विद्यार्थी भएर जापान पुगेका थापा जापानकै लागि राजदूतमा सिफारिस

सञ्चारकर्मीदेखि भाषाको विज्ञता

काठमाडौं । सरकारले जापानका लागि नेपाली राजदूतमा जिज्ञानकुमार थापालाई सिफारिस गरेको छ । 

शुक्रबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहित १३ जनालाई विभिन्न राष्ट्रका लागि राजदूतमा सिफारिस गरेको हो ।

थापा ललितपुरको धापाखेलमा जन्मिएका हुन् । उनी सन् २००० मा उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका थिए ।

थापाले अन्तर्राष्ट्रिय सहयोगमा स्नातक तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर अध्ययन गरेका छन् । जापानमा लामो समय अध्ययन, अध्यापन, अनुसन्धान तथा पेशागत क्षेत्रमा सक्रिय छन् ।

थापाले जापानी प्रशासन, स्थानीय निकाय, शैक्षिक संस्था तथा जापानस्थित नेपाली समुदायसँग काम गरेको अनुभव हासिल गरेका छन् ।

नेपालका राष्ट्रपति, परराष्ट्रमन्त्री तथा अन्य उच्च सरकारी अधिकारीहरूको जापान भ्रमणका क्रममा समेत थापाले विभिन्न अवसरमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका थिए । 

नेपाल–जापानबीच भएका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रममा समेत थापा प्रत्यक्ष रूपमा संलग्न हुँदै आएका थिए ।

जापानी सञ्चारमाध्यममा समेत परिचित थापाले करिब एक दशक टोक्यो एमएक्स टीभीमा नेपाल–जापान सम्बन्ध तथा अन्तर्राष्ट्रिय विषयमा समाचार विश्लेषकका रूपमा काम गरेका थिए । 

उनले जापानको सार्वजनिक प्रसारक एनएचके लगायतका सञ्चारमाध्यममा नेपाल, जापान तथा अन्तर्राष्ट्रिय विषयमा आफ्ना धारणा प्रस्तुत गर्दै आएका छन् ।

थापासँग नेपाल र जापानका स्थानीय सरकार, विश्वविद्यालय, पर्यटन तथा सांस्कृतिक संस्थाबीच सम्बन्ध विस्तारमा समेत काम गरेको अनुभव रहेको उनीनिकटस्थ बताउँछन् ।

थापासँग जापानी समाजमा लामो समय काम गरेको अनुभव छ । उनी सरकारी तथा स्थानीय तहसम्मको सम्बन्ध, जापानी भाषामाथिको पकड र नेपाल–जापान सम्बन्धमा प्रत्यक्ष संलग्नताका कारण उनी जापानको राजनीतिक, प्रशासनिक तथा सामाजिक परिवेशसँग परिचित रहेका छन् । 

उनको नियुक्तिसँगै नेपाल–जापानबीचको आर्थिक, कूटनीतिक, पर्यटन, सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । 

जापानमा रहेका नेपाली नागरिकको हित तथा दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Share News