अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश दिने
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो दरमा लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
कोरला नाका पूर्ण सञ्चालनपछि मुस्ताङमा रोजगारी र व्यापार बढ्यो
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरु कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए । सो नाका माथिल्लो मुस्ताङका नागरिकहरुका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गको रुपमा गत ३० भदौमा पूर्णरुपमा खुला गरको हो । लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन् । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए । यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिव ८०/९० जना मध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् । यो नाका समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटेपनि नाका बन्द नहुने जनाइएको छ । नाकामा व्यापार गर्नेहरुले आन्तरिक रुपमा ब्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् । पर्यटकहरुलाई चिनिया उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ । त्रिपाल टाँगेर व्यापार गर्नेहरुका लागि एक जीप बराबर दुई जना ब्यापारीले ब्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जीप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय ब्यापारी लिन्डुप गुरुङले जानकारी दिए । नाकामा तीन सय जना भन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यहाँ एक सय बढी युवाले लोड अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने ल्याउने काम पाएका छन् । ती युवाहरुले दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्छन् । रासस
एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छ : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन् । सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमाले तथा राजनितिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए । स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाई छ । एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको जानकारी दिए । ‘सरकारको तर्फबाट हामीले उहाँहरुलाई निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउँछ, चुनाव प्रचारप्रचारको लागि चुनावी अभियानका अगाडी बढ्नको लागि कुनैपनि नेता कार्यकर्ता, अथवा जनतलाई कहीँ कतैपनि अवरोध नभईकन खुला रुपमा भोट माग्ने र भोट दिने वातावरण बनाउने कुरामा सरकार प्रतिवद्ध छ भन्ने कुरामा हामीले प्रतिवद्धता दोहोर्याएका छौँ,’ उनले भने । उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गरे । उनले एमालले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताए । भदौ २३ र २४ गतेको घटना छानविन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने जानकारी दिए । उनले भने, ‘जब तपाई हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनितिक दललाई र तीनका नेताहरुलाई त्यो वातावरण त सरकारले दिनुपर्यो । तर सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरुको स्पष्ट रुपमा राजनितिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ ।’ कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकारात्मक रुपमा लिएर काम अगाडि बढाउने बताए । उनले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि जानकारी दिए ।
धनगढीमा २ अर्ब २० करोड लगानीमा पाँचतारे ‘होलिडे इन आईएचजी’ निर्माण हुँदै
काठमाडौं । धनगढीमा पाँचतारे होटल ‘होलिडे इन आईएचजी’ निर्माण हुने भएको छ । मंगलबार उक्त होटलको व्यवस्थापनसम्बन्धी होटल इन आईएजी र क्लब चौलानीबीच सम्झौता भएको छ । सम्भौता पत्रमा क्लब चौलानीको तर्फबाट डा. राजेन्द्र केसी र आइएचजीको तर्फबाट दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् । अध्यक्ष केसीका अनुसार धनगढीमा निर्माण हुन लागेको उक्त होटल सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुने छ । उनका अनुसार होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् । त्यस्तै, १८ हजार ५ सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् । परियोजनाको कुल लगानी २ अर्ब २० करोड रहेको छ । जसमा ६५ प्रतिशत अर्थात १ अर्ब ४३ करोड रुपैयाँ बैंक ऋण र ३५ प्रतिशत अर्थात ७७ करोड प्रवद्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिने होटलले जनाएको छ । होटल २०८४ को सुरुबाट सञ्चालनमा आउने तयारी छ । आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको । यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने क्लब चौलानीका सीए दीपक पाण्डेले बताए । पाण्डेका अनुसार होटल सञ्चालनपछि २ सय जना स्टाफ, ५ सय क्यासिनो कर्मचारी गरी ७ सयले रोजगारी पाउनेछन् । धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ । धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जङ्सनको रूपमा विकसित हुँदै गएको छ । महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ ।
चुनावको लागि सहमति खोज्दै सरकारी टोली दलका कार्यालयमा
काठमाडौं । निर्वाचन र समग्र राजनीतिक सहमतिका विषयमा छलफल गर्न खटिएको सरकारी टोलीले प्रमुख राजनीतिक दलहरूका केन्द्रीय कार्यालयमा पुगेर भेटवार्ता गरेको छ । भ्रमणका क्रममा दलहरूले निर्वाचनप्रतिको दृष्टिकोण, सरकारप्रति असन्तुष्टि र सम्भावित राजनीतिक निकासबारे आ–आफ्ना अडान राखे । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेको सरकारी टोलीलाई कांग्रेस नेतृत्वले संविधानअनुसार समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । निर्वाचन सफल बनाउन सरकारले विश्वसनीय राजनीतिक वातावरण, सुरक्षा व्यवस्था र प्रशासनिक तयारीबारे कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग कांग्रेसले राखेको छ । सहमतिको राजनीति आवश्यक भए पनि संविधानभन्दा बाहिरका कुनै पनि विकल्प स्वीकार्य नहुने कांग्रेसको स्पष्ट अडान रहेको नेताहरुले सरकारी टोलीसँग बताएको थियो । नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल पुगेको सरकारी टोलीलाई एमालेले सरकारले निर्वाचनप्रति गम्भीरता नदेखाएकोमा चिन्ता प्रकट गरेको छ । तत्काल निर्वाचनप्रति स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै पार्टीले अन्यथा राजनीतिक अनिश्चितता झन् गहिरिने चेतावनी दिएको छ । यदि सरकारले निर्वाचन गराउन नसक्ने अवस्था भए त्यसको वैकल्पिक राजनीतिक निकासबारे खुला बहस आवश्यक हुने संकेतसमेत एमाले नेतृत्वले दिएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी कार्यालय, पेरिसडाँडा पुगेको टोलीलाई माओवादी केन्द्रले व्यापक राजनीतिक सहमति बिना निर्वाचन कठिन हुने निष्कर्ष प्रस्तुत गरेको थियो । सर्वपक्षीय संवाद, विश्वास निर्माण र न्यूनतम सहमति प्याकेजमा जोड दिँदै पार्टीले सरकारलाई सक्रिय पहल गर्न सुझाव दिएको छ । आवश्यक परे संक्रमणकालीन राजनीतिक व्यवस्थाबारे पनि खुला छलफल हुनुपर्ने धारणा नेकपाले राखेको थियो ।
१३४ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर २५८४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १३४ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२८ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सागर डिस्टीलरीको ८ करोड, सीईडीबी होल्डीङसको ७ करोड, लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख र मन्जुश्री फाइनान्सको ६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा अन्य समूह सूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१७ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ तथा विकास बैंक ०.१६ प्रतिशतले घटेका छन् ।
डडेल्धुरामा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली
अमरगढी । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उनले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गरे । उनले गाडिएका खमबा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गसररहेका बताए । यस्तै भागेश्वर गाउँपालिकाकै ओडाखानका स्थानीय भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको बताए । उनले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको र सोलार घाम लागेको दिन मात्र चल्ने समस्या रहेको बताए । डडेल्धुराका एक हजारभन्दा बढी घरधुरी अझै पनि विद्युत् सुविधाबाट वञ्चित रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहका एक हजार २१ घरधुरीमा बिजुली नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ । सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रका ६० घरधुरीमा अझै बिजुली पुगेको छैन । परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा विद्युत् सेवा पुगेको छैन । आलिताल गाउँपालिकामा १८९ घरपरिवार, भागेश्वर गाउँपालिकामा १४८ घरपरिवार, नवदुर्गा गाउँपालिकामा ८५ घरपरिवार, अजयमेरु गाउँपालिकामा १०० घरपरिवार तथा गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै विद्युत् पहुँचबाहिर छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको छ । बाँकी एक हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उनले बताए । उनले सबै नागरिकलाई विद्युत् पहुँचमा पुर्याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए । बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिक भने टुकी र सोलारको भरमा दैनिकी बिताउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासका बस्तीदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म अझै पनि विद्युत् विस्तार हुन सकेको छैन । रासस
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका र उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।