गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
काठमाडौं । नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ। आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ। यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक रु ७२ हजार ९०८ को नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ। यसअघि विसं २०६६/६७ मा गरिबीको रेखा रु १९ हजार २६१ निर्धारण गरिएको थियो। नयाँ गरिबीको रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति कुल खर्च रु ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको वर्गमा राखिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा ३४ दशमलव १६ प्रतिशत रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा ११ दशमलव ८८ प्रतिशत छ। कोशी प्रदेशमा १७ दशमलव १९, मधेश प्रदेशमा २२ दशमलव ५३, बागमती प्रदेशमा १२ दशमलव ५९, लुम्बिनी प्रदेशमा २४ दशमलव ३४ र कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत गरिबीको दर रहेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार स्थानीय तहस्तरको विश्लेषण गर्दा ३०९ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २० दशमलव २७ प्रतिशतभन्दा कम रहेको छ भने ४४४ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी छ। स्थानीय तहमा गरिबीको दर न्यूनतम एक दशमलव १८ प्रतिशतदेखि अधिकतम ७७ दशमलव ८९ प्रतिशतसम्म रहेको छ। पालिकास्तरमा हेर्दा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ७७ दशमलव ८९ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्थात् एक दशमलव १८ प्रतिशत मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको छ। गरिबीको रेखाभन्दा तल रहेको जनसङ्ख्या सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी काठमाडौँ महानगरपालिकामा ९५९ हजार २१८० रहेको छ। काठमाडौँ महानगरपालिकामा गरिबीको दर ६ दशमलव ८७ प्रतिशत रहेको छ। जिल्ला तहको विश्लेषण गर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा ४९ दशमलव ५८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशको कास्की जिल्लामा पाँच दशमलव ६३ प्रतिशत रहेको छ। जिल्लागत रूपमा हेर्दा ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा कम र ४३ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ। रासस
भत्काइएका जोखिमपूर्ण घरमा व्यापार, स्थानीय प्रशासनद्वारा रोक्न निर्देशन
हेटाैँडा । सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार व्यवसाय सञ्चालन भइरहेको छ । यही मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभित्र पर्ने घरहरू सडक डिभिजन कार्यालय भत्काएको थियो । सर्वाेच्च अदालतको आदेशका कारण हाल सडक विस्तारको कार्य रोकिएपछि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीहरूले जोखिमपूर्ण घरमै व्यापार गरिरहेका छन् । जसका कारण कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने स्थानीय कैलाश थापाले बताए । 'सडक डिभिजन कार्यालयले भत्काएर भग्नावशेष अवस्थामा छाडेका घरबाटै व्यापारीहरूले पसल चलाइरहेका छन्', उनले भने, 'जसका कारण कुनै पनि बेला घर भत्किएर ठूलो जनधनको क्षति हुनसक्छ ।' भत्किएका घरमा पसल सञ्चालनमा तत्काल रोक लगाउनुपर्ने उनको भनाइ छ । सडक विस्तारका लागि घरलाई भग्नावशेष बनाएर छाडेपछि आफूहरू अन्योलमा बताउँदै स्थानीय व्यापारी रोशन श्रेष्ठले कुनै विकल्प नभएकाले तत्कालका लागि ‘स्टक’मा रहेको सामानहरू मात्र बिक्री गरिरहेको बताए । 'नयाँ सामानहरू बाहिरबाट मगाएको छैन', उनले भने, 'स्टकमा रहेका सामान त बिक्री गर्नै पर्यो, फ्याल्नुभएन ? त्यसैले ‘स्टक’को सामान जोखिम उठाएरै भए पनि बिक्री गरिरहेको छु ।' बाँकी रहेका सामान बिक्री भएपछि पसल बन्द गर्ने कि, अन्यत्र सार्ने भने सोचिरहेको उनले बताए । सर्वोच्च अदालतमा सडक विस्तारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले सडक विस्तारको काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी यादव सुवेदीले बताए । भत्किएका घरमा व्यापार पसल नगर्न व्यापारीहरूलाई आग्रह गरे पनि कतिपय व्यापारीहरूले जोखिमपूर्ण रूपमै व्यापार व्यवसायी सञ्चालन गरिरहेको उनको भनाइ छ । यसैबिच जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारका लागि भत्काइएका जोखिमपूर्ण घरहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घरटहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, 'भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।' यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनसमेत सम्बन्धित सबैमा आग्रह गरिएको छ । रासस
नौ करोड ५० लाखमा ५४ घरलाई मौलिकस्वरूपमा रूपान्तरण गरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले नरःदे (हाँडीगाउँ) को प्राचीनता फर्काउन नौ करोड ५० लाख रुपैयाँमा ५४ वटा घरको अग्रमोहडाको मौलिक स्वरूपमा रूपान्तरण गर्न थालेको छ । हाँडीगाउँको प्राचीनता नरःदे हो, यसको पुनःरुत्थानका लागि गुरुयोजनाबाटै काम गरिरहेको कामपाको भनाइ छ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रूपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन कामपा केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम भइरहेका छन् वडा पाँचका वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँबायाँका भवनहरूको अग्रमोहोडालाई मौलिकस्वरूपमा रूपान्तरणको काम सुरु हुन लागेको छ । यस क्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनःरुत्थान गरिनेछ । मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानोजस्ता भाग महत्वपूर्ण मानिन्छन् । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मौलिक घरको ‘डिजाइन’ हो । किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौंदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, दुई वटा बुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षय तृतीयाका दिन सर्वत पानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरू छन् । ‘यो क्षेत्र उपत्यकामा पूर्वलिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थान हो’, वडाध्यक्ष वीरेन्द्र प्रजापतिले भने, ‘हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो ।’ गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र डबली, न्याल्मलोंह र चौखटको चोक्ट्या नारायणको चोक कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् ।
वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्वाचित
काठमाडौं । वायुसेवा संचालक संघ (आवोन) को २५औँ वार्षिक साधारण सभाबाट प्रतापजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । पाण्डे कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडका सञ्चालक हुन् । शुक्रबार लाजिम्पाटमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । सभाबाट प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटा तथा तृतीय उपाध्यक्षमा तारा एयरका सीईओ उमेश पनेरु चयन भएका छन् । यस्तै, महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चयन भएका छन् । कार्यसमितिका सदस्यमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट तथा हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन् ।
एमएडब्लु वृद्धिले दिपल ई०७ लाई बजारमा सार्वजनिक गर्दै
काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गर्दै नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यसको अझ उन्नत संस्करण दिपल ई०७ ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष एक बटन थिच्नेबित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुन सक्ने अद्वितीय क्षमताका कारण चर्चामा आएको ई०७ ले एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्सफर्मर एक्सले सोही नवप्रवर्तनलाई थप उचाइमा पुर्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्ने एमएडब्लु वृद्धिको दाबी छ । नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्समा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम समावेश गरिएको छ, जसले ‘म्याजिक कार्पेट’ जस्तो सहज यात्राको अनुभव दिने बताइएको छ । यसमा निरन्तर ड्याम्पिङ कन्ट्रोल (सीडीएस), अधिकतम २२३ एमएमसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लेरेन्स तथा राजमार्ग र कठिन भूभागका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन् । यी विशेषताले नेपालका विविध सडक अवस्थामासमेत उत्कृष्ट कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । लक्जरी अनुभवलाई थप उचाइमा पुर्याउन नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिटको व्यवस्था गरिएको छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४–वे पावर एड्जस्टेबल फ्रन्ट सिट तथा लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले यसलाई ‘फर्स्ट क्लास’ यात्राको अनुभूति दिने बनाएको छ । पछाडिका यात्रुका लागि पनि छुट्टै स्तरको सुविधा उपलब्ध गराइएको छ । रियर सिटबाटै ट्रंक र रियर डोम सञ्चालन, सिट हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिङ एड्जस्टमेन्टका साथै छुट्टै रियर सिट फोल्डिङ कन्ट्रोल सिस्टम दिइएको छ, जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ । यी सबै अत्याधुनिक सुविधा र प्रविधिका कारण दिपल ई०७ ट्रान्सफर्मर एक्स अहिलेसम्मकै सबैभन्दा उन्नत र ग्राउन्ड ब्रेकिङ इभीका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड ५० लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । सभाले सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदन, २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबसहितका अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ । लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार संस्थाको जारी तथा चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । प्रति सेयर आम्दानी २०.२९ रुपैयाँ, प्रति सेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, कुल पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य–आम्दानी अनुपात ४३.५९ तथा कुल पुँजी कोष अनुपात १६.६२ प्रतिशत रहेको संस्थाले जनाएको छ । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष खेम बहादुर पाठकले गरिबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानलाई केन्द्रमा राखेर लगानी गर्दै आएको संस्थालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले सबैभन्दा पहिले गरिब र किसानको जीवनस्तर सुधार गर्न सके देशको समग्र अर्थतन्त्र बलियो हुने बताए । ग्रामीण क्षेत्रमा पशुपालन, दुग्धजन्य उत्पादन, तरकारी खेती तथा साना तथा लघुउद्यम विकासमा लघुवित्तले पुर्याउँदै आएको सहयोग प्रभावकारी बन्दै गएको उनको भनाइ थियो । अध्यक्ष पाठकले बदलिँदो आर्थिक परिस्थितिमा संस्थालाई थप सबल बनाउन सेयर सदस्यहरू सबैले साझा सोच बनाउनुपर्नेमा जोड दिए । यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम र उद्यमशीलता विकासमा आफ्नो ध्यान केन्द्रित गरेको बताए । उनले युवा, महिला तथा गरिब किसानको आर्थिक सशक्तीकरणका कार्यक्रम सरकार तथा दातृ निकायसँगको सहकार्यमा निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए । संस्थाका अनुसार हाल देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा १ हजार ४ सय ६३ साझेदार संस्था आवद्ध छन् । आवद्ध सहकारी संस्थामार्फत ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण तथा परिचालन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा संस्थाले ९ लाख ४१ हजार ७ सय ३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुर्याएको जनाएको छ । लाभग्राहीमध्ये दलित १०.९२ प्रतिशत, जनजाति ४२.२१ प्रतिशत र अन्य ४६.८७ प्रतिशत रहेका छन् भने महिला सहभागिता ८२ प्रतिशत रहेको छ । साधारण सभाका अवसरमा जारी विज्ञप्तिअनुसार नेपाल सरकारको ऋण सहयोगमा १५ वर्षदेखि सञ्चालन हुँदै आएको सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रममार्फत १ लाख ६९ हजार ५ सय किसान व्यवसायमा जोडिएका छन् । यसअन्तर्गत २ लाख ८५ हजार ३ सय ७२ किसानलाई ४३ अर्ब ८० करोड ९२ लाख रुपैयाँ पशुपालन कर्जा र १८ हजार १ सय २ साना किसानलाई ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ तरकारी खेती कर्जा प्रवाह गरिएको छ । उक्त कार्यक्रमबाट किसानहरूले बाख्रा, बंगुर, पाडापाडी, भैंसी र गाईसहित १७ लाख ७९ हजार ७० पशुवस्तु पालन तथा १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । यसबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ बराबरको तथा हालसम्म ७३ अर्ब रुपैयाँभन्दा बढीको मासु, दुग्धजन्य पदार्थ र तरकारी उत्पादन भएको अनुमान गरिएको छ । यसैगरी, एसियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नत साना किसानलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा संलग्न गराउने ग्रामीण उद्यम परियोजना पनि सञ्चालनमा रहेको संस्थाले जनाएको छ ।
राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा छ । आयोजनाको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, वटम प्रेसर साफ्ट, टप पेनस्टक र पेनस्कट पाइपलाइन जडान सकिएको जनाइएको छ । कूल छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, एक किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, ३२९ मिटर वटम प्रेसर साफ्ट, ५०९ मिटर टप पेनस्टक जडान भएको छ । विसं २०८१ साउन १५ गते ‘ब्रेकथ्रु’ भएको आयोजनाको मुख्य सुरुङको पलास्टर र ढलान सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । 'बाँधस्थल नजिकको अडिट १, अधेरीखोलाको अडिट २, पिप्लेको अडिट ३ र तिल्केनीचौरको अडिट ४ को जक्सनमा मात्र ग्राउटिङ र लाइनिङ बाँकी छ,' उनले भने 'बटरफ्लाई भल्ब च्याम्बर र म्यानुअल च्यामबरको संरचना पनि तयार भइसकेको छ ।' हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत् गृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फको कामलाई क्रमशः पूर्णता दिने चरणमा रहेको प्रबन्ध सञ्चालक केसीले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण भएको छ । ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । तिल्केनी चौरमा विद्युत् गृह निर्माण ९८ प्रतिशत सम्पन्न भएको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर २० मेगावाट क्षमताको एउटा युनिटमा टर्वाइन, जेनेरेटरका पाट्स जडान सकेर दोस्रो युनिटको उपकरण जडान अन्तिम चरणमा रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए । 'विसं २०७६ कात्तिकमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युत्गृहको उपकरण आयात सकेर जडानलाई तीव्रता दिएको छ,' उनले भने, 'विद्युत् गृह नजिकै स्वीचयार्डका लागि फाउण्डेशन निर्माण सम्पन्न भई स्विचयार्डको उपकरण जडानकार्य भइरहेको छ ।' कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार (आइभिआरसिएल) सँगको ठेक्का रद्द गरी ३२ मेगावाट क्षमताबाट आयोजनाको क्षमता अभिवृद्धि गरी नयाँ प्रारूपमा अघि बढाइएको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणामा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स लिमिटेडले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले दैनिक चार घण्टा पिकिङ्गसहित वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा बेलीब्रिज निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । राहुघाट जलविद्युत् आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुविधा पुगेको छ । राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्गमा पर्ने घुमाउनेतालदेखि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट खण्डको सडकलाई स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । बाँधस्थलभन्दा माथि दग्नाम गाउँको फेदीबाट झर्ने पहिरो रोकथामका लागि चेक ड्याम तथा क्याच डेन निर्माण कार्य भई रहेको छ साथै थप अध्ययन भइरहेको छ । पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीका लागि आवास तथा कार्यालय सञ्चालनका लागि १५ वटा भवन निर्माण भइसकेको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । रासस
१० करोड बढीमा बिक्री भए स्याङ्जाका सुन्तला, एक जना किसानका हातमा पर्यो ३५ लाखसम्म
वालिङ । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड रुपैयाँभन्दा बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्यांकका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोडभन्दा बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिए । वडाका जिमिरे, लोलुंगा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम एक लाखदेखि अधिकतम ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका उनले बताए । सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको ७० रुपैयाँका दरले बोटबाटै बिक्री गरेका हुन् । 'सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट दश करोडभन्दा बढी आम्दानी भएको पाइयो', उनले भने, 'वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुनेछ ।' सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो । आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा १५ हजार ५०० बिरुवा रोपिएको थियो । यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोग कीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उनले बताए । 'यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ', उनले भने, 'ज्याला, ढुवानीसहित हाल प्रतिकेजी रु ७० का दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन ।' भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष १५ लाखभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । उनले अहिले प्रतिकेजी रु ७० का दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहेका छन् । सोही वडाको लोलुंगाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष १५ लाखभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुनेक्रममा छन् । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोड मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रासस