विदेश अध्ययनका लागि गएका विद्यार्थीसँगै बाहिरियो ५६ अर्ब ५२ करोड
काठमाडौं । विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीसँगै ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको हो । यो अघिल्लो वर्षको तुलनामा ९ अर्ब ७ करोडले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा ४७ अर्ब ४५ करोड रकम बाहिरिएको थियो । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थीको संख्या बढेसँगै बाहिरिने रकम पनि बढ्दै गएको छ । नेपाली विद्यार्थीबाट ५६ अर्ब बढी रकम बाहिरिएसँगै विदेशबाट नेपाल अध्ययनका लागि आउने विद्यार्थीबाट एक अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ। गएको चार महिना (साउन–कात्तिक) मा अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको हो । यो रकम नेपाली विद्यार्थीले खर्च गरेको रकमको दुई प्रतिशत भन्दा कम हो । नेपाल राष्ट्र बैँकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९७ करोड पुगेको छ । भ्रमण आय भने ३.७ प्रतिशतले कमी भइ ३३ अर्ब ९७ करोड कायम भएको छ ।
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकले लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ । २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ । बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।
होटल गरिमाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । होटल गरिमाले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रकम बराबरको आईपीओ जारी गर्न लागेको हो । यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ । सम्झौतापत्रमा होटल गरिमाको तर्फवाट प्रबन्ध सञ्चालक विनोद पौडेल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । सोल्टी होटल एण्ड रिसोट समूहबाट ब्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठवटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन् । होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ‘नुवाड थाई’ ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो । युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको हो । नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकवर्गहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन् । विश्वभरका लाखौं व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउनेछ । यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ । सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन् । इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैंकले जानकारी गराएको छ । बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
मूल्यवृद्धि १.६३ प्रतिशतमा झर्याे, खाद्यको २.०५ प्रतिशतले ऋणात्मक
काठमाडौं । मूल्य वृद्धि १.६३ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को ५ महिनामा उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) १.६३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ५ महिनाको औसत मुदास्फीति १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो । यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८३ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत, मधेश प्रदेशको २.०१ प्रतिशत, बागमती प्रदेशको १.४८ प्रतिशत, गण्डकी प्रदेशको १.०८ प्रतिशत, लुम्बिनी प्रदेशको १.६७ प्रतिशत, कर्णाली प्रदेशको १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.४० प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत, तराईको १.७१ प्रतिशत, पहाडको १.३६ प्रतिशत र हिमालको १.४७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
सभापति देउवालाई विशेष महाधिवेशनको निम्तो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले विशेष महाधिवेशनको निम्तो दिएका छन् । नेपाली कांग्रेसको असन्तुष्ट समूहले पुस २७ गते विशेष महाधिवेशनको आह्वान गरेको छ । पार्टीले आगामी वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशनको आह्वान गरेको छ । तर असन्तुष्ट समूहले भने पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशनको आह्वान गरेको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यका अनुुसार विशेष महाधिवेशनमा ३ हजार महाधिवेशनले भाग लिने तयारी भएको छ । पार्टीको संस्थापन पक्षले भने उक्त कार्यक्रममा नजान पार्टीका कुनै सदस्यलाई उपस्थित नहुन आग्रह गरेको छ ।
४ लाखसम्म लाभसहितको रियर ह्वील ड्राइभ ईभी अफरले ग्राहकलाई लोभ्याउँदै
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढ्दै जाँदा ग्राहकहरूले अब केवल रेन्ज र चार्जिङ, ड्राइभिङ कम्फर्ट र प्रदर्शनमात्र नभई रियर ह्वील ड्राइभ प्रविधि (पछाडि रहेको पाङ्ग्राले मात्र गाडीलाई अघि धकेल्ने प्रणाली) पनि हेर्न थालेका छन् । रियर ह्वील ड्राइभले सुसज्जित ईभीहरूले सन्तुलित ड्राइभ, राम्रो ग्रिप र सहज यात्रा अनुभव प्रदान गर्छन् । यी गुणहरूले नेपालका पहाडी सडक, सहरका भीडभाड सडक र हाइवेमा ड्राइभरहरूलाई बढी आत्मविश्वासी बनाउँछन् । सामान्यतया प्रिमियम र स्पोट्र्स कारमा देखिने यो प्रविधि अब नेपाली ग्राहकहरूका लागि एमजीका मोडेलहरू एमजी एसफाइभ, एमजी फोर, एमजी कोमेट, र एमजी आईएम सिक्समार्फत उपलब्ध छ । रियर ह्वील ड्राइभ ईभी किन्न चाहने ग्राहकहरूले पारामाउन्ट मोटर्सको इलेक्ट्रिफाइङ न्यू इयर (२०२६ अफरबाट फाइदा लिन सक्नेछन् । डिसेम्बर २५ बाट सुरु गरिएको योजनामा ४ लाखसम्मको नगद लाभ, उत्कृष्ट भ्यालुएसन, एक्सचेन्ज बोनस, सजिलो फाइनान्सिङ, निःशुल्क एक्सेसरीहरू र तुरुन्त डेलिभरी उपलब्ध छ । यो अफर एमजी शोरूमहरूमा देशभर उपलब्ध छ ।
शोधनान्तर स्थिति ४ खर्ब रुपैयाँ र चालु खाता साढे ३ खर्बले बचतमा
काठमाडौं । शोधनान्तर स्थिति ४ खर्ब रुपैयाँ भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को ५ महिनामा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।