१३४ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर २५८४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १३४ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२८ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सागर डिस्टीलरीको ८ करोड, सीईडीबी होल्डीङसको ७ करोड, लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख र मन्जुश्री फाइनान्सको ६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा अन्य समूह सूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१७ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ तथा विकास बैंक ०.१६ प्रतिशतले घटेका छन् ।
डडेल्धुरामा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली
अमरगढी । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उनले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गरे । उनले गाडिएका खमबा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गसररहेका बताए । यस्तै भागेश्वर गाउँपालिकाकै ओडाखानका स्थानीय भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको बताए । उनले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको र सोलार घाम लागेको दिन मात्र चल्ने समस्या रहेको बताए । डडेल्धुराका एक हजारभन्दा बढी घरधुरी अझै पनि विद्युत् सुविधाबाट वञ्चित रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहका एक हजार २१ घरधुरीमा बिजुली नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ । सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रका ६० घरधुरीमा अझै बिजुली पुगेको छैन । परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा विद्युत् सेवा पुगेको छैन । आलिताल गाउँपालिकामा १८९ घरपरिवार, भागेश्वर गाउँपालिकामा १४८ घरपरिवार, नवदुर्गा गाउँपालिकामा ८५ घरपरिवार, अजयमेरु गाउँपालिकामा १०० घरपरिवार तथा गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै विद्युत् पहुँचबाहिर छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको छ । बाँकी एक हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उनले बताए । उनले सबै नागरिकलाई विद्युत् पहुँचमा पुर्याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए । बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिक भने टुकी र सोलारको भरमा दैनिकी बिताउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासका बस्तीदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म अझै पनि विद्युत् विस्तार हुन सकेको छैन । रासस
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका र उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।
तारिख बुझ्न चितवन जाँदै रवि
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाने भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने चितवनको सहारा सहकारी ठगी प्रकरणमा तारिख बुझ्न मंगलबार (आज) चितवन जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । लामिछाने बुद्ध एयरको विमानमार्फत चितवन जाने कार्यक्रम रहेको भए पनि मौसम खराबीका कारण उडान प्रभावित भएको छ । उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार बिहान ९ बजेका लागि टिकट भए पनि प्रतिकूल मौसमका कारण हालसम्म जहाज उड्न सकेको छैन । ‘मौसम खराब हुँदा उडान रोकिएको छ, स्थिति सामान्य भएपछि मात्रै प्रस्थान हुनेछ,’ आचार्यले बताए। लामिछानेमाथि विभिन्न सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी रहँदा उनी अदालतमा नियमित रूपमा उपस्थित हुँदै आएका छन् ।
ट्रेकिङ अनुमति शुल्कमा सरकारको ठूलो सुधार, अब प्रतिदिन ५० डलर मात्र
काठमाडौं । नेपाल सरकारले विदेशी पर्यटकका लागि लाग्दै आएको पदयात्रा (ट्रेकिङ) अनुमति दस्तुरमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यागमन नियमावली, २०५१ संशोधन गर्दै हालसम्म लागू रहेको पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० डलर लिने व्यवस्था हटाइएको छ । नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले पदयात्रा अनुमति लिन प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा मात्र तिर्नुपर्नेछ । यो निर्णय नियमावलीको अनुसूची–१२ अन्तर्गत पदयात्रा अनुमति दस्तुरसम्बन्धी व्यवस्था हेरफेर गर्दै कार्यान्वयनमा ल्याइएको हो । सरकारले यस कदमलाई पर्यटनमैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ । यसले विदेशी पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार पुरानो संरचनाले छोटो समयका पर्यटकलाई निरुत्साहित गर्दै आएको थियो । अब दैनिक दर प्रणाली लागू भएपछि लचिलो यात्रा योजना, लामो बसाइ र पर्यटक संख्या वृद्धि हुने विश्वास गरिएको छ । सरकारको यो निर्णयले विशेषगरी अन्नपूर्ण, सगरमाथा, लाङटाङलगायत प्रमुख पदयात्रा मार्गमा पर्यटन गतिविधि बढाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ।
काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै कम
काठमाडौं । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ । हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत मङ्सिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो । उनका अनुसार मंगलबार देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, 'तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।' आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ ।
ओली–लेखकसँग बयान लिने प्रक्रिया सुरु
काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगले आन्दोलनका क्रममा भएका घटनाबारे अनुसन्धानलाई तीव्र बनाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने प्रक्रिया सुरु भइसकेको जनाएको छ । आयोगका अनुसार आन्दोलनको पृष्ठभूमि, निर्णय प्रक्रिया, सुरक्षा निकायको भूमिका तथा आन्दोलनका क्रममा भएका दमन, क्षति र मानवअधिकार उल्लङ्घनसम्बन्धी विषयमा बयान प्रक्रिया अघि बढाइएको हो । यसअघि आयोगले आन्दोलनमा प्रत्यक्ष संलग्न सुरक्षा अधिकारी, प्रशासनिक निकाय, पीडित पक्ष तथा प्रत्यक्षदर्शीहरूसँग बयान संकलन गरिसकेको छ । आयोगले निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने उद्देश्यसहित सबै सम्बन्धित पक्षसँग बयान लिने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । बयानका आधारमा जिम्मेवारी निर्धारण, नीतिगत कमजोरी पहिचान तथा भविष्यमा यस्ता आन्दोलनका क्रममा दोहोरिन सक्ने घटनालाई रोक्न सिफारिस तयार पारिने आयोगको भनाइ छ ।
बीवाईडी बेच्ने साइमेक्स इंकको एक वर्षमै साढे ११ अर्ब रुपैयाँ आम्दानी, ईभी बजारमा बलियो पकड
काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एकै वर्ष साढे ११ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत अर्थात् ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीले १६ अर्ब ४० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । बढ्दो प्रतिस्पर्धाबीच साइमेक्स इंकले छोटो समयमै नेपाली अटोमोबाइलमा बलियो उपस्थिति जनाउन सफल भएको छ । साथै साइमेक्स इंकको आम्दानीमा बीवाईडी अटो–३ र डल्फिन मोडलको ९० प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीले हालै अटो-१, अटो-२ का कम मूल्यका नयाँ ईभी सवारीसाधन लञ्च गरिसकेको छ । यसबाट थप आम्दानी बढ्ने विश्वास कम्पनीले लिएको छ । सन् २०१६ जुलाईमा स्थापना भएको साइमेक्स इंक प्रालिले नेपालमा बीवाईडी ब्रान्डका यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति दरिलो बनाएको छ । साइमेक्स इंकले देशभरका प्रमुख सहरमा १४ वटा डिलरशिप आउटलेटमार्फत सवारी साधन बिक्री वितरण गर्दै आएको छ । साथै देशभर कम्पनीले विभिन्न ठाउँमा ६४ वटा चार्जिङ स्टेशन पनि सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीमा ५०.५ प्रतिशत सेयर स्वामित्व यमुना श्रेष्ठको रहेको छ भने बाँकी ४९.५ प्रतिशत सेयर सेयर स्वामित्व उनका भाइ अनिल श्रेष्ठको नाममा रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ४५ करोड रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब रुपैयाँ ऋण लिएको थियो ।