दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको हायात प्लेस बुटवलको दावी
काठमाडौं । बुटवलस्थित हायात प्लेसले सञ्चालनको केवल दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ । प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको अनुपम संगम रहेको यस लोकेसनले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई विशेष रूपमा आकर्षित गरेको होटलको भनाइ छ। छोटो हवाई दुरीका कारण काठमाडौंबाट सहज पहुँचका साथै पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख गन्तव्यहरूसँगको नजिक हुनुले पनि हायात प्लेस बुटवल यात्रुहरूको ‘ट्रान्जिट हब’ का रूपमा स्थापित हुँदै गइरहेको जनरल म्यानेजर तुषार नगरले दावी गरे । उनका अनुसार हायात प्लेस बुटवल अब आराम, गुणस्तरीय सेवा र स्मरणीय अनुभवको खोजीमा रहेका यात्रुहरूका लागि संधै पहिलो रोजाइ बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ। पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने लक्ष्यअनुसार हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको थियो । हायातको ‘पाहुनाको सत्कारमा कुनै कमी नराख्ने’ मूलमन्त्रलाई आत्मसात गर्दै हायात प्लेस बुटवलले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सेवाहरूको संयोजनमार्फत आधुनिक तथा व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । होटेलमा किंग र ट्विन कोठासहित फरेस्ट भ्यू तथा हिल भ्यूका विकल्पहरू उपलब्ध छन् । ३०० देखि ७७५ वर्गफिटसम्मका फराकिला गेष्ट–रुम र सुइटहरू रहेको यस होटलको मुख्य आकर्षण १ हजार ५६० वर्गफिट क्षेत्रफलमा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो । साथै १५० जनासम्म अटाउने ग्रान्ड बलरुमसहित विविध कार्यक्रम तथा मिटिङका लागि आवश्यक संरचना पनि उपलब्ध गराइएको छ । होटेलले प्रदान गर्ने सुविधाहरूमा १०९ फराकिला गेष्ट–रुम, काम, विश्राम र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका ‘कोजी कर्नर’ सोफा–स्लिपर बेड, तातो तथा चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट, दिनरात जुनसुकै बेला खाना पाउन सकिने ‘द मार्केट’, प्रिमियम बियर, वाइन, कफी तथा ककटेल पाइने ‘जिङ बार’ प्रमुख छन् । साथै पाहुनाले बिर्सिएका आवश्यक सामग्री किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम, निःशुल्क वाइफाइ, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा किड्स प्ले एरियाजस्ता पारिवारिक सुविधा पनि उपलब्ध गराइएको छ । होटेलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ बेनर्जीले सम्हालेका छन् । नगरले दैनिक सञ्चालन, कर्मचारी व्यवस्थापन तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्छन् । त्यस्तै, बेनर्जीले बुटवल क्षेत्रमा आउने यात्रु तथा मिटिङ आयोजकहरूलाई आवश्यक सेल्स सहयोग तथा सेवा प्रदान गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
काठमाडौं । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि अरू मुद्दाको सुनुवाइ गर्दागर्दै हेर्न नभ्याइने सूचीमा परेको हो । यसअघि, न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यही पुस ४ गते उक्त सम्झौताका बारेमा प्रधानमन्त्री सुशीला कार्कीका नाममा कारण देखाऊ आदेश गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो । अधिवक्ता डा प्रेमराज सिलवाल एउटा र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीलगायतले दायर दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधानविपरीत भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री सुशीला कार्की र जेनजी पुस्ताका प्रतिनिधिबीच गत मङ्सिर २४ गते भएको सम्झौतामाथि संवैधानिक प्रश्न उठाउँदै रिट निवेदनमा अन्तरिम चुनावी सरकारलाई दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसले टुंग्यायो समानुपातिकको बन्द सूची
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवार छनोट गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ११० जनाको नाम तय गरेको छ । महतका अनुसार कांग्रेसले यसअघिल्ला निर्वाचनमा समानुपातिक सूचीमार्फत अवसर पाएका नेताहरूलाई यसपटक दोहोर्‍याएको छैन । सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी बन्द सूची तयार पारिएको उनले जानकारी दिए ।
नेपालमै पहिलो अभ्यास : रास्वपाको प्रि–इलेक्सनबाट समानुपातिक उम्मेदवार तय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको टुंगो आन्तरिक निर्वाचनमार्फत लगाएको छ । उम्मेदवार छनोटको यो विधि नेपालका राजनीतिक दलहरूका लागि सर्वथा नयाँ अभ्यास हो । रास्वपाले यस प्रक्रियालाई ‘प्रि–इलेक्सन’ नाम दिएको छ । पार्टीभित्र सम्पन्न प्रि–इलेक्सनको नतिजा भर्खरै सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार खुलातर्फ रमेश प्रसाईं १८ हजार २२३ मतसहित पहिलो स्थानमा छनोट भएका छन् । यस्तै, आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ १६ हजार १२ मतसहित प्रथम स्थानमा चयन भएका छन् । दलिततर्फ विजय जैरु १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा उम्मेदवार छनोट भएका छन् । मधेसीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो स्थानमा चयन भएकी छन् । मत परिणामअनुसार थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा समानुपातिक सूचीमा परेका छन् । मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मियाँ पहिलो स्थानमा चयन भएकी छन् । खुलातर्फ प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित दोस्रो र रञ्जु दर्शना १३ हजार ५५१ मतसहित तेस्रो स्थान हासिल गर्दै बन्द सूचीमा पर्न सफल भएका छन् । खुलातर्फकै अन्य नतिजामा टीका सँग्रौला चौथो, लिमा अधिकारी पाँचौँ, समीक्षा बास्कोटा छैटौँ, विपिनकुमार आचार्य सातौँ, क्रान्ति शिखा धिताल आठौँ र प्रतिभा रावल नवौँ स्थानमा निर्वाचित भएका छन् । आदिवासी जनजातितर्फ गायिका सत्यकला राई दोस्रो, टासी लाजोम तेस्रो र मिलन लिम्बु चौथो स्थानमा छनोट भएका छन् । दलिततर्फ अमृता विक दोस्रो, सबिना विश्वकर्मा तेस्रो, स्मृति सेन्चुरी चौथो र अविता नेपाली पाँचौँ स्थानमा परेका छन् । यसै समूहबाट सीता विश्वकर्मा, डा. रूपक विश्वकर्मा, खिमा विक र चन्द्रकला विक पनि प्रतिनिधित्व गर्दै समानुपातिक बन्द सूचीमा पर्न सफल भएका छन् । मुस्लिम समूहबाट अख्तर हुसैन र मोहम्मद हसरत अली तेस्रो नम्बरमा छनोट भएका छन् ।
शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
सिराहा । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ । यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ । लाहानचोकको यो सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनासम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट, साथै वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्रदान गर्नेछ । यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले भने, 'लाहानमा हाम्रो आधिकारिक सर्भिस सेन्टर खोलेर सेवा दिन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । स्मार्टफोन मात्र नभई वेअरएबल्स र एयरबड्स जस्ता लोकप्रिय उपकरणहरूको आधिकारिक सर्भिस उपलब्ध गराउँदा उपभोक्ताले अझ सहज महसुस गर्ने छन् । टेलिडाइरेक्ट प्रालिसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुने विश्वास हामीले लिएका छौँ ।' लाहानस्थित यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नेछन् ।
लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी २६ अर्ब पुग्यो
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही अवधिको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३७१ अर्ब रुपैयाँ निक्षेप संकलन र २८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । सो अवधिमा बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ पुगेको छ । उक्त आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकमार्फत स्टार्टअप कर्जामा सुरक्षण सुविधा सुरु
काठमाडौं । स्टार्टअप उद्यमलाई कर्जा सुरक्षण उपलब्ध गराउने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सोमबार मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक उमेश कुमार गुप्ता तथा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी, डा. रामप्रसाद घिमिरे, सहसचिव जितेन्द्र बस्तेतलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो । सम्झौतापछि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार बैंकले नविन प्रविधि तथा सिर्जनशील सोचमा आधारित स्टार्टअप उद्यमलाई प्रवाह गरेको कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषको स्टार्टअप उद्यम कर्जा सुरक्षण कार्यक्रमअन्तर्गत हुने व्यवस्था गरिएको छ । प्रतिष्ठानले स्वीकृत बजेटको सीमाभित्र कोषमा खडा गरेको छुट्टै स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषबाट बैंकले प्रवाह गरेको कर्जाको सुरक्षण गरिनेछ । कार्यविधिअनुसार चालू आर्थिक वर्षमा बैंकले प्रति उद्यमी न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा प्रवाह गर्नेछ । कर्जा कृषि, वन तथा उत्पादनमूलक, सूचना प्रविधि तथा डिजिटल, पूर्वाधार तथा यातायात, सामाजिक सेवा र पर्यटन तथा परम्परागत तथा स्थानीय स्रोतसहित पाँच क्षेत्रअन्तर्गतका १९ उपक्षेत्रमा प्रवाह गरिने व्यवस्था गरिएको छ । अधिकतम पाँच वर्ष अवधिको स्टार्टअप उद्यम कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत रहने कार्यविधिमा उल्लेख छ ।
पद र मृत्यु सँगै लैजाने चलन रहेसम्म मधेसवादी दलहरूको एकता स्थायी हुँदैन : अनिल झा
काठमाडौं । मधेस केन्द्रित दलहरू एकताको प्रयासमा लागिरहेका बेला मधेसको सबैभन्दा पुरानो दल नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा भने उक्त एकतामा नलाग्ने भएका छन् । कुनै समय राष्ट्रिय जनता पार्टीमा सँगै अध्यक्षता गरेका महन्थ ठाकुर र उपेन्द्र यादव फेरि एकतामा जोडिए पनि झा भने उक्त प्रयासमा सहभागी नहुने भएका हुन् । झा मधेसको सबैभन्दा पुरानो दल हुनुको नाताले अन्य मधेसी दल र ती दलका नेताहरूलाई सद्भावना पार्टीको झण्डामुनि गोलबन्द हुन आह्वान गर्छन् । उनले विगतमा समग्र मधेसका लागि पार्टीको झण्डा र नामसमेत थाती राखेर एकता गरे पनि त्यसले सार्थक परिणाम दिन नसकेको टिप्पणी गरेका छन् । मधेसका केही नेताहरूमा आफू बाहेक अरूको नेतृत्व स्वीकार गर्न नसक्ने प्रवृत्ति रहेको संकेत गर्दै झाले भने, 'पद र मृत्यु सँगै लैजाने चलन रहेसम्म यस्ता खाले एकताले कुनै पनि सार्थक परिणाम दिँदैन ।' झाले मधेसका नेताहरूलाई सद्भावना पार्टीको झण्डा र चुनाव चिह्नमा गोलबन्द हुन आह्वान गर्दै भने, 'मधेसको सबैभन्दा पुरानो दलमा सबै गोलबन्द बनौँ, म नेतृत्व हस्तान्तरण गर्न आतुर छु ।' उनले थपे, 'मधेसको मसिहा सद्भावना पार्टी मात्रै हो ।'