विकासन्युज

बेनी हाइड्रोको आईपीओमा स्थानीयले लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ । चैत १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  आयोजना प्रभावितलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थानीय, ३० प्रतिशत अर्थात् ३ लाख १२ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ का स्थानीय र २० प्रतिशत अर्थात् २ लाख ८ हजार कित्ता सोलुखुम्बुका अन्य क्षेत्रका स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु र प्राइम बैंकको नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन् ।

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन, १० किलोमिटर पार गर्न डेढ घण्टा लाग्ने

काठमाडौं । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँ पुलसम्म कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका हुन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँ पुल खण्डमा र्‍याफ्टिङको शुभारम्भ गरे । र्‍याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्‍याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । ‘पोखरादेखि सवारीमा २ घण्टामा पुग्न सकिने फर्से-नयाँपुल खण्डमा र्‍याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ,’ उनले भने । फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्‍याफ्टिङ गर्न १ घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्‍याफ्टिङको प्रवर्द्धन गरेको थियो । एक पटकमा एउटा बोटमा ८ जनाले र्‍याफ्टिङ गर्न सक्ने र्‍याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताए ।  विदेशी पर्यटकका लागि नयाँ पुलदेखि गुल्मीको रिडीसम्म ३ दिनको र्‍याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ । कात्तिक र चैत महिना र्‍याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जल यात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका वस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

अवरुद्ध बीपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काठमाडौं । शुक्रबार साँझको वर्षापछि रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि  मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ । शुक्रबारदेखि परेको वर्षाले रोसी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो । उक्त खोलामा पानीको सतह घट्दै गएपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागमनमा रोक लगाउँदै आएको थियो । बाढीले रोसी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब ४ किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । आज बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास गरिएको हो । गत वर्ष असोजको बाढी पहिरोले चौकीडाँडा-नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको छ । शुक्रबारको बाढी पहिरोले बिरुवाडाँडा, कालढङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । राजमार्ग अवरुद्धपछि राजमार्ग अन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारी रोकिएको थियो । 

१० वर्षदेखि निष्क्रिय बैंक खातामा सरकारको आँखा, ९० दिन भित्र रकम राज्य कोषमा

काठमाडौं । सरकारले राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न पहल सुरु गरेको छ । यसअन्तर्गत १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन गरिने भएको हो । शासकीय सुधारका १०० काम सार्वजनिक गर्दै सरकारले यस्तो खातामा रहेको हकवालाले दाबी नगरेको रकमलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने निर्णय गरेको हो । यस कार्यलाई ९० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।   निष्क्रिय रूपमा थन्किएको पुँजीलाई परिचालन गर्दै राज्यको आम्दानी बढाउने र आर्थिक व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले यो कदम चालिएको देखिन्छ । यससँगै अन्य निष्क्रिय स्रोतहरूको पनि पहिचान गरी व्यवस्थित गर्ने योजना सरकारले अघि सारेको छ । यसले स्रोतहरूको सदुपयोग गर्न सहयोग पुग्ने देखिन्छ ।

प्लास्टिकजन्य उद्योगमा कच्चा पदार्थको अभाव, ४० प्रतिशतले मूल्यवृद्धि

काठमाडौं । बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका एसोसिएट सदस्य तथा स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिए । उनका अनुसार कच्चा सामग्रीको आयात घटेपछि व्यवसायी मर्कामा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको ४० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ मागअनुसार आपूर्ति हुनसकेको छैन । अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थ प्लास्टिक ‘दाना’को अभाव सुरु भएको छ । मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण कच्चा सामग्रीको आयात ठप्प भएपछि प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा सङ्कट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेलमेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायतका सामग्री उत्पादनमा असर देखिएको उद्योगी कार्कीको भनाइ छ ।  ‘कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन नै घटिरहेको छ,’ उनले भने । कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन पनि घटेको उद्योगी कार्कीले बताए । उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समेत समस्या देखिएको छ । पेट्रो केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गर्छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योगहरू सङ्कटमा परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए ।  उनका अनुसार पेट्रोकेमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादनमात्र नभई, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । यदि अन्तर्राष्ट्रिय परिस्थिति यस्तै रहिरह्यो भने यसको असर अझ गहिरिँदै जानेछ ।

स्थानीय उत्पादनलाई बजार अभाव

काठमाडौं । बागलुङमा लाग्ने चैते दसैँ मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनु अगावै बागलुङका ग्रामीण क्षेत्रसहित पर्वत, म्याग्दी, कास्की, तनहुँ, स्याङजालगायत देशैभरबाट व्यापारका लागि आएका व्यापारी यसपालि त्यति उत्साहित देखिएनन् । आयातित वस्तुको व्यापार राम्रो भए पनि गाउँबाट लिएका चोयाको डाली, नाङ्लो, मुडा, काठको ठेकी, मदानी सहितका सामग्रीको व्यापार राम्रो नभएको व्यापारी बताउँछन् । कालिका मन्दिर परिसरमा चैत १० गतेदेखि मेला लागेको छ । मेला भर्न आउने दर्शकले लत्ताकपडा, प्लास्टिकका भाँडा किनमेल गरे पनि स्थानीय उत्पादनतिर खासै चासो नदिएको म्याग्दीबाट काठका ठेकी बिक्री गर्न आएका लिलबहादुर चुँदाराले बताए ।  आफू ३७ वर्षदेखि निरन्तर चैते दसैँ मेलामा ठेकी बिक्रीका लागि आएको भन्दै उहाँले पछिल्लो एक दशकमा व्यापार निकै कम भएको बताए । पहिले गाउँमा धेरैले वस्तुभाउ पाल्ने, दूध, दही र मही बनाउने गरे पनि हिजोआज बजारबाटै दूध किनेर उपभोग गर्न थालेपछि काठका ठेकी र मदानी बिक्री हुन छोडेको चुँदाराले बताए । उनले भने, ‘हामीले वर्ष भरि गाउँमा ठेकी, मदानी लगायत थुप्रै काठका सामान बनाउने र चैते दसैँमा लिएर बिक्री गर्थ्यौं, बिक्री पनि धेरै हुन्थ्यो, कमाइ पनि राम्रै हुन्थ्यो, त्यही कमाइले वर्ष भरि परिवार चलाउँथ्यौँ, अहिले त दिनभरि कुरेर बस्यो, ५-७ वटा पनि बिक्री हुँदैन, आउने जाने भाडा पनि नउठ्ला भन्ने चिन्ता छ ।’ कास्कीको माछापुच्छ्रेबाट चोयाको डालो बिक्रीका लागि आएका तुलमान गुरुङले प्लास्टिकका भाँडाकुँडाले स्थानीय उत्पादनलाई विस्थापित गर्न थालेको बताए । विगत २२ वर्षदेखि चैते दसैँ मेलामा डाली बिक्री गर्न आएको भन्दै ३ वर्षदेखि व्यापार निकै कम भएको उनको भनाइ छ । व्यापार गर्न आउँदा गाडी भाडा नै हजारौं तिर्नुपरेको भन्दै उनी मेला सकिँदासम्म बिक्री नहुँदा सित्तैमा दिनुपर्ने अवस्था रहेको बताउँछन् । ‘यो मेला पनि पहिलेको जस्तो रमाइलो छैन, उति बेला सबै गाउँ ठाउँमा नाचगान हुन्थ्यो, अहिले त के-के गराए यस्तो ?, न व्यापार राम्रो हुन्छ,’ गुरुङले भने, ‘पहिले गाउँमा भएका सबै उत्पादन बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला एक डेढ लाख रुपैयाँ बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलाभन्दा धेरै कम डालो नाङ्लो ल्याएर आएको त्यही पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ ।’ बागलुङको बडिगाड गाउँपालिका-४ जलजलाबाट हरेक वर्ष १५-२० जना स्थानीय डालो बिक्रीका लागि आउने गर्छन् । यसपालि पनि आएका छन् । तर अघिल्लो वर्ष व्यापार कम हुँदा यसपालि पहिलेको जति व्यापारी आएनन् । मेलामा स्थानीय उत्पादन बिक्री मात्रै गर्न व्यवस्थापन मिलाउनुपर्ने चन्द्र बहादुर विकले बताए । पछिल्लो समय स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति नागरिकको आकर्षण बढी भएको हुँदा मौलिक सीप र सामानले बजार नपाएको उनले गुनासो गरे । 

रोसी खोला बाढीले एक जनाको मृत्यु, ७ जनाको उद्दार

काठमाडौं । शुक्रबार साँझको वर्षापछि रोसी खोलामा आएको बाढीले बीपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोसी क्षेत्रको सडक अवरुद्ध भएको छ । उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने शनिबार रातीदेखि राजमार्ग नखुलेसम्म सवारी आवागमनमा रोक लगाएको छ । शुक्रबार साँझको वर्षापछि रोसी खोलामा आएको बाढीले रोसी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब ४ किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको छ ।  शनिबार सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा सडकलाई अस्थायी निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइए पनि शनिबारको पटक पटकको वर्षाका कारण सञ्चालनमा ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । उनका अनुसार रोसी खोलाको पानीको बहाव घट्यो भने आइतबार बिहानदेखि उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालन प्रयास जारी गरिनेछ । गत सालको बाढी पहिरोले बगाएको उक्त सडक खण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको ४ किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । डाइभर्सन बगाएको स्थानमा रोसी खोलामा पानीको बहाव घट्न थालेपछि शनिबार बिहानदेखि पुनर्निर्माण थालिए पनि निरन्तरको वर्षाका कारण डाइभर्सन निर्माणमा कठिनाइ भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्थायी पुनर्निर्माण सुरु गरिएका स्थानमा भने बाढीले कुनै प्रकारको क्षति पुर्याएको छैन । गत वर्ष असोजको बाढी पहिरोले चौकीडाँडा-नेपालथोक सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । ‘रातिको बाढीले बगाएको स्थानमा डाइभर्सन बनाउन सुरु गरेका थियौँ, निरन्तरको वर्षाका कारण शनिबार साँझसम्म सवारीसाधन सञ्चालन गराउने प्रयास असफल भयो,’ योगेशले भने ।  उनका अनुसार बिरुवा डाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको छ ।  रोसी खोलाको बाढीको सतह घट्न थालेपछि शनिबार बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने तथा डाइभर्सन बनाउन सुरु गरिएको थियो । रोसी खोलामा आएको बाढीले बगाएर शुक्रबार राति ९ बजे उक्त राजमार्गमा कार्यरत रोसी गाउँपालिका-७ निवासी अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार उक्त कार्यालयका सुपरभाइजर मृतक तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन बीपी राजमार्गमा समेत काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ । यस्तै सोही समयमा चौकीडाँडा नजिकै रोसी खोलाको बाढीमा फसेकामध्ये ७ जनालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको छ ।  यसैबीच वर्षाका कारण बीपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि नै सवारीसाधन ‘होल्ड’ गरेको थियो । उक्त राजमार्ग अन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन ‘होल्ड’ गराइएको थियो । 

मेघगर्जन र चट्याङसहित वर्षा हुने, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भाग तथा अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ ।