विदेशी विनिमय सञ्चिति ३९ खर्ब पुग्यो, २१.८ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति ३९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क साउन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भएर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । 

राष्ट्र बैंकका अनुसार असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ  कुल विदेशी विनिमय सञ्चिति थियो । 

अमेरिकी डलरमा भने यस्तो सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोडबाट २.१ प्रतिशतले वृद्धि भई साउन मसान्तमा २५ अर्ब ८४ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति पनि १.३ प्रतिशतले बढेको छ । असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको सञ्चिति साउन मसान्तमा बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०.९ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति साउन मसान्तमा बढेर ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०८३ साउन मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्ष २०८३÷८४ को साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.८ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ । त्यस्तै, विद्यमान सञ्चितिले १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५९.८ प्रतिशत, १५७ प्रतिशत र ४४.५ प्रतिशत रहेको छ ।

असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए। यसअनुसार एक महिनाको अवधिमा विदेशी विनिमय सञ्चितिको जीडीपीसँगको अनुपात ०.७ प्रतिशत बिन्दुले र विस्तृत मुद्राप्रदायसँगको अनुपात ०.७ प्रतिशत बिन्दुले बढेको छ भने कुल आयातसँगको अनुपात ६.४ प्रतिशत बिन्दुले घटेको छ ।

Share News