रास्वपाको सय क्षेत्रमा जीत, २५ मा अझै अगाडि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म एक सय सिट जितेको छ । १२९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जीत हासिल गरेको हो । रास्वपा अझै २५ क्षेत्रमा अगाडि छ । दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ भने २ क्षेत्रमा अग्रता छ । एमालेले ७, नेकपाले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । एमाले अझै ४ सिटमा अगाडि छ । नेकपा पनि दुई सिटमा अगाडि छ ।
११० क्षेत्रको नतिजा सार्वजनिक, कांग्रेस १२ र एमाले ६ ठाउँमा विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी रहेको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११० क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८५ निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको छ । साथै रास्वपाले थप ३७ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ पनि रास्वपा ७ लाख ४८ हजार बढी मतसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी नेपाली कांग्रेसले हालसम्म १२ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने ७ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ कांग्रेसले २ लाख ५१ हजारभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा (एमाले) ले हालसम्म ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । एमालेले थप ५ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ भने समानुपातिकतर्फ १ लाख ९८ हजारभन्दा बढी मत प्राप्त गरिसकेको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ५ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने ३ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । उक्त पार्टीले समानुपातिकतर्फ ९२ हजारभन्दा बढी मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म १ सिटमा जीत निकालेको छ भने समानुपातिकतर्फ ५१ हजारभन्दा बढी मत प्राप्त गरेको छ । यसैगरी स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा जीत हासिल गरेका छन् भने श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।
२० हजार बढी मतान्तरसहित बारा २ मा रास्वपाका चन्दन कुमार सिंह निर्वाचित
काठमाडौं । बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दन कुमार सिंह निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवलाई २० हजारभन्दा बढी मतले पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । चन्दनले ३५ हजार ५९० र यादवले १४ हजार १९८ मत पाएका छन् । नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७, नेकपा एमालेका बलविर प्रसाद चौधरीले ७ हजार २१३ र प्रगतीशिल लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा १ हजार ३९६ मत प्राप्त गरे ।
रुकुम पश्चिममा तेस्रो भए जनार्दन, नेकपाका गोपाल शर्मा विजयी
काठमाडौं । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्मा निर्वाचित भएका छन् । उनी २१ हजार ६०९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाए । प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले भने १४ हजार ३४६ मात्र मत पाए ।
सल्यानमा रास्वपाका चन्दलाई पराजित गर्दै नेकपाका मल्ल निर्वाचित
काठमाडौं । सल्यानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित भएका छन् । उनले २३ हजार १८९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ मत, नेकपा एमालेका गुलाब जंग शाहले १५ हजार ३७३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरे ।
४२ हजार ६०२ मतसहित दाङ-१ मा रास्वपाका पाठक निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले ६ हजार ८२५ मत तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणि चौधरीले ४ हजार ९६५ मत प्राप्त गरे । कुल मतदाता एक लाख ४० हजार एक रहेकामा ८० हजार ९२० मत खसेको थियो ।
समानुपातिकतर्फ साढे १२ लाख मतगणना हुँदा काँग्रेस दोस्रो, कुन दलले कति ल्याए ?
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २ लाख १५ हजार २३१, नेकपा (एमाले)ले १ लाख ७२ हजार ४५९, नेपाली कम्युनिष्ट पार्टीले ८३ हजार ८५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ३७०, श्रम संस्कृति पार्टीले २२ हजार ३८२, राष्ट्रिय परिवर्तन पार्टीले १७ हजार ५८, जनता समाजवादी पार्टीले ५ हजार ३१७ र एकल चिह्न चकिया (जाँतो)ले ५ हजार ८३ मत प्राप्त गरेको छ ।
धादिङ १ मा आशिका तामाङ विजयी, त्रिपाठी र पाण्डे पराजित
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ विजयी भएकी छिन् । तामाङले ३९ हजार १२८ पाइन् । उनका नजिकका प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठी १५ हजार ३१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेले १४ हजार ७०९ मत पाएका छन् । कांग्रेस कृष्ण रिजालको मत १० हजार ८० मत रहेको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा राजेन्द्र पाण्डे विजयी भएका थिए ।