चालु खाता ९४ अर्ब र शोधनान्तर ९० अर्ब बचतमा

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा थियो। चालु खाता बचत अघिल्लो वर्षको तुलनामा बढेको छ ।

अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोड डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, साउनमा १ अर्ब १ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६९ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा भने अघिल्लो वर्षको सोही अवधिमा ६४ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोड डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News