विकासन्युज

काठमाडौं-६ बाट बोगटी र शर्मा नेकपाको उम्मेदवार सिफारिस

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ व्यवसायी अम्बिर बोगटी र पूर्वविद्यार्थी नेता हिमाल शर्मा सिफारिस भएका हुन् । पार्टीको अर्थ तथा योजना विभागको केन्द्रीय सदस्य रहेका बोगटीसँग बैंकिङ, पुँजी बजार, उद्योग लगायत आर्थिक क्षेत्रको अनुभव छ । बोगटी साबिक सिभिल बैंक (हाल हिमालयन बैंक) का पूर्व अध्यक्ष हुन् । साढे ३ दशकदेखि पोल्ट्री फीड उत्पादनको अनुभवी बोगटी इन्भेस्टमेन्ट, ट्रेडिङ कम्पनीहरूमा पनि संलग्न छन् । प्रतिनिधि सभा समानुपातिकतर्फ रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा सिफारिस भएका छन् । यस्तै, पार्टीले राष्ट्रिय सभा सदस्यका लागि धनलाल महर्जन सिफारिस गरेकाे जनाएको छ । पार्टीको आन्तरिक छलफल तथा संगठनात्मक सन्तुलनका आधारमा उम्मेदवार सिफारिस गरिएको बताइएको छ । सिफारिस भएका नेताहरूले जनताको विश्वास जित्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने अपेक्षा क्षेत्रीय कमिटीले गरेको छ ।

एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट, ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २६२२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३३७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको १७ करोड, शिवम् सिमेन्टको १३ करोड, न्यादी गुप्रको १२ करोड र हिमालयन रिइन्स्योरेन्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

ठूला दल नआउँदा निर्वाचन आयोग सुनसान, कर्मचारी ‘अन्तिम घडी’ कुर्दै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन ठूला राजनीतिक दलहरू नपुगेका कारण निर्वाचन आयोगका कर्मचारीहरू बेरोजगारीजस्तै भएको अवस्था छ । आयोगका अनुसार फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि बन्द सूची बुझाउने अन्तिम दिन हो । हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले आयोगमा आफ्नो समानुपातिक पूर्ण बन्द सूची बुझाइसकेका छन् । आयोगले सोमबार दिनभरि बन्द सूची दर्ता प्रक्रिया जारी रहने जनाएको छ । अन्य राजनीतिक दलहरूले पनि तोकिएको समयभित्र आफ्नो बन्द सूची बुझाउने तयारी गरिरहेको जानकारी दिए पनि अहिलेसम्म ठूला दलहरू आयोगमा पुगेका छैनन् । आयोगका सह–प्रवक्ता प्रकाश न्यौपानेका अनुसार अहिलेसम्म चार दलले मात्र सूची बुझाएका छन् । समाचार तयार पार्दासम्म ठूला दलहरू नपुगेका कारण कर्मचारीहरू वेलुका अवेरसम्म काम गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । एक कर्मचारीले भने, 'दलहरू अन्तिम समयमा आउलान् । सबै प्रक्रिया पुरा गर्न आजको रात कार्यालयमै बित्ने देखियो ।'

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष २५ लाख मूल्यको सुन्तला बेच्दै छन् । अघिल्लो वर्ष सुन्तला बेचेर उनले २२ लाख आम्दानी गरेका थिए । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै छन् । अहिलेसम्म १० लाखको सुन्तला बेचिसकेको र बगैँचामा अझै कम्तीमा १५ लाख सुन्तला रहेको उनी बताउँछन् । 'यसपालि २० लाख ३६ हजारमा बगैँचाको सबै सुन्तला किन्नेगरी ठेक्कामा देऊ भन्न व्यापारी आएका थिए, मैले दिइनँ,' गुरुङले भने, 'ठेक्कामा दिनुभन्दा आफैँले बेच्दा राम्रो होला भनी नदिने निधो गरेँ ।' विसं २०५७ मा करिब २२ रोपनी जग्गा लिएर २०५८ सालमा करिब एक हजार बिरुवा रोपी सुन्तला खेती गर्दै आएका गुरुङको बगैँचामा अहिले तीन हजारभन्दा बढी सुन्तलाको बोट रहेका छन् । उनको बगैँचामा वर्षभरि नै दैनिक तीन जनालाई नियमित रुपमा रोजगारी मिलेको र अहिले सुन्तला टिप्ने, बोक्ने समयमा भने छ–सात जनाले काम पाएको अवस्था छ । अन्य कुनै पनि खेतीपाती नहुने भिरालो, चिसो जमिनमा लगाएको सुन्तलाबाट बर्सेनि मनग्ये आम्दानी हुने गरेको जानकारी दिँदै आफूले उत्पादन गरेका सुन्तला स्थानीय बन्दीपुर बजारसहित डुम्रे, दमौली, पोखरा र चितवनका बजारहरूमा बिक्री हुने गरेको उनले जानकारी दिए । बन्दीपुर क्षेत्रका सुन्तला किसानका अनुसार वर्षमा १० लाख कमाउन गाउँबाहिर जानु पर्दैन, गाउँघरकै भिरपाखामा सुन्तला लगाए १०–१५ लाख कमाउन गाह्रो छैन । 'बन्दीपुरका सुन्तला भन्ने बित्तिकै एउटा ‘ब्रान्ड’ छ, बन्दीपुर पहिलेदेखि नै सुन्तलाका लागि प्रसिद्ध ठाउँ हो, बीचमा रोग लागेर समस्या पनि भयो,' सुन्तला किसान कष्णबहादुर गुरुङले भने, 'तर पनि हामीले बन्दीपुरमा सुन्तला बचाएका छौँ, घरमै बसी राम्रो आम्दानी गर्न सफल भएका छौँ ।' स्थानीय सुन्तला किसानका अनुसार बिरुवा लगाएको करिब तीन वर्षदेखि नै उत्पादन सुरु हुन्छ । आफ्ना बालबच्चालाई जस्तै गरी सुन्तलाको स्याहार गर्नुपर्दछ । कीराको प्रकोप, जीवाणु तथा ढुसीजन्य रोग, जरा कुहिनेलगायतका समस्याबाट सुन्तलालाई जोगाउन भने जति सजिलो छैन, बगैँचामै काम गरी रमाइरहे सुन्तलाले पनि राम्रै आम्दानी दिने रहेछ । स्थानीय बन्दीपुर गाउँपालिकाले किसानको मागअनुसार सुन्तलाको बिरुवा, अत्यावश्यक औषधि र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएकामा सुन्तला किसान खुसी देखिन्छन् । भारतीय पूर्वसैनिक समेत रहेका सुन्तला किसान गुरुङले भने, 'मलाई दुई छाक खान पुगेकै छ, मेरा छोराछोरी नातिनातिनाहरु सबै आ–आफ्नो ठाउँमा कमाउने भइसकेका छन् । आफ्नो त पेन्सन आउँछ, कमाएको रकम सामाजिक काममा लगाउँदै रमाइरहेको छु । यसैमा खुसी मिल्छ । गाउँ तथा देशबाहिर जान तम्सेका युवायुवतीलाई गाउँमै काम गरी खान र मातृभूमिलाई माया गर्न अनुरोध छ, यसैमा सबैको भलो छ ।' सुन्तला पकेट कार्यक्रम घोषणा गरेर विभिन्न कार्यक्रममार्फत भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र वडा नंं को ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन् । मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा बन्दीपुर आसपासका भूभाग सुन्तला उत्पादनका लागि अनुकूल गाउँ मानिन्छ । यस क्षेत्रका अधिकांश सुन्तला किसानले प्रतिवर्ष १० मूल्य बराबरको सुन्तला बेच्ने गरेका छन् । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा व्यावसायिक रुपमा सुन्तलाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्थासहित उनीहरूको माग सम्बोधन गर्न थालेपछि यसप्रति कृषक आकर्षित भएको बताउँछन् । उच्चकोटीको स्वादिलो सुन्तलाका लागि पर्याय बनेको बन्दीपुरका किसानको माग सम्बोधन गर्न पालिका प्रतिबद्ध रहेको उनले बताए । गाउँपालिकाले आवश्यक सहयोगसहित विशेष चासो दिन थालेपछि पछिल्ला वर्षहरूमा बन्दीपुर क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएको, आधुनिक तरिकाबाट गोडमेल, हेरचाहसहित खेती हुन थालेको, उत्पादकत्व र गुणस्तर वृद्धिसँगै बजारको पहुँचका कारण सुन्तलाखेती रोजाइमा परको अवस्था छ । रासस

जसपा नेपाल र जसपाबीच एकता घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ । उनीहरूबीच सोमबार एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो ।      विगतमा एउटै दलमा रहेका उनीहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर एकता मधेस आन्दोलनको उपलब्धिका रूपमा रहेको सङ्घीयता गणतन्त्रको सरक्षण एवं संवद्र्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि भन्दै एकताको सहमति भएको हो ।      जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने तय भएको रेणु यादव पक्षका नेता प्रदीप यादवले जानकारी दिए । बदलिँदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गरी एकताको घोषणा गरिएको उनले बताए । 

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।      प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।      पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन् ।      जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।   

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् ।  आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । शुरुमा पुस १३ गतेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक सोमवार दिउँसो आयोगमा पुगेका हुन् । गौरीबहादुर कार्की नेतृत्वको यो तीन सदस्यीय आयोगले जेनजी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लंघन र भएको क्षतिको छानबिन गरिरहेको छ । आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । शान्तिसुरक्षाको जिम्मेवारी उनीमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

काठमाडौं ।  नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘बैकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा उनले बैंकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढेको उल्लेख गरे । 'ऋण दिने र लिने विषय कानूनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद् छ', उनले भने । अध्यक्ष कोइरालाले कतिपय व्यक्तिले बिना कुनै आधार ऋण मिनाहालगायत आश्वासन दिएको उल्लेख गर्दै उनले त्यसप्रकारका अतिरञ्जित विषयमा नफस्न पनि आग्रह गरे । बैंकिङ अन्य क्षेत्रको तुलनामा बढी पारदर्शी भएको र बैंकमा समस्या हुँदा अन्य क्षेत्रमा पनि असर पर्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्नेमा उनको जोड थियो । । ५० हजारभन्दा बढीलाई रोजगारी दिने यो क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउन जरुरी रहेको उनको भनाइ थियो । वर्तमान समयमा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि सोअनुसार माग भने नभएको अध्यक्ष कोइरालाले उल्लेख गरे । पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक उतारचढावले पनि कर्जा प्रवाह कम भएको हुनसक्ने उल्लेख गर्दै उनले लगानीकर्ताको मनोबल पनि कमजोर भएको बताए । यद्यपि कर्जा प्रवाहका सम्बन्धमा केन्द्रीय बैंकले पनि केही प्रयास भने गरेको उनको भनाइ थियो । त्यस अवसरमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको नियमन बढी भएको बताए । उनले केन्द्रीय बैंकले उदार र विवेकशील नियमन गर्न आवश्यक रहेको उल्लेख गरे । 'नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा राम्रो छ, यद्यपि केन्द्रीय बैंकको नीति नियन्त्रणमुखी बढी भयो कि भन्ने पनि छ, हरेक क्षेत्रमा केन्द्रीय बैंकले कडाइ गर्न खोज्नु राम्रो नहुनसक्छ', उनले भने । बैंकहरू स्वनियमनमा बस्नु राम्रो हुने उल्लेख गर्दैै अनावश्यक नियमहरू हटाउनुपर्नेमा उनले सुझाव दिए । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको योगदान पाँच प्रतिशत रहेको उल्लेख गर्दै उनले बैंकलाई स्वतन्त्र काम गर्न दिने हो भने अझ ठूलो योगदान दिनसक्ने धारणा राखे । संयोजक डा. कार्कीले नेपाल–भारतबीच खुला सीमा भएकाले नेपालीहरूले राम्रो ब्याजदर पाउने लोभमा भारतीय बैंकमा रकम जम्मा गर्न थालेकाले पुँजी पलायन हुन थालेको पनि बताए । डा. कार्कीले एउटा बैंकले गल्ती गर्दाको असर अर्को बैंकले भोग्नु परेको उल्लेख गर्दै यस्ता विषयमा केन्द्रीय बैंक सचेत हुनुपर्ने उनको भनाइ थियो । आफूले तयार पारेको प्रतिवेदनमा केन्द्रीय बैंकको संरचनागत सुधार, नियमनमा नरम नीतिलगायतका विषयमा सुझाव दिएको बताए । उनले बैंकिङ क्षेत्र सुधारका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन सुझाव दिएको उल्लेख गरे ।