विकासन्युज

ललितपुर जिल्ला अदालतले खाजा खाने समयमा सेवा दिने

काठमाडौं । ललितपुर जिल्ला अदालतमा खाजा खाने समयमा सेवाग्राहीले सेवा पाउने भएका छन् । अदालतले सूचना जारी गर्दै अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो । ‘कर्मचारीहरूको लागि दिउँसोको खाजा समय प्रत्येक आइतबारदेखि बिहिबारसम्म १: ३० बजेदेखि २ : ३० सम्म र शुक्रबारका दिन १ देखि २ बजेसम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेको छ,’ सूचनामा उल्लेख छ ।

ट्रम्पको मुद्दादेखि अस्तित्वको संकटसम्म, बीबीसीका नयाँ पाइलटको उडान कस्तो होला ?

काठमाडौं । बीबीसीका महानिर्देशक हुनु भनेको इंग्ल्यान्डको फुटबल म्यानेजरसँगै बेलायतको सार्वजनिक जीवनका सबैभन्दा कठिन काममध्ये एक हो । सार्वजनिक र राजनीतिक निगरानीबीच एउटा विशाल सृजनात्मक संस्थाको व्यवस्थापन गर्नुपर्छ, जुन त्यति सहज हुँदैन । साथै विश्वका सबैभन्दा सम्मानित समाचार संस्थामध्ये एकको प्रधान-सम्पादकको भूमिका निर्वाह गर्दै जुनसुकै गल्तीको पनि जिम्मेवारी लिनुपर्छ । सामान्य अवस्थामा पनि यो काम कठिन हुने थियो । तर गत साता बीबीसीको १०४ वर्षको इतिहासमा १८औं महानिर्देशकका रूपमा नियुक्त भएका म्याट ब्रिटिनले आफ्ना पूर्ववर्तीहरूको तुलनामा अझ चुनौतीपूर्ण जिम्मेवारीको सामना गरिरहेका छन् । पहिले गुगलको युरोप, मध्यपूर्व र अफ्रिका क्षेत्रका अध्यक्ष रहिसकेका ब्रिटिन यस्तो अवस्थामा आइपुगेका छन्, जहाँ बीबीसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलरको मानहानि मुद्दासँग जुधिरहेको छ । यो मुद्दामा पानारोमा नामक वृत्तचित्र (स्वतन्त्र निर्माण कम्पनीद्वारा बनाइएको) ले ६ जनवरी २०२१ मा राष्ट्रपतिले दिएको भाषणका दुई अंशलाई मिलाएर प्रस्तुत गरेको र त्यसले वासिङ्टनको क्यापिटलमा भएको हिंसालाई उनले उक्साएको सन्देश दिएको आरोप लगाइएको छ । बीबीसीले फ्लोरिडामा दायर गरिएको उक्त मुद्दा खारेज गर्न चाहेको छ । साथै उसले उक्त वृत्तचित्र अमेरिकामा प्रसारण नभएकाले ट्रम्पको पुनःनिर्वाचन सम्भावनामा असर नपारेको जनाएको छ । तर हालको अवस्थामा यो मुद्दा अर्को वर्ष अदालतमा जाने बताइएको छ । यो ट्रम्पसम्बन्धी वृत्तचित्रले ब्रिटिनका पूर्ववर्ती टिम डेवीको मात्र होइन, बीबीसी समाचार प्रमुख डेबोरा टर्नेसको पदसमेत गुमाएको थियो, उनले डेवीसँगै राजीनामा दिएकी थिइन् । उनको उत्तराधिकारी नियुक्त गर्नु तत्काल प्राथमिकता बनेको छ । यसका अतिरिक्त ब्रिटिनले बीबीसी सञ्चालन हुने ‘रोयल चार्टर’ नवीकरणबारे मन्त्रीहरूसँग वार्ता गर्नुपर्छ । यो प्रत्येक दशकमा नवीकरण हुने गर्छ र हालको चार्टर २०२७ को अन्त्यमा समाप्त हुन्छ । सरकारले नवीकरण प्रक्रिया हटाएर स्थायी चार्टर दिन चाहन्छ, जसले स्थायित्व दिनेछ, तर यस वार्ताले बीबीसीको वित्तीय मोडेलबारे जटिल प्रश्नहरू उठाउनेछ । हाल बीबीसी घरधुरीले तिर्ने टिभी लाइसेन्स शुल्क (अप्रिलदेखि १८० यूरो अर्थात् २३८ डलर पुग्ने) बाट सञ्चालन भइरहेको छ । तर कम मानिसहरूले बीबीसी सामग्री उपभोग गरिरहेका छन् । विशेष गरी युवा पुस्ताको बदलिँदो रुचिका कारण दशकौं पुरानो यो आर्थिक ढाँचालाई ‘आउटडेटेड’ मान्न थालिएको छ । कुनै समय बेलायती घरधुरीको अनिवार्य अंग मानिने बीबीसी अहिले नेटफ्लिक्स र युट्युबजस्ता ग्लोबल डिजिटल प्लेटफर्महरूसँग कडा प्रतिस्पर्धामा छ । तथ्याङ्कहरूका अनुसार युवा बेलायतीहरूले परम्परागत टेलिभिजन च्यानलहरूभन्दा अन-डिमान्ड स्ट्रिमिङ सेवाहरूमा बढी समय बिताउने गरेका छन् । त्यसैगरी, लाइसेन्स शुल्क तिर्नेहरूको संख्या पनि घट्दै गएको छ, जसका कारण पछिल्ला वर्षहरूमा बीबीसीले सयौं मिलियन पाउन्ड खर्च कटौती गर्नुपरेको छ । जर्मनीको ‘सार्वजनिक प्रसारण शुल्क’ जस्तै घरधुरी प्रसारण कर लागू गर्नु एक सम्भावित विकल्प हो । अझ जटिल बनाउने कुरा के छ भने आगामी दशकमा बेलायतले सम्भवतः टिभी ट्रान्समिटरहरू बन्द गर्नेछ त्यसपछि बीबीसी व्यवहारतः एउटा अनलाइन स्ट्रिमिङ सेवा मात्र बन्नेछ । ब्रिटिनको प्रविधि क्षेत्रमा भएको अनुभवलाई यस्तो कडा प्रतिस्पर्धी वातावरणमा ठूलो फाइदाको रूपमा हेरिएको छ । तर उनले अल्फाबेट इन्क (गुगलको मूल कम्पनी) मा कति सेयर राखेका छन् भन्ने खुलासा नगरेको कारण स्वार्थको द्वन्द्व हुनसक्ने चिन्ता उठेको छ । उनको पत्रकारितासम्बन्धी अनुभवको कमीको पनि आलोचना गरिएको छ, यद्यपि विगतका केही महानिर्देशकहरूमा पनि यस्तो पृष्ठभूमि थिएन । रोचक कुरा के भने ब्रिटिनमाथि गरिएका धेरै आलोचना मिशेल गुथ्रीमाथि पनि गरिएको थियो, जब उनी २०१६ मा अष्ट्रेलियन ब्रड्कास्टिङ कर्पोरेशनको प्रमुख बनेकी थिइन् । तर व्यवस्थापन शैली र सरकारसँगको सम्बन्धबारे विवादपछि दुई वर्षमै उनलाई पदबाट हटाइएको थियो । राजनीतिज्ञहरूसँग काम गर्न सिपालु र कुशल सञ्चारकर्मीका रूपमा चिनिएका ब्रिटिनले सम्भवतः राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । उनी यो जटिल नयाँ मिडिया परिवेशमा बीबीसीलाई अघि बढाउने सबैभन्दा ठूलो आशा हुन सक्छन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)

बिना भिसा क्यासिनोमा काम गर्न कम्बोडिया पुगेका ८ नेपाली फर्काइए

काठमाडौं । क्यासिनोमा काम गर्न बिना भिसा कम्बोडिया पुगेका ८ जना नेपालीलाई फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको पहलमा बिना भिसा प्रवेश गरेका ६ जना नेपाली नेपाल फर्केका हुन् ।  मंगलबार कम्बोडियाको विमानस्थलबाट उडेर बुधबार ८ जना नेपाली नेपाल आइपुगेको दूतावासले जनाएको छ ।  दूतावासका अनुसार अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ । कम्बोडियामा नेपालीहरू अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसाअवधिभन्दा बढी समय बसिरहेको दूतावासले उल्लेख गरेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।  

रम र भोड्का बिक्री गरेर ७ महिनामा साढे ५ अर्ब आम्दानी, नोभेम्बर-जनवरीमै हुन्छ ७० प्रतिशत खपत

काठमाडौं । खुकुरी रम, न्युड भोड्का लगायत ब्रान्डका मदिरा बिक्री वितरण गर्दै आएको सगरमाथा मार्केटिङ प्रालिले ७ महिनामा साढे ५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ५ अर्ब ५० करोड ५० लाख (अपरिष्कृत) रुपैयाँ बढी आम्दानी गरेको हो ।  गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६ अर्ब १० करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ७७ करोड ३० लाख रुपैयाँ, आव २०७९/८० मा ५ अर्ब ५२ करोड ७० लाख, आव २०७८/७९ मा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ र आव २०७७/७८ मा ४ अर्ब ४५ करोड रुपैयाँ सञ्चालन आम्दानी भएको थियो। पछिल्ला वर्षहरूमा कम्पनीले करिब ५-६ प्रतिशत स्थिर आम्दानी वृद्धि गरेको छ, जसले सामान्य आर्थिक सुस्तीताका बाबजुद वित्तीय स्थिति सकारात्मक देखाएको छ । कम्पनीको मुख्य आम्दानी स्रोत खुकुरी त्रिपल एक्स रम हो, जसले कुल आम्दानीको करिब ८७ प्रतिशत हिस्सा छ । खुकुरी रम देशमा सबैभन्दा पुरानो र बजार अग्रणी रम ब्रान्ड मानिन्छ। सन् १९९९ मा स्थापना भएको सगरमाथा मार्केटिङ प्रालि नेपालमा विभिन्न मदिरा ब्रान्डहरूको वितरण गर्दै आएको कम्पनी हो । कम्पनीले खुकुरी रम, न्युड भोड्का, कार्डा रम र एरिस्टोक्र्याट ह्विस्की वितरण गर्दै आएको छ । यी सबै उत्पादनहरू नेपाल डिस्टिलरीज प्रालिद्वारा निर्माण गरिएका हुन् । सगरमाथा मार्केटिङ नेपाल डिस्टिलरीजका उत्पादनको राष्ट्रिय एकमात्र वितरक हो र वितरक तथा डिलर नेटवर्कमार्फत बिक्री संचालन गर्छ ।  कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको महाङ्काल क्षेत्रमा रहेको छ । सगरमाथा मार्केटिङ कम्पनीमा दुई जना मुख्य सेयरधनी रहेका छन् । प्रबन्ध निर्देशक हेमन्त राज प्रसाईंको ६० प्रतिशत स्वामित्व रहेको छ भने अध्यक्ष डाटा राम प्रसाईंको ४० प्रतिशत हिस्सा रहेको छ । कम्पनीको वार्षिक बिक्री ढाँचा अत्यधिक मौसमी छ । कम्पनीको कुल बिक्रीको करिब ६५-७० प्रतिशत नोभेम्बर-जनवरीको शीतकालीन सिजनमा मात्रै हुन्छ, किनभने रम उपभोक्ताबीच प्रायः यही अवधिमा बढी रुचाइएको हुन्छ । यस अवधिमा सञ्चालन वा बिक्रीमा कुनै असर परेमा कम्पनीको वित्तीय स्थिति अत्यधिक प्रभावित हुन सक्ने कम्पनीले जनाएको छ । नेपालमा मदिरा उत्पादनहरू सबैभन्दा उच्च कर लाग्ने वस्तु मध्ये पर्छन् । वर्षेनी एक्साइज ड्यूटीको वृद्धिले कम्पनीको आम्दानी र मुनाफामा दीर्घकालीन दबाब पार्न सक्छ । यससँगै प्रतिस्पर्धात्मक दबाब पनि कम्पनीको दीर्घकालीन वित्तीय प्रदर्शनमा प्रभाव पार्न सक्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६९ करोड रुपैयाँ ऋण लिएको छ । 

सुनको मूल्य करिब साढे ७ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ७ हजार ४००  र चाँदी १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।  हिजो मंगलबार छापावाल सुनको मूल्य  प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ रुपैयाँ कायम भएको थियो ।  सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० रुपैयाँ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

दीपक भट्टको पौने ४ अर्बको सेयर शंकास्पद, फाइल पल्टाउँदै प्राधिकरण

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दीपक भट्टसँग सम्बन्धित ठूलो रकमको प्रयोगबारे छानबिन गरिएको छ । विभागले गत फागुन २८ गते नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै भट्टले विभिन्न कम्पनीमार्फत ठूलो परिमाणमा सेयर खरिद गर्दा प्रयोग गरिएको रकमको स्रोत र प्रयोगबारे अनुसन्धान गरी ७ दिनभित्र रायसहितको प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।  विभागका अनुसार भट्टले हिमालयन रिइन्स्योरेन्स कम्पनीको करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, सहायक कम्पनी हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट करिब ३७ करोड रुपैयाँ, एचएलआई लार्ज क्याप फन्डबाट करिब २५ करोड १४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख रुपैयाँ प्रयोग गरी विभिन्न मितिमा कुल ३ अर्ब ८१ करोड ४६ लाद रुपैयाँभन्दा बढी बराबरको सेयर खरिद गरेको उल्लेख छ । उक्त सेयर ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत खरिद गरिएको देखिएको विभागले जनाएको छ । विभागले बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता वा आर्थिक दुरुपयोग भएको हो वा होइन भन्ने विषयमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । 

संसद् अधिवेशनको तयारीका लागि आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । संसद् सचिवालयले आह्वान गरेको सर्वदलीय बैठक बुधबार (आज) अपरान्ह १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधिसभा बैठकको तयारीबारे छलफल हुनेछ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेसँगै सर्वदलीय बैठक बस्न लागेको हो । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नाट्टाका अध्यक्ष थपलिया विश्वव्यापी संस्था ‘युफ्टा’ को सञ्चालक समितिमा नियुक्त

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया विश्वव्यापी ट्राभल एजेन्सीहरूको सर्वोच्च निकाय, ‘युनाइटेड फेडरेशन अफ ट्राभल एजेन्ट्स एशोसिएशन्स’ (युफ्टा) को बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् । सन् २०२५/२६ का लागि हालै सम्पन्न युफ्टाको वार्षिक साधारण सभाले थपलियाको नियुक्तिलाई आधिकारिक रूपमा अनुमोदन गरेको हो ।  युफ्टाका अध्यक्ष सुनिल कुमार आरको अध्यक्षतामा सम्पन्न उक्त सभामा विभिन्न महादेशका पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्व र प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बोर्डमा निर्देशक पद सुरक्षित गर्नु गौरवको विषय मानिएको छ । यो नियुक्तिले विश्व पर्यटन बजारमा नाट्टाको उपस्थितिलाई थप बलियो बनाउनुका साथै नेपालको पर्यटन उद्योगप्रतिको बढ्दो वैश्विक विश्वासलाई समेत प्रतिबिम्बित गरेको छ ।  आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै अध्यक्ष थपलियाले यो अवसरले नेपालको पर्यटन क्षमतालाई विश्वमाझ अझ प्रभावकारी ढंगले चिनाउन र विश्वव्यापी पर्यटन विकासमा अर्थपूर्ण योगदान पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनियुक्त १२ सदस्यीय बोर्डमा अध्यक्ष थपलियासँगै अन्य देशका चार पर्यटन नेतृत्वकर्ताहरू पनि निर्देशकका रूपमा चयन भएका छन् । जसमा टर्कीका सेटिन गुर्कुन, श्रीलंकाका दुमिन्दा कुरुविटार्ची, इजरायलका योसेफ फातेल र फिलिपिन्सकी मारीजेल मानोतोक रहेका छन् । सन् १९६६ मा स्थापना भई मोनाकोमा मुख्यालय रहेको युफ्टाले विश्वभरका ट्राभल एजेन्टहरूको हकहित र उड्डयन क्षेत्रका जटिलताहरू सुल्झाउन नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।  यस्तै, नेपालमा ८०० भन्दा बढी ट्राभल एजेन्टहरूको छाता संगठन नाट्टाले पनि सन् १९६६ देखि नै नेपालको पर्यटन प्रवर्द्धन र व्यवसायीहरूको हितमा काम गर्दै आएको छ । नाट्टा र युफ्टाबीचको यो साझेदारीले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय नीति निर्माण तहमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।