गरिमा विकास बैंकले परिवर्तन गर्यो लोगो र छाप
काठमाडौं । गरिमा विकास बैंकले आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यसहित बैंकले बिहीबार (माघ १) देखि लागू हुने गरी नयाँ लोगो र छाप प्रयोगमा ल्याएको हो । बैंकका अनुसार लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट पारित भएको थियो । त्यसपछि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो र छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ । परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचानसँगै गुणस्तरीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धता झल्काउने विश्वास बैंकले लिएको छ । बैंकद्वारा जारी विज्ञप्तिमा ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने कामसम्पन्न गरी दोस्रो चरणमा पर्वत खण्डमा मर्मतको काम थालनी गरिएको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए । बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको ठाउँहरुमा मर्मतसम्भार र आवश्यक ठाउँमा कालोपत्र र टालटुलको काम भइरहेको उनको भनाइ छ । लोकमार्ग मर्मतसम्भारका लागि विनियोजित ५० लाख रुपैयाँ बजेटबाट पर्वत र कास्की खण्ड मर्मतको काम अघि बढाइएको हो । शिवालय निर्माण सेवामार्फत सडक मर्मतसम्भारको काम भइरहेको सब–इन्जिनियर पौडेलले जानकारी दिए । बर्खायाम सकिएलगत्तै सडक मर्मत गर्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेको र पछिल्लो वर्षा नरोकिएका कारण ढिलोगरी मर्मतकार्य सुरु भएको हो । जाडोयाममै भए पनि अहिले धमाधम काम भइरहेको पौडेलले बताए । सडक धेरै ठाउँमा बिगे्रकाले ममर्तसम्भारमा छुट्टिएको बजेट अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले बताए । पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको छ । ठाउँठाउँमा सडक बिग्रँदा सहज र निर्वाध रुपले सवारीसाधन चलाउन सक्ने अवस्था नभएपछि यात्रु र सवारी चालकहरुले लामो समयदेखि गुनासो गर्दै आएका थिए । सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् । सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम बढेको थियो । पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा, काठमाडौँ, नारायणगढ हुँदै मुलुकका विभिन्न ठाउँमा आउजाउ गर्ने गरेका छन् । कार्यालयका अनुसार नयाँपुलतर्फबाट मर्मत हुँदै अहिले कुश्मा नगरपालिका–८ पराधिसम्म आइपुगेको छ । अब एक महिनामा मालढुङ्गासम्मनै मर्मतको कार्य सकिने कार्यालयले जानकारी दिएको छ । मर्मत सकिएका ठाउँहरुमा धुलो र हिलोको समस्या समाधान भएको चालकहरुले बताएका छन् । आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको लोकमार्गको पर्वत खण्ड दुई वर्षमै भत्किएर जीर्ण बनेको हो । रासस
टोखाबाट ५ करोड बढीको चाकु बिक्री
काठमाडौं । टोखाबाट यसवर्ष ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ । टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन् । १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भुजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन् । टोखा नगरपालिका-२ र ३ मा चाकु उत्पादन हुँदै आएको छ । यो टोखाको पुरानो बजार समेत हो । उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पुर्याउने गरिन्छ । टोखामा उत्पादन हुने चाकुले नेपालको करिब ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ । टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए । टोखामा बर्सेनि रु पाँच लाख किलो चाकु र लड्डु उत्पादन हुँदै आएको छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती हुने ठाउँका रुपमा चिनिन्छ । टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकु उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोडौं रुपैँया आम्दानी गर्दै आएको बताए । टोखामा कृष्ण चाकु उद्योग, काशीलाल चाकु उद्योग र न्हुछे चाकु एण्ड तिरौला उद्योग ठूला उद्योग हुन् । कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकु बनाइँदै आएको छ । धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखु खेती भने मासिएको छ । यहाँ उत्पादित सादा चाकुको मूल्य प्रतिकिलो १४०, मसला चाकुको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए । ‘टोखा नगरपालिका-२ गलेमा चाकु स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ । छिट्टै चाकु स्तम्भ निर्माण गछौँ,’ उनले भने । टोखाले चाकुलाई अन्तरराष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने बताएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकु बाहेक सख्खर, तरुललगायतका खानेकुरासमेत खाने प्रचलन छ ।
सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार सञ्चालक समितिको पुस ७ गते र पुस २२ गते सम्पन्न बैठकबाट निवेदन बमोजिम २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । नेपाल बीमा प्राधिकरणले जारी गरेको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ अनुसार सेयर बिक्री प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ । उक्त संस्थापक सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ । यदि संस्थापक सेयरधनीहरूबीच ३५ दिनभित्र खरिदबिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सानिमा रिलायन्सको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
युक्रेनले ९० अर्ब युरो ऋण सैन्य आवश्यकतामा खर्च गर्ने ईयूको घोषणा
काठमाडौं । युक्रेनका लागि युरोपेली सङ्घको महत्त्वपूर्ण ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋणको दुई तिहाइ रकम किएभको सैन्य संयन्त्रलाई सम्बोधन गर्न खर्च गरिने बताइएको छ र बाँकी सामान्य बजेटको लागि छुट्याइएको छ, ब्रसेल्सले बुधबार भनेको छ । महिनौंको कूटनीतिक विवादपछि डिसेम्बरमा इयू सदस्य राष्ट्रहरूले सैन्य संयन्त्रका लागि खर्च गर्न सहमति जनाएका थिए । यो ऋणले नगदको अभाव भएको युक्रेनलाई अत्यन्त आवश्यक सैन्य खर्च व्यवस्थापनका लागि सहयोग प्रदान गर्नेछ। रूसले छिमेकी युक्रेनमाथि सुरू गरेको आक्रमण आफ्नो पाँचौं वर्षतिर लम्किरहेको छ । इयूकी प्रमुख उर्सुला भोन डेर लेयनले भनिन्, ‘यो सहयोगबाट हामी यो सुनिश्चित गर्छौं कि युक्रेनले एकातिर युद्धको मैदानमा आफ्नो प्रतिरक्षा बलियो बनाउन सकोस् र आफ्नो सैन्य क्षमतालाई बलियो बनाउन सकोस् र अर्कोतर्फ राज्य र आधारभूत सेवालाई सुचारु राख्न सकोस् ।’ भोन डेर लेयनले भनिन्, ‘फ्रान्स र अन्य केही मुलुकले लामो समयदेखि इयूको रक्षा उद्योगलाई बलियो बनाउन र संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न महत्त्वपूर्ण रहेको बताएका समय यो कोष मुख्यतया युक्रेन र युरोपेली देशहरूबाट हतियार किन्न प्रयोग गरिनेछ ।’ यदि आवश्यक उपकरणहरू युरोपमा सजिलैसँग उपलब्ध नहुने भएमा किएभको लागि कहिलेकाँही यूरोप बाहिर किनमेल गर्न सम्भव हुने आयोगका अध्यक्षले बताए । ‘हाम्रो लागि यो धेरै पैसा हो । यो अर्बौं र अर्बौं लगानी भइरहेको छ। यी लगानीहरूले रोजगारी सिर्जना गर्न, अनुसन्धान र विकास सिर्जना गर्न लगानीमा प्रतिफल पाउनुपर्छ,’ उनले भने । आगामी दुई वर्षका लागि युक्रेनको वित्तीय आवश्यकताको दुई तिहाइ पूरा गर्ने ऋणलाई युरोपेली संसद र सदस्य राष्ट्रहरूले भुक्तानी गर्न सुरु गर्नु अघि अनुमोदन गर्नुपर्नेछ । रुसी केन्द्रीय बैंकको सम्पत्ति रोक्का गर्ने योजना असफल भएपछि गत महिना युरोपेली सङ्घका नेताहरूले इयूको साझा बजेटद्वारा समर्थित ऋणमा सम्झौता गरेका थिए । ब्रसेल्सले ईयूको बजेटमार्फत प्रति वर्ष लगभग तीन अर्ब युरो ब्याजको लागत बेहोर्ने छ ।
राजस्व संकलनमा दबाब कायमै, ६ महिनामा ५.८१ खर्ब रुपैयाँ मात्र असुल
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्ध वार्षिक अवधिमा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको छैन । अर्थमन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार चालु आवको पुस ३० गतेसम्म जम्मा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ, जुन अर्ध वार्षिक लक्ष्यको करिब ८१.७५ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार ६ महिनामा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ कम देखिएको छ । यसले चालु वर्षको ६ महिनाको अवधिमा राजस्व दबाब अझै बढ्ने संकेत गर्छ । पुस महिनामा पनि लक्ष्य भेटिएन पुस महिनाको मात्र लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ तोकिएको थियो । तर सो अवधिमा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ८९.९६ प्रतिशत मात्र हो । यद्यपि पुस ३० गते एकै दिन २० अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन हुनु सकारात्मक संकेत मानिए पनि समग्र लक्ष्य पूरा गर्न पर्याप्त देखिँदैन । गत आर्थिक वर्ष २०८१/८२ कुल राजस्व संकलन वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । गत वर्ष पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जबकि गत वर्ष ६ महिनामा ६ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको थियो । यस आधारमा हेर्दा चालु वर्षको संकलन अघिल्लो वर्षको तुलनामा केही मात्र सुधारिएको देखिन्छ, तर लक्ष्य अनुसारको गति अझै कमजोर छ । विभिन्न राजनीतिक गतिविधि वा आन्दोलन हुनु, आन्तरिक आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नु, निजी क्षेत्रको लगानी कमजोर रहनु र उपभोग घट्दा राजस्व संकलनमा असर परेको जानकारहरु बताउँछन् ।
एक कुवेती दिनारको मूल्य ४७३.४५ रुपैयाँ, कुन देशको मुद्राको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८० रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६८ पैसा र बिक्रीदर २० रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०७ पैसा रहेको छ ।
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्ति पर्वको रौनक
काठमाडौं । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन । नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए । ‘प्रकृतिका पुजारी मगर समुदायले साउनेसङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् । माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ,’ उनले भने । यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउनेसङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका–७ टिकोटकी टिका तिलिजा पुनले बताइन् । चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको उनको भनाइ छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा मगर बस्तीहरुमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको स्थानीयवासीसमेत रहेका बेनी नगरपालिकाका पुर्वप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे । बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । ‘त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो । युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गरेको अझै झलझली लाग्छ,’ उनले भने । समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवद्र्धनमा जोड दिइएको छ । हरेक तीन/तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिदैं आएको छ । सङ्घ अन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष बुधबारदेखि बेनीमा ११ औँ माघे सङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी सुरु भएको छ । बेनीमा परम्परागत रुपमा लाग्ने माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताइन् ।