डा. अर्जुन सापकोटाविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा

श्रीमतीको नाममा स्रोत नखुलेको सम्पत्ति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार डा. सापकोटाले सरकारी सेवामा रहँदा आफ्नो आयभन्दा धेरै सम्पत्ति जोडेको र त्यसको वैधानिक स्रोत पुष्टि गर्न नसकेको निष्कर्ष निकालेको छ ।

आयोगले डा. सापकोटाको २०५२ माघ २८ देखि २०८० जेठ ३० गतेसम्मको आय–व्यय विश्लेषण गरेको थियो । अनुसन्धानमा उनको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ रहेको देखिएको छ ।

तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन, सेयर, बीमा, विदेश भ्रमण, अध्ययन खर्च, सुन खरिद, बैंक मौज्दातलगायत शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको दाबी छ ।

यसरी आयभन्दा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बढी खर्च र लगानी भएको तथा त्यसको स्रोत पुष्टि गर्न नसकेको भन्दै अख्तियारले उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो ।

अख्तियारले डा. सापकोटामाथि बिगो बराबर जरिवाना, कैद र गैरकानुनी सम्पत्ति जफतको माग गरेको छ । साथै, सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएर झुट्टा विवरण पेश गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ ।

आयोगले डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई पनि प्रतिवादी बनाएको छ । अख्तियारका अनुसार श्रीमतीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको हो ।

Share News