प्रधानमन्त्री बालेनले भने- प्रिय जेनजी, सुशासन कायम हुने नै छ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशमा सुशासन कायम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । जेनजी शहीद दिवसका अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले युवा पुस्ता (जेनजी) लाई आश्वस्त पार्दै सुशासन कायम हुने स्पष्ट पारेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ ।’ गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले आयोजना गरेको जेनजी आन्दोलनको स्मरणमा यो दिवस मनाइएको हो । सोही आन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन र त्यसपछिको आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको थियो । जेनजी शहीद दिवसका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको थियो । सोही क्रममा प्रधानमन्त्री शाहले आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।
मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण
काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले अमर जेन्जी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ मौनधारण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राठीले जेन्जी शहीदहरूको बलिदानबाट प्राप्त परिवर्तनलाई आत्मसात् गर्दै उनीहरूको सपना साकार पार्नुपर्नेमा जोड दिए । शहीदका बाँकी रहेका सपना पूरा गर्न र मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूका तर्फबाट हरसम्भव सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे । श्रद्धाञ्जली कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीका साथै निवर्तमान अध्यक्ष नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्ष विकास कुमार बेगवानी, महासचिव संजय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईं लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बाढी प्रभावित क्षेत्रमा एनसेलद्वारा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक पूर्वाधार र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि एनसेलले प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत आपत्कालीन सञ्चार सेवा उपलब्ध गराउन थालेको छ । उद्धार, राहत तथा पुनस्र्थापनामा खटिएका सरकारी निकायहरूसँगको समन्वयमा एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटमा आधारित उपकरणहरू जडान गरी निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । हालसम्म सञ्चार सञ्जाल बिच्छेद भएको नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा यो प्रविधि जडान भइसकेको छ भने अन्य प्रभावित क्षेत्रहरूमा पनि जोड्ने काम तीव्र पारिएको छ । जमिनमा राखिएका विशेष उपकरणले स्याटलाइटबाट प्राप्त गरी स्थानीय क्षेत्रमा वाईफाईमार्फत उच्च गतिको इन्टरनेट सेवा पुर्याउँछन् । साधारण टेलिफोन वा मोबाइल नेटवर्क नभएको अवस्थामा पनि यो प्रविधिमार्फत प्रभावित समुदाय, अस्थायी शिविर, होल्डिङ सेन्टर र राहत वितरण केन्द्रमा रहेका मानिसहरूले सन्देश आदानप्रदान, इन्टरनेट कल र राहत समन्वयको काम गर्न सक्नेछन् । एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायबाट आवश्यक स्वीकृति लिएर यो सेवा सुरु गरिएको हो । विपद्को पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा दिँदै आएको छ । साथै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड आर्थिक सहयोग समेत हस्तान्तरण गरिसकिएको छ । विपद्को समयमा कनेक्टिभिटी सुविधा मात्र नभई लाइफलाइन हुने भएकाले संकटको घडीमा नागरिकलाई सम्पर्कमा राख्न एनसेल प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
विपदको समयमा सुरक्षाकर्मीलक्षित अफवाह नफैल्याउनूः प्रवक्ता काफ्ले
काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी सुरक्षाकर्मीहरूले राहत सामग्री लिएको, वितरण नगरेको तथा सामग्री सडेर गएको भन्ने आशयका भ्रमपूर्ण तथा तथ्यहीन सामग्री प्रसारित भएको प्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ । नेपाल प्रहरीले प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पारेको छ । प्रहरीका अनुसार विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने काम गर्न हुँदैन । आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने गरी कपोलकल्पित आरोप र अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार कार्य भएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताएका छन् । अफवाह तथा अपुष्ट सूचनाले विपद् व्यवस्थापनका संवेदनशील कार्यसमेत प्रभावित पार्न सक्ने उनको भनाइ छ । नेपाल प्रहरीलगायत सुरक्षा निकायहरू विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार तथा मानवीय सेवामा निरन्तर प्रतिबद्ध रहेको काफ्लेले बताए । प्रहरीले संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न उनले अनुरोध गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर खटिइरहेको काफ्लेले बताएका छन् । ‘सुरक्षाकर्मीहरूले आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रभावित नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका मानवीय कार्यमा भूमिका निर्वाह गर्दै आएका छन्,’ काफ्लेले भनेका छन् ।
प्रधानमन्त्री राहत कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुखातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ । डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो तथ्यांक मंगलबार (आज) साढे ५ बजेसम्मको हो । रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ, जुन विपद्अघिको २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो । भदौ २३ गते एकै दिन ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ । राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिएको छ । प्रभावित परिवारप्रति निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाप्रति मन्त्रालयले आभारसमेत व्यक्त गरेको छ ।
गृहमन्त्रीको जिकिर– जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने दावी गरेका छन् । मंगलबार ललितपुरमा आयोजित सहिद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे। उनले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताए । गृहमन्त्रीले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबीसमेत गरे । उनले भने, ‘नेपाली जनताले दुई तिहाई बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो । राजीनामा पनि दिन सकिँदैन । हामीलाई नेपाली जनताले जिताएको हो त्यही भएर हजुरका आशीर्वाद लिएर हामी तपाईंहरुको सेवामा आएका छौं । तपाईंहरुलाई राजनीति गरेर राज गर्न आएका होइनौं हामी, हामी सेवा गर्न आएका हौं ।’ गृहमन्त्री गुरुङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
बीमितले अझै पाएनन् बीमाको रकम, २३ अर्बको दाबीमा ९ अर्ब मात्रै भुक्तानी
काठमाडौं । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । जेनजी आन्दोलनको एक वर्ष बितिसक्दा पनि बीमितले दाबीबापत् पाउनुपर्ने भुक्तानी भने पाउन सकेका छैनन् । बीमा कम्पनीहरूमा जेनजी आन्दोलनको क्षतिबापतको २३ अर्ब १९ करोड रुपैयाँ बढीको दाबी परेको थियो । नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनबाट क्षति पुगेका ३ हजार ३ सय ९० बीमितले क्षतिपूर्तिबापत् २३ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी परेको थियो । गत असार २२ गतेसम्ममा बीमा कम्पनीहरूले दाबीबापतको ८ अर्ब ८२ करोड रुपैयाँ मात्र दाबी भुक्तानी गरेका छन् । जुन कुल दाबी रकमको ३८ प्रतिशतमात्रै हो । आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानका थुप्रै संरचनामा ठूलो क्षति पुगेको थियो । सिंहदरबार, अदालतदेखि निजी व्यवसायीका संरचनासम्ममा क्षति पुगेको थियो । भाटभटेनी सुपरमार्केटदेखि ठूला तारे होटल हिल्टन काठमाडौं, हायात रिजेन्सीलगायत ३० भन्दा बढी होटलहरूमा क्षति पुगेको थियो । जसबाट बीमा कम्पनीहरूमा ठूलो दाबी परेको थियो । भाटभटेनीका २७ वटा स्टोहरूमध्ये २० वटामा धेरै क्षति पुगेको थियो । भाटभटेनीबाट मात्रै बीमा कम्पनीमा ८ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो । त्यस्तै, हिल्टन होटलमा साढे ८ अर्ब रुपैयाँ बराबरको क्षति भएकोमा ५ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको थियो । त्यसबाहेक स्थानीय पालिकाहरू, सरकारी तथा निजी सवारी साधनहरूमा पनि क्षति पुगेको थियो । यसले गर्दा बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी परेको थियो ।
अध्यक्ष अक्षयले भने - सहिदहरुले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो
काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवारको संस्था जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न व्यक्तिको सहभागिता थियो । समाजले जेनजी आन्दोलनपछि सहिद परिवारका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै गोल्याणलाई सम्मान गरेको जनाएको छ । गोल्याण ग्रुपले आफ्नो सामाजिक संस्था गोल्याण फाउण्डेशन मार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति र सहिदका बुवाआमालाई आजीवन स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । आन्दोलन भएको एक महिनापछि, २०८२ असोज २४ गते फाउण्डेशनले यो कार्यक्रम सुरु गरेको थियो । फाउण्डेशनका अनुसार हाल २२ सहिदका ३१ जना बालबालिका शैक्षिकवृत्तिमा अध्ययन गरिरहेका छन् । यस्तै, २२ सहिदका ४३ जना बुवाआमालाई वार्षिक १० लाख रुपैयाँसम्मको आजीवन स्वास्थ्य बीमा उपलब्ध गराइएको छ । यी कार्यक्रमका लागि फाउण्डेशनले हरेक वर्ष करिब २ करोड ५० लाख रुपैयाँ खर्च गर्दै आएको जनाएको छ । सम्मान ग्रहणपछि अक्षय गोल्याणले सहिद परिवारसँग गरिएको प्रतिबद्धता कुनै एक वर्षका लागि नभई सधैंका लागि भएको बताए । सहिदका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्य सुरक्षालाई निरन्तर साथ दिने उनले प्रतिबद्धता जनाए । उनले सहिदहरूले देखेको सुरक्षित, शान्त र न्यायपूर्ण नेपाल निर्माण गर्नु अब सबै नेपालीको जिम्मेवारी भएको उल्लेख गर्दै भने, 'सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो हो ।' गोल्याण फाउण्डेशनले शैक्षिकवृत्ति पाएका विद्यार्थीको विद्यालय शुल्क, छात्रावास, खाना, यातायात, पुस्तक, पोशाक र अतिरिक्त क्रियाकलापलगायत सबै शैक्षिक खर्च व्यहोर्दै आएको जनाएको छ । साथै, शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमालाई स्वास्थ्य बीमामार्फत उपचारमा सहयोग गरिरहेको पनि फाउण्डेशनले जानकारी दिएको छ ।