागरिक तथा सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Share News